तिलक लुइटेलखुट्टै टेक्न दिएन र पो !!
त्यति बेलासम्म त्यहाँ फिस्टे पक्षका पत्रकारहरू पनि उपस्थित भइसकेका थिए । सबैलाई सम्बोधन गर्दै फिस्टेले भन्यो— त्यस मुलालाई जित्न त म सक्थेँ नि तर खुट्टै टेक्न दिएन र पो त !!

पर्तिर पहाड जत्रो र सारै बलियो पहलमान देखेपछि साथीहरूले सावधान गराउँदै त्यससँग कुस्ती नखेल भनेर धेरै सम्झाए तर उसले मानेन । ऊ फिस्टे थियो तापनि आफूलाई सारै बाठो छु भन्ने पनि ठान्थ्यो । आखिर कुस्ती खेल्न तम्सिएरै गयो ।
वरिपरिका दर्शकहरूले फिस्टे पहलमानप्रति सहानुभूति राखे । प्रायः सबैलाई फिस्टेको हालत देख्ता जित्ला भन्ने आशा गरेकै थिएनन् । नभन्दै कुस्ती खेल्ने सिठी बज्यो । कुस्ती भिड्न फिस्टे कुदेर गयो । उसको सुर भीमकाय पहलमानका घुँडामा कसेर हान्छु र थला पार्छु भन्ने रहेछ ।
फिस्टे घुँडा ताकेर कुद्दै आएको पर्वत जस्तो पहलमानले याद गरिरहेको थियो । उसले पनि सरक्क निहुरिएर फिस्टेका कम्मरमा डाढतिरबाट समात्यो । फिस्टेलाई जुरुक्कै उचाल्यो । फिस्टे उसका हातमा हिले माछो जस्तो देखियो । उसले भीमकाय पहलमानको कतै अँठ्याउन पाएन । फोहोरको राजनीति गर्ने ठुला दलका नेतासँग महानगरका मेयरको केही सिप नलागे जस्तै भयो । यद्यपि जनताले मेयरप्रति सहानुभूति राखे जस्तै सबै दर्शकको सहानुभूति फिस्टेतिरै थियो तापनि ऊ निकै बेर फटफटायो र हातखुट्टा चलायो । आखिर आजित भएर हार स्वीकार गर्यो ।
फिस्टे कुदेर आफ्ना समूहमा पुग्यो । साथीहरूले सहानुभूति राख्तै भने— हामीले त्यस्तो ज्याङ्गोसँग जुध्न नजाऊ भनेकै हो, तिमी नटेरी गयौ । अन्तमा हार्नुपर्यो नि !
त्यति बेलासम्म त्यहाँ फिस्टे पक्षका पत्रकारहरू पनि उपस्थित भइसकेका थिए । सबैलाई सम्बोधन गर्दै फिस्टेले भन्यो— त्यस मुलालाई जित्न त म सक्थेँ नि तर खुट्टै टेक्न दिएन र पो त !!
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest




































