साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती’ विषयक विचार गोष्ठी

विशेष अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गोष्ठीको उद्घाटन गर्नुभएको कार्यक्रममा समालोचक डा.अम्बिका अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० असार २० । नेपाल प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्‍यो ।

विशेष अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गोष्ठीको उद्घाटन गर्नुभएको कार्यक्रममा समालोचक डा.अम्बिका अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभयो । अर्यालले उत्तरवर्ती उपन्यासबाट प्रस्फुटित नारीवादी चेतना, जनजातिमा आएको चेतना, वर्गीय विभेद, जातीय छुवाछुत, सांस्कृतिक विविधता, मधेसी चेतनाको सौन्दर्य, विधाभञ्जन तथा विधामिश्रण, आञ्चलिकता, महामारी र प्रलय, जनजातिको चेतना, सूत्रात्मक, दृष्टिकोण विन्दुको स्थानान्तरण, स्वैरकाल्पनिक, मार्क्सवादी र नवमार्क्सवादी चिन्तनका बारेमा केन्द्रित रही कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी कार्यपत्रमा उपन्यास लेखनको बढ्दो चुनौती भूमण्डलीकरण, सञ्चार तथा सूचना प्रविधि, पहिचानका बारेमा सजगता अपनाउँदै उपन्यास लेख्नुपर्ने र एकपक्षले उपन्यास लेख्दा अर्को पक्षलाई चोट पुग्नु नहुने, अधिकारको खोजीमा देश, स्वत्व र पहिचान, भौगोलिक विभेद स्थानीयता, मार्क्सवादी उपन्यासमा देखिएको विचलन, सौन्दर्य, कुरूपता, भर्चुल संसारबारे उपन्यास लेखिनुपर्ने थप धारणा कार्यपत्रमा आएको छ ।

यस्तै नेपाली उपन्यासको मौलिकता र राष्ट्रियतालाई ओझेलमा नपारी उदासिनताबारे पनि उपन्यास लेख्न सक्नुपर्ने कार्यपत्र प्रस्तोता डा..अम्बिका अर्यालले बताउनुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप बहस गर्न सकिन्छ र मार्क्सवादी उपन्यासले यथार्थको प्रकटीकरण गर्दछ, साथै, उपन्यासमा वर्ग सङ्घर्ष र जनयुद्धको सौन्दर्यकरण गर्नु भनेको मार्क्सवादी दृष्टिकोण राख्नु हो भन्नुभयो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्दछ भन्नु भयो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव)ले स्वागत तथा उद्घोषणका क्रममा नेपाली उपन्यासमा देखिएका अनेकौँ प्रवृत्तिको चरणबद्ध अध्ययन र अनुसन्धान हुनुपर्छ । त्यसले मात्रै सैद्धान्तिक निखार र प्रष्टता आउने छ भन्नुभयो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रकाश तिवारीले उपन्यासकारले अरूका कुरा पनि भन्न सक्छ र आवाजविहीनका आवाजलाई पनि बोक्न सक्छ भन्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा. डा. मोहनप्रसाद लोहनीले उपन्यासको उत्तरवर्ती क्षेत्र असीमित छ, तापनि नेपाली उपन्यासले समाजका विषयलाई चासो दिए पनि समसामयिकतामा केही उदासिनता राखेको छ भन्नुभयो ।

यस्तै कार्यक्रमका सहभागी वामदेव अधिकारीले स्रष्टाहरूले विविध विषयमा उपन्यास लेखेको कुरा आयो ।कार्यपत्रले जनयुद्धको सौन्दर्यकरण र विद्रुपीकरण दुवैको चर्चा गर्छ । तर खास कर्तव्यका लागि उपन्यासकारले के गर्नुपर्छ भन्ने उल्लेख छैन भन्नुभयो ।

अर्का सहभागी षडानन्द पौडेलले कतिपय आञ्चलिकता भनिएका उपन्यासमा आञ्चलिकताको विशेषता नै छैन । आञ्चलिकता हुनलाई समग्र विशेषता आउनुपर्छ भन्नुभयो ।

यस्तै यज्ञेश्वर निरौलाले मार्क्सवादी र गैरमार्क्सवादी उपन्यासकारका उत्तरवर्ती चरणलाई प्रष्ट पार्नुपर्ने बताउनुभयो भने सरोज दिलु विश्वकर्माले उपन्यास हो भन्दैमा उपन्यास हुन्छ भन्न सकिँदैन । जसका लागि सैद्धान्तिक प्रष्टता हुनुपर्छ र अधिकारको कुरा आउँदैमा कोही तर्सिनु नहुने बताउनुभयो ।

गोष्ठीका सहभागी डा.जीवन श्रेष्ठले यथार्थ, सामाजिक र जातीय पृष्ठभूमिको उपन्यास लेखन जनयुद्धको प्रभाव हो । जसमा सैद्धान्तिक र व्यवहारिक विषयका दृष्टिकोणले माओवादी जनयुद्ध र उत्तरआधुनिकताको असर प्रष्ट छ भन्नुभयो ।

यसैगरी सिर्जनशील लेखन समाजका अध्यक्ष प्रा.डा. राजनप्रसाद पोखरेलले उत्तरवर्ती उपन्यास ः प्रवृत्ति र चुनौती विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको समापन गर्दै चरणबद्ध उपन्यासका विविध पक्षलाई केलाउने प्रयास गरेको छ । मार्क्सवादी आन्दोलन र अभियानले सत्ता प्राप्ति गरे पनि आंशिक उपलब्धि मात्र भएको र यसको स्वरूप र चित्रण पनि उपन्यासमा आउनुपर्ने बताउनुभयो ।

यसैगरी उहाँले नेपाली साहित्यका उत्कृष्ट कृतिको अनुवाद गरेर विश्व बजारमा पुर्याउनु पर्नेमा जोड दिनुभएको थियो ।

०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x