सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राम नाम सत्य हो ?

आधुनिक राम रूपी हरामहरूका बारेमा संक्षिप्त अन्वेषण गरिएको याे लद्धुराम निबन्धले न कसैलाई ठण्डाराम पार्छ न कसैलाई जिल्लाराम ! केही गर्छ भने डण्ठारामले न गर्छ, कि कसो हो ?

Nepal Telecom ad

नरनाथ लुइँटेल :

मान्छेको प्राण फिस्स खुस्किएपछि हरियो बाँसमा टनटनी बाँधेर अन्तिम संस्कार निम्ति घाटतिर लाग्दा मलामीहरूले फलाक्ने गर्छन् “राम नाम सत्य हो ।” यस्तो अन्तिम अवस्थामा बोलिने कुरा पनि कहीँ झूटो होला र ? भन्ने लाग्या थियो तर लाग्नु र हुनु त एउटै कुरा हुँदै होइन । राम नामका बेइमान, बखमास, लफङ्गा, चोर, गुण्डा र हरामहरूको राइँदाइँ चलिरहेको बेला “राम नाम सत्य हो” भनेर कसरी पत्याउन सकिन्छ ! राम जस्तो पवित्र नामलाई बदनाम गर्न खोज्ने यो कुन नमकहराम रहेछ भन्नु होला, तर म भन्छु रामहरू स्वयं आफ्नो नामलाई बद्नाम गर्ने काम गरिरहेका छन् । आउनोस्, विशिष्ट भइकन पनि केही बदनाम रामहरूको जानपहिचान गरौँ ।

सवभन्दा पहिले डा.रामको रामकहानीलाई नै लिउँ न त हुन्न ? डा. वर्गका रामहरू पनि दुई किसिमका छन् । पहिलो थरिका डा. रामहरू आफूलाई देशको रोग पत्ता लगाई च्वाट्टै निको पार्ने हैसियतवाला सम्झन्छन् । भाषणमा आकाश पात्ताल जोड्छन्, नीजि स्वार्थ पूर्तिका निम्ति आफ्नो दल समेत फोड्छन् । एकले अर्कालाई धारेहात लाउँछन् । नाम साधुराम भए पनि मति भने चोररामको जस्तो हुन्छ । अवसरवादका नाइके यी डा. रामहरू आवश्यक परे भेंडा बनेर खोरमा थुनिन पनि सक्छन् । बाख्राकै मोलमा बेचिएर सीलमा उनिन पनि सक्छन् । कोही संसदमा पुगेर सत्केरी खर्च चड्काउन व्यस्त छन्, कोही जंगलतिर पसेर जिलेटिन पड्काउन व्यस्त छन् । “मेरा हजुरबाले दुई माना घिउ एकैपटक खाएका थिए, नपत्याए मेरो हात सुँघीहेर त” भनेर फूर्ति लाए जस्तै यस किसिमका रामहरू यति वर्ष जेल परेको, यति वर्ष भूमिगत बसेको या यति वर्ष भागेर भारत पसेको मान्छे पो हुँ भन्दै गुड्डी हाँक्छन् । हड्डीको टुक्रामा कुकुरको झगडा जस्तै कुर्सीको लागि रगडा गर्छन् । यी एक से एक डा. नेतारामहरू हुन् । घरी यताराम हुन्छन्, घरी उताराम हुन्छन् । यो नै डा. नेतारामहरूको वैशिष्ट्य हो, यसैमा विराट विशिष्टता हासिल गरेका छन् ।

डा. वर्गका अर्काथरी रामहरूलाई जेथाराम भनिदिँदा फरक पर्दैन । जायजेथा भनेको धन हो र यो जिन्सी एवं नगद दुवै हुन्छ । यस किसिमका जेथारामहरू जिन्सीभन्दा बढ्ता नगदप्रिय हुन्छन् । डा.जेथारामहरू रोगीको नाडी छामेर रोग भन्दा पहिले दमडी अर्थात अर्थिक हैसियत पत्ता लगाउँछन् । यिनीहरूको फन्दामा परेपछि मान्छे उम्कनै सक्दैन । बर्खामा च्याउ उम्रिए जसरी उम्रिएका नर्सिङ होमहरू र प्राइभेट अस्पतालहरूमा आला काँचा र कलिला नर्सहरू मार्फत दिनदहाडै तपाईं हाम्रा पर्श खलास पार्न डा. जेथारामहरू खप्पिस छन् । दुई तीन जना डा. जेथारामहरूको जेथो आक्रमणको शिकार म स्वयं भएको छु, तपाई मध्ये पनि कोही उम्कन सक्नु भएको छैन भन्ने कुरामा म विश्वस्त छु ।

डा. जेथारामहरूको जेथो आक्रमण बडो कमबद्ध हुन्छ । नाडीजाँचबाट प्रारम्भ हुने आक्रमण आचीजाँच हुँदै एक्सरे, स्क्यान, इन्जेक्सन लगायत काटकुट समेतका तमाम एक्सनसम्म पुग्छ तर कहिलै टुङ्गिदैन । डा. जेथारामहरूलाई राम्रोसँग थाह छ कि यो क्रम टुङ्गियोकी जेथो तान अभियान पनि ट्ङगियो । यति सजिलो आम्दानीको मुहान थुन्ने कुन मुर्ख छ र थुन्छ ? त्यसमा पनि डा. जेथारामहरू त यो मुलुकका विशिष्ट विद्वानमा दरिएका छन् । विरामीले सास फेर्न छोडी सक्दा पनि डा. जेथारामहरू विरामीका आफन्तको खल्ती हेर्न छोड्दैनन् । उनीहरूको यो लगनशीलता, निरन्तरता र वफादारिताको मुक्तकण्ठले प्रशंसा नगरिरहन सकिन्न । छोटै अवधिमा लखपति, अरवपति बन्ने क्षमता कि त डा. नेताराममा छ कि त डा. जेथाराममा छ ।

लेखक रामहरूको प्रसङगमा केही नलेख्ने हो भने रामहरूको चर्चा अधुरै रहन्छ । यस वर्गका रामहरू छन् कुनै महाका सन्काहा र झन्काहा । आफूबाहेक अर्कोलाई गन्दै नगन्ने, आफ्नो बाहेक अरूको कलमलाई कलमनै नमान्ने, कुनै अर्को लेखकलाई आमचकारी गाली नगरी रहनै नसक्ने । यस्ता विशुद्ध लेखकीय गुणहरू नै लेखक रामका विशेषता हुन् । यिनीहरू मध्ये कसैका नामको अगाडि प्रा. र डा. लुन्दुङ्ग झुण्डिएको पाइन्छ भने कसैका नामको पछाडि पथिक, पीडित, लुन्द्रो र फुन्द्रो लर्किएको हुन्छ । जस्तोसुकै भए पनि कोही छन् तालीप्रिय, त कोही छन् साली प्रिय । ताली पाउन तालीप्रेमी लेखक रामहरू बेवकुफ र जालीहरूको प्रशंसा लेख्छन् । सालीप्रेमी लेखक रामहरू आफ्नै सालीको सौन्दर्य बणर्न गर्दै काव्यको बाली फलाउँछन् । कोही छन् सत्ताको अपुताली स्याहार्दै भत्ता लुँड्याउने त कोही छन्, पुरस्कारका निम्ति चाकडी र चुक्लीमा जुत्ता रगड्ने । कतिपय लेखक रामहरूले आफूलाई विछट्टका आसु भन्न रूचाउँछन् । यस्ता आसुहरू विष्णुमतीका किनारमा बगरेले टुकाएको बूढी भैंसीको मासु देख्दा होस् या सालाका मावली खलकपट्टिकी फुपू सासूको गालातिर गुड्किएको आँसु देख्दा होस्- करुण रसमा कविता कोर्न थालिहाल्छन् । लेखक रामहरूको अर्को विशेषता के छ भने उनीहरू कम लेख्नु तर बढी बोल्नु । समीक्षक समालोचक टाइपका लेखक रामले कृतिको सिर्फ गातो हेरेका भरमा तीन घन्टा लामो समीक्षात्मक प्रवचन पड्काउनु यस्तै एउटा उदाहरण हो ।

यिनले कनिकुथी आधा दर्जन रचना लेखेको भए पनि सयनको फूर्तिफार्ती चाहिँ आठ दर्जन घटिको हुँदैहुन्न । यिनीहरू मध्ये पनि कसैलाई अँठ्याएको छ पुरस्कार फोवियाले त कसैलाई अँचेटेको छ भत्ता भूतले । कुन पुरस्कार पड्काउन के लेख्नुपर्छ र कुन प्राज्ञलाई चिल्लो घस्दा लेखकीय आम्दानी झर्छ भन्ने कुरा आधुनिक लेखक रामहरूलाई राम्रो जानकारी छ । तदनुरूप लट्टो लाग्न यिनीहरू खप्पिस छन् । त्यसै अनुरूप कलमको टुँडो घुमाउँछन्, इलम समाउँछन् र सिर्फ चम्चागिरीमा रमाउँछन् ।

उपरउल्लेखित रामहरू बाहेक हामीकहाँ अरू पनि केही रामहरू छन् । उनीहरूको प्रवृत्तिअनुरूप नाम पनि फरक फरक हुने नै भयो । ढाकढुक र भाकभुकप्रिय रामहरूलाई खुकुरी राम भन्दिए फरकै पर्दैन । खुकुरी रामकै अर्को रूप छुरीराम पनि हो । यस्ता रामहरूलाई बाङबुङ गर्न कुनै निहुँ सिहुँ चाहिन्न । नेता रामहरूलाई चुनाव जिताउने वा विपक्षी सताउने पुनित कार्यमा यी खुकुरी राम र छुरी रामहरू अत्यन्त उपयोगी औजार सावित भएका छन् । एक आपसमा सहयोग र संरक्षण आदानप्रदान निर्धक्क हुने गरेको छ । चेन राम, पेस्तोल राम, डण्ठाराम, मुड्कीराम आदि रामहरू खुकुरी रामकै विभिन्न संस्करण उपसंस्करणहरू हुन् ।

अर्का थरि छन् फेरि जुत्तारामहरू । यस थरिका रामहरूलाई पनि दुई वर्गमा बाँड्न सकिन्छ । जुत्ताखाने जुत्ताराम र जुत्ता खुवाउने जुत्ताराम । खानेहरू खाइरहेका छन्, खुवाउनेहरू खुवाइरहेक छन् । यो खाने र खुवाउने क्रम उपक्रममै धेरैको जीवनगाडा चलिरहेको छ । खानेले पनि स्वाद पाइरहेको छ, खुवाउनेले पनि स्वाद मानिरहेको छ । तर नाफारामको कुरो भने अलि बेग्लै छ । जुताराम जस्तो यो नाफारामको खुवाउने वर्ग हुन्न । नाफाराम खालि खानमै मात्र निर्लिप्त हुन्छ । नाफारामले नाफा गर्ने काममा पुर्‍याउनु पर्ने हज्जार थरिका तरिका जानेको छ । घीउमा पिँडालु, दालचामलमा ढुंगा, बेसारमा पीठो, पिठोमा बालुवा, तोरीमा कोदो आदित्यादि के कति मात्रामा के कसरी मिसाउँदा कति प्रतिशतसम्म नाफा हुन्छ भन्ने कुरा क्यालकुलेटर विना नै हरहिसाव गर्ने हैसियत केवल नाफारामहरूमा मात्रै छ ।

नाफारामहरू यो राष्ट्रका राष्ट्रिय प्रतिभाहरू हुन् । उनीहरूको प्रतिभा प्रस्फुटन र विकासमा सरकारले विशेष योजना बनाइहाल्नु जरूरी छ । उनीहरू यो देशकै नागरिक हुन् । कोही कोही खुल्ला सीमानाबाट लोहोटा बोकेर यता छिरेका भए पनि सिडियो सापहरूको वरद कृपाले नेपाली नागरिक भैसकेका छन् अनि नागरिकहरूको उत्थान हुनु राष्ट्रको उत्थान हुनु हो भन्ने कुरा यताका सरकारले राम्रैसँग बुझेका छन् । यस्ता रामहरूसँग सरकारको सम्बन्ध सुमधुर हुनु दुवै पक्षका लागि लाभदायक छ । लाभ भनेकै नाफा हो, यो भनिरहनु पर्ने कुरै होइन ।

यस्तै यस्तै रामहरूको बाहुल्यता आजको विशेषता हो । मुलुकको ताल्चा साँचो र ढुकुटी आधुनिक रामहरूको हातमा छ । उनीहरूकै कृपादृष्टिले देश उँधो होइन उँभो लागिरहेको छ । राज्य भनेकै यही हो । आधुनिक राम रूपी हरामहरूका बारेमा संक्षिप्त अन्वेषण गरिएको याे लद्धुराम निबन्धले न कसैलाई ठण्डाराम पार्छ न कसैलाई जिल्लाराम ! केही गर्छ भने डण्ठारामले न गर्छ, कि कसो हो ?

०००
फित्कौली अड्डा, कलङ्की, काठमाडौं
‘अभिव्यक्ति’ २१९, वैशाख-जेठ २०८०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad