सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी

काउन्सिलको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाको साहित्यिक बिट हेर्ने पत्रकारहरूको उपस्थितिमा भाषाविद् शरत्चन्द्र वस्तीले विशेष मन्तव्य राखे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस १९ । नेपाल प्रेस काउन्सिलको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा ‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी सम्पन्न भएको छ । समाजले साताव्यापी कार्यक्रम अन्तरगत गोष्ठी सम्पन्न गरेको हो ।

गत मङ्गलबार काउन्सिलको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाको साहित्यिक बिट हेर्ने पत्रकारहरूको उपस्थितिमा भाषाविद् शरत्चन्द्र वस्तीले विशेष मन्तव्य राखे ।

वस्तीले भाषा मानव जीवनको मूल भएको चर्चा गर्दै भाषाको नयाँ आयाम प्रकट गर्ने मुख्य आधार साहित्य भएको बताए । उनले रचना गर्दा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताए ।

मन्तव्यका क्रममा वस्तीले भने, “भाषा बिगार्नु अराजकता हो । भाषालाई भत्काउनुहुँदैन । जे छ, त्यही लेखिनुपर्छ ।”

उनले नेपाली भाषा कमजोर नभएको तर भाषामा अन्योल धेरै रहेको उल्लेख गर्दै शब्दमा अक्षरको खुट्टो काट्न देवनागरी लिपिले आज्ञा नदिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सर्वमान्य भाषाकोशको आवश्यकतामा जोड दिँदै सरकारले मानक भाषाका लागि विशेष समिति बनाउनुपर्ने बताए ।

प्रा.डा. गोविन्दराज भट्टराईले सीमापारि रहेर सिर्जना गर्ने नेपाली भाषी साहित्यकारहरूले भाषा भत्किँदै गएकोमा चिन्ता व्यक्त गरेको उल्लेख गरे ।

प्रेस काउन्सिलका अध्यक्ष तथा कार्यक्रमका सभापति बालकृष्ण बस्नेतले कार्यक्रममा धेरै प्रश्न उठ्न सक्ने र तिनको जवाफ खोज्यौँ भने साहित्यिक पत्रकारिताको भाषामा शुद्धता र एकरूपता आउने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष श्रीओम रोदनले चासोको विषय भएकाले काउन्सिलसँग सहकार्य गर्दै यो गोष्ठी गरेको बताए ।

कार्यक्रममा राधेश्याम लेकाली, मोहन दुवाल, दीपक पाण्डे र झविन्द्र भुसालले बोलेका थिए ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad