फित्काैली डटकमपाठ्यपुस्तकलाई प्राज्ञिक मूल्यसँग जोड्नुपर्नेमा कुलपति राईको जोड
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा जनज्योति बहुमुखी क्याम्पस लालबन्दी,सर्लाहीले 'कुलपतिसँग विद्यार्थी' कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको समुद्घाट्न प्रमुख अतिथि राईले ब्यानर वाचन गरेर गर्नुभएको थियो।

सर्लाही, लालबन्दी, २०८१ मङ्सिर १४ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा जनज्योति बहुमुखी क्याम्पस लालबन्दी,सर्लाहीले ‘कुलपतिसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको समुद्घाट्न प्रमुख अतिथि राईले ब्यानर वाचन गरेर गर्नुभएको थियो।
साथै शैक्षिक संस्था र विद्यार्थीसँग प्राज्ञिक कर्मसहित प्रज्ञा-प्रतिष्ठानलाई जोड्ने ध्येयले कार्यक्रमको तय गरिएको थियो। उहाँले ६७ वर्ष लामो इतिहास बोकेको प्रज्ञा-प्रतिष्ठानलाई कतिपय बौद्धिक व्यक्तित्व, शिक्षक र प्राध्यापक लगायतका सरोकारवाला पक्षले अझै पनि चिन्न नसक्नु एक विडम्बना भएको बताउनु भएको थियो । रैथाने ज्ञानको स्रोत नै स्थानीय तहसँग हुने हुँदा प्रज्ञा-प्रतिष्ठानलाई जनतासँग जोडेर भाषा, साहित्य, संस्कृति, कला, दर्शनशास्त्र र सामाजिक शास्त्रलगायतका क्षेत्रमा खोजअनुसन्धान गर्दै अघि बढ्ने माध्यम भनेका प्राध्यापक र विद्यार्थी हुन् । खासमा कम्प्युटर सञ्चालनका लागि सफ्टवयर अनिवार्य भए जस्तै देश सञ्चालनका लागि संस्कृति, साहित्य र कलाको आवश्यकता आैँल्याउँदै पाठ्यपुस्तकलाई प्राज्ञिक मूल्यसँग जोड्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाल प्रज्ञा-प्रतिष्ठानको थप प्राज्ञिक उन्नायनका लागि प्रतिष्ठान जस्तै अर्को ज्ञानको मुहान विश्वविद्यालय र विभिन्न क्याम्पस रहेका छन् । त्यहाँ कार्यरत प्राध्यापक र अध्ययनरत विद्यार्थीबिच ‘कुलपतिसँग विद्यार्थी’ कार्यक्रम आयोजना गर्दै प्राज्ञिककर्मसँगै जनतासँग पुग्ने कडीको रूपमा यस कार्यक्रमलाई लिएको बताउनु भएको थियो । उहाँले कार्यक्रममा जे जति रचना वाचन गरिए तिनको सम्भावना निक्कै तीव्र रहेको बताउनु भएको थियो ।
कार्यक्रमका अतिथि लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले प्रज्ञा-प्रतिष्ठानलाई क्याम्पसलगायतका शैक्षिक संस्थासँग जोड्दै साहित्य, कला र संस्कृतिका क्षेत्रलाई प्रोत्साहित गर्ने गरी प्रज्ञा-प्रतिष्ठानबाट सुरु भएको ‘कुलपतिसँग विद्यार्थी ‘ कार्यक्रमले भावी पुस्ताको सिर्जनात्मक सम्भावनालाई अघि बढाउन भूमिका खेल्नेमा आफू ढुक्क रहेको भन्दै यस्ता कार्यक्रमले मधेस प्रदेशमा रहेको लालबन्दी लाभान्वित हुने बताउनु भएको थियो । उहाँले अबका दिनले महान् प्रतिभा देवकोटा, भूपि, रिमाल, पारिजात, कृष्णसेन र कृष्णलाल अधिकारीहरू जस्तै महत्त्वपूर्ण प्रतिभाहरू लालबन्दीले पनि जन्माउन सकोस् भन्ने धारणा राख्नु भएको थियो।
जनज्योति क्याम्पस लालबन्दी, सर्लाहीका क्याम्पस प्रमुख उमेश तिमल्सिनाले ‘कुलपतिसँग विद्यार्थी’ कार्यक्रम प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको आगमनमा राखिएको अप्रत्याशित कार्यक्रम हो । यस्ता कार्यक्रमले हौसला मिल्ने बताउँदै सिर्जनासँगै खोजअनुसन्धानको क्षेत्रमा जोडिनु पर्ने बताउनु भएको थियो । तिमल्सिनाले शिक्षा, साहित्य कला र संस्कृति जीवनका लागि मुटु भएको बताउनु भएको थियो ।
जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा सभाध्यक्ष दीपक अधिकारीले अध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीले नेपाली समाजले आन्दोलन र परिवर्तन हिँडेका कलमवीरका बारेमा बुझ्नुपर्ने हुन्छ । सत्ताका विरुद्ध स्वतन्त्र ढङ्गले कलम चलाउँदा कृष्णलाल अधिकारी र कृष्णसेन इच्छुकहरू मारिनु पर्यो, बेपत्ता हुनुपर्यो ।अब त्यस्तो अवस्था कसैमा आउनु हुँदैन । स्थानीय तहमा गठन हुने प्राज्ञिक संस्था भनेकै बाङ्मयका केन्द्र हुन । देशभरिका पालिका प्रमुख र उपप्रमुख लगायतका जनप्रतिनिधिको भेला राखेर भाषा, साहित्य, संस्कृति र कलाको महत्त्व बुझाउनका लागि अभिमुखीकरण कार्यक्रम राख्न प्रज्ञा-प्रतिष्ठानलाई सुझाउनु भएको थियो । ती अावाजलाई पालिकाका जनप्रतिनिधिले बुझे भने मात्र जसको महत्त्व उजागर हुँदै जाने थियो । अध्यक्ष अधिकारीले मधेस प्रदेशमा त्यस्ता कार्यक्रमहरूको अभिमुखीकरण कार्यक्रम प्रज्ञा-प्रतिष्ठानले सञ्चालन गरेमा ज्ञानको थप उजागर हुँदै जाने बताउनु भएको थियो। यसैगरी कवि रमेश भट्टराई सहृदयी, सुमन घिमिरे अग्रीम, जीवन आचार्य, साधना तिमल्सिना, मोतीराम महत्तो, नवराज सुवेदी, विवश बस्नेत, संयम अर्याल, संयोग अर्याल र सुमित्रा आचार्यलगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो।
उक्त कार्यक्रममा स्वागत मन्तव्य जनज्योति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धर्मेन्द्र अधिकारी र उद्घोषण गजल वाचनसहित लालबन्दी नगर बाङ्मयका कोषाध्यक्ष विवश पौडेलले गर्नुभएको थियो ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest






































