साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार भवानी अधिकारी र निर्देशक नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा १ लाख ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो।

Nepal Telecom ad

काठमाडौँ । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ।

दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा १ लाख ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो। पुरस्कार साहित्यकार एवं संविधान सभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले हस्तान्तरण गर्नुभयो।

दाहालका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’मा ५१ लाख रुपैयाँको अक्षयकोष छ। सोही कोषको ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा बालप्रतिभा सम्मान प्रदान गरिन्छ। यस वर्षको ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) को कक्षा ८ उत्तीर्ण हुँदा नेपाली विषयमा ‘४ जिपिए’ ल्याउने ६ जना विद्यार्थीलाई प्रदान गरिएको छ।

२० हजार रुपैयाँ राशि र प्रमाणपत्रसहितको उक्त पुरस्कार आराध्या सिंह, प्रतीक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपासना बज्राचार्य र सफलबहादुर खड्काले प्राप्त गर्नुभएको छ। दाहालले लामो समय अध्यापन गरेको दरबार स्कुलमा उहाँकै नाममा यो पुरस्कार स्थापना गरिएको हो।

कार्यक्रममा मानवीले नेपाली साहित्य र कुनाकाप्चामा रहेका सिर्जनालाई रेडियो नेपालमार्फत आमजनतामाझ पुर्‍याउन दाहालको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। पूर्वमन्त्री पोखरेलले शिक्षा, साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषाको विकासमा दाहालले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो।

भारतको मणिपुरमा रहेर शिक्षण पेसासँगै नेपाली भाषा-साहित्य र पाठ्यक्रम निर्माणमा समर्पित अधिकारी र नेपाली सिनेमामा मौलिक चलचित्र निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्‍याउनुभएका निर्देशक सुब्बालाई सम्मान गरिएको हो। कार्यक्रममा सञ्चारकर्मी दाहाल यज्ञनिधि र उहाँको नाममा स्थापित पुरस्कारबाट सम्मानित साहित्यकार अधिकारी र निर्देशक सुब्बाको व्यक्तित्व, कृतित्व र सिर्जनाको विषयमा साहित्यकार डा. रमेश शुभेच्छुले चर्चा गर्नुभयो।

समारोहमा सम्मानित व्यक्तित्व अधिकारी र सुब्बासहित दाहाल यज्ञनिधि सुधा सदनका सदस्य डा. विष्णु राईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने डा. गोविन्द आचार्य र देवकुमारी लुइटेल ‘देबु’ले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा प्रा.डा. देवी नेपाल, डा. केदार न्यौपानेसँगै साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्व, दाहाल यज्ञनिधिका सहकर्मी, शुभेच्छुक र आफन्तको उपस्थिति रहेको थियो ।

सम्मानित साहित्यकार अधिकारीका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्यालभित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’लगायत कृति प्रकाशित छन्। उहाँले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’ र ‘मरुभूमि’लगायत कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गर्नुभएको छ। त्यस्तै विसं २०४० को दशकदेखि पत्रकारिता र चलचित्र समीक्षा हुँदै निर्देशनमा प्रवेश गर्नुभएका सुब्बाले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ र ‘गाउँ आएको बाटो’जस्ता चलचित्र तथा शृङ्खला निर्देशन गरिसक्नुभएको छ। उहाँ हाल ‘लाहुरे जुत्ता’ नामक चलचित्र निर्माणको तयारीमा हुनुहुन्छ।

विसं २०१० साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उहाँका ‘जदौका निबन्ध’ (२०६९), ‘जदौका ३४ निबन्ध’ (२०७६), ‘खुला आकाश’ गीति एल्बम (२०७६), ‘दाहाल यज्ञनिधिका कविता’ (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ (२०८१) लगायत जीवनी र व्यक्तित्वकेन्द्रित कृति प्रकाशित छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x