साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीको खित्कौली सभा : कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान

उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलद्वारा रिमोट थिचेर उद्घाटन गरिएको खित्कौली सभाको आरम्भमा यसका सञ्चालक एवम् प्रधान सम्पादक नरनाथ लुइँटेलले फित्कौलीको दस वर्षे यात्रालाई डिजिटल्ली चलचित्रात्मक ढङ्गले प्रस्तुत गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ माघ १४ । फित्कौली डटकम सञ्चालनको दसौँ वर्ष र अनलाइन पत्रिकाको दोस्रो वर्ष प्रवेशका अवसरमा फित्कौली अन्लाइन मिडियाले हास्यव्यङ्ग्यपूर्ण ‘खित्कौली सभा’ आयोजना गर्‍यो ।

उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलद्वारा रिमोट थिचेर उद्घाटन गरिएको खित्कौली सभाको आरम्भमा यसका सञ्चालक एवम् प्रधान सम्पादक नरनाथ लुइँटेलले फित्कौलीको दस वर्षे यात्रालाई डिजिटल्ली चलचित्रात्मक ढङ्गले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईको ‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ’ नामक कृति र फित्कौलीका आधिकारिक कार्टुनिस्ट राजेश मानन्धरको ‘कार्टुन सङ्ग्रह भाग १’ लोकार्पण गर्दै दुवै हास्यव्यङ्ग्य स्रष्टाहरूलाई बधाई ज्ञापन गर्नुभयो ।

फित्कौलीको अक्षयकोष स्थापनाको घोषणा
कार्यक्रममा फित्कौलीका सञ्चालक लुइँटेलले फित्कौली अक्षयकोष स्थापनाको घोषणा जारि गर्दै आफूले अहिलेसम्म प्राप्त गरेका पुरस्कारको रकम अक्षयकोषमा प्रदान गरेको बताउनु भयो । उहाँले जारि गरेको घोषणामा- “फित्कौली अनलाइन मिडिया अन्तर्गत रहनेगरी ‘फित्कौलीको खित्कौली पुरस्कार’ समेतको प्रयोजनका निम्ति आजकै मितिबाट एउटा स्थायी किसिमको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषको आरम्भमा आफूले हास्यव्यङ्ग्य साहित्यमा योगदान पुर्‍याए बापत प्राप्त गरेको भैरव पुरस्कार-(२०७८) को रु १,११,१११, यसअघि प्राप्त हेटौडाको भैरव स्मृति सम्मानको रु.२३,००० र विरसा हास्यलेखन पुरस्कार (२०५१) को रु ५००० समेत हुन आउने १,३९,१११ रुपैयामा १०,८८९ रुपैया थप गरी जम्मा १,५०,००० रुपैयाँ अक्षयकोषमा प्रदान गरेको छु । पुररस्कारको रकम पुरस्कारमै रहोस् भन्ने मेरो अभिप्राय रहेको छ ।”

“यो नेपाली हास्यव्यङ्ग्यको सम्बर्धन र समृद्धिको फित्कौली अभियान हो । त्रिवि सेवाबाट निवृत्त भएपछिको मेरो सम्पूर्ण समय यही अभियानमा समर्पित गर्दैआएको छु र गरिरहने छु । फित्कौलीका शुभचिन्तक एवम हास्यव्यङ्ग्यप्रेमी जो कोही पनि यो कोषवृद्धिमा यथासक्य सहभागी भइ फित्कौली अभियानमा जोडिन सक्नुहुनेछ । फित्कौली अनलाइन मिडियाद्वारा यथासक्य चाँडो कोष सञ्चालन-परिचालन र उपयोग सम्बन्धी कार्यविधि निर्माण गरिने प्रतिवद्धता समेत जाहेर गर्दछु ।” लुइँटेलले जारि गरेको घोषणा पत्रमा उल्लेख छ ।

कार्यक्रममा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले उक्त अक्षयकोषमा रु. १ लाखको चेक हस्तान्तरण गर्दै हास्यव्यङ्ग्यको यो अभियानमा फित्कौलीसँग अनवरत साथ रहेको बताउनु भयो । कार्यक्रमको लागि सभाकक्ष उपलब्ध गराउने एल.आर.आइ. स्कुलका तर्फबाट अक्षयकोषका लागि रु १ लाख प्रदान गरिएको छ भने पोखराका हास्यव्यङ्ग्यकार विश्व शाक्यले रु. ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा प्रदान गर्ने घोषणा गर्नुभएको छ । समारोहमै उपस्थित हुनुभएका कवि तथा हास्यव्यङ्ग्य निबन्धमा कलम चलाउँदै आउनु भएका ठाकुरप्रसाद अधिकारीले २० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । फित्कौलीका सल्लाहकार एवम् बुढ्यौली साहित्यका नियमित स्तम्भकार डा. मुकेश चालिसेले १ लाख ५० हजार रुपैयाँ अक्षकोषमा प्रदान गर्ने बचनवद्धता प्रकट गर्नुभयो भने सिस्नुपानी नेपालले रु २५ हजार प्रदान गरी कोषमा सहभागिता जनाउने भएको छ । अर्का हास्यव्यङ्ग्यकार आर.सी. रिजालले पनि आफूले प्राप्त गरेको पुरस्कारका रकम अक्षयकोषमा प्रदान गर्ने घोषणा गर्नु भयो ।

विमोचित कृतिबारे सङ्क्षिप्त चर्चा गर्दै डा. रमेश शुभेच्छुले व्यङ्ग्य स्रष्टा शेषराज भट्टराईको व्यङ्ग्यकारिता, शिष्ट गम्भीर र विशिष्ट रहेको उल्लेख गर्नुभयो । कार्टुन चित्रमा तीन दशक गुजारी सकेका कार्टुन कलाकार राजेश मानन्धरको कार्टुन सङ्ग्रहको प्रकाशन एउटा महत्वपूर्ण प्राप्ति हो भन्नुहुँदै बिगत एक दशकका कार्टुनहरूले देशको हविगतलाई उजागर गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा फित्कौलीको प्रकाशन कालदेखि अहिलेसम्म अनवरत कार्टुन बनाइरहनु भएका कार्टुनिस्ट राजेश मानन्धरलाई रामकुमार पाँडेले फित्कौलीको खित्कौली सम्मान प्रदान गर्दै माला तथा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथि नभनेर हास्यव्यङ्ग्यका जेठोबूढो भनिएका रामकुमार पाँडेले फित्कौलीको हास्यव्यङ्ग्य अभियान अत्यन्त सार्थक रहेको बताउँदै यो अभियानमा साथ सहयोग प्रदान गर्नु हामी सबैको कर्तव्य हो भन्नु भयो ।

फित्कौलीको मट्याङ्ग्रा हानाहान
वार्षिकाेत्सवका रुपमा सम्पन्न कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हास्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति रहेको थियो । यस अन्तर्गत पाका पुराना र नयाँ पुस्ताका हास्यव्यङ्ग्य स्रष्टाहरूको सम्मिलन देखिन्थ्यो । आर.सी. रिजाल, नरेन्द्रराज पौडल, चट्याङ मास्टर, डम्बर घिमिरे, पिँडालु पण्डित, लक्ष्मण गाम्नागे, थरेन्द्र बराल, हरिकला उप्रेती, कृष्णदेव रिमाल, चक्र दवाडी, रेहित सैजु, जनार्दन धड्कन, अप्सरा सुनार र अनिल पौडेल ‘कीर्ते’ले आआफ्ना हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नुभएको थियो । उहाँहरूका अधिकांश सिर्जनाले हाम्रो वर्तमान विसङ्गत स्थितिमाथि सिस्नुपानी हानेको अनुभूति सहभागीहरूले गरेका थिए ।

हास्यव्यङ्ग्यको समग्र गतिविधिलाई सङ्गठित, संस्कारित डिजिटल प्रविधिमैत्री बनाएर अघि बढाउने फित्कौली प्रयत्न अत्यन्त सह्रानीय रहेको सन्दर्भ उल्लेख गर्दै वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले फित्कौलीको यो अभियानमा सिस्नुपानी पनि सँगै रहेको उल्लेख गर्दै यसका सञ्चालक सिस्नुपानीका पनि संस्थापक र अहिलेका सल्लाहकार हुनुहुन्छ भन्नुभयो ।

हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले हास्यव्यङ्ग्यको संवर्धन र अभिवृद्धिका लागि फित्कौलीले अभियानकै रुपमा प्रशंसनीय गतिविधि अघि बढाएकोमा हर्ष व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा डा. बमबहादुर जिताली, सराेज घिमिरे, डा. रामचन्द्र लम्साल, राममणि दुवाडी, डा. विद्यादेव लुइँटेल, नन्दिता लुइँटेल, डिल्लीप्रसाद मुलतिहुन, महेन्द्र उपाध्याय, विदुर केसी, शिवप्रसाद जैसी, साधुराम खड्का, सञ्जीव वर्मा, कुलप्रसाद दहाल, जितु खड्का, सुधा बास्काेटा, देवीप्रसाद मिश्र, वीरेन्द्र पाण्डे लगायत राजधानीमा रहेका हास्यव्यङ्गय कर्मीहरूकाे उल्लेख्य सहभागिता थियाे भने कार्यक्रम मनाेरञ्जक ढङ्गले अनिल पाैडेल कीर्तेले सञ्चालन गर्नुभएकाे थियाे।

०००
– गरिमा लुइँटेल/भिष्म उपाध्याय

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x