हरिशंकर परसाईंकांग्रेस, सेठ र समाजवाद !
एक दिन साहूहरूले सरकारसँग के अनुमति पनि लिने छन् भने जसरी नगरपालिकाका गोरुहरूको फिलामा सिल हानिएको हुन्छ नि त्यसै गरी हामी पनि हाम्रा मान्छेको गालामा एउटा एउटा सिल हानिदिन्छौँ ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
‘भारतमा समाजवादी व्यवस्था कायम हुनेछ……… ।’
एक दिन पण्डित नेहरूले यो कुरो भनि नै दिएछन् ।
अनि अचेल कांग्रेसमा ‘नेहरू फेसन’ नै चलेको छ । नेहरू ज्याकेट, नेहरू गुलाफको कोपिला, नेहरूको रिस, नेहरूको नाटकीयता र नेहरूका शब्द !
अनि त के चाहियो र ! अर्को दिनदेखि कांग्रेसीहरूले वाक्यलाई प्रतिध्वनित गर्न थाले । प्रदेशका सभासद्हरूले भने, विधानसभासद्हरूले भने, मण्डलेश्वरहरूले भने, साहू कांग्रेसीले भने, गवडुनन्दनले भन्यो, भगडुरामले भन्यो — समाजवाद ! समाजवाद !
समाजवाद कुन चिज हो भन्ने कुरो कसैलाई थाहा छैन । पण्डित नेहरूले भनेका हुन् भने उनैले जानुन् । के हामी आफैंले भनेका हौं र ? समाजवादको कुरो यसै गरी चलिरहेको छ ।
यसैपछि मात्र कांग्रेसको पनि चुनाव हुन थाल्यो र समाजवादलाई खुलेर खेलाउने अवसर प्राप्त भयो । अस्तिन एउटा उपचुनावमा एउटा व्यक्तिले जित्यो अनि कांग्रेस महासमितिको सदस्य बन्यो । मैले चौराहामा सुनेँ, ‘लौ, फलानो साहूको जित भयो !’ जसले जित्यो त्यो मान्छे त साहू होइन । तर त्यसको जितलाई कुनै साहूको जित मानियो । के रहस्य हो यसको ? जित्ने मान्छेको आफ्नो कुनै नाम छैन र उसको जित कुनै आफ्नो जित पनि हैन ? त्यसको अस्तित्व साहूको भुँडीमा हरायो । यसरी सहअस्तित्वको सिद्धान्तको पालन पनि भयो ।
कुरोलाई अझै बुझ्नु आवश्यक छ । मानिसहरू जितिरहन्छन् अनि तिनको जित कहिले यो साहूको जित मानिन्छ त कहिले त्यो साहूको जित मानिन्छ भने यसको कारण के होला ? समस्या सजिलो छ । मूल रहस्य त के हो भने अहिले जुन कांग्रेस कमिटीहरू बनिरहेका छन् तिनैले हो आगामी आमनिर्वाचनमा टिकट दिने । त्यसैले अहिले जसको बहुमत भयो त्यसैले टिकट पायो । यसै बुँदामा अडिएर त कांग्रेसको चुनाव भएको हो ।
अनि के सुनिन्छ भने फलानो साहूले आफैंले चार हजार रुपैयाँ शुल्क दिएर यति सदस्य बनाए रे ! अनि फलाना साहूका पसलहरू त गाउँगाउँमा फैलिएका छन् रे ! हरेक गाउँमा उनका सदस्य बनिरहेका छन् रे ! यसलाई अर्थशास्त्रमा मोनोपोली भन्दछन् ।
बजारमा जति वस्तु छन् ती सबै एउटै साहूले किनेर मनपरी दाममा बेच्यो भने त्यसलाई मोनोपोली ट्रेड भनिन्छ । कांग्रेसका सबै सदस्यहरू बजारिया सामान बनेका छन् जसलाई कुनै साहूले किनिदिन्छ त कहिले कुनै साहूले ! अनि यिनको मूल्य ? आठ आना प्रतिगोटा !
तपाईं यसलाई दुर्भाग्यको कुरो भन्नुहोला । तपाईंलाई आखिर मान्छे आठ आनामा बिक्यो भनेर लाज पनि लाग्ला । तर यो सबै त कांग्रेसी समाजवाद हो नि ! कांग्रेसी समाजवादमा आम मानिस कच्चा माल हुन्छ जसलाई साहूले किन्छ अनि यस्तो तयारी सामान बनाएर बेच्छ जसबाट उसलाई नाफा होस् ! जसरी उसले अन्य व्यापारमा रुपैयाँको लगानी गर्छ त्यसै गरी कांग्रेसका मेम्बर बनाउन पनि चारपाँच हजार लगाइदिन्छ । यो उसको लगानी (इन्भेस्टमेन्ट) हो । यसबाट अगाडि गएपछि उसलाई फाइदै फाइदा हुन्छ । त्यो संसद् वा विधानसभाको सदस्य बन्छ अनि उसले ठेक्काहरू पनि पाउँछ । यसबाट उसको आयकर पनि जोगिन्छ ।
पण्डित नेहरू त दिनदिनै समाजवादको नारा लगाउँछन् । तर समाजवादलाई कार्यान्वयन गर्ने काम भने यिनै र यस्तै कांग्रेसी व्यापारीले गर्छन् ! यसरी जब सबै व्यक्तिहरूको लिलामी हुनेछ अनि वास्तविक सामाजवाद कायम हुनेछ । तर पण्डितजी भने अग्घोरै आशावादी छन् । उनी यसै कांग्रेसको बलमा समाजवाद ल्याउन चाहन्छन् ! अर्थात् उनी ब्वाँसाहरूलाई अहिंसाको पाठ सिकाउन चाहन्छन् ! उनीहरूलाई घाँसमा चर्न सिकाउन चाहन्छन् ! उनीहरूलाई भेडाहरूमाथि दया गर्न सिकाउन चाहन्छन् ! संसारमा चमत्कार भन्ने पनि त केही हुन्छ नि ! हुन्न र ?
अब भने समाजवाद आउँदै छ । बेरोजगारी बढ्दै छ । मानिसहरू कि त रिक्सा चलाउन सिक्दै छन् कि त भोकै मर्न ! विदेशहरूमा हाम्रो वाहवाही भइरहेको छ भने देशमा ‘हाईहाई’ मच्चिएको छ । बिस्तारै बिस्तारै भारतका नागरिक कि त रेक्सावाला बन्नेछन् कि भिखारी हुनेछन् । अर्थात् सबै एउटै आर्थिक स्तरमा आउने छन् । अनि यही त समाजवाद हो ! आर्थिक समानता हो !
तपाईंले कतै बिडीसाहूले जिते भन्ने कुरो सुन्नुभयो भने विचलित नहुनुहोला । यो त कांग्रेसको समाजवादको योजनाअनुसार नै भइरहेको छ ।
एक दिन साहूहरूले सरकारसँग के अनुमति पनि लिने छन् भने जसरी नगरपालिकाका गोरुहरूको फिलामा सिल हानिएको हुन्छ नि त्यसै गरी हामी पनि हाम्रा मान्छेको गालामा एउटा एउटा सिल हानिदिन्छौँ । प्रत्येकको सिल रजिस्टर्ड हुनेछ । अनि तपाईं कुनै पनि कांग्रेसीको गालामा लागेको सिललाई देखेरै यो कुन साहूको समूहको हो भनेर थाहा पाइहाल्नु हुनेछ । आखिर कांग्रेसको चुनावचिह्न निरर्थक त छैन नि !
उसो भए समाजवाद आउँदै छ । तयार भएर बस्नु पर्ला । कतै यस्तो नहोस् कि त्यो हामीमाथि नै आइलागोस् ! दाजुभाइ हो ! यो समाजवादी सिलबाट बच्नु युगधर्म हो है !
०००
रुपन्देही
परसाईं रचनावली भाग- ६ काे ‘कांग्रेस, सेठ और समाजवाद !’ बाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest

































