सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्य र आफ्नै झ्याइँकुटी

यो सरल संरचना भएको प्रभावकारी कृति हो । सन्देशयुक्त, प्रयोजनपूर्ण, मनोरञ्जनमूलक तथा सार्थक कृतिका रूपमा ‘आफ्नै झ्याइकुटी’ को सिर्जना गरेर माणिकरत्न शाक्यले नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन् भन्ने कुरामा कुनै शङ्का छैन ।

Nepal Telecom ad

प्रा. मोहनराज शर्मा :

श्री माणिकरत्न शाक्य नेपाली हास्यव्यङ्ग्यका प्रतिभाशाली स्रष्टा हुन् । वि.सं. २०२४ मा बनेपामा जन्मेका माणिक गन्तीका समर्पित हास्यव्यङ्ग्यकारमध्ये एक हुन्। वि.सं. २०४१ मा लेखन प्रारम्भ गरेदेखि उनी हास्यव्यङ्ग्य सिर्जनातर्फ र हास्यव्यङ्ग्यसम्बन्धी क्रियाकलापतर्फ नबिसाई संलग्न हुँदै आएका छन् । उनी हास्यव्यङ्ग्यका लागि मरिमेट्ने अथक साधक हुन् भन्ने कुरामा कुनै शङ्का छैन ।

‘आफ्नै झ्याइँकुटी’ नामक प्रस्तुत सँगालो माणिकको पहिलो पुस्तकाकार कृति हो । यसलाई उनले ‘हास्यव्यङ्ग्य संस्मरण सङ्ग्रह’ भन्न रुचाएका छन् । उनले आफ्ना हास्यव्यङ्ग्यात्मक रचनाहरूको बटुलबाटुलका साथै तिनको सूक्ष्म निफननाफनसमेत गरी यसमा छनोटका २९ वटा रचनालाई मात्र स्थान दिएका छन्। यी सबै रचनाहरू निबन्धको संरचनामा अभिव्यक्त भएका छन् । यस पुस्तकमा परेका २९ वटै निबन्धहरू पठनका दृष्टिले रमाइला र मनोविनोदपूणर् छन् । सबैजसो निबन्धमा हास्यव्यङ्ग्य प्रयोजन भएर देखिएको छ ।

हास्यव्यङ्ग्य शब्दको हास्यले ‘हाँसउठ्दो, हँसाउने’ रचना बुझाउँछ भने व्यङ्ग्यले ‘चिमोट्दो, चिमोट्ने’ रचना बुझाउँछ । हास्यको उपर्युक्त अर्थमा पूर्वीय साहित्यशास्त्रको परम्परित अर्थ कायम रहेको छ, तर व्यङ्ग्यको उपर्युक्त अर्थमा पश्चिमेली साहित्यशास्त्रको अर्थ समाविष्ट हुन आएको छ । पूर्वेली ’हास्य’ (ह्यूमर) र पश्चिमेली ’सटायर’ (व्यङ्ग्य) का मिश्रणबाट नेपाली हास्यव्यङ्ग्यको स्वरूप तयार भएको छ । यसमा प्रायः प्रहसन (फार्स), हास्यकर (कमिक) आदि हास्यका प्रकार र वाग्वैदग्ध (विट), विडम्बना (आइरनी), विद्रूपिका (प्यारोडी), चरितठट्टा (क्यारिकेचर) आदि व्यङ्ग्यका प्रकार पनि मिसिन आएको पाइन्छ । हास्य र व्यङ्ग्यका आधारमा नेपाली हास्यव्यङ्ग्यलाई निम्नलिखित प्रकारहरूमा विभाजित गर्न सकिन्छ :

१. हास्य रचना
उठानदेखि बैठानसम्म हास्यले भरिएको कृति,

२. हास्यप्रधान रचना
हास्य प्रमुख रहेको र व्यङ्ग्य गौण रहेको कृति,

३. व्यङ्ग्य रचना
आद्यन्त व्यङ्ग्यैव्यङ्ग्यले भरिएको कृति,

४. व्यङ्ग्यप्रधान रचना
व्यङ्ग्य प्रमुख रहेको र हास्य गौण रहेको कृति,

५. हास्यव्यङ्ग्यप्रधान रचना
हास्य र व्यङ्ग्य दुवैले बराबर महत्त्व पाएको कृति ।

माणिकरत्नको ‘आफ्नै झ्याइँकुटी’ दोस्रो प्रकारको कृति हो । सबै निबन्धहरूमा हास्यको प्रबलता छ, तर कतैकतै व्यङ्ग्यको प्रयोग पनि एउटा उपकरणका रूपमा गरिएको छ । हुन त आज पनि हास्यव्यङ्ग्य पाठकद्वारा बढी रुचाइने साहित्यअन्तर्गत पर्छ, तर पनि हास्यव्यङ्ग्य थोरैमात्र लेखिन्छ । हास्य र व्यङ्ग्य साहित्यका दुई विशिष्ट प्रभाव भएकाले कृतिमा यिनलाई सिर्जिन सक्ने केहीले मात्र यसतर्फ कलम चलाउँछन्, तसर्थ हास्यव्यङ्ग्यकार र हास्यव्यङ्ग्य कृतिको सङ्ख्या कम पाइनु स्वाभाविक नै हो । माणिकरत्न हास्यव्यङ्ग्यका क्षेत्रमा समर्पित रहने कमै साधकमध्ये एक हुन् र उनको ‘आफ्नै भ्याइँकुटी’ रसिला र रमाइला हास्यव्यङ्ग्यको सुन्दर बान्की हो ।

अचेल व्यङ्ग्यभन्दा हास्यको लेखन ज्यादै घटेको छ । दुवैका कारक तत्त्व उही र एउटै अर्थात् विसङ्गति भएपनि किन व्यङ्ग्यभन्दा हास्य कम लेखिन्छ भनेर गम्नु आवश्यक छ । यो कुरो कोट्याउन साहित्यका प्रयोजनहरूको उल्लेख गर्नु खाँचो पर्दो छ । साहित्यका प्रमुख प्रयोजन वा उद्देश्य निम्नलिखित पाँचवटा छन् ः

१. आनन्द,
२. नीति शिक्षा,
३. लोकमङ्गल,
४. यथार्थको प्रकटीकरण,
५. मनोरञ्जन ।

यी उद्देश्यहरूमध्ये हास्यले मनोरञ्जनलाई वरण गर्छ भने व्यङ्ग्यले यथार्थको प्रकटीकरणसँग आबद्ध सुधारलाई अन्य चार प्रयोजनका तुलनामा मनोरञ्जनलाई हलुका, सतही, फितलो, तुच्छ, हीन र कम महत्त्वपूणर् मानिएको पाइन्छ । यसै कारणबाट कमभन्दा कम लेखक हास्यतर्फ आकृष्ट भएका हुन् । यसका विपरीत व्यङ्ग्यलाई सूक्ष्म, गहन, गम्भीर र बढी महत्त्वपूणर् मानिने हुँदा बढीभन्दा बढी लेखक यसतर्फ तानिएका हुन् । आधुनिक आयुर्विज्ञानले धेरै शोधखोजपछि ‘हाँस र धेरै बाँच’ को सन्देश दिएको हुँदा वर्तमान जीवनमा हास्यको महत्त्व अत्यधिक बढेको छ । प्रविधि संस्कृतिले गाँज्दै लगेको अहिलेको साइबरयुगमा हाँसो तनावबाट मुक्ति दिने अचुक साधन बनेको छ । माणिकरत्नको प्रस्तुत सँगालो ‘आफ्नै ’झ्याइँकुटी’ ले तनावबाट सहज मुक्ति दिने विविध हाँसो पस्केको छ । सतही होइन स्तरीय मनोरञ्जन दिने कृति अन्य कुनै कृतिभन्दा कम महत्त्वपूणर् हुँदैन ।

मुख्य विषय कसलाई बनाइएको छ भन्ने आधारमा हास्यव्यङ्ग्य निम्नलिखित दुई प्रकारको हुन्छ ः

१. स्वकेन्द्री
आफूलाई विषयवस्तु बनाएर हास्यव्यङ्ग्य उत्पन्न गरिएको कृति । यस प्रकारलाई निर्दोष हास्यव्यङ्ग्य भनिन्छ ।

२. परकेन्द्री
अर्कालाई विषयवस्तु बनाएर हास्यव्यङ्ग्य उत्पन्न गरिएको कृति । यस प्रकारलाई सदोष हास्यव्यङ्ग्य मानिन्छ ।

माणिकरत्नका अधिकांश निबन्धहरू पहिलो प्रकारका छन् । यस पुस्तकको शीर्षक ‘आफ्नै झ्याइँकुटी’ ले पनि यसै कुराको सङ्केत गर्छ । यसमा सङ्कलित ‘फुकाल्दाफुकाल्दा’ शीर्षक निबन्धबाट स्वकेन्द्री हास्यव्यङ्ग्यको सानो अंश तल प्रस्तुत गरिएको छ ः

‘उनलाई सविस्तार पोल खोलिदिएपछि बाहिर आएर उनले बैङ्ककबाट आउनेहरू सबैले जीनको पाइन्ट र सर्ट खोल्ने आदेश दिए । मलाई त कहिले फालुँला जस्तो भइराख्याथ्यो । हामीलाई एउटा कुनामा लगेर सबै लुगा खोल्न लगाए । लुगा खोल्न त्यति सजिलो कहाँ थियो र ! सुरुमा सर्टहरू खोलियो । त्यसपछि म भुँइमा लम्पसार परेर सुतेँ । अर्को साथीले पाइन्टको टाँक र चेन खोलेर खुट्टातिरबाट जोड लगाएर तानेर निकाल्यो । एकएक गर्दै सबै पाइन्ट त्यसै गरी निकाल्नुपर्ने । मलाई हलुकाहलुका हुँदै आयो । छेउमा लुगाको थुप्रो लाग्दै गयो। ‘ए त्यो त होइन ! म कराएँ । साथीले पाइन्ट खोल्दाखोल्दै मेरो आफ्नै पाइन्ट पनि पो तान्न लागेछ ।’

स्वकेन्द्री हास्यव्यङ्ग्यभन्दा कमै पाइए पनि यसमा परकेन्द्री हास्यव्यङ्ग्यका समेत उदाहरणहरू फेला पर्छन् । ‘हाकिमको मासु’ शीर्षकबाट यस्तै एउटा अंश तल उदधृत गरिएको छः ‘हाकिमले पाहुनालाई बिदाबारी गरेपछि किलामा झुन्ड्याइएको मासुको पोको हेर्दा त त्यो पनि गायब । हाकिमको रन्को छुट्यो, त्यहाँ भएका सबै स्टाफलाई एकएक गरेर सोधे- यहाँ झुन्ड्याएर राखेको मेरो मासु देख्यौ ? सबैको एउटै उत्तर थियो- देखेनौँ । अब भने घरमा श्रीमतीले मार्ने भई बा ! उता मसला पिसेर ठिक्क छ, यता मासु गायब । कस्तो मासु चोर अफिस रैछ, जाबो एक किलो मासु त बाँकी राखेनन् भने अरू त झन् केके हराएको होला भन्दै हाकिम बर्बराउन थाले । बिहान खसी ढाल्ने गार्डले हाकिमलाई भन्यो- हजुर ! मेरो पाहुनालाई छुट्ट्याएको मासु लिन आएन, हजुरले लैजानु हुन्छ कि ? हुन्छ त दिनोस् भन्दै हाकिमले दोहोरो भुक्तानी गरेर मासु बोकेर लगे ।’

यस सँगालाका दृष्टिबाट हेर्दा माणिकरत्न परकेन्द्रीभन्दा बढी स्वकेन्द्री हास्यव्यङ्ग्य स्रष्टाका रूपमा देखापरेका छन् । अर्कालाई पात्र बनाएर हास्यव्यङ्ग्य रच्न सरल हुन्छ, तर आफूलाई पात्र बनाएर हास्यव्यङ्ग्य रच्न त्यति सरल हुँदैन । अरूको गिल्ला र ठट्टा गरिने हुँदा परकेन्द्री हास्यव्यङ्ग्य दोषयुक्त र कलुषित हुन सक्छ, तर आफ्नै गिल्ला र ठट्टा हास्यव्यङ्ग्य गरिने हुँदा स्वकेन्द्री हास्यव्यङ्ग्य दोषरहित र निष्कलुष हुन्छ । अधिकांश निबन्धहरूमा स्वकेन्द्री हास्यव्यङ्ग्यको रचना गरी माणिकरत्नले अदोष र कलुषरहित हास्यव्यङ्ग्यको सफल र प्रभावकारी बान्की प्रस्तुत गरेका छन् ।

हास्यव्यङ्ग्य रचनाले पाठकलाई पार्ने प्रभाव र पाठकमा देखिने शारीरिक प्रतिक्रियाका आधारमा यो छ प्रकारको हुन्छ । यी छ प्रकारहरू स्वकेन्द्री पनि र परकेन्द्री पनि हुने हुँदा सङ्ख्या डब्लिएर बाह्र हुन पुग्छ । यस तथ्यलाई आरेखमा व्यवस्थित गरी तल देखाइएको छ :

माथिको आरेखले के स्पष्ट पारेको छ भने हास्यव्यङ्ग्य रचना विषयका आधारमा स्वकेन्द्री र परकेन्द्री गरी दुई प्रकारको हुन्छ । पाठकलाई पार्ने प्रभावको मात्राका आधारमा यो मधुरो, मझौला र चर्को गरी तीन प्रकारको हुन्छ। यी तीन प्रकारमध्ये प्रत्येकका दुईदुई भेद हुन्छन्, जस्तै- मधुरो हास्यव्यङ्ग्यका स्मित र हसित भेद, मझौला हास्यव्यङ्ग्यका विहसित र उपहसित भेद अनि चर्को हास्यव्यङ्ग्यका अपहसित र अतिहसित भेद । हास्यव्यङ्ग्यको सोपान क्रममा स्मित सबैभन्दा कम बाह्य प्रतिक्रिया देखिने भेद हो भने अतिहसित सबैभन्दा बढी प्रतिक्रिया देखिने भेद हो । मात्रात्मक दृष्टिले स्मित – हसित – विहसित – उपहसित – अपहसित – अतिहासित क्रमशः बढी प्रतिक्रियादर्शी एकाइ हुन् भने अतिहसित – अपहसित – उपहसित – विहसित – हसित – स्मित क्रमशः घटी प्रतिक्रियादर्शी एकाइ हुन् । यी छ वटैको छोटो चिनारी र ‘आफ्नै झ्याइँकुटी’ बाट उदाहरण तल प्रस्तुत गरिएको छ ः

१. स्मित हास्यव्यङ्ग्य
यस प्रकारको रचनाले मनमनै प्रभाव पार्छ, तसर्थ प्रतिक्रिया पनि मनमनै हुन्छ । बाह्यरूपमा ओठतिर मन्द मुस्कान खेल्छ, तर दाँत देखिदैन र आवाज पनि हुँदैन । यसको हलुका प्रभाव कन्सिरीतिर पनि देखिन्छ । माणिकरत्नले ‘मज्जाले झुक्किँदा’ मा सिर्जेको स्मित हास्यव्यङ्ग्यको नमुना यस्तो छ ः ’ड्राइभरले पुनः भन्यो- त्यो पुलिसले तपाईंलाई किन स्यालुट ठोक्यो भन्ने मलाई थाहा छ । मैले छक्क परेर सोधें- किन ठोक्यो ? मैले तपाईंले हात दिनासाथ अघि कलङ्कीमा गाडी किन रोकेँ, त्यो पुलिसले पनि त्यही कारणले स्यालुट हान्यो । उसले भन्यो । म झनै छक्क परेँ । के कुरा हो मैले त केही बुझिनँ । मैले भनेँ । आँबुखैरेनी घर भएको डी. एस्. पी. ठ्याक्कै तपाईंकै अनुहारको छ । अचेल ऊ पोखरामा छ । मैले पनि उही ठानेर तपाईंलाई गाडी रोकेको हुँ । त्यो पुलिसले पनि उही भन्ठानेर तपाईंलाई सलाम ठोक्या हो। क्या फँसियो आज भने… ।’

२. हसित हास्यव्यङ्ग्य
यस प्रकारको रचनाले स्पष्ट बाह्य प्रभाव पार्छ । प्रतिक्रियास्वरूप अलिअलि दाँतहरू देखिन्छन् र मन्दमन्द आवाज पनि सुनिन्छ । आँखा अलिक खुम्चिन्छ र कन्सिरी केही फुल्छ । माणिकरत्नद्वारा रचित यस्तो हास्यव्यङ्ग्यको छोटो नमुना ‘तालुले गर्दा’ बाट तल सारिएको छ- “बिहेको चक्करमा एकदिन सानीआमाले चाबहिलमा एक जना बाँडाकी छोरीसँग कुरा चलाइछन् । केटी हेर्न जाने भनेर सुटेडबुटेड भएर गइयो । तिनले लुकेर कहाँबाट हेरिरहेकी थिइन् मलाई पत्तो थिएन । केटीको घरको संघारमा टेक्नेबित्तिकै केटीले बाउलाई भनेजस्तो गरेर मैले सुन्ने गरी माथिबाट भनी- ‘म त्यो तालुखुइले केटासँग बिहे गर्दिन !”

‘त्यो घटना भएको धेरै पछि सम्झें- यस्तो भाग्यमानी तालु तँलाई किन मन पर्थ्यो त पोक्ची ?’

३. विहसित हास्यव्यङ्ग्य
यस प्रकारका रचनाको प्रतिक्रियामा हाँसोको स्पष्टै आवाज सुनिन्छ । यसको प्रभावबाट आँखा पनि अलि बढी खुम्चिन्छ र कन्सिरी पनि अलि बढी फुल्छ । यसको नमुनाका रूपमा माणिकरत्नको ‘ससुराली जाँदा’ शीर्षक निबन्धबाट केही अंश तल उद्धृत गरिएको छ ः

“बल्लतल्ल हामी पछारिएको ठाउँबाट उठ्यौं । उठ्दा टाउकादेखि खुट्टासम्म हिलो र फोहोर पानीले छपक्कै भइयो । हिलाम्ये लुगामा मुसो भिजेजस्तो भिजेर हामी साँझमा ससुराली घर पुग्यौँ ।

ससुराली घरमा हामी ज्वाइँ द्वयबाहेक लोग्नेमान्छेको नाम निसाना नभएकाले हाम्रा लागि ओभाना कुनै लुगा हुने कुरै थिएन । एक मात्र उपाय भिजेका सारा लुगाहरू फालेर हामी दुई ढोकामा चुकुल ठोकेर एउटा कोठाभित्र एकएकवटा सिरकभित्र लुक्यौँ ।”

४. उपहसित हास्यव्यङ्ग्य
यस प्रकारका रचनाको प्रभावबाट अलिअलि खित्का छुट्ने, नाकका पोरा फुल्ने र केही मात्रामा कुम हल्लिने समेत हुन्छ । यो नै हास्यव्यङ्ग्यको ढल्काइ चर्कोपनतर्फ हुने प्रारम्भविन्दु हो । यसको उदाहरण माणिकरत्नको ‘भ्यागुताको मीत’ शीर्षक रचनाबाट छोटो अंश तल उतारिएको छ ः

“जब कोठाबाट विश्व दाइको घुर्राहट घरका भित्ता छेडेर बाहिर निस्किन थाल्यो अनि उता छिमेकीको खाली जग्गामा रहेका भ्यागुताहरूको पनि ट्यारट्यार र टुरटुर सुरु भयो । भित्रबाट विश्व दाइ घुर्ने बाहिरबाट भ्यागुता, यी दुईका बीचमा भयङ्कर प्रतिस्पर्धा सुरु भयो । विश्व दाइ घुर्न रोकिँदा भ्यागुता पनि चुप लाग्थे । यस्तो ब्रेक पारेर आफू निदाउन खोज्छु, फेरि सुरु हुन्छ दोहोरी  घुर्राहटको दोहोरीले रातभरि अनिँदै रात काटेँ । भोलिपल्ट ठीक ५ बजे उठेर विश्व दाइले नित्यकर्म सकेपछि मलाई उठाउँदै भन्नुभयो- ‘मेरो कारणले कुनै अप्ठ्यारो त भएन ?’ मैले भनेँ- ‘तपाईं र भ्यागुताबीच रातभरि घ्वारघ्वार र ट्यारट्यार गरी दोहोरी चलेपछि कसरी अप्ठ्यारो नहुनु नि !’ उहाँले भन्नुभयो- पोखराबाट मीत आएको थाहा पाएछन् क्यारे ।”

५. अपहसित हास्यव्यङ्ग्य
यस प्रकारका रचनाको प्रभावबाट मज्जैसँग खित्का निस्किन्छ । प्रतिक्रियामा कुम र टाउको हलिन्छ तथा प्रभावको अतिरेकका कारण आँखाबाट अलिअलि आँसु पनि निस्किन्छ । उदाहरणका लागि माणिकरत्नको ‘फोहोरको पोको’ निबन्धबाट एउटा अंश तल प्रस्तुत गरिएको छ :

“के गर्ने, फोहोर फाल्ने ठाउँ नै छैन मैले भनेँ । अब मैतीदेवीतिर जानु छ, उतै कतै फालौँला, बस्नुस् भन्दै उनले भटभटेलाई भटटट पारे । धत् । काम छैन यो फोहोर बोकेर सहर परिक्रमा गरिराख्नलाई ? मैले भनें । आ… जे पर्ला पर्ला भन्दै मैले नजिकै सडकको किनारामा रोकिराखेको साइकलमा लगेर फोहोरको पोको झुन्ड्याइदिएँ । संयोग कस्तो परेछ भने मैले फोहोरको पोकों लगेर साइकलमा झुन्ड्याउनु र साइकलधनी टुप्लुक्क आउनु एकैसाथ । साइकलधनी ए के गर्या के गर्या भन्दै फोहोरको पोको बोकेर हामीतिर आउदै थियो, हामी दुई भाइ मोटरसाइकल चढेर टाप ।”

६. अतिहसित हास्यव्यङ्ग्य
यस प्रकारको रचनाले पेट मिच्ने गरी हँसाउँछ । यसमा बाह्य प्रतिक्रिया गराउने शक्ति अत्यधिक हुन्छ । अट्टहास गर्नु, जीउ दोब्रिनु आदि बाह्य प्रतिक्रियाका विशिष्ट लक्षण हुन् । नमुनाका लागि माणिकरत्नको ‘लिङ्गभेदमा’ शीर्षक रचनाबाट केही अंश तल प्रस्तुत गरिएको छ ः

“…मलाई महिलाको भूमिका गर्न निर्देशन गयो । मैले पनि एकचोटि कोसिस गरी हेरूँ न त भन्दै कार्यक्रमको दिन सबभन्दा पहिले दारी-जुँगा खौरेर टाउकादेखि खुट्टासम्म घरकी जहानको पहिरन बोकेर गएँ । मेकअप गरियो ।

मलाई त्यो दिन केटीको पहिरनमा हिल जुत्ता लगाउनुपर्ने अप्ठेरोले ज्यादै असजिलो भएको थियो । जब म क्याटवाक गर्दै मञ्चमा पुगेँ दर्शकदीर्घाबाट वाह मोनिका ! हाई मोनिका ! भन्दै सिट्टी बजाएको, सुसेलेको आवाज आउन थाल्यो ।

त्यसरी फोटो खिँचिरहँदा एक जना दर्शकले मेरो रूप र मोहनीबाट मोहित भई मसँग अँगालो हालेर फोटो खिच्ने प्रस्ताव राख्यो । मलाई के थियो र केटासँग केटाले अँगालो हाल्दा के हुन्थ्यो र । मैले हुन्छ भन्दै टाउको हल्लाएँ। फोटो खिचियो । तत्पश्चात् तिनै दर्शकले रेस्टुरेन्ट जाऊँ भन्दै प्रस्ताव राखे । मैले मस्किँदै हाउभाउले उसलाई लठ्ठ बनाइदिएँ । ऊ मसित यसरी लट्ठियो कि हुँदाहुँदा जिस्किँदै अँगालो हाल्ने, चिमोट्ने, हात हालेर उधुम गर्न थाल्यो । अन्त्यमा प्रेम प्रस्तावसमेत राखेर उसको बायोडाटा मलाई दियो । त्यतिन्जेलसम्ममा अँध्यारो हुन लागिसकेको थियो र त्यो दर्शक मेरो पछिपछि लाग्दै थियो । मैले उसलाई ढोकामा राखेर मेकअप रुममा छिरें । मैले निस्केर भनें- जाऊँ भाइ रेस्टुरेन्ट । त्यसपछि मेरो रूप देखेर त्यो दर्शक त्यहाँबाट कुलेलम ठोक्यो ।”

माणिकरत्नको ‘आफ्नै झ्याइँकुटी’ मा मधुरो, मझौला र चर्को गरी तीनै प्रकारका हास्यव्यङ्ग्य पाइन्छन्, तर बढी व्यापकताचाहिँ मझौला हास्यव्यङ्ग्यको रहेको छ । मधुरो हास्यव्यङ्ग्य आन्तरिक भएकाले सूक्ष्म हुन्छ भने चर्को हास्यव्यङ्ग्य एकदमै बाह्य भएकाले स्थूल हुन्छ। मझौला हास्यव्यङ्ग्य यी दुवैका सँघारमा रहने हुँदा आन्तरिक र बाह्य दुवै भई शिष्ट एवं प्रभावकारी हास्यव्यङ्ग्य उत्पन्न गर्न सक्षम हुन्छ । यस सँगालाका अधिकांश निबन्धहरू यसै कोटिका विनोदी उदाहरण हुन् ।

माणिकरत्न सामाजिक विषयवस्तु अँगाल्ने हास्यव्यङ्ग्यकार हुन् । प्रस्तुत सँगालामा उनले सामाजिकइतर विषयमा हात हालेका छैनन् । घरपरिवार, छरछिमेकी, कार्यालय, बसयात्रा आदि विषयक्षेत्रमा सीमित रही उनले सामाजिक विसङ्गतिको गहिरो निरीक्षण गरेका छन् र देखापरेका विकृतिको सकेसम्म उछित्तो काढेका छन् । उपहास, कटाक्ष, विरोधाभास, स्थितिवैपरित्य आदिको प्रयोग गरी उनले ‘आफ्नै झ्याइँकुटी’ का निबन्धहरूलाई बढी धारिलो र खिरिलो तुल्याएका छन् ।

माणिकरत्नको खास उद्देश्य हास्यव्यङ्ग्यद्वारा मनोरञ्जन दिनु हो । यस उद्देश्यमा उनी निकै हदसम्म सफल छन्, किनभने ‘आफ्नै झ्याइँकुटी’ मा यत्रतत्र प्रशस्त मात्रामा ‘लाफिङ ग्यास’ छरिएर रहेको छ । यिनको ‘लाफिङ ग्यास’ कटु नभएर मुटु छुने खालको छ । मनोविनोदले भरिएका उनका हास्यव्यङ्ग्यमा हिंसा भाव नभई हास्यभाव रहेको छ । आजको सन्त्रस्त समाजलाई यस्तै हास्यव्यङ्ग्य र त्यसले उत्पन्न गर्ने राहतपूणर् हाँसो चाहिएको छ ।

‘आफ्नै झ्याइँकुटी’ मा माणिकरत्नले आफूले भोगेको यथार्थलाई ठट्यौली पारामा प्रस्तुत गरेका छन् । सँगालाका सबै रचनामा ‘म’ पात्रका रूपमा लेखक सहभागी हुनु यसको प्रमाण हो । आफूलाई बलीको बोको बनाएर पनि अरूलाई हँसाउने र यथार्थको प्रकटीकरण गर्ने उनले भरमग्दुर प्रयास गरेका छन् ।

यो सरल संरचना भएको प्रभावकारी कृति हो । सन्देशयुक्त, प्रयोजनपूर्ण, मनोरञ्जनमूलक तथा सार्थक कृतिका रूपमा ‘आफ्नै झ्याइकुटी’ को सिर्जना गरेर माणिकरत्न शाक्यले नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन् भन्ने कुरामा कुनै शङ्का छैन । म उनको उत्तरोत्तर प्रगतिको कामना गर्दै कलम बिसाउँछु, धन्यवाद !

०००
माणिकरत्न शाक्यकाे :आफ्नै झ्याइँकुटी (२०६९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad