सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अगल्चाे जुत्तासँग दुई कुरा

मैले सोधेँ, “झप्पू महात्मन् कतै देब्रे र दाहिने जुत्ता देब्रे र दाहिने राजनीतिका प्रतीक त होइनन् ?” झप्पू सींले अर्थपूर्ण आँखाले तलदेखि माथिसम्म मलाई नियाले आफ्ना गम्भीर गिराबाट शब्दहरू निनादित गरे, “यो कुरो सधैँ सम्झिराख मोराश, जुत्ता भनेको राजनीतिभन्दा सुन्दर रचना हो !”

Nepal Telecom ad

मोहनराज शर्मा :

लुँड्याएर पानको बुजो मुखभित्र कोच्दै इन्टरभ्यू स्पेसलिस्ट झप्पू सीं, डबल एम्. ए. ले पैसा पसलेअगाडि फ्यात्त फाले र ठिमीले जात्रुझैँ दायाँबायाँ कतै नहेरी सोझै आफ्नो बाटो लागे । दुईचार डेगमात्रै के चालेका थिए, खुट्टामा ठेस लागेर झन्नै पछारिए । ठेसको तोड खप्न नसकेर उनका ओठ स्वचालित मेसिनझैँ आफैँ फट्टिए र गुँडबाट खसेको भँगेराको बचेरोझैँ मुखको बुजो लत्तै तल झर्‍यो । उनका कन्सिरी तातेर आए, उनी राँकिए, “कुन चाहिँले मूल बाटामा तेर्स्याएछ नि त्यसको ठाँडो, ऐय्या !”

“म ठाँडो होइन, पाउको सेवक हुँ !” ठेस लागेको खुट्टोतिरबाट एकतमासको स्वर आयो ।

उनले निहुरेर हेरे, दुवै आँखा मिचीमिची हेरे, तर त्यहाँ कसैले फालेको अगल्चो जुत्तोबाहेक अरु केही थिएन । सो जुत्तो मुसुमुसु पाँडे हाँसो हाँसिरहेको हुँदा उनी घोर आसर्जेमा परे । जुत्ताले तुनाको दुवै छेउ जोरेर सोस्ती गर्‍याे र भन्न थाल्यो- “म सदा पाउ मोल्ने कमारो, चरनदास हुँ ! ख्वामित्को पाउमा चोट पुर्‍याएर मैले ठूलो नकाम गरेँ, माफ पाऊँ ।”

झप्पु सीं- होइन, तैँले मानिसको बोली कसरी सिकिस् ?

जुत्तो- ‘पञ्चतन्त्र’का चराचुरुङ्गीले जसरी सिकेँ !

झ.- तँ जस्तो बुद्धिमान जुत्तो मैले भेटेको थिइनँ ! म तेरो इन्टरभ्यू लिन्छु !

जु.- इन्टरभ्यू त ठूलाबडाको पो लिइन्छ ! उहिले एक खेप मेरा मालिकले इन्टरभ्यू दिँदा उहाँको पाउसेवामा म पनि थिएँ । विचरालाई कस्तो र्‍याखर्‍याखती पारेको ! मलाई त सारो डर लाग्छ ।

झ.- डराउनु पर्दैन ! तँबारे दुईचार सोझा कुरा मात्रै सोध्छु ।

जु.- हाम्रो जातलाई नै नाई गर्ने हक छैन- हिलो, मैलो, काँडा, आगो जहाँ टेके पनि । मैले नाई कसरी भन्नु ? आफूले जाने जति बेलिविस्तार लाउनेछु, प्रभु ।

झ.- स्याबास् ! तेरो नाउँ के हो ?

जु.- ख्वामित्, मेरो पुस्त्यौली नाउँ त ‘चरणपादुका’ हो, तर बाटा कम्पनीले ‘सुपर गोगो’ भन्ने नयाँ नाउँ राखिदिएको छ ।

झ.- कसको खुट्टाको जुत्तो होस् ?

जु.- हुन त ठूलै खुट्टाको जुत्तो हुँ, तर आपने दिन बिग्रेको ! मैले आफ्ना मालिकको चरणसेवा धेरै दिन गर्न पाइनँ ?

झ. किन ?

जु.- मेरै जम्ल्याहा भाइले गर्दा !

झ.- तेरो जम्ल्याहा भाइ ?

जु.- हो, हामी जोडी थियौँ- एक खेप जन्मेका जम्ल्याहा । ऊ दाहिने पाउको सेवा गर्थ्याे र म देब्रे पाउको । उसले गर्दा आज यस हविगतमा पुगेँ !

झ.- कसरी ?

जु.- उसलाई डुल्ने अघ्घोर सोख थियो । खुसुखसु साउती गरेर उसले ‘ब्रेभो’लाई आफूतिर मिलाएछ !

झ.- को ब्रेभो ?

जु.- मालिकको प्यारो कुकुर ! साउतीअंसार ब्रेभोले उसलाई चट्ट मुखमा च्याप्यो र सुटुक्क डुलाउन निस्क्यो । केही छिनपछि ब्रेभाे त फर्कियो, तर एक्लै !

झ.- तेरो जम्ल्याहा भाइको के भयो नि ?

जु.- मालिकले यताउती धेरे खोजी गराउनु भो, तर उसको सुइँकोसम्म पाइएन । अनि त रिसले आगो भएर उहाँले मलाई पनि झ्यालबाट हुर्‍याइदिनुभो । त्यहाँदेखि हण्डर खाएको खायै छु ।

झ.- च- च ! अबर पो परेछ तँलाई त !

जु. – हो ख्वामित् ? त्यस दिनदेखि आँखा देख्नेले पनि लत्याए, नदेख्नेले पनि लत्याए । मोटर र गाडाले किचेर उत्तिकै धूलोपीठो पारे । चकचके केटाहरूले भकुन्डोझैँ भकुरेर यो दोबाटो देखाए । तीन त्रिभुवन चौध लोक देखिसकेँ ।

झ.- मडेल त तेरो लेटेस्ट हो क्यार, तर यति छिटो बुढो र कुप्रो कसरी भइस् ?

जु.- मालिकले झ्यालबाट बाहिर मिल्क्याएको दोस्रो दिन म नालीमा फालिएँ । ओहो, कस्तो खपिनसक्नु कुइगन्ध ! साक्षात् नरकमा चुर्लुम्म भएर बस्नु पर्‍यो । निकै दिनपछि नाली सफा गर्नेले मलाई झिकेर ओबानो पाखामा राखिदियो । त्यत्रो दिन नालीमा भिजेर घाममा सुक्दा त म कक्रक्क भएँ, बूढो झैँ कुप्रो पनि परें ।

झ.- तँलाई नरकमा जाक्ने जेमदूत को थियो ?

जु.- एउटा बैगुनी चोर ! त्यसदिन साँझतिर एक डफ्फा मानिस उसलाई लखेट्दै आउँदै थिए । मलाई देख्ने बित्तिकै उसले चोरेको नोटको बिटो हत्तपत्त मेरो मुखभित्र कोचिदियो र केही पर गएर ठिङ्ग उभियो । उसलाई समातेर मानिसले नङ्ग्याए पनि, तर केही भए पो पाउनु । निराश भएर सबै फर्केपछि मुसुक्क हाँसेर उसले मेरा पेटबाट रुपियाँको बिटो थुत्यो र मस्त चालले भट्टी पसलतिर लाग्यो । फर्किंदा औधि मात लागेको हुँदा अघिको मेरो गुन बिर्सेर उसले मलाई नै लत्यायो र त्यसो गर्दा लड्न खोजेकोले रिसले मलाई उठाएर नालीमा फालिदियो ।

झ.- वास्तवमा बैगुनी नै हो त्यो चोर ! अनि तेरा सिउनी कसरी उध्रे नि ?

जु. – यो सिउनी उध्रेकाे होइन, मेरो मुटु चिरिएको हो ! निरपराधलाई निर्घातसँग चुटेको देखेर मेरो मुटु छियाछिया भएको हो ।

झ.- कुन निरपराधलाई कसले निर्घातसँग कुट्यो ?

जु.- त्यो निरपराध थियो एउटा साइकलवाला । उसको साइकलमा ठेस्सिएर बाटो हिँड्ने बूढो पछारियो, आफ्नै गल्तीले । अबुझ मानिसहरूले बूढाको सहानुभूतिमा साइकलवालालाई नै दोषी ठहराए । एउटाले टपक्क मलाई टिपेर त्यस निर्दोष साइकलवालालाई साफसँग कुट्यो । मैले कति कराएँ, तर कसैले पनि सुनेन । यही घटनामा मेरो सिउनी ठाउँठाउँबाट उध्रेर गयो ।

झ.- मैले तेरा कुरा बुझेँ । तँ म्युजियममा राख्न लायक जुत्ता रैछस् । म तेरो सिफारिस गरिदिन्छु ।

जु.- ख्वामित्काे भलो होस् !

साथै उसले फित्ताका दुवै छेउ जोरेर सोस्ती पनि गर्‍यो । जवाफ फर्काएर झप्पू सींले आफ्ना दुवै कानका शब्दरोधक भुत्लाहरूलाई बीच बाटामा नै तल झारे, मानौ अब उनलाई कसैसँग पनि कुरा गर्ने चाहना नै छैन ।

उनलाई कुरा गर्ने मन नभए पनि मलाई कुरा गर्ने मन थियो । हावाको झोक्काले उनका कानको भुत्ला यताउति पन्छाएको मौका पारेर मैले सोधेँ, “झप्पू महात्मन् कतै देब्रे र दाहिने जुत्ता देब्रे र दाहिने राजनीतिका प्रतीक त होइनन् ?”

झप्पू सींले अर्थपूर्ण आँखाले तलदेखि माथिसम्म मलाई नियाले आफ्ना गम्भीर गिराबाट शब्दहरू निनादित गरे, “यो कुरो सधैँ सम्झिराख मोराश, जुत्ता भनेको राजनीतिभन्दा सुन्दर रचना हो !”

उनको यो साजी महान् वाणीले मलाई भित्रसम्म छोयो । लाटाले पापा हेरेझैँ मैले उनलाई हेरिरहेँ ।

०००
इन्टरभ्यू स्पेसलिस्ट मि.झप्पू सीं, डबल एम्. ए. (२०५२)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad