सुभाषचन्द्र देवकाेटासबै बाँदरहरूको कल्याण होस् !
अब सबै मिलेर एउटा घोषणा गरौँ, बाँदर राज्यमा, रामराज्यको कुरा गरिने छैन ! बाँदरहरू नाङ्गो देखेर हाँस्न पाइने छैन ! एकआपसमा लुँछाचुँडी गर्न पाइन्छ ।

सुभाषचन्द्र देवकोटा :
आउ हामी, 
अमूल परिवर्तनको कुरा गरौँ,
नेपालको संमृद्धिको लागि,
अब बाँदर राज्य खडा गरौँ !
सबैभन्दा पहिले,
बाँदर राज्यको संविधान लेखौँ !
नीति, नियमको व्यवस्था गरौँ !
सडक र चोकहरूमा,
हनुमान चालिसा पाठ गरौँ !
बाँदरहरूको अधिकार कायम गर्न,
ध्वंशको रिहर्सल सुरु गरौँ !
बाँदर राज्यमा,
अड्डा, अदालतहरू बाँदरहरूले नै भरौँ !
यसो भएपछि,
न्यायधीश र वकिलहरू पनि,
बाँदरहरू नै हुने भए !
बरू, न्यायाधीश चाहिँ ,
नेता बाँदरहरूका हनुमानहरू नियुक्ति गरौँ !
वकिलहरू चाहिँ,
नेता बाँदरहरूको इसारा बुझ्ने चम्चे बाँदरहरू छनौट गरौँ !
बाँदर राज्यमा,
न्याय निरूपणमा कीर्तिमान राखौँ !
भन्सार र माल्दार अफिसहरूमा,
चोरेर खान सक्ने,
लुटेर ल्याउन सक्ने,
बलिया ढेँडु बाँदरहरूलाई हाकिम नियुक्त गरौँ !
तल माथि, दायाँ, बायाँ,
कुद्न सक्ने, बुर्कुसी मार्न सक्ने,
बाँदरहरूलाई कारिन्दामा नियुक्त गरौँ !
बाँदरहरूकै गीत गाऔँ !
हनुमान नाच नाचौँ !
बाँदरहरूको राज्यमा,
अब, बाँदरहरूकै राजनीतिक पार्टीहरू खोलौँ,
बुढा ढेँडु बाँदरहरूलाई नेता छानौँ !
छोरा, छोरी, ज्वाईं र श्रीमती बाँदरहरूलाई,
संासद, मन्त्री र राजदूतका पदहरू बाँडाैँ !
केही चम्चे बाँदरहरूलाई,
सिपाहीमा भर्ती गरौँ !
स्तुतिगान गर्न लगाऔँ !
सामन्तवादका सबै अवशेषहरू,
निर्मूल पार्दै,
बाँदर राज्यको जग बसालौँ !
अब केहि नसोचौँ,
बरु मुठ्ठी उठाऔँ !
जताततै बाँदरहरूको,
बिगबिगी बढेको बेला,
बाँदरहरूकै जय जयकार गरौँ !
अन्तमा,
अब सबै मिलेर एउटा घोषणा गरौँ,
बाँदर राज्यमा,
रामराज्यको कुरा गरिने छैन !
बाँदरहरू नाङ्गो देखेर हाँस्न पाइने छैन !
एकआपसमा लुँछाचुँडी गर्न पाइन्छ,
मिल्न पाइने छैन !
लुटेर खान पाइन्छ
श्रम गरेर खान पाइने छैन !
भत्काउन जति पनि पाइन्छ,
निर्माण गर्न पाइने छैन !
यति भएपछि,
सबैले एक स्वरमा भनौँ !
सबै बाँदरहरूको कल्याण होस् !
बाँदर राज्यको जय होस् !
०००
गोरखा, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































