चिरञ्जीवी दाहालसाढुदाजुको ससुराली
बरू विकास निर्माणका काममा ब्रह्मलुट गर, मान्छे सुन तस्करीका धन्दा चलाउ, भ्रष्टाचार गर, धेरै दलहरूको गठबन्धन गरेर बाँडिचुँडी खाउ, राज्यको ढुकुटी लुट ।

चिरञ्जीवी दाहाल :
उसो त हाम्रा साढुदाजु सानोतिनो नेता हुन् । नेता भइकन पनि मान्छे चैँ निकै टपर्टुय्या छन् । यही कारण उनको पार्टीको शीर्ष तहसम्म पनि राम्रै पहुँच छ । त्यसैले होला, ससुरालीमा समेत साढुभाइ र मेरो भन्दा उनै साढुदाजुको इज्जत बढी हुन्छ । उनकै मानमनितो ज्यादा हुन्छ । अक्सर उता बेला बखत खोजिनीति पनि उनैको हुने गरेको छ ।
यिनलाई राजनीतिक दलको कार्यकर्ता भएकै कारण, सासुससुराले देशको राजनीति, देश विदेश र आर्थिक, सामाजिक एवं यावत् कुराहरु उनैसँग सोध्ने गर्छन् । जब यिनले उत्तर दिन थाल्छन्, बुढाबुढी मख्खै पर्छन्, हामी भने लाजले घोसेमुन्टो लागाएर बस्नुपर्छ । किनकि यिनले शतप्रतिशत हावादारी कुरा गरिरहेका हुन्छन् ।
हामी जाबो मास्टर र कर्मचारी न पर्याैँ । सचिव सहसचिव, हेडमास्टर भन्दा राजनीतिमा संलग्न भएकैलाई इज्जत दिने रहेछ ससुरालीमा पनि, चार खेप वडासदस्यमा पराजित किन नहोस् । राजनीतिमा लागेको भनेपछि छुट्टै शान, गजबको मान र त्यहीअनुसार खानपान । झनै हाम्रा साढुदाजु त तीन चार पटक जेल पनि परिसकेका व्यक्ति हुन्, किन कम हुन्थे । एक पटक कुखुरा चोरेको अभियोगमा, अर्कोपटक सुनौली नाकामा केही युवतीलाई बम्बइ लैजान लाग्दा समातिएका । पछि दुई पटकसम्म त बानेश्वर सडकमा रेलिङ भाँचेर अराजक र उत्तेजक कार्यमा संलग्न भएको अभियोगमा समातिए । अनौठो कुरा, जतिपटक जेल परून्, १५ दिन भन्दा बढी यी जेलमा बस्दैनन् । आखिर राजनीतिक कार्यकर्ता न परे । उनी पहुँचवाला न परे ।
मानौँ, मलाई र मेरो साढुभाइलाई केही पनि थाहा छैन् । हामी केही पनि नजानेका गँवार हौँ । यो भनाइ उनको भने होइन, सासुु ससुराको हो । जब ससुरालीमा हाम्रो केही पुछनी हुन छोड्यो, मानमनितो हुन छोड्यो, हामीले सहन गर्न समेत निकै कठिन हुन थाल्यो । ससुरालीको पुलपुल्याइले साढुदाइ छोइनसक्नु भएर निस्के । हुँदाहुँदा ससुराली गएको बेला हामीलाई यिनले आफ्नो निजी काममा समेत हाकाहाकी अह्राउन थाले । तिनलाई चाहिने चुरोट, पान, सुर्ती र रिचार्ज कार्डसमेत हामीले नै ल्याईदिनु पर्ने हुनथाल्यो । टिकाटालो गर्दा, उनको मात्र बखान हुन्थ्यो । ससुरालीमा यतिसम्म पक्षपात हुन थाल्यो कि दशैँको टिकामा समेत हामीलाई भन्दा वेशी आशिर्वाद उनैले पाउँथे । उनलाई टिका लगाउँदा छिट्टै मन्त्री भएको देख्न पाइयोस् भन्ने ससुराबाले हामीलाई कहिले पनि त्यस्तो आशिर्वाद दिएनन् ।
भात खाने बेला उनलाई जे मन पर्छ भान्सामा त्यही पाक्ने गर्थ्याे । लाग्थ्यो, यो ससुराली हाम्रो होइन, उनको मात्र हो । त्यहाँ उनको विशेष हक लाग्छ । हामी त साढुको ससुराली पो आएका त ! कानुनी हिसावले ससुरालीमा हाम्रो पनि बराबर हक लाग्ने भएपनि कार्यकर्ता भएकै कारण हेर्दाहेर्दै ससुराली घर उनले कब्जामा लिए ।
लाग्थ्यो, ससुराली उनको पेवा नै हो । हामी त उनको भरिया मात्र हौँ । हामी तिनका हरुवा चरुवा पो हौँ त ! सासु ससुरा उनलाई देखेपछि सर्पले गरुड देखे जस्तै हुन्थे । हुँदा हुँदै साला साली समेत उनकै मुठीमा परे । उनले जे भन्यो खुरुक्क मान्ने, हामीलाई भने टेरपूच्छर नलगाउने ।
ससुराली घरको गृह प्रशासन उनकै इशारामा चल्न लाग्यो । उनलाई भोक लागे समयमा खाना पाक्थ्यो, भोक नलागे पाक्दैन थियो । हामी उनकै पछि लाग्नु बाहेक अन्य केही उपाय थिएन । उनीसँग गठबन्धन गरौँ मनले नमान्ने ! नगरौँ ससुराली उनकै मुठीमा ! भोकै परिने हो कि भन्ने डर !
कसैलाई लाग्नसक्छ, यति जाबो कुरा पनि के गरि राखेको होला ? तर कुरा नगरि नहुने भएर मात्र हो । खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । पर्नेलाई मात्र थाहा हुन्छ, कति मर्का परेको छ भन्नेकुरा त । नपर्नेलाई के थाहा ? तीन चारवटा साढुदाइ साढुभाइ हुनेहरू मध्ये एउटा कुनै दलको कार्यकर्ता साढु जस्को छ उसैलाई मात्र यस्तो कुराको अनुभव हुन्छ, अरुलाई के थाहा ? हैन यी राजनीति गर्नेले गाउँ, प्रान्त र देश त यसै पनि तहसनहस पारेकै थिए, तैपनि कसैको गुनासो थिएन । अब त ससुराली पनि एकलौटी बनाउन लागे ।
दलको नेताले पार्टी कब्जा गरे अन्य दलतिर बसाईसराई गर्न मिल्थ्यो । जसरी यिनले चुनावमा टिकट नपाउँदा अरु पाटीमा गएर चुनाव लड्छन् । साढुले ससुराली कब्जा गर्दा ससुराली फेरौँ, त्यो पनि भएन । आखिर गरौँ के ? यही पारा हो भने यस्तो अन्याय हामीले सधैँ सहनु पर्ने पक्का छ ।
जब अति भयो, साढुभाइ र मेरो सल्लाहमा एउटा गोप्य योजना बन्यो । पूर्व योजना अनुसार दसैँमा ससुरालीमा पाएको खाममा हामी दुईजनाले गोजीबाट एक एक हजार थप गरेर राख्यौँ । सासुससुरा कतै गएको मौका छोपेर उनै साढुदाजुसँग भन्यौँ, “दक्षिणा कति रहेछ हेरौँकि के हो दाजै ! “तीनैजनाको खाम निकालेर हेर्याैँ । हामीले हजार हजार थप गरे पनि साढुदाजुकै खाममा अझै एकहजार बढी देखियो । सायद हाम्रो आन्तरिक योजना चुहावट भयो र उनले पनि हामीले भन्दा बढी नोट थप गरे वा उनलाई ससुरालीमा हामीलाई भन्दा बढी दक्षिणा दिएको हो, त्यस कुराको भेद आजसम्म खुल्न सकेको छैन । राजनीति गर्नेसँग कसैगरे पनि नसकिने रहेछ ।
हामी निकै हैरान भयौँ । छट्टुले समुन्द्रको छाल गनेर पनि खान्छन् भनेको यसैले रहेछ । दक्षिणा थोरै बनाएर ससुरालीप्रति मोह भङ्ग गराउने योजना विफल भएपछि हामी झनै विलखबन्दमा पर्याैँ। बरू उल्टै उनले हाम्रो कर्तुत बुढाबुढीलाई सुनाएछन् कि कसो हो ! आखिर साढु राजनीतिक कार्यकर्ता न परे ! त्यस दिनबाट हामी गँवार मात्र होइन, अत्यन्त नालायक ठहर भयौँ । यिनको चित्त दुखाएर उनलाई ससुरालीबाट नै बेदखल गराउने योजना विफल मात्र भएन उल्टै हामीलाई पो ससुरालीबाट बेदखल गरियो । अचेल उनी नियमित ससुराली जान्छन्, हामी हेरेको हेर्यै ।
बिन्ति छ साढुदाजु, ससुरालीको हाम्रो अधिकारमाथि ठाडो हस्तक्षेप नगर । हाम्रो ससुराली आवतजावतमा रोक नलगाउ । बरू विकास निर्माणका काममा ब्रह्मलुट गर, मान्छे सुन तस्करीका धन्दा चलाउ, भ्रष्टाचार गर, धेरै दलहरूको गठबन्धन गरेर बाँडिचुँडी खाउ, राज्यको ढुकुटी लुट । आजसम्म कसैले छेकेको छ ? सधैँ जस्तै हामी कानमा तेलमा हालेर बसौँला । हामी कहिले पो बोलेका छौँ र ? हामी टुलुटुलु हेरेर बसौँला । हामी अभ्यस्त भइसकेका छौँ । तर हामीलाई ससुराली जानेबाटो नरोक, नछेक । तिम्रो त सधैँ मेजमानी छँदैछ । हामीले मेजमानी गर्ने भनेको त त्यै ससुरालीमा मात्र त हो नि !
०००
कालिका, चितवन ।
Subscribe
Login
0 Comments
Oldest








































