सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढे

प्रजातन्त्रदेखि लोकतन्त्रसम्म लोकतन्त्रदेखि रोगतन्त्रसम्म, व्यपारदेखि अपारसम्म, अपारदेखि सदाबहारसम्म सदियौदेखि आजसम्म सबै छन् साँढेवादी टन्ना-टन्न । सबका सब मिलेका छन् साँढेसँग टम्म र ठम्म ।

Nepal Telecom ad

म एकाविहानै मेरा साढुदाइ सन्ते साहुका घराँ साँढेका अर्थ बुझ्न कुँदेरै पुगे । एकाविहानै मलाई देखेर साढुदाइले पनि गाई भैसी दुहि, डाम्नालाई फुहि खोरियाँ हुली म थिम आई भन्न थाले- “हेर त हेर मुर्दारा किरिया साँढेहरू उफ्रेका ! ‘बेला न कुवेला वजिनीको मेला’ भन्या यहि हो । तँ एकाविहानै के कामले आइस् त हँ ?”

मैले भने “साढुदाजु मैले यो साँढेका बारेमा एउटा कार्यक्रम मा वोल्नुपर्ने भएकाले हजुरसँग थप जानकारी पाइन्छ कि भनेर आएको नि ।”

त्यसपछि त मेरा साढुदाइको लेक्चर सुरू भयो “तैले बुझेको छैनस् ? तँ र म साढु दाइ र साढु भाइ भनेका पनि यी दुई दिदी बहिनीका साँढे हौ । दिदी वहिनीका साँढेलाई साँढेदाइ र साँढेभाइवाट शब्दको अपभ्रंश गराई साँढेबाट सभ्य भाषा बनाउन भव्य काम गरिएको मान्नुपर्छ साँढेभाइ ।”

त्यसपछि त साँढेदाइले भट्याउन थाल्नु भयो “साँढे भन्नाले वृषोत्सर्गमा वा अन्य धार्मिक उद्धेश्यले डामेर छोडिएको बहर, उदण्ड गर्ने ऊसँग अनगिन्ति हुन्छन् रहर । साँढे अर्थात साँढ यो हो वर्तमानको भाँडतन्त्र यो हुन्छ आँफैमा स्वतन्त्र उसलाई मन पर्दैन प्रजातन्त्र । ऊ हुन्छ मोटोघाटो र बलियो, उसले देख्छ जताततै हरियो र हरियोलाई वनाउँछ खलियो । त्यसैले जहाँ निर्धो देख्छ त्यही दल्दियो, उधिन्दियो, उखेलिदियो वास्तवमै भनौ भने यो हो समाजको सक्कली बियो, कोही भन्छन् उहाँ त समाजको दियो । आफू चाहिँ साँढे तिहार, साँढी तिहार, र कुकुर तिहार पारेर दोसल्ला लियो अरूलाई दल्दलाँ दवाइदियो कसको के लाग्छ ? फँसाईदियो, फोकटाँ फुटाइदियो आखिरियाँ दियो नभई समाज अन्धकाराँ जीउन सक्छ ? ऊ बलियो भइकन मनलागि व्यवहार गर्ने व्यक्त्ति अर्थात उसले सधैं देखाउँछ शक्ति, कतै गर्छ महान भक्ति ।

सुद्धि हराएको शक्त्तिको बलाँ उच्छृंखल, उद्दण्ड र उन्मत्त तथा उन्माद मतुवा, उत्पात मच्चाउने तर ऊ हुन्न कहिल्यै भगुवा तर होइन ऊ साँच्चैको भतुवा । त्यसैले हाम्रो नेपाली उखानाँ भनिन्छ नि- “साँढेको जुधाइ बाच्छाको मिचाइ” । समाजाँ बलिया बाङ्गा लडे भने समाज भाँडिन्छ, समाज र देश तथा निर्धा र निम्सरा जमात फाँडिन्छ । प्रजातन्त्र पर जा तन्त्र हुन्छ अर्थात प्रजातन्त्र पर तन्त्र वन्छ । जसरी माछा मार्ने मत्यले खोलाँ पानी धमिलो पार्छ विष झार्छ, माछा खुँगा हाल्छ, आफ्नो बोराँ भरेर रमाउँदै बेलुका रक्सीसँग तड्पँदै गरेको माछा खान थाल्छ र आत्म खुशी पार्छ, जे जे पर्छ, पर्छ, यसरी समाजाँ केहि झर्छ र चल्छ । “तैले कुरा बुझिस् साँढेभाइ ?” मैले पनि भने बुझें साँढेदाइ वुझें ।”

फेरि साँढेदाइले भन्न थाल्नु भयो । “त्यस्तै साँढ भन्नाले सिङ मोटा हुने एक जातको लेकाली ठूलो भेँडो बरुवालको थुमा । भेंडो त आखि़िरयाँ भेंडै हुन्छ चाहे उसको भुत्लाँ उन बन्छ चाहे उसले नुन बोक्छ गुन ओत्छ । अर्को अर्थाँ भन्ने हो भने मोटो र बलियो व्यक्ति, उसले समाजाँ देखाइ रहन्छ सन्चैसँग शक्त्ति । मर्यादा अनुशासन नभएको अर्मादित ऊसँग छ शक्त्ति, भनेर केहि लाग्दैन उसलाई उक्ति । आफूलाई सम्झी रहन्छ सधैं ‘यस्तै मसँगै भइरहन्छ सधैं भरपुर शक्त्ति’ ।”

फेरि साँढेदाइले जङ्गिँदै भन्नु भयो । “साँढा कसैका अधिनाँ नबस्ने, ‘न भैंमा न भाँडाँ’ कसैको अनुशासनाँ नरहने छाडा. स्वच्छन्दतावादी पाडा, भेंडालाई भन्छ साँढा, समाज भाँडा र परिआए जमात फाँडा ।

साँढी मानिस मरेका एघारौ दिन वृषोत्सर्ग गर्दा डामेर बाच्छा साथाँ छोडिएकी बाच्छी, स्वतन्त्र समाजकी साक्षी अर्थात लक्ष्मी घरभित्र बस्न नमान्ने तपस्विनी । उसरी भनौ भने कसैका नियन्त्रणाँ र निमन्त्रणा नहुने अनियन्त्रित अष्टलक्ष्मी आफ्नै समाज कि सच्चा भक्तिनी । कसैका अनुशासनाँ नरहेकी स्त्री, आफूखुशी आचरण गर्ने स्त्री, घर भाँडा गृह मिनिस्ट्री ।”

यी चार नामका शक्त्तिशाली पशु समाजका शक्त्तिले यी चार थरको नाम, थरको काम, गोत्र र गोपनियताले राजनीति समाज, अर्थतन्त्र र धर्ममा ठूलो पकड जमाउँदै होलान् जमाएका होलान् र जमाइरहलान् भनेर भन्न नसकिने अवस्था छैन । जसरी खोलाँ पानी धमिलो छ भने सङ्लो पानी कसरी झिक्ने ? कहाँबाट ल्याउने जताबाट अँजुलियाँ पानी उठाए पनि अङ्खराँ उठाए पनि अर्थात गाग्रीयाँ बोकाए पनि आखिराँ धमिलो पानी त आँउछ नै । त्यसरी नै यी महा शक्त्तिशालीहरूले एक आपसाँ मिलेरै एउटा अण्डर ग्राउण्ड कोआँपरेटिव सोसाइटी बनाई सकेका छन् । पानी सङ्लियो कि समाज वौरियो, हरेकलाई तौलियों ताल परे खौरियो नपरे दौडियो, सङ्लाँ पौडियो धमिलाँ तैरियो ।” हो कि होइन साँढेभाइ ? साँढेदाइले प्रश्न गर्नुभयो । मैले पनि भनिहाले “हो साँढेदाइ हो ।”

फेरि साँढेदाइले भागवत पुराणाँ गुरुले पुराण भट्याउँदा झै भट्याउन थाल्नु भयो । “जसरी बर्तेकी गाईले, लक्ष्मी माईले साँढेहरू बटुल्छिन् । सारा तोरिबारी, आलुबारी, सागबारी, धानबारी, मकैबारी फाँड्छिन् । गरिवको अन्न माड्छिन्, किसानको खेती झार्छिन्, तालपरे गाड्छिन् नपरे साँढेहरू बटुलेर वारिपारी घर वरिपरि पाक्या अन्न झार्छिन् करेसाबारी फाँड्छिन् ताल परे मार्छिन्, नपरे भाग्छिन् । उनलाई कसले समात्न सक्ने ? बर्तेकी साँढीलाई कसले दाम्लो लगाउने ? दाम्लोबाट त जुन दिन उनी डामेर छोडियो, त्यस दिनबाटै स्वतन्त्र भइन् । अब त कसले भन्छ ? उनको कुरो कसले गर्छ र भन्छ ? ‘उनी छैनन सदाचार ? उनले गरिन अत्याचार ?’ उनी त आस्था र नेत्रित्व कर्ताकी भइन् विशाल हर्ताकर्ता । अरु जस्ती दाम्लाँ बाँधिएकी बाँधा हुन् र उनी ? उनी त डामेर छोडिएकी स्वतन्त्र परि । उनकै छ जताततै लरिवरि ।

त्यसैले साँढेहरू, साँढाहरू साँढी साँढहरूले उधिन्ने जमिन, खोस्रने मैदान, फाँड्ने बारीहरूलाई कसैले बिध्वंश भन्छ भने त्यो परम्परा विरोधी संस्कार बोक्ने जमात मानिन सक्छ । समाज भाँडा त साँढा, साँढे साँढी र साँढहरूको परंपरागत बिधी र विधान नमान्नेलाई भनिन्छ । त्यसै हाम्रा पुर्खाले हजारौंमा एकलाई साँढे बनाएर डाम्ने गरेका होइनन् होला ? यिनै बिधी र विधानसँगै धर्मशास्त्रको पोषिलो ज्ञानको भण्डार हेरेर डाम्ने गरेको जात छाडा छोड्ने गरेको राहत हो । शक्त्तिशाली जमात हो र यो जगतको भगत पनि । संसाराँ शक्त्तिको खोज कसले गरेको छैन र ? संसाराँ शक्त्तिको पूजा कसले गरेको छैन र ? संसाराँ चलाएको चलन कसले मानेको छैन र ? त्यसैले यो हाम्रो परम्पराको बिधी र विधान हो । साँढेहरूको बललाई मल मान्नै पर्छ । साँढीहरूको हिम्मतलाई हितको पूजा गर्नैपर्छ । मीतको व्यवहार गर्नैपर्छ जे जे पर्छ उनैको वलले टर्छ । साँढेहरूको मैदान खाली गर्नैपर्छ । साँढेहरूको जुदाइयाँ कैयौ बाच्छाहरूले आफ्नो मानमर्दन भाँडावर्तन काँदाँ गर्दन राखेर पनि टाँढाँ उक्लिनै पर्छ । कैयौं बाच्छाहरू र कैयौं बाच्छीहरूले आफ्नो हातखुट्टा शरीर र उस्तै परे आफ्नो ज्यानको आहुति दिनैपर्छ । त्यो शोकाँ पनि शोक सन्तप्त परिवारले भोज लगाउनैपर्छ र मोज मान्नैपर्छ ।

त्यति मात्रै कहाँ हो र ? साँढेवादी परम्पराले डामेका डाम धेरै ठाम बोक्नैपर्छ । साँढेहरूले हानेका डाम ठाम-ठाम्माँ सहनै पर्छ । साँढेहरूका लीला हेर्नैपर्छ । साँढाहरूका जात्राँ जात्रिनै पर्छ । साँढेहरूका राज्याँ रम्नै पर्छ । साँढेहरूका लात खानैपर्छ । साँढेहरूका बात मान्नैपर्छ । साँढेहरूले खोस्रेका धुलाँ रम्नैपर्छ । साँढहरूले कुल्चेका अन्न खानैपर्छ । साँढेहरूले उधिनेका ठामका अन्न खानैपर्छ । साँढेहरूले गोब्र्याएको मलिलो ठाममा अन्न लाउनैपर्छ । साँढीहरूको मलमुत्र गहुँत चोखो मानेर भान्साँ लानैपर्छ र लिप्नैपर्छ । उसको मलमुत्र चोख्यान खानैपर्छ, ऊसँग चोखिन जानैपर्छ । पशुपतिनाथाँ मंदिराँ देख्नुभएकै होला नि भित्रका पशुपति नाथ र बाहिरका साँढे ? हो हेर्नुस् त त्यहाँको जल सेचन गर्नैपर्छ, सेवन गर्नैपर्छ । उसरी त हाम्रा पशुपति नाथ पनि साँढेवादीनै त हुन् नि । दुनियाँ को छैन साँढेवादी ? आदिदेखि अन्तसम्म, अन्तदेखि अनन्तसम्म । भगुवानदेखि नेतासम्म, नेतादेखि केटासम्म, केटादेखि बेटासम्म । प्रजातन्त्रदेखि लोकतन्त्रसम्म लोकतन्त्रदेखि रोगतन्त्रसम्म, व्यपारदेखि अपारसम्म, अपारदेखि सदाबहारसम्म सदियौदेखि आजसम्म सबै छन् साँढेवादी टन्ना-टन्न । सबका सब मिलेका छन् साँढेसँग टम्म र ठम्म ।

हामी पशुपति नाथा शिवलिङ्गा प्रसाद खाने के वादी ? त्यसैले हामी सबै साँढेवादी । भगवान पशुपति नाथका वाहनवादी । हामी पशुलाई पुज्छौ त्यसैले पशुपति नाथा मंदिर घुम्छौं ! साँढेका वरिपरि घुम्छौं र शीर निहुरेर वीर बन्ने वरदान माग्छौ, त्यसैले हामी साँढेवादी, त्यसैले हामी पशुवादी, त्यसैले हामी साँढवादी, हामी सबै साँढावादी र साँढीवादी ! हामी आदिदेखि अन्तसम्म, जन्तदेखि जन्तुसम्म साँढेवादी होइन भन्ने को ? पुराण मंदिर र हाम्रो धर्मशास्त्र हाम्रो साक्षी र सबैभन्दा ठूलो अस्त्र ! जय धर्मशास्त्र ! त्यसैले तँ पनि एकै स्वराँ भन् साँढेभाइ ‘साँढेवादी जिन्दावाद ।’ मैले पनि साँढेदाइसँगै भने- साँढेवादी जिन्दावाद ! साँढे साँढे एक हौं ।

०००
अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा