सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पानी जुठ्याउनेहरूको विरोधमा

खुसीसित जात नमानी गरिने बिहेले समाजमा मायाको साटो घिन र पछुतो फिँजाएकैले नेपालको पानी जुठिएको हो, माटो नसप्रेको र नफापेको हो । हाम्रा तन्नेरीतरुनीले आफुसमा बिहेबारी चलाएर सानो र ठूलो जात नभई ‘नेपाली जातको’ हुन पाइलो नसारे हाम्रो चोखो एकतामा अनमेलको जुठो पर्नेछ र हाम्रो सङ्लो हिमाल धमिलिनेछ ।

Nepal Telecom ad

डा. तारानाथ शर्मा :

पानीले भरिएको बटुकोमा मुख गाडेर घ्वाटघ्वाटी तन्काउँदा त्यो बटुको र त्यसभित्रको पानी जुठिन्छ भन्ने हाम्रो मुलुकको चलन छ । बटुकाको बिट च्वास्स ओठले छुँदासम्म पनि त्यो बिटुलिन्छ, जुठिन्छ । कहाँसम्म भने हुक्काको तमाखुसमेत एउटै नलीबाट खानु हुँदैन भन्छन् ।

उता युरोपतिर भने ठिक्क बिब्ल्याँटो छ- उनीहरूमा जुठो-चौखोको चलन छैन । सफा र फोहरतिर हाम्रो जातिले आँखा चिम्लेरै पच्छिमा जातिहरुले जुठो र चोखोतिर आँखा चिम्लेका छन् । हाम्रो समाजमा एउटाले मुख गाडेर पानी खाएको बटुकोमा अर्काले खायो भने जुठो खायो भन्छन् तर युरोपमा भाँडामा राखेको पानी एउटै डाडुले झिक्तै त्यसैमा जति जनाले मुख दुबाएर खाए पनि त्यस भाँडाको पानी जुठिँदैन । त्यति मात्तै कहाँ हो र ? उनीहरूका भान्से र भान्सेनीहरू निर्धक्कसित पाक्तै गरेको मासु भाँडाबाट डाडुले फिकेर नुन लागे-नलागेको र पाके नपाकेको हेर्नलाई चाख्छन् र आधी चोक्टो खाएर अर्को आधी चोक्टालाई चाट्तै त्यसै भाँडामा हाल्दछन् । यस प्रथाको बिब्ल्याँटोमा युरोपतिर कसैले चुइँक्क बोलेको सुनिँदैन ।

मैले युरोपेलीहरूलाई पानी र मासु जुठ्याउने भनेर दरेँ भने यस भनाइलाई मान्नेहरू विरलै पाइएलान् किनभने यहाँ पानी जुठ्याउने भनेर त्यस्ताहरूलाई पो भनिन्छ जसले चोखो पानी खान्छन् र जसले अर्काको पानीलाई जुठ्याएको मैले आजसम्म देखेको छैन ।

लोग्नेको भात खाइसकेपछि स्वास्नीले त्यही पुरा छोडेको जुठो थालमा खान्छे । बाबुआमा, दाजुदिदीहरूको जुठो खाने चलन हामीमा छदै छ । जुठो खुवाउने यी लोग्ने, बाबुआमा र दिदीदाजुहरूलाई पानी जुठ्याउने भन्नुपर्ने हो । त्यति मात्रै होइन, छेउमा जादा ह्वास्स गरेर कुहिएको सिनु सास गनाउने मुख भएका र डरलाग्दो सरुवा रोगले अँठ्याएकाहरूको जुठोले हाम्रो नेपाललाई सुँगुरको खोरभन्दा उखरमाउलो फोहर पारेको छ र पनि यिनीहरूलाई फोहोरी भन्न पाइँदैन, पानी जुठ्याउने र रोग सार्ने कीरा भन्न पाइँदैन ।

कसैकसैले चर्को स्वरमा के फलाकेको सुनिन्छ भने कामी, दमाई, सार्कीहरू सुँगुरको मासु खाने, रक्सी तन्काउने र तल्ला किसिमको जीवन बिताउने हुनाले तिनले पानी छोएसम्म भने पनि जुठिन्छ । ’पानी नचल्ने’ भनेर दरिएका साथीसँग एकै थालमा सुँगुरको मासु र भात डम्फ्याएर चाडबाडमा रक्सीले टुन्न भएर जब म घर फर्कन्छु म चोखै बाहुन ठहरिन्छु, तर मासु छुदै नछुने, रक्सी देख्तै छाद्ने चोखो मान्छे ’पानी नचल्ने’ हुन्छ, घरभित्र उसले पस्तु हुदैन । हुनपनि यस समाजका ठूला र माथिल्लो जातका भनाउँदाहरू विदेशी रक्सी खाएर नाङ्गै बलडान्स् गर्छन्, गोरु खाने कुइरेहरूको जुठोलाई देउताको पर्साद ठान्दछन्, ठाडो घाँटी लगाएर घर फर्कदा गुह्ये नालीमा मुख जोत्तछन् र पनि तिनलाई फटाहा भन्न सक्ने मान्छे नेपालमा जन्मेको देखिएन । जात-भात खालि आफ्नै समाजका आफ्नै हाडनाताका दाजुभाइ र दिदीबैनीमाथि मातै लादिएकाले नै होला हाम्रा बाहुनहरू अङ्ग्रेज र भारते, चिनियाँ र फ्रान्सेली, पाकिस्ताने र अल्जेरियालीसँग एकै टेबलमा बसेर भक्कु घिच्न तर आफ्नू जातिका ’पानी नचल्नेहरू’ सँग खानु ता कता हो कता उनीहरूले छुदासमेत पानी छिटा गरेर मात्रै घरभित्र पस्तछन् । जीउमा पानी छकंदा चोखो हुन सकिने ठाउँ यस विशाल विश्वमा नेपाल मात्रै हो ।

हुँदा सिस्नुले पोल्छ- चहर्‍याउँछ, काउछोले फोकैफोका पारेर चिलाउँछ आगोले डढाउँछ, हिउँले नीलो पारेर ठिहिर्‍याउँछ, तर मान्छेले भने छन खोजेमा प्रेमसित हात मिलाउँछ र मित्रता बढाउँछ । सुँगुर छुनै हुँदैन भन्ने महानुभावहरूले बनेल खाएको पनि देखियो- त्यो बनेल जसलाई सुँगुरको ज्वाई होइन भन्ने आँट कसैले गर्न सक्तैन । बनेल सुँगुर र घरेलु सुँगुरमा जे फरक यी आँखा हुँदाहुँदैका अन्धाहरूले देखेका छन् त्यही फरक सके यिनीहरूले विदेशी मान्छेहरूमा देखेका होलान् !

हाम्रो इलाममा बाहुनले कमिनी र दमाईंले बाहुनी विहे गर्दा भुइँचालो जान्छ र रगत बर्सेर संसार डुब्छ भन्ठान्छन् तर त्यही दार्जिलिङमा यस्तो सम्बन्धलाई अनुचित मानिन्न । त्यसैले जात नमिली बिहे गर्ने इलामेहरू दार्जिलिङतिर बसै सर्छन् र दिनहुँ आफ्ना असल नागरिकहरूलाई देश निकाला गरेर नेपाल रित्तिंदो छ । खुसीसित जात नमानी गरिने बिहेले समाजमा मायाको साटो घिन र पछुतो फिँजाएकैले नेपालको पानी जुठिएको हो, माटो नसप्रेको र नफापेको हो । हाम्रा तन्नेरीतरुनीले आफुसमा बिहेबारी चलाएर सानो र ठूलो जात नभई ‘नेपाली जातको’ हुन पाइलो नसारे हाम्रो चोखो एकतामा अनमेलको जुठो पर्नेछ र हाम्रो सङ्लो हिमाल धमिलिनेछ ।

पुछारमा म के दोहर्‍याउँछु भने पानी जुठ्याउनेहरू त ती पो हुन् जसले एउटै बटुकामा नपखाली पानी खान्छन्, जसले मासुको चोक्टो चाख्तै भोडामा फाल्दै गर्छन्, जसले सानाहरूलाई जुठो खुवाएर रोग सार्छन्, जो विदेशीसँग रक्सी तन्काएर नाच्तै अर्काको जुठो मुख चाट्छन्, जो बनेल खाएर सुँगुर नखाएको स्वांग पार्छन् र जो आफ्नै जातिभित्र मात्रै गरिएको बिहेलाई शुद्ध ठान्छन् ।

०००
काठमाडौं, १७, ११, १९५९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

डा. तारानाथ शर्मा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा