होम सुवेदीशुभकामना कुकुरहरूलाई !!
तिमीले खुट्टा उचाल्नु किन नहुने ? आज तिमीलाई कसले छुने ? आज तिमी जहाँ मन लाग्छ त्यहाँ खुट्टा उचाल छेउ भित्ता जता मन लाग्छ त्यतै पखाल आफ्नो खुट्टा दोब्र्याऊ अथवा जता पायो उतै गोब्र्याऊ

होम सुवेदी :
अब आएको छ तिहार, 
अस्तिसम्म दसैँ पल्टिएको थियो
राम्रो खानपिनको राम्रो प्रबन्ध थियो
हड्डी मात्र हैन ह्याकुलाकै प्रबन्ध थियो
साँप्रो र ह्याकुलोसँगै सम्बन्ध थियो
बिचमा केही समयलाई यो प्रबन्ध निख्रिए पनि
तिहार आएको छ
डाँगो मुस्कुराएको छ
शुभकामना छ भुस्याहाहरूहो
तिहारको शुभकामना छ ।
प्रतीक्षा गर एलसिसिएनहरू
गुन्टामाथि बस्नलाई प्रतीक्षा गर
आज माला लगाएर तिम्रो पूजाको तयारी हुँदैछ
जिउनारका लागि भुजा तयारी हुँदैछ
शुभकामना छ भोटे कुकुरहरू हो
तिहारको शुभकामना छ ।
तिमीमा लामो समयसम्म सुतेको
जोे मधुमास थियो
त्यो अब जागेको छ
किनभने कात्तिक लागेको छ
अब मधुमासको तयारी गर
गाडीमा चढेर सैर गर्ने खिचाहरू हो
शुभकामना छ
तिहारको शुभकामना छ ।
बेला यही हो तिमीहरूको
अहिले राइँदाइँ छ
तिम्रो खोजीमा गाउँ ठाउँमा गाइँगुइँ छ
माला तयार छ
अबिर तयार छ
जाऊ गाउँ गाउँमा जाऊ
अब त तिमीहरूकै दिन छ
रेबिजको उपहार बोकेका
भुस्याहाहरूहो शुभकाना छ
तिहारको शुभकाना छ ।
अट्टालिकामा मोजमस्ती गर्ने
उच्च तहका राजामहाराजाहरू हो
पग
बक्सर
सेफार्ड
डेन
टेरियर
ग्रे हाउण्ड जस्ता घरानिँयाहरूको
अनि एक पेट खान नपाउने
फुटपाथमा जीवन गुजारिरहेका भुस्याहाहरू हो
आज तिम्रै दिन हो
आज तिमीलाई फुक्का छ
जता खुट्टा उचाले पनि ढुुक्क छ
जहाँ मन लागे पनि हलुका भए हुन्छ
आज माला लगाएका छौ
मानौँ आज तिमी मन्त्री भएका हौ
हड्डीमा ङारङुर गर्ने स्वभाव भएका
हे डाँगा हो, हे छाउरी हो
तिमीलाई शुभकामना छ
तिहारको शुभकामना छ ।
चाहे मन्दिरका भित्ताहरू हुन्
अथवा ठुलाठुला कित्ता हुन्
चाहे तिमीजस्ताले भरिएका हुन् चाहे रित्ता हुन्
आज तिम्रा एकलौटीका कित्ता हुन्
तिम्रो मालिकले छेउभित्तामा उभिँदा हुने
तिमीले खुट्टा उचाल्नु किन नहुने ?
आज तिमीलाई कसले छुने ?
आज तिमी जहाँ मन लाग्छ
त्यहाँ खुट्टा उचाल
छेउ भित्ता जता मन लाग्छ त्यतै पखाल
आफ्नो खुट्टा दोब्र्याऊ
अथवा जता पायो उतै गोब्र्याऊ
शुभकामना छ जातजातका स्वानजाति हो
तिहारको शुभकाना छ ।
बाटाघाटाहरूको छेउमा
कुनै लाज सर्म नराखी
बानेश्वदेखि थानेश्वरसम्म
खुट्टो उचाल्ने र
खुट्टा नउचाल्नेलाईं समेत
शुभकामना छ रेविजहरूहो
तिहारको शुभकामना छ ॥
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest






































