सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुराको छुरा !

कुरा कुराकै हतियार र मतियार हो । एकले अर्कोलाई हत्यामा कुरा काट्छ, साट्छ र बटार्छ । त्यहीँ कुराले कुराको स्वार्थ लठार्छ । कुराले नै कुरालाई ढाँट्छ । ढाँटेको कुरालाई कुराले नै काट्छ र लछार्छ । कुराले कुराको साक्षी बोक्छ ।

Nepal Telecom ad

डा. हरिप्रसाद सिलवाल :

चाह्यो भने घाम लागे नि चिसो हुन्छ कुरा
हिउँ जम्ने चिसोमा नि तातो बन्छ कुरा
ब्रह्माण्ड नै कालो बनोस् सेतो हुन्छ कुरा
मन नपरे सेतो पनि कालो हुन्छ कुरा
आकाशतिर फर्कनेलाई पाताल बन्छ कुरा
पातालतिर जान खोजे आकाश ताक्छ कुरा
तिलको पहाड बनाउने कति ज्याद्रो कुरा
उल्टो मार हान्ने कुराको यो छुरा !!

कुराको बिउ कुरा नै हो । कुराको जिउ पनि कुरा नै हो । कुराको कुनै आकार हुँदैन । यो अगस्तीको पेट जत्रो जति ठूलो भएर पनि बढ्न, जतिसुकै सानो बनेर घट्न, नदेख्ने आकारमा सुक्न र हात्तीको कान जस्तो फुक्न पनि सक्छ । कुरा एमिबा जस्तै हुन्छ । यसले जता लम्कन्छ, त्यतै आकार निर्माण गर्छ । स्थितिअनुसार आकार बनाउन सक्नु कुराको सामथ्र्य हो । यसर्थ कुरालाई कुरा विभागका प्रमु नेतासँग वा उसको चटके विकासे भाषणसँग तुलना गर्न सकिन्छ । यसो गर्दा कुनै पापकटनी गर्न पर्दैन । किनभने कुरा र भाषणले जता पनि आफ्नो मार्ग तय गर्न सक्छ । त्यसैले कहिले यो तन्किरहन्छ रबरझैँ । कहिले लम्किरहन्छ चोरहात पसारेझैँ । कहिले यो खुम्चिन्छ र दुम्किन्छ पनि । तन्किनु, खुम्चिनु, दुम्किनु, लम्किनु, हम्किनु सबै कुराका विशेषताहरु हुन् । यो नै कुराको विशेष जाल र चाल पनि हो । हतपत बुझ्न नसक्नु कुराको महान् चाल पनि हो ।

मुखबाट फुकिएको कुराको ध्वनि र पेटमा लुकाएर राखेको कुराको कैँचीमा भएको भिन्नता छाम्न नसक्नु नै कुराको जय जयमा दुनियाँको पराजय भएको छ । कुरा कुराकै छाल पनि हो र यो जालन्धरभन्दा बढी छल पनि हो । छाल र छलका कुरा भलाद्मीको भकारीमा अडेर बस्ने शालीन खालका हुन्न । यस्ता कुरा त चलिरहने भएकाले यसलाई चलकुरा पनि भनिन्छ, चलचित्र जस्तै । कुरालाई चल किन पनि भनिएको हो भने यसले मानिसका मनलाई नराम्रोसित चलाइदिन्छ । शान्त र धीर वीर भएर बस्नै दिँदैन । कहिले कसलाई चलाउँछ त कहिले कसलाई । कुरा मनको अचम्मको जल पनि हो । हामीलाई थाहा छ, जलले चोखो बनाउने काम गर्छ ।

कुराले पनि कतिलाई चोखो बनाइदिन्छ । आफू चोखो हुन मानिसले गर्ने महान् प्रयत्न नै कुरा भएकाले यसलाई जल समान सम्मान दिनुमा पुण्य मिल्छ । कुराको जलमा पनि वर्ग र कित्ता हुन्छ । अनि कसैले कसैको कुरा पिउँछ । कसैले उसको कुरा नपिएर अर्कैको कुरा पिउँछ । पिउँदा पिउँदा कुराको जल भरिएर अर्को मान्छेलाई नै बगाउने बाढी नै आइसकेको हुन्छ । यसले गण्डकीको धार जस्तो हतियार पनि बनाइसकेको हुन्छ । त्यो हतियार यति धारिलो हुन्छ कि अर्को कुरावाललाई त्यसले चिरा चिरा पार्न सक्छ । कसैले भने कुरालाई सिउँछ । कुरा सिउनु र सिएर दुरुस्तीकरण गर्न सक्नु कुरा मालिकको महानता नै हो । कुराहरू काटिने, सिइने मात्रै हुन्न, बाङ्गिने, नाङ्गिने र झाङ्गिने पनि हुन्छ । कुरा कठोर र कोमल दुवै रुपमा बाँच्न सक्छ । कसैले चाह्यो भने कसैको कुरालाई काटिदिन्छ र साटिदिन्छ पनि । कुराले कुरा बाटिदिन्छ र कुराहरुको बलियो पयो पनि बनाइदिन्छ । दहीमा जस्तो कुरामा जम्ने र फाट्ने गुणहरुको लेप पनि रहेको हुन्छ । कुरा कुरासितै रिझाउँछ र बिझाउँछ । मानिस मानिसका बिचमा त्यस्तो कुरा पसिदिन्छ जसले ती शान्त मानिसलाई काटिदिने, फटाइदिने, बङ्ग्यादिने र नङ्ग्यादिने जस्ता अपरम्पार विशेषताहरु कुरासित निहित र जन्मसिद्ध अधिकार जस्तै कायम रहेको हुन्छ ।

कुराले तातो मन चिसो पारेर र चिसो मन तातो पारेर भिजाउँछ पनि । भिजाउनु, रिझाउनु र बिझाउनु जस्ता अभिलक्षणहरूले कुरा जैविक, प्रचलित गुणवत्ताहरू हुन् । यस्ता कुराका लक्षण र भक्षणहरु मैँ हुँ भन्ने पीत वस्त्रधारी ज्योतिषीले पनि खण्डन गरेको पाइएको छैन । खण्डन र मण्डनका निम्ति ती शास्त्र र शस्त्रधारी दुवैलाई कुरा आवश्यक चूणर् सरह हुन्छ । कुरालाई कुराले नै सुखी र दुःखी बनाउँछ । त्यहाँ मानिस सुख दुःखमा भाग लिने कष्टमा लाग्नु पर्दैन । त्यो कामको एकलौटी टेन्डर कुराले नै ‘डन’ गरेको हुन्छ । कुराले नै तँ यसो र तँ उसो भन भनेको हुन्छ । कुराले कुराको चुरो झार्दछ, कुराले कुराको तुष मार्दछ । कुराले कुरालाई भुस पार्दछ र कुराले चामललाई पनि भुस बनाइदिन्छ । कुराले कुरालाई फन्दामा पार्दछ । कुराले कुराको धन्दा सार्दछ र त्यहाँबाट पनि कुराका कलकल बिरुवाहरु बढेर मानिसका मनमा फुल्न र खुल्न थाल्दछ । कहिले कुरा कुराबाटै टारिन्छ । कहिले कुरा कुरादेखि नै हार्दछ ।

कुराको खेल पनि साँपसिँढी जस्तै हो । माथि पुगेको कुरा साँपको मुखमा पुगेमा स्वात्तै आफ्नो औकातमा झर्दछ र कुराको भर्‍याङ नक्कली परेकोमा पश्चात्तापमा पर्दछ । कुराले कुरा बार्नु, सार्नु, कुराहरु जम्का भेट हुँदा खार्नु र कुराको विषले कुराको अर्को विषलाई मार्नु यसकै अभिन्न कर्तव्यहरू हुन् । कुराले एक अर्काको छाललाई सार्दछ र तार्दछ । कुनै मिथक कथामा नारदलाई नारद बनाउने र यस युगमा नेतालाई चतुर बनाउने काम कुराको बलमा नै रहेको छ । कुरा हामीले सोचेभन्दा शक्तिशाली छ । शक्तिशाली कुराका लागि कुरा पनि हेर्नका हुन्छन् । यसको शक्ति कुराको ओहोदानुसार, भक्तिको भाँतीअनुसार नाप्ने गरिन्छ । यस नापोका वरिपरि कुरा गर्न, भर्न र सर्न नसक्ने सज्जन भोलाभाला निमुखाहरू शक्तिशाली कुरौटे आगो ताप्ने गर्दछन् । कुराको शक्ति र भक्तिको ‘केमेस्ट्री’ मिल्यो भने आकाश र पाताल तु मिल्छन् । आगो तपाइअुनसार कुराको बिकाइ पनि सम्पन्न हुन्छ ।

कुराको बिउ कुरै हो भने कुराको निहुँ पनि कुरै हो । त्यसैले कुरा कतै शक्तिशाली हुन्छ त कतै भक्तिशाली । यति गुण भएका मान्छे घोर आस्तिक नै रहेछ भने पनि माताकाली, भद्रकाली, रक्तकाली कहीँ पनि आशीर्वादको आशा गर्दै लुखुर लुखुर दगुर्दैन । भक्ति र शक्तिको तौलबाट नै कुरा सारणीकर्तालाई अभिनन्दन गरिन्छ । कुराको व्यापार पनि यसैअनुसार हुन्छ । बुझ्नेले बुझ्छ नबुझ्नेलाई शंकाको बादल र दोधारको मादल बज्छ । त्यो कुन तालमा बजेको हो, पत्तो पाउन्न घिनताङ हो वा ताङघिन हो के थाहा ? सोझा गौप्राणीलाई ! त्यही कुराको कुरौटे मादलले कसैको चित्त दुखाएमा उसको मनभित्र आँसुको बादल ढाकिरहन्छ । कुराकै कारण उसको मन थकथकी थाकिरहन्छ । कुराले कुरा तान्छ । तानेको कुरा कुराले नै लान्छ र खान्छ । खाएको कुरा कुराले नै पचाउँछ र नपचेको कुरा कुराले नै छाद्छ ।

कुरा कहिले शंका भएर आउँछ, विश्वास भएर जान्छ, कहिले विश्वास भएर आउँछ, शंका भएर मडारिन्छ । कहिले कुराकै आँधीबेहरी चल्छ र कुराका कान्लाहरु भत्काएर बढारेर लान्छ । आउनु र जानु कुराको आफ्नै रीत र प्रीत हो । विश्वास भएर आएको कुरा शंका भएर जानु मानिसका चोलामा निकै हानी पनि हो । बानी भए पनि र हानी भए पनि कुरा उत्खनन् हुनु, उब्जनु र कुब्जनु मनको सुन्दर ‘कुराखानी’ पनि हो ।

कुरा कुराबाटै उब्जन्छ, पार्टीबाट पार्टी उब्जे जस्तै, कुरा कुराबाटै कुरामा सरेर रुप लिन्छ, पार्टीबाट पार्टीमा सरेर रुप लिए जस्तै । कुराबाट कुरा बिलाउँछ, पार्टीबाट पार्टीका खाँटीहरु बिलाए जस्तै । पार्टीबाट पार्टीका वाद, नीति र नैतिकता बिलाए जस्तै । पार्टीबाट पार्टीसित कोदो र तोरी मिलाए जस्तै । कुरा कुराबाटै फेरिन्छ । पार्टीबाट पार्टी फेरिए जस्तो । कुरा कुराबाटै घेरिन्छ । पार्टीबाट पार्टी घेरिए जस्तो । कुरा कुराबाटै सेरिन्छ पार्टीबाट पार्टी सेरिए जस्तो । पार्टीबाट पार्टीवीर सेरिनु र कुराबाट कुरा सेरिनुको संयोग र वियोगमा विद्यावारिधि गर्न पाए यसको राष्ट्रिय र अन्तरराष्ट्रि अन्तर्य छ्याङ्ग बुझिन्थ्यो । कुरा हावा पनि हैन, खम्बा पनि हैन, कुराले कुरा कमाउन सक्छ । कुराले कुरा जमाउन सक्छ । पार्टीले पार्टी कमाए जस्तो र पार्टीले विकासलाई घोषणापत्रमा जमाए जस्तो । कुराले कुरा रमाउन सक्छ । पार्टीले पार्टी, ठाँटी र जनकृति मासेर दिउँसै रमाए जस्तो ।

ठूला माछाले साना माछालाई खाए जस्तै ठूलो कुराले साना कुरालाई खाइदिन्छ । उति भएन भने कुराले कुरालाई खान कानुनको का हटाएर नुन घसेर खाइदिन्छ । खान नमिले कानुनी जालोको उकालोमा परेको गुजुल्टो काउसोमा घसेर लगाइदिन्छ । त्यसैले सानाको कुरा ठूलाको कानमा छिर्दैन । सानाको जीवन ठूलाको झैँ रातारात फिर्दैन । अनि सानाको जीवन ठूलाको झैँ रातारात गिर्दैन ।

कुरा काँचुलीदार हुन्छ । यसले कति छिटो आफ्नो रङ धुन्छ र अर्को बुन्छ । कहिले यो रुन्छ, कहिले नाटकीय चालमा अरुको कुरा पनि सुन्छ । अनि कुराको धागोले कुराकै सियोमा राखेर कुराको कान्दानी बुन्छ । कहिले यो फनफनी घुम्छ । कहिले कुराले कुराको स्वाद चुम्छ । कुरा सिउन नजान्दा कुराबाट नै जोगाएर लुकाएर, गुम्स्यार, नभन है नभन भनेर राखेको सुनौला कुरा नै गुम्छ ।

कुराको काँध चढ्न धेरै गाह्रो हुन्छ । कुराको बाँध बाँधन पनि धेरै मुस्किल छ मन पर्नु पनि कुराको सञ्जाल हो । त्यसकारण मन कमाउनु छ भने कुरा समाउनुपर्छ । मन रमाउनु र कसैलाई अमिल्याउनु छ भने कुरालाई घुमाउनु पर्छ । नजिकिनु र टाढिनुको सूत्रमा पनि कुरालाई फुराउनुपर्छ । कसैको मन डोर्‍याउनु छ भने कुरालाई जुराउनुपर्छ । कुरा धेरै लचिलो हुन्छ । यसलाई त लच्काउनुपर्छ । बेमौसमको कुरा लच्काउँदा भने कहिलेकाहीँ अनावश्यक मन खर्चिलो हुन्छ र ।

कुरा कुराकै हतियार र मतियार हो । एकले अर्कोलाई हत्यामा कुरा काट्छ, साट्छ र बटार्छ । त्यहीँ कुराले कुराको स्वार्थ लठार्छ । कुराले नै कुरालाई ढाँट्छ । ढाँटेको कुरालाई कुराले नै काट्छ र लछार्छ । कुराले कुराको साक्षी बोक्छ । यसले कहिले विष पनि रोक्छ भने कहिले अमृतलाई पनि छेक्छ । ताक परे बोक्छ नपरे टोक्छ । कुराले आफ्नै घरलाई पनि तोड्न सक्छ । तोडेको घरलाई कुराले नै जोड्न सक्छ । कुराले तोड्ने र जोड्ने कुरा उद्योगलाई कुरा उद्यानमा सजाएको हुन्छ । कुराले कुराको दुनो भजाएको हुन्छ । यही नै कुराको काइदा हो । यही काइदाको कुनामा कुराले फाइदाको फल फलाउँछ । अनि कुराले कहिले कसैलाई गलाउँछ कहिले कसैलाई जलाउँछ त कसैलाई विनासित्तै ढलाउँछ । जय कुरा ! जय कुराको छुरा !!

०००
नलाङ, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल
लिच्चड लेखक !

लिच्चड लेखक !

डा.हरिप्रसाद सिलवाल
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा