सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कस्तो लाग्यो ता अन्त ?

अहिले मेरी बुढिया पार्लरमा मेक अप गराउँदै होली मोरी । यो नाथेलाई लट्याउनुलाई पो मैले मेरी बूढी मरेकी एक्टिङ गरेको । यसको सिरिखुरी लैजाऊ भन्ने दाउमा बूढी मरेकी एक्टिङ गरी घर टाप लाउने दाउ नि मेरो ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – धनराज, छेपारे, अनिशा, प्रणिता, लक्ष्मी।

दृश्य विवरण – (धनराज सर हत्तुहैरान भएर बैठक कोठामा प्रवेश । थचक्क बसेर नेपथ्यतिर हेरेपछि… घडी हेर्छ । एकक्षणपछि नेपथ्यतिर हेर्दै)
धनराज – छेपारे ! छेपारे !! -बैठक कोठमा बसेरै छेवैमा भएको खबरकागत पढ्न थाल्छ) ।
छेपारे – मस्त सुतिरहेको अवस्थामा झुल्दै प्रेवश) यस नेभारे ।
धनराज – (कड्किँदै) म तेरो नेभारे हो ?
छेपारे – राम्ररी हेरेर) ए मालिक हजूर पो रहेछन् । मैले ता मेरो छिमेकी पार्टनर नेभारे भनरे पो…
धनराज – तेरो काम के छ ? अहिलेसम्म पनि सुतिराको छस् ? के साह्रो सुतेको हँ यो । किन ढिलो उठेको हँ !
छेपारे – भनुँ कि नभनुँ गरेर) सपनामा रातभरि घुम्दा घुम्दा ढिलो भयो मालिक ।
धनराज – कोसित गइस् एई तँ निँद्रामा घुम्न ?
छेपारे – नो मालिक नो । नै बोलने का ।
धनराज – हेर पसिन आको यसलाई ।
छेपारे – अन्त सपनामा गाडी ठेल्दा-ठेल्दा हत्तु भइयो नि… यसैले यति धेर पसिना को ।
धनराज – लु भयो… भयो… जा खाने कुरो के छ तयार पार ( फेरि खबरकाततिर ध्यान) ।

(छेपारे प्रस्थान)
छेपारे – (नेपथ्यबाट) धनराजबाबु ! लु आउनू है । जाउलो लुडाँइहालुँ । (धनराज प्रस्थान)।
छेपारे – (गुनगुनाउँदै प्रवेश) दुइ दसे बीस… दुई एघार नेभारा… दुई बाह्र छेपारे । मन नपर्ने मान्छेको भत्काइदिन्छु बङ्गारा (तयार तम्मर भएर धनराज प्रवेश) ।
धनराज – एई कसको बङ्गारा भत्काउँछस् हँ ?
छेपारे – (अन्कनिँदै) होइन त्यसै भनेको नि धनराज मालिक । अन्त हजूर फेरि कता?
धनराज – म जाँसुकै जाउँ तँलाई के को खसखस ? तँ को होस् मलाई सोध्ने ? म कहाँ जान्छु, के गर्छु तँलाई सब रिपोर्टिङ गर्नुपर्छ हँ ?
छेपारे – कुरो त्यसो होइन माई डियर मालिक ! कुरा त्यसो होइन । अब लागेको बानी । तपाईंं ह्याण्डसम भएर बाहिर गयो कि मेरो मुख सोध्नलाई स्याउँस्याउँ चिलाइहाल्छ ।
धनराज – तेरो मुखमा नि हेरन एकदिन डल्ले खोरसानी दलिदिन्छु ।
छेपारे – (अचम्म मानेर) डल्ले खोरसानी ! एउटा नाथे फेसवास ल्याइदिनुहोस् भन्दा प्रेशर कुकुरमा हाल्दा दश सिटीमा पनि नपाक्ने मुखमा के को फेसवास भन्नुहुन्छ । डल्ले खोरसानी पनि किन्न सक्नुहुन्छ के ? तपाईंंलाई थाहा छ मालिक ! डल्ले खोरसानीको दाम कति छ ?
धनराज – कति छ… कति छ…
छेपारे – चार सय रुपियाँ किलो हजूर फोर हण्ड्रेड ।
धनराज – तेरो यो अनुहारमा एउटै डल्ले खोरसानी काफी छ बुझिस्… एक किलन नै किन किन्नुपर्‍यो ?
छेपारे – अरे हजूर एउटा मात्रै डल्ले खोरसानी कुन दोकानेले देला ?
धनराज – किन दिँदैन ?
छेपारे – यहाँ सुन्नुहोस्… सुन्नुहोस् मालिक हजूर राम्ररी कान ठाडो पारेर सुन्नुहोस् । तपाईंले एउटा मात्रै डल्ले खोरसानी दोकानेले दिन्छ भन्दा एउटा टेसिलो कथाको याद पो आयो। सुन्नुहुन्छ ? सुनाउँ ?
धनराज – लु सुना ता तेरो कथा सुनिदिउँ।
छेपारे – एकदिन एकजना मान्छे बजारमा घिउ किन्नु गएछन् । घिउवालालाई घिउ कसरी भनी सोध्दा उसले ६ सय रुपियाँ किलो भन्छ । त्यो मान्छेको पालो एक रुपियाँको मात्रै घिउ देउन भन्दा घिउवालाले के भनेछ भन्नोस् ता ।
धनराज – के भनेछ ?
छेपारे – त्यसो भए सुँघेर जाऊ भनेछ । (धनराज अट्टहास गरी हाँस्छ छेपारे पनि घरै उचाल्ने गरी हाँस्दै) मालिक ! एउटा मात्रै डल्ले खोरसानी मात्र किन्छ भन्दा तपाईंलाई पनि डल्ले सुँघेर मात्रै जाऊ भन्ला नि ।
धनराज – म जाँदैछु । खाना खाएर घर सानाक्-सिनिक् पारिराख् है । (प्रस्थान)
छेपारे – हुन्छ साहेब । (नेपथ्यतिर हेर्दै) मालिक ! मालिक !
धनराज – (नेपथ्यबाट धनराजको आवाज मञ्चमा आएर थुरिन्छ) के भयो ? यल्ले जहिले पनि घरबाट निस्केको बेलामा मात्रै बोलाउँछ है ।
छेपारे – तपाईंको चलाउँ ?
धनराज – के चलाउँ भनेको क्लियरलि भन् न ।
छेपारे – त्यो क्या त्यो !
धनराज – के त्यो ?
छेपारे – (हातले सङ्केत गर्दै) ल्यापल्याप….
धनराज – (भित्र प्रवेशिँदै) के अरे… के अरे…
छेपारे – ल्यापल्याप क्या तपाईंको ल्यापल्याप ।
धनराज – के हो ल्यापल्याप भनेको?
छेपारे – अब ल्यापल्याप भनेको पनि बुझ्नुहुन्न ? तपाईं रातभरि ल्यापल्यापमै ट्याप्पै भएर बस्नुहुन्छ ता धनराजबाबु ।
धनराज – के गर्छस् ल्यापल्याप ?
छेपारे – गेम खेल्छु नि ।
धनराज – ल्यापटप भन् न लठुवा… ल्यापटप भन् । नाथे बोल्नु पनि जान्दैनस् । ल्यापल्याप भन्छस् लठुवा !
छेपारे – खै हजूर ! भन्नु ता तपाईंलेजस्तै नै भनेको नि । तर यो हाड नभाको जिब्रोमा ल्यापल्याप नै आइहाल्छ अनि ।
धनराज – पर्दैन… पर्दैन । ल्यापटप चलाउनु पर्दैन । चूपचाप आफ्नो काम गर् बुझिस् ? (प्रस्थान) ।
छेपारे – (धनराज गएको हेर्दै) फ्वाँके गयो । ल्याल्याप ता होइन कि कुन दिन यसलाई स्याप् पारिदिन्छु । पासमा दमडी छैन राँडी फकाउँछ भनेको चाहिँ यही फ्वाँके हो । अरे… मेरो मुखमा डल्ले खोरसानी पो दलिदिन्छु भन्छ यार ! मेरो यत्रो सुन्दर मुख त्यसको सिलौटो हो ? यस्तो ह्याण्डसम मेरो अनुहार प्रेशर कुकुरमा हाल्दा दस सिटीमा पनि पाक्दैन पो अरे ! त्यसको मुख त्यसले कहिले राम्ररी ऐनामा हेरेको छ नाथे ! मिक्सिमा हाल्यो भने डण्डीफोर फुटेर पाँच किलो पिपमात्रै निस्किन्छ शालेको । अर्काको सुन्दर मुहारको आह्रिस पो गर्छ यार ! यो घरमा अब एकक्षण पनि बस्दिनँ । यसको ल्यापल्याप, लुगाफाट सब लिएर टाप लाउँछु । (घरभित्र भए जत्ति समानहरू दुइ एघार नेभारा दुई बाह्र छेपारा लयात्मक भाखामा गुनगुनाउँदै मालिक धनराजको लुगाफाटा, ल्यापटप ब्याग हाल्दै भट्याउन थाल्छ) मिष्टर धने… खै तिमीलाई के भन्ने ? (गीत गुनगुनाउँदै नाँच्छ) उडी जाने पुतलीलेल सैलुन काट्यो, धने र छेपारेको रिलेसन अब, हाफेनजस्तो फाट्यो, वापस न आउँगा मै तो टाप लगाउँगा, धने रे धने रे देख् मेरा ट्यालेण्ट रे… (गीत पूरा हुन नपाउँदै ढोका ढकढकिन्छ । छेपारे हल न चल हुन्छ । मालिक धनराज आयो भन्ने ठानेर सातो उड्छ छेपारेको) अब्बुइ ! आयो कि क्यो यो कौडे । यो ज्यानमाराको ता ठेगान छैन नि । म पो वापस आउँदिनँ भनेको ता यै बजिया पो वापस आयो कि क्यो हो हन ? ! (ढोका ढकढकिएको ढकढकिएकैक छ) पक्कै पनि ढोका ढकढकाउने यो धने चाहिँ होइन । यो चोर बिरालोजस्तो सुटुक्कै आउँछ पो ता नाथे ! होइन अरु नै कोही हुनुपर्छ (नेपथ्यतिर हेर्दै) ढोका खुल्लै छ हजूर । आउनु छ भने सरासरी आउनोस् होइन भने जतासुकै जानोस् । (नेपथ्यबाट नारी स्वर कोठाभित्र थुरिन्छ) । लु अब कुनै चाहिँ झ्याउँकिरी आइपुगी ।
अनिशा – छेपारे भाइ ! छेपारे भाइ ! (नारी स्वर सुनेर छेपारालाई करेण्ट लागेझैँ हुन्छ) ।
छेपारे – लु अब फेरि झ्याउँकिरी नभए माकुरी नै आई होलिन् । आँ… झ्याउँकिरी होस् कि माकुरी होस् आखिर कुनै पनि नारीको सुरिलो आवाज सुन्दा यी दुइ कान न्याम्-न्याम् मात्र होइन छातीभित्र मुटु फोक्सो ड्याम् कि ड्याम् ठोकिएर के के हुन्छ… हुन्छ । (नेपथ्यतिर हेर्दै) प्रवेश गर्नुहोस् । तपाईंको कोमल पाउले यो धनेक घर स्पर्श गरिदिनोस् ।
अनिशा – (मसुकुराउँदै प्रवेश) हाय ! छेपारे दाइ !!
छेपारे – (अत्तालिएर के गरुँ कसो गरुँ भएर हात मिलाउँदै) गुड मर्निङ, गुड इभिनिङ, गुड नाइट । गुड जति सबै… फुलट्याङ्की गुड । अन्त अनिशा माम् !
अनिशा – (कडा स्वरमा) म तिम्रो माम् हो छेपारे दाइ ?
छेपारे – अब ईङ्गलिशमा पढेलेखेकाले लेडिजहरूलाई माम् ता भन्छ होइन ?
अनिशा – (हतार हतार) माम् भनेको जाउलो… (मुखमा गाँस हालेको अभिनय गर्दै) । एनि वे ! डिआर सर खै ?
छेपारे – कुकुरको काम पनि छैन फुर्सद पनि छैन भनेजस्तो हाम्रा डिआर सरलाई पनि फुर्सदै छैन । अहिले भर्खर निस्किनुभएको छ ।
अनिशा – अन्त सरको नयाँ धारावाहिक कहिले शुरु हुन्छ ?
छेपारे – कुनै चैँ भन्नोस् ता… कतिवटा धारावाहिक छन् छन् उनको। एउटै मात्र भए पो !
अनिशा – मलाई पनि एउटा रोल दिनुभएको छ नि क्या !
छेपारे – ए… त्यो ‘तिम्रो मेरो माया पीरति हाफेनजस्तो फाट्यो’ भन्ने?
अनिशा – येस… एक्जेटली ।
छेपारे – खै त्यो पनि धनराजेको धारावाहिक हाफेनजस्तो फाट्यो जत्तिकै छ ।
अनिश – ओ स्याट… किन हुँदैन त्यसको सुटिङ ?
छेपारे – स्याट क्याट केही पनि होइन कि अनिशा माम्…
अनिशा – नो.. नट माम्…से म्याम… म्याम ।
छेपारे – (अप्ठ्यारो पाराले) म्याम्याम्… म्याम्याम… ।
अनिशा – येस… म्याम । म्याम । मलाई ता डिआर सरले पाँच वर्षपछि मात्रै मलाई सिरियलमा चान्स दिन्छु भन्नुभएको छ ।
छेपारे – ठिकै ता भन्नुभयो सरले ।
अनिशा – पाँच वर्षसम्म पर्खिँदा म ता बूढी भइसक्छु होला होइन र ?
छेपारे – ठिकै ता हो । यस सिरियलमा बूढीकै ता रोल छ । पाँचवर्षपछि तपाईंको यो सुन्दर मुहार चाउरी परिसक्छ । केश सेतै फुलिसक्छ । एकदम ओरिजिनल आर्टिष्ट…अर्ग्यानिक ।
अनिशा – छेपारे दाइ ! टेल मी फ्र्याङ्कली । आम्बो… फाइभ फाइभ इयर्स कसैले पर्ख्यो ? इज इट पोसिबल !
छेपारे – यस पोसिबल कि नो पोसिबल त्यो ता म केही जान्दिनँ पनि बुझ्दिनँ पनि अनिशा म्या… म्या..
अनिशा – म्याम ।
छेपारे – हाम्रा सर महोदयले मलाई धारावाहिकमा चान्स दिन्छु भन्नुभएको ठ्याक्कै दस वर्ष भइसक्यो… सुटिङमा सरहरूको चिया ओसार्दा… ओसार्दा झ्याल्टुङ भइसकेको छु । तपाईंँ पाँच वर्षको कुरा गर्नुहुन्छ ?
अनिशा – ओ स्याट ।
छेपारे – हुन्छ म्याम…हुन्छ । हतार नगर्नोस् सबूर गर्नोस् । सबूर गरे मेवा फल्छ, हतार गरे कुहेको चिण्डो ।
अनिशा – प्यासेन्सको पनि एउटा लिमिट हुन्छ क्या छेपारे दाइ ।
छेपारे – (छक्क परेर) प्यासेण्टको कुरा चैँ कसरी आयो ? तपाईंलाई प्यासेण्टको रोल कहाँ दिन्छन् हौ । खासमा सरको त्यो धारावाहिकमा बोक्सी एउटा रोल छ । बोक्सीको रोल तपाईंलाई दिन्चु भन्ने गाइँगुइँ सुनेको थिएँ ।
अनिशा – (आश्चर्यचकित भएर) बोक्सी ? यू मिन विच् ?
छेपारे – (दिक्क मान्दै) ओ हो म्याम् … विजको कुरा नगर्नोस् न हौ… बिहानदेखि विज खानु नपाएर…
अनिशा – ओ हो…बोक्सीलाई ता ईङ्गलिशमा विच भन्छ हौ ।
छेपारे – म्याम ! चिया बनाउँ भने पनि राति दूधमा डिकुरी मुसा पसेछ…
अनिशा – तिमीलाई थाहा छैन छेपारे भाइ ? म चिया पिउँदिनँ भनेर…
छेपारे – (कुरा काटेर) किन म्याम ? बुझेँ बुझेँ तपाईंले किन चिया नपिउनूभाकी ।
अनिशा – किन भन ता ।
छेपारे – स्किन बिग्रिन्छ भनेर होइन ?
अनिशा – नट लाइक द्याट ।
छेपारे- बट आई लाइक चिया तीन थुप्रो ।
अनिशा- (घडी हेर्दै) खै सर कतिबेला आउनुहुन्छ होला होकि ?
छेपारे – खै त्यो ता म कसरी भनुँ ? (अनिशालाई लखेट्ने प्रयास गर्दै) आज ता एघार बजीभन्दा अघि आउनु मुस्किल छ है । म पनि तालासाला लगाएर एक ठाउँ जुङ् भनेको ।
अनिशा – ए… मैले पो भुलाएँ होकि ।
छेपारे – तपाईंले मेरो मनको बात भन्नु भो म्याम् । तपाईं अहिलेलाई गएकै मलाई झन् राम्रो…
अनिशा- तिमीलाई झन् राम्रो अरे… आई डोण्ट अण्डरस्टाण्ड
छेपारे – ए तपाईंअण्डरस्टाण्ड म चाहिं मोटरस्टाण्ड…कस्तो ठ्याक्कै मिलेको होकि ।
अनिशा – मोटरस्टाण्ड ?
छेपारे – (गाडी हाँकेको सङ्केत गर्दै) भुम्… भुम्…
अनिशा – लु त्यसो भए म पनि जान्छु ल…
छेपारे – थ्याङ्क्स…आई होप यू… (अनिशा प्रस्थान)
अनिशा – (नेपथ्यबाट) सरलाई म आकी थियो भन्देऊ ल छेपारे भाइ ।
छेपारे – ओके ओके फूल होप बट डोण्ट आशा बिकज म पनि ट आकर प…टाप…जष्ट नाऊ । (अनिशा प्रस्थान भएकी बिरालोको चालमा हेरेपछि )
छेपारे – (हर्षित मुद्रामा) दुई एघार नेभारा दुइ बाह्र छेपारे लयात्मक रुपमा गुनगुनुँदै मालिक धनराजको लुगाफाटा ब्यागमा हाल्दै गीत गाउँन थाल्छ) उडी जाने पुतलीले सैलुन काट्यो… धने र छेपारेको रिलेसन अब हाफेनजस्तो फाट्यो… वापस न आउँगा में तो टाप लगाउँगा… धने रे धने रे देख् मेरा ट्यालेण्ट रे…. (धनराजको सबै समान लिएर के भाग्न आँटेको हुन्छ त्यतिनै बेला धनराजको प्रवेश)
धनराज – (नेपथ्यबाट, छेपारे आत्तिन्छ। धनराजको प्रवेश। धनराज मञ्चमा प्रवेश हुने बित्तिक्कै छेपारे ग्वाँग्वाँती रुन थाल्छ) एई के भयो तँलाई ?
छेपारे – मालिक सर्वनाश भयो…सर्वनाश। मालिक मेरो जहाज डुब्यो ।
धनराज – के भयो ?
छेपारे – (रुँदै) मालिक म घर जान्छु ।
धनराज – घर ? अचानक किन घर जानुपर्‍यो ?
छेपारे – (रुँदै) मालिक मेरी श्रीमती अब यस संसारमा छैनन् । मलाई छोडेर सदाको निम्ति मदेखि टाड्न् (झन् रुन्छ) ।
धनराज – (गम्भीर भावमा) ओहो ! सरी…सरी । लु तँ जा घर -गोजीबाट पैसा निकालेर दिँदै) ला… अलिक खर्च लगिराख् । चाहियो भने फेरि भन्नू । लु…तेरा लुगाफाटा सब ठीक पार् । (छेपारे मच्चीमच्ची रुन्छ) ।
धनराज – अब नरो न । त्यसरी रोएर हुन्छ ?
छेपारे – (रुँदै) होइन मालिक ! पोहोर मेरी फुपू खस्दा गाउँका सबै नारीहरूले मलाई फुपू बनाऊ न ता भने ।
धनराज- भेरी गुड । यसैलाई ता भनिन्छ मानवता । (छेपारे मच्चीमच्ची रुन्छ)।
छेपारे – (रुँदै) परार मेरी कान्छी बहिनी बितिन् । गाउँका सबै बहिनीहरू आएर हामीलाई बहिनी बनाऊ भन्दा मेरो छाती गर्वले फुलिएको थियो मालिक… गर्वले फुलिएको थियो । (छेपारे झन् मच्चीमच्ची रुन्छ)
धनराज – राम्रो अति राम्रो । लु नरो छेपारे नरो । छिटो गर् । तँलाई घरमा सबैले पर्खिरहेका होलान् । (छेपारे झन् मच्ची रुन्छ)
छेपारे – मलिक ! मेरी श्रीमती खसेकी सुनेर गाउँका कुनै एकजना तरुणीले मलाई श्रीमती बनाऊ भन्न आएकी छैनन्…मालिक…आएकी छैनन् । (छेपारे मच्चीमच्ची रुन्छ)

धनराज- यस्तो बेलामा तैँले यस्तो कुरा गर्न सुहाउंदैन छेपारे। लु जा..छिटो जा। -छेपारे झन् मच्चीमच्ची रुन्छ)। कुनै पनि अपठेरो पर्‍यो भने तुरुन्तै मलाई फोन गर् ल । (छेपारे मच्चीमच्ची रुँदै स्वीकारोक्तिको मुण्टो हल्लाउँछ र रुँदै भए पनि आफ्नो सामान मिलाउँछ। मैले हाफेनमा जान लागेको देखेर धनराज कराउँछ)
धनराज – एई…यसतै मैला लुगा लाएर जान्छस् ? हाफेर फेरेर प्य़ाण्ट ता लगा कमसेकम ।
छेपारे – प्याण्ट लाएर पनि के गर्नु मालिक ? प्याण्ट लाएको हेरेर मुसुक्क हाँस्ने ता कोही छैन । (मिच्चीमच्ची रुन्छ) ।
धनराज – लगा… लगा… प्याण्ट लगा (मच्चीमच्ची रुन्छ)
छेपारे – हो मालिक पक्कै हो। तपाईंले ठिकै भन्नुभयो। प्याण्ट लगाको हेर्ने र टेसिलो मुस्कान छर्ने कोही छैन भन्दैमा नाङ्गै हिँड़्नु पनि ता भएन । लगाउँछु मालिक… प्याण्टै लगाउँछु (ब्यागबाट एउटा प्याण्ट निकालेर वल्टाई पल्टाई हेरेपछि । त्यही नै हाफेन खोल्ने प्रयास गर्दा धनराजले सचेत गर्छ) ।
धनराज – एई छेपारे….के गरेको? हाफेन किन खोलेको ?
छेपारे – सरी मालिक सरी। होशहवाश ठेगानमा नै छैन ।
धनराज – त्यही हाफेनमाथि लगा न । (मच्चीमच्ची रुँन्छ)।
छेपारे रुँदै) हुन्छ । (मच्चीमच्ची रुँदै) हाफेनमाथि प्याण्ट लगाउँछ तर प्याण्टमा खुट्टा बाहिरबाट हाल्छ अनि पेटीमात्रै बाँध्दै प्याण्ट पछिल्तिर तुर्लुङ्गै झुण्डिन्छ) ।
धनराज – एई छेपारे के गरेको त्यस्तो ?
छेपारे – किन मैले के गरेँ मालिक ?
धनराज – प्याण्ट लगाको त्यही हो ! हेर् ता राम्ररी (छेपारेको रुवाइ जारी छ) । (प्याण्ट तुर्लुङ्गै झुण्डिएको देखेर छेपारे आफै तर्सिन्छ) मालिक.. होशै ता छैन अनि । (धनराज आफैले छेपारेलाई प्याण्ट लगाइदिन्छ)
छेपारे – हुन्छ मालिक जान्छु ल…कामसाम सकेरो आइहाल्छ तर (रुँदै) मालिक ! तपाईंलाई अब कसले हेर्छ होला ?
धनराज – मेरो सुर्ता गर्नु पर्दैन ।
छेपारे – (रुँदै टिठलाग्दो पाराले) हुन्छ मालिक… त्यस्तो ता केही बिर्सेजस्तो लाग्दैन । तै पनि एकपल्ट हेर्छो । (हतारमा धनराजले डायरी त्यहीँ छोड़ेर प्रस्थान । रुँदै धनराज प्रस्थान भएको पर… सम्म हेर्छ… धनराज पूर्णरूपमा ओझेल भएपछि छेपारे पाठाजस्तो बुर्कुसी मार्दै पुनः मञ्चको माझमा मरिमरि हाँस्छ)… के को बुढी मर्थिन् । अहिले मेरी बुढिया पार्लरमा मेक अप गराउँदै होली मोरी । यो नाथेलाई लट्याउनुलाई पो मैले मेरी बूढी मरेकी एक्टिङ गरेको । यसको सिरिखुरी लैजाऊ भन्ने दाउमा बूढी मरेकी एक्टिङ गरी घर टाप लाउने दाउ नि मेरो । (अचानक जिब्रो निकाल्दै) ल्या… (टेबलमा भएको डायरीलाई गिद्धदृष्टिले हेरी) ल्यायो कौडेले यसको डायरी यहीँ बिर्सेर गएछ । डायरीबिना यो पानीबिनाको माछाजस्तै हुन्छ । तर पनि मेरी बूढी मरेकी एक्टिङ कस्तो लाग्यो ता एई छेपारे । (बुरुक बुरुक उफ्रिँदै) दामी नि छेपारे दामी… एक्सलेण्ट । वाह छेपारे वाह ! अन्त छेपारे… मेरो यो एक्टिङ कस्तो लाग्यो ता फेरि एकपल्ट भन्दे न प्लिज ।
धनराज – (चाल मारेर प्रवेश) मैले पनि फाइल बिर्सेकोजस्तो गरी प्रस्थान भाको एक्टिङ कस्तो लाग्यो ता…(धनराजलाई देखेर छेपारे त्यही अरट्ठै परेर फ्रिज हुन्छ) ।
पर्दा खस्छ ।

०००
सिलगुडी, भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०