साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अन्तिम पुस्ता

तपाईंहरूमा पनि अन्तिम पुस्ताका सम्झना योग्य कुनै अवशेषहरु बाँकी छन् भने भावी पुस्ता समक्ष साँचो बक्न कन्जुस्याइँ नगर्नु होला है ।

Nepal Telecom ad

अन्तिम पुस्ता तिनै हुन जस्ले भोकाधिकारको अन्तिम लालसा पुरा गरेका हुन्छन् । म अथवा तपाईंभन्दा अगाडिको पुस्ताले के कस्तो अवस्थाको सामना गर्नुपर्‍यो ? कस्ता कस्ता व्यथा बुहार्तन, सकस र शास्ती व्यहोर्नु पर्‍यो तर त्यही स्वाद र सकस अरूले व्यहोर्नु परेन भने त्यो भोगाइ वा स्वाद अन्तिम स्वाद बन्न पुग्छ । जस्तो शाह वंशीय शासनको स्वादको अन्तिम रसास्वादन ज्ञानेन्द्र शाहले लिएका थिए । जीवनमा कसले के गरे के गरेनन् नभनेको नलेखेको नदेखेको कसरी थाहा पाउनु ? भोलिका भाले पोथीले के कस्तो अवस्था व्यहोर्नु पर्छ, लेखे थाहा हुन्छ, देखे थाहा हुन्छ नत्र कसरी थाहा हुन्छ ?

त्यसैले आफूले भोगेको अवस्थाका बारेमा आतेजाते दुबै पुस्तालाई सुसूचित गराउने हेतुले सत्यतथ्य प्रष्ट पार्नु लेखकको धर्म अनि अभिभावकीय अन्तिम कर्तव्य ठानेको छु । तथ्यपरक वस्तुस्थितिको विस्तार भावी पुस्ताका निम्ति बौद्धिक खुराक बन्ला भन्ने हेतुले प्रस्तुत लेख यहाँ समक्ष पेश गरेको छु ।

हुलाकबाट समाचार आदान प्रदान गर्ने डाकपत्र हवाइपत्र र आवाको उपयोग गर्ने म अन्तिम पुस्ता । रेडियो घन्काउँदै हिँड्ने म अन्तिम पुस्ता । पाँच रुपियाँ तिरेर अखबार पढेर समाचार थाहा पाउने, अर्काको घरमा टिभी छ अरे भन्ने थाहा पाएर विनासंकोच, विना सरम लुसुलुसु रामायण हेर्न जाने म अन्तिम पुस्ता । मेटलका एकएक अक्षर जोडेर छापाखाना चलाउने म अन्तिम पुस्ता । एघारवटी श्रीमती बटुलेर पचास पचपन्न जनासम्म सन्तानोत्पत्ति गर्ने र पोस्टकार्ड किनेर मायाको मन राख्ने म अन्तिम पुस्ता ।

खाँडी, टोप्रेलको सारी र बोकेदारी आफ्नो पहिचान सूचक ठान्दै ज्वानो र जिम्मु झान्दै कोदालाले बारीका डल्ला फुटाउने म अन्तिम पुस्ता । दियालो, लालटिन, टुकी, मइन्टोल र अँध्यारो रातमा सिटा बालेर घण्टौँको बाटो तय गर्ने म अन्तिम पुस्ता । गुच्चा, गट्टा, मोजाबाट बनाएको बल, ढुङ्गा थुपारेर खेलिने पाँच तले, बालन खेल्ने म अन्तिम पुस्ता । खोला, कुवा, पँधेरोमा, फिल्टर नगरी हातले सोझै पानी पिउने, बाँसको ढुङ्ग्रो काठको दुँध्यारोमा दुध नुहुने, भेडा, बाख्रा, च्याङ्ग्राको संयुक्त चरन भेडीगोठ सार्दे हिँड्ने म अन्तिम पुस्ता । जनैमा चाबी झुण्ड्याएर हिँड्ने र मुल ढोकामा भोटे ताल्चा ठोक्ने म अन्तिम पुस्ता । मुर्चुङ्गा, बिनायो, ढ्याङ्ग्रो, सारङ्गी, एकतारे बजाएर साङ्गीतिक स्वाद लिने म अन्तिम पुस्ता । ओखल, कोल, घट्ट, ढिकी, चनौटो, सिलौटो र आफैले बनाएको मसिमा बाँसको कलमले चोब्दै चिना, सुतिका लेख्ने धुले पाटीमा लेखेर ज्योतिषी काम र जोखाना हेर्ने म अन्तिम पुस्ता । ठेकी, हर्पे, मदानी, घुर्रो, नेती, कठुवा, डालो, थुन्से, फिपी, डोको, पेरुङ्गो, चित्रा, भकारी, घुम/स्याखु, पाथी बुनेर बनाएर नथाक्ने म अन्तिम पुस्ता । क्यामेराको रिल, क्यासेटको चक्का, बास्सा र एक्कामा रमाउने म अन्तिम पुस्ता । दौरा सुरुवाल ढाकाटोपी लगाउने र लँगौटीले लाज ढाक्ने म अन्तिम पुस्ता ।

च्याख्ला, फ्याप्लो, कोदो, फापरको खोले, ढिँडो, गुन्द्रुक, साग, सिस्नु, कन्दमुल खाएर गुजारा गर्ने म अन्तिम पुस्ता । खालीखुट्टा गाई वस्तुको भकारो सोहोर्ने, खाली खुट्टा मेलापात, बनजङ्गल हिउँद वर्षा जतिखेर पनि खाली पाउमा रमाउने अनि हात खुट्टा फुटेर चरचर्ती रगत बग्दा नौनी घिउ दल्ने म अन्तिम पुस्ता ।

शिशु कक्षा नपढी कक्षाको कापी किताब नै नकिनी भकाभक पास हुने, गुरु वर्गलाई भगवान् ठान्ने र पाँच रुपियाँ स्कुलको फिस तिर्न नसक्ने हरिकंगाल म अन्तिम पुस्ता । गाई बाख्राको गोठालो गर्दै पढ्दै गर्ने र छोराछोरीलाई भारी माथि भारी बनाएर ठसठस कन्दै बोक्दै गर्ने अनि सारा जग्गा जमिन गोरुले नै जोत्ने म अन्तिम पुस्ता ।

जाडो गर्मी, बारैकाल दाल भातका साथ थाल अगाडि आइलाग्दा ब्राह्मणभूषण फेरुवा/धोती लगाएर काठको पिर्कामा टुक्रुक्क आसन जमाएर रासन पानी सिनित्त पार्ने काठो भनाउँदो म अन्तिम पुस्ता । भुइँमा अप्सानी हाल्दै पानी अचाएर मात्रै भातको गाँस टिप्ने र पाइखाना जाँदा काँधको जनै कानमा सिउरिएर एक लोहोटा पानीले सिनित्त सुची हुने र ब्रह्म मुहुर्तमा उठेर स्नानादि कर्मपछि हातका औँलाको कोठाबाट चौबिस गायत्री मन्त्र जप्न सक्ने बहादुर बाहुनको म अन्तिम पुस्ता ।

बाबु, आमा, हजुरबा, हजुरआमा, काका, काकी र दाजुहरूको गोडामा छाँद हाल्दै निधार टँसाएर, अनि मामाको हात निधारमा राखेर ढोग्ने र पत्नीलाई आफ्ना पाउमा लम्पसार पर्न लगाउने म अन्तिम पुस्ता । चन्द्र ग्रहण, सूर्य ग्रहणका बेला ६ घण्टा अगाडि ६ घण्टा पछाडि सूतक बार्ने म अन्तिम पुस्ता । श्रीमान्ले नखाई श्रीमतीले नखाने म अन्तिम पुस्ता । छोराछोरीलाई विवाह ब्रतबन्ध नगरी आफ्नै घरको चुलामा भात भान्सा छुन नदिने र भान्सामा भात खाँदाखाँदै त्यस्ता सन्तानले छोएमा भात खाँदै नखाई उठेर हिँड्ने म अन्तिम पुस्ता ।

विवाहमा दुलहीलाई डोलीमा बोकेर दमैलाई पन्चेबाजा बजाउन लगाएर अगाडि अगाडि दमै पछाडि पछाडि जन्तीका जम्मै लावालस्कर लगाएर हिँड्ने र सारा जन्तीलाई बारीका डिलमा बिना आसन बसाएर जन्ते बाख्राको झोल सहित भतेर खुवाउने म अन्तिम पुस्ता । जनैमा चावी झुन्ड्याएर आफ्नो सम्पत्तिको जतन गर्नुपर्छ, टुप्पी पाल्नैपर्छ र टुप्पीमा शिखा पार्नुपर्छ भन्ने म अन्तिम पुस्ता । रिठ्ठाले नुहाएर, खरानीमा लुगा पकाएर मुङ्ग्राले ड्याम ड्याम पिट्दै लुगा धुने म अन्तिम पुस्ता । आगो बालेको अँगेनामा खरानीभित्र बलिराखेको अगुल्टो घुसारेर भोलिका लागि आगोको जगेर्ना गर्ने म अन्तिम पुस्ता । ब्रसले दाँत नमाझ्ने म अन्तिम पुस्ता । माटो, भुस, पराल, मिसाएर माटो मुछेर अठार इन्चको गारो लगाएर खरले घर छाउने तर चर्पी नबनाउने म अन्तिम पुस्ता । गेटमा बाँसको तगारो लगाउने म अन्तिम पुस्ता ।

जन्मदिन, जन्म महिना, मंगलबार, औँसी र घाम अस्ताएपछि कपाल नकाट्ने, गोठमा बाधी राखेको गाई बन्धनमा नै अचानक मरेमा, घरको धुरीमा हुच्चिल बसेमा, कागले शरीरमा विस्ट्याए, माउसुली छेपारोले छोएमा, घरमा स्वस्ती शान्ति गर्ने म अन्तिम पुस्ता । चकमक झुलोका मदतले आगो पारेर पातमा बेरेको सुर्तीको धुवाँ उडाउँदै हिँड्ने म अन्तिम पुस्ता ।

अर्काकी स्वास्नी फकाई फुल्याई ल्याएर अतिक्रमण गर्दै जारी तिरेर एकलौटी बनाउँदै मख्ख पर्ने, म अन्तिम पुस्ता । सात वर्षको कलिलो उमेरमा विवाह गरेकी आमा र चौध वर्षमा दुलाहा बनेका बाबुको म अन्तिम पुस्ता । अहिले नेपाल सरकारले बाल विवाहलाई बर्जित गरेको छ तर बाल्यकालमा नै विवाह गरेर पच्चिस वर्षकै उमेरमा छोराछोरी पैदा गरेर ढुक्कको सास फेर्ने म अन्तिम पुस्ता । मौकामा चौका हान्दै खेताला खोज्नाका दुःखले एघारवटी श्रीमती भित्र्याएर घरको सारा खेतीपातीको अड्को पार लगाउने चलाख म अन्तिम पुस्ता । सय रुपियाँमा एक बोटको सबै सुन्तला, पच्चिस सयमा एक तोला सुन खरिद गर्ने म अन्तिम पुस्ता । भात खाँदा खाँदै हाच्छिउँ आए फेरि पानी अचाएर मात्रै भात खाने म अन्तिम पुस्ता । प्लटिङ गरेर खेतीयोग्य जमिन ध्वस्त पारिरहेको वर्तमान अवस्थामा भिरालो पाखोबारीमा घरबास गरेर समथर भागमा खेतीपाती गर्ने म अन्तिम पुस्ता । आमाको दुध चुस्दै गरेकी नाबालिकाको दुध छुटाएर पन्चे बाजा घन्काउँदै ल्याएकी श्रीमतीसँग बोल्न लजाउने तर सन्तान चाही वर्षौटे जन्माइ राख्नु पर्ने म अन्तिम पुस्ता ।

राजा, गुरु, ज्ञात, अज्ञात मृतात्मालाई तर्पण दिने, छोराछोरीलाई नेपाली पढ लेख भनेर अनुरोध गर्ने, केही मानव जाति लगायत सुँगुर, गधा, कुखुरालाई अछुत प्राणी ठान्ने म अन्तिम पुस्ता । चारै वेदको पूजा गर्ने, कलम किताबलाई ढोग्ने, सरस्वती माताको पूजा आरधना गर्ने म अन्तिम पुस्ता । काँधमा जनै भिरेर टुप्पी हल्लाउँदै बाहुनले गोरु जोत्नु हुँदैन भन्दै हली खोज्दै हिँड्ने म अन्तिम पुस्ता ।

बालबालिका बिरामी परेर हैरान पार्दा धामी झाँक्री लगाएर झारफुक गरेर सन्चो बनाउने, किराले खाएको दाँत, सर्प, बिच्छी, कुकुरले टोकेमा फुकेर विष झार्ने, दर्द समन गर्ने, बोक्सा बोक्सी लागेको चाल पाउने र धामी झाक्री लगाएर ठिक पार्ने म अन्तिम पुस्ता । टन्टन्ती दुखेको टाउको बिहानको झुल्के घाममा पिनासको कथा सुनाएर सन्चो बनाउने, म अन्तिम पुस्ता । ब्रह्ममुहूर्तमा उठेर जपतप ध्यान गर्ने, आफ्नामा आएका आगन्तुकलाई भगवान् ठानेर गाँस, बासको व्यवस्था गर्ने म अन्तिम पुस्ता । दलित जातिलाई कुट्नु हुँदैन, अर्काको धन सम्पत्ति सित्तेमा खानु हुँदैन, लुट्नु कुट्नु, काट्नु हुँदैन, प्राणी हत्या महापाप हो र धर्म गर्नुपर्छ, संसार धर्मले नै अडिएको छ भन्ने म अन्तिम पुस्ता । तपाईंहरूमा पनि अन्तिम पुस्ताका सम्झना योग्य कुनै अवशेषहरु बाँकी छन् भने भावी पुस्ता समक्ष साँचो बक्न कन्जुस्याइँ नगर्नु होला है ।

शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x