हरिकला उप्रेतीश्रीमान् कविको कमलो मन
भातको भाँडो डढोस् या तरकारीको कराई । कविजी कविता कथ्नासाथ कोकोहोलो गरेर कराउँछन् र दुई लाइन कविता सुनाउँछन्

“कविहरू कमलो मन भएका हुन्छन् । भाग्य बलियो चाहिन्छ र मात्रै कवि श्रीमान् पाइन्छ ।” भनेर कलाधर काकाले भनेपछि पक्का भो । भाग्यपरीक्षामा उच्चतम अङ्क ल्याएर उत्तीर्ण भएरै मैले कवि श्रीमान् पाएँ ।
कवि श्रीमान् पाएर म मख्ख परेँ । मख्खमख्खैमा मेरो नयाँ घर सुरु भयो । नयाँ घरको नयाँ चाला, नयाँ रमझम, नयाँ दुलाहा । दिनभरको थकानले थकित ज्यान । बेलुका बिस्तरामा बिस्तारै विराजमती भएँ । कवि त साँच्चैका कवि रहेछन् । उनी उनकै कोठाका कुनातिर कोल्टो फिरे । मक्काएका र्याकबाट मुसाले खाएका र माकुराले जालो लाएका किताबहरू नियाल्दै निकाल्न थाले । अनि कापी र कलम लिएर कैले कन्न थाले, कैले भन्न र कैले गन्न थाले । आफू भने अडेस लागेर आज्ञाकारी श्रोती बनेँ । निन्द्रामा पनि अर्धनयन उघारै रहने आफ्नो आदत । कमलो मन भएका कविको प्रेमारिक कविताको कलात्मक प्रस्तुति सुन्दासुन्दै कुन बेला म भुसुक्क भएकाे कविजीले पत्तै पाएनन् । उनी भन्दै थिए, “मेरी कविता, मनकी मखमली, मेरी जुनेली, मेरी सुसेली, मेरी नौरङ्गी, मेरी सारङ्गी ….।
बिउँझदा बिहानको भुकभुके उज्यालो भैसकेछ । कविजीका नजिकको धिप्रीको बत्ती धिपिक्कै हुन लागेछ । मेरो अर्धनयनले कविजीलाई कहिलेसम्म कविता भनायो भन्न सकिन्न । तर कविजीका नजिकै एक डोको खोसेलाझैँ कविताका कागजको रास थियो । कवि भने एकोहोरो कवितामै लीन । वा ! क्या मज्जा जिन्दगी अनि क्या गजब दिन ।
कविजी अझ भन्दै थिए- “प्रिय ! अब मसँग झन् राम्रो कविता छ । केवल तिम्रो निम्ति लेखेको । तिमीले यही कविताबाट चाल पाउँछ्यौ- मेरो तिमीप्रतिको प्रेम र प्रेमप्रतिको प्यार । हुन त मैले अगि नै प्रेमारिक रसका कविता रसास्वादन गरेर कविको कमलो मन छामिसकेकी थिएँ । लाग्यो रातभरमा पनि मप्रतिको प्रेम प्रसङ्ग पारि तरेनछ । उनले मैप्रति समर्पित ‘कविकी बिबी’ शीर्षकको कविता सुनाए । भाषा-भाषामा कविता लेख्न सक्ने यस्ता खासा कवि श्रीमान् पाएकोमा आफ्नै भाग्यलाई धाप मार्दै भावविभोर भएँ ।
दिन बित्दै गए । नयाँ घरको परम्परा पुरानो लाग्दै गयो । बिहान भालेको डाकसँगै कविजी कविता कथ्न थाल्छन् । कहिले सिरकमाथि त कहिले सिरानीमाथि बस्छन् । भातको भाँडो डढोस् या तरकारीको कराई । कविजी कविता कथ्नासाथ कोकोहोलो गरेर कराउँछन् र दुई लाइन कविता सुनाउँछन् । सुर्तीको धुवाँको मुस्लोले मौसमी यामको बादलझैँ कोठाको चारै दिशा ढाकेको छ । दुई मैना अघि दर्जीकहाँबाट ल्याएको दौरा, दस वर्ष अघिको चाल्नोझैँ छ, झिल्काले झिल्स्याएर । इस्टकोटको गोजी फर्किएको, सुरालको इँजार लत्रिएको र टोपीबाट टुप्पी निस्किएको छ । त्यो दृश्य देख्ने जोकोहीलाई भव्य रङ्गमञ्चमा निशुल्क नाटक हेर्दाको झैँ आनन्द आउँछ ।
बिहान बितेपछि कविजी कोठाबाट बाहिर निस्कन्छन् । दाह्रीकपाल र दौराको दह्रै मद्दत मिलेको छ । सयपचास रुपैयाँ गाडीभाडा सुटुक्क माग्छन् र कवि गोष्ठीतिर लाग्छन् । कविगोष्ठीमा ताली दिएर ताली खाएर टन्न अघाएर साँझ घर फर्कन्छन् । माइती माओलीले गोडा धोएर दिएको दक्षिणा कविजीका दैनिकीमा खर्च गर्न पाउनु, म माग्यमानी नै हुनु हो । कविजीले खनजोत गर्ने खेत र घाँसपात गर्ने भैँसी पाँच साल पहिल्यै बेचेर किताबका खातमा मुसा र माकुराका जात हुर्काइरहेछन् । त्यसैले मैले त्यतापट्टिको हुर्मत बेहोर्नै परेन । यस्तै सोचेर कविको कमलो मनप्रति प्रफुलित हुँदै थिएँ । उता कविले कविता कथिसकेछन् । बोलाएर भने- ए कविता ? यता सुन त कविता । वा ! क्या मज्जा जिन्दगी ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest











































