रुद्र ज्ञवालीपाँच ठोकान
औंल्याउँदै चरित्र कमरेडका चित्र गुप्त भन्दै थिए

१.
उध्रेको छानो छाएको भए जीणर् पर्खाल बनाएको भए
मान्छले पनि हामीले जस्तै सुदृढ सञ्जाल बनाएको भए
कहाँ फैलिन पाइन्थ्यो र यसरी भन्दै थियो रे कोरोनाले
मन्दिर र मस्जिद सट्टामा यदि अस्पताल बनाएको भए ।
२.
बिहानै बिहानै शङ्ख फुक्छन् घण्ट बजाउँछन्
निधारमा चन्दन घस्छन् नदीमा पैसा चढाउँछन्
औंल्याउँदै चरित्र कमरेडका चित्र गुप्त भन्दै थिए
क्रान्तिकारिता देखेर यस्तो मार्क्स यता लजाउँछन् ।
३.
समस्याका खात् झन् झन् बढी चुलिँदै र चाङ्गिदै गए
सोझा वृक्षहरू समेत सत्ताका उन्मादमा बाङ्गिदै गए
सुनाउँदै थिए एक कवि गणतन्त्र गाथाको कवितामा
नेता र तस्कर झाङ्गिदै गए जनता रिनले नाङ्गिदै गए ।
४.
गहुँको पिठोमा भन्दा बढी चोकरको विश्वासमा छन्
मालिकको आड भरोसा र नोकरको विश्वासमा छन्
थापेर देशलाई सतरञ्जमा जुवा खेलिरहेका जुवाडेहरू
आफ्नो कौशलमा भन्दा बढी जोकरको विश्वासमा छन् ।
५.
डस्दैछन् देश नागहरू क्या गजबले पालैपालो
लुछेर शरीरका भागहरू क्या गजबले पालैपालो
रङ वणर् हेरेर मात्र जस्लाई हामी कोइली ठान्थ्यौं
नाम काढ्दैछन् कागहरू क्या गजबले पालैपालो ।
Subscribe
Login
0 Comments
Oldest





































