विश्व विनोदके म नेपाली हुँ ?
भारतीय सुकुलमा बसेर डकार्दै खाना खाएपछि चाईनिज टिस्यु पेपरले मुख पुछेर चाईनिज सिन्काले दाँत कोट्याएर नेपालको नक्सा हेरेकै हुन्छु ।

गैह्र जिम्मेवार प्रश्न सोधेको त हैन तर यो देशको नागरिक भएर केही प्रश्न मथिंगलमा उठिरहँदा कहिलेकाहीँ सोच्ने भन्दा अधिक सोचिन्छ कि झैं पो लागेको छ । आखिर म आफै यही देशको नागरिक हो कि हैनमा भन्नेमा बडो चिन्ताग्रस्त पो छु गाँठे ।
बिहानै उठेर ईण्डियन मन्जन र ब्रसले दाँत टिलिक्क टल्काएर म नेपालीपन खोजीरहेको हुन्छु । यसपछि भजन सुन्नको लागि हिन्दी गीत मज्जाले सुनेकै छु । अझ यसपछि हिन्दी सिरियल त्यो पनि भारत या चाईनामा बनेका टिभीमा हेरेर बस्छु अनि हातमा भएको विदेशी रिमोटलाई नियालेर टोलाउँछु, आखिर देशलाई पनि यसरी नै आफ्नो कमाण्डमा चलाउन र हेर्न पाएको भए पनि हुने तर खैर अझ हातैमा रुमल्लिइरहेको रिमोट नै विदेशी लाग्छ अनि झसङ्ग हुन्छु ।
म आफ्नो नेपालीपन र म भित्रको स्वाभिमानलाई प्रश्न गर्छु अनि सोध्छु : के तँ नेपाली नै होस् त ? म यहि प्रश्नको उत्तरमा निकै दिन तिल्मिलाएको छु जति गौतम बुद्ध काशी गयामा गएर पनि तिल्मिलाएनन् । यै लेख लेखेको ल्यापटप नेपाली हैन मेरो जब कि तपाईले पढेको पत्रिकाको कागज या तपाईले यही लेख अनलाईनमा पढ्नु भएको छ भने यसमा प्रयोग भएको बिद्युतीय सामान नेपाली नै हैन ।
बङ्गालादेशको दाल, भारतको चामल र भारतबाट नै मगाएको नुन खान्छु म । हरेक दिन ईण्डियन कुकरमा लागेको सिटीले मेरो नेपाली चेत खुल्दैन तर यस्ता ईण्डियन कुकुर झण्डै ३ करोड बिहान र बेलुका नै बजिरहन्छन् तर अहँ म देशको लागि एकटंकार सोचिरहन्छु । आहा, तरकारी पनि उतैको छ । म आफ्ना शरीरलाई नियाल्छु अनि आफूले लगाएका चाईनिज कपडा देख्छु तर म आफूलाई नेपाली नै भन्ठान्छु ।
भारतीय साबुनले मेरो शरीरमा लडिबुढी खेल्छ अनि ईटालीको अत्तर छर्केर म नेपाली हुनुको मज्जा देखाउँछु । अरबको रेमिट्यान्समा पसिना बेचेर यहाँको पेट भर्दछु । भारतीय सुकुलमा बसेर डकार्दै खाना खाएपछि चाईनिज टिस्यु पेपरले मुख पुछेर चाईनिज सिन्काले दाँत कोट्याएर नेपालको नक्सा हेरेकै हुन्छु । अझ हिन्दी फिल्म हेर्नको लागि ब्ल्याकमा टिकट किनेर हिँड्ने म रितिक रोशनलाई नेपाल मन पर्दैन भन्यो भनेर देश नै बन्द गरिदिन्छु, सडकमा आगो बालिदिन्छु ।
बेला बेलाका नेताको कुरा नबुझेर बिरोधको लागि सडक तताउँछु, आफूलाई स्वाभिमानको प्रतिक ठान्छु तर भारतीय आई सि नोट मेरो गोजीमा बिराजमान हुन्छ । सडकमा मोटरसाईकल र्यालीमा बिदेशी बाईकमा बिदेशी पेट्रोल हालेर स्वाभिमान र आत्मनिर्भरताको नारा लगाउँछु । तर पनि म नेपाली नै हुँ भनिरहेको छु । मलाई नेपाली खेल मन पर्दैन, ईंग्लिस प्रिमियर लिग, ला लिगा र भारतिय आइ.पि ल हेरेर मज्जा लिन्छु । तर पनि भनिरहेको हुन्छ म नेपाली भनेर । तर एक पटक म या म जस्तै अरु म लाई हेरेर भनिदिनुस्न ल, के म नेपाली हुँ ? तारेमाम् !
लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































