गायत्री परिरोशनीमलाई ज्वरो आएको छैन
छाम्दा भेटिने ज्वरोलाई त सिटामोल र मिठामोलले दबाउन सक्छ तर हृदयको ज्वरोलाई, मनको ज्वरोलाई केहीले पनि दबाउन सक्दैन ।

जीवनमा अहिलेसम्म धेरै ढाँटियो । गर्दा,बोल्दा त एउटा, दुईटा बाहेक त्यति धेरै होइन तर लेख्ने क्रममा धेरै ढाँटियो भन्दा नपत्याउने साहस धेरै नगर्नुभए बेस हुन्छ होला । म सत्ताइस काटेर अठ्ठाइस लागेकी एउटी महिला हुँ । महिला भएको नाताले एक वर्ष भए पनि घटाउन अनुमति दिनुहुन्छ भने छब्बीस काटेर सत्ताइस लागेकी छु । महिला पनि धेरै प्रकारका हुन्छन् । बच्चा, बालिका, युवती, भर्खरकी, आइमाई आदि । उमेरको हिसाबले तपाईँहरूलाई लाग्न सक्छ यो त पक्का पनि वयस्क युवती हो तर माफ गर्नुहोस् मैले उमेरमै घरजम बसालँे, तपाइँहरूले कल्पना गरेकी सत्ताइस वर्षे युवती होइन, घरजम गरेर दुईटा प्रमाणपत्र लिइसकेकी एउटी आइमाई हुँ एउटी आइमाई । अँ, प्रश्न गर्न सक्नुहुन्छ, दुईटा प्रमाण के त ? एउटा हो छोरोको प्रमाणपत्र, अनि अर्को छोरीको ।
अँ, मैले त भुसुक्कै बिर्सिएछु । ढाँटेको कुरा गर्दागर्दै आफै हारेको कुरा पो गरेछु । मैले माथि नै बेलिबिस्तार लगाएँ बोल्दा होइन लेख्दा धेरै ढाँटियो । कहिले पुरुष भएर, कहिले महिला भएर, कहिले जड्याहा भएर, कहिले जुवाडे,तासे,भाते, खाते, गुन्दु्रके सबै भएर नै धेरै ढाँटेँ । यो त विशेषता नै पर्यो मेरो । विशेषता नै भए पनि अहिले भने तपाइँहरूले जम्मै पत्याउनुहुन्छ कि मलाई अहिलेसम्म ज्वरो आएको छैन । मलाई ज्वरो नआए पनि उनान्सय डिग्री भन्दा माथितिर मेरो जीउलाई नतताए पनि यो ज्वरोले मलाई दुःख दिएर दिमागलाई भने, भावनालाई भने एकसय आठ डिग्री फरेनहाइटभन्दा पनि माथि उचालेको छ । अचम्म लाग्छ होला तपाइँहरूलाई, ज्वरो नआइकन पनि दिमाग मात्र तात्छ र ? भावना मात्र तात्छ र ? यस्तो लाग्नु स्वाभाविक पनि हो । जुनसुकै रोग लाग्नुभन्दा पहिला जोसुकैलाई पनि ज्वरो आउँछ तर मलाई भने ज्वरो पटक्कै नआइकन एकैपटक दिमाग मात्र तात्दछ । किन, कसरी ? धैर्य रहनुहोस्, यसका उपचारका सबै औषधी मलाई थाहा नभए तापनि यस्तो ज्वरोका कारणहरू मैले नढाँटीकन बेलिविस्तार लगाउँछु ।
‘बार्ह वर्षमा पोइ आ’को, त्यसै दिन मलाई ज्वरो आ’को’ भनेझैं मैले पनि बल्ल-बल्ल बीस वर्षकी हुँदा एउटा भावना मिल्ने प्रेमी भेटाएँ । पहिलो दिन उनीसँग आफ्ना मनका कुरा सुनाएर अर्को दिन म घरमा फर्कने तरखरमा थिएँ । बिदाइको लागि उनको कोठाभित्र गएको त उनी ज्वरोले काम्दै सुतिरहेका रहेछन् । अब भएन के ‘बीस वर्षमा बल्ल प्रेमी पा’को, थाहा नै नपाई ज्वरो आ’को’ भने पनि त्यति फरक परेन । एकछिन हेरेँ प्रेमीलाई आएको ज्वरोलाई । म त्यहीँ वरपर हुँदाहुँदै, नजिक नै हुँदाहुँदै कतिबेला गयो ज्वरो ऊभित्र पत्तोफाँट नै भएन । हेर्दा देख्दिन, छाम्दा मात्र भेट्टाउँछु ज्वरोलाई । औषधी खाऊ भन्दै, खानाको चाँजोपाजो मिलाइदिएर म आफ्नो कुलेलम ठोकिहालेँ । आफ्नो प्रेमी उसलाई ज्वरो आएको छ, यात्राभरि घरमा नपुगुन्जेल उसैको यादले सताइरर्यो । घरमा नै पुगिसकेपछाडि पनि न त मन खोलेर अरूलाई कुरा बताउन पाउने, आफ्नो प्रेमी बिरामी छ भनेर कुरा खोल्नु पनि भएन, गोप्य मायापिरीम । उनको त शरीर तात्दथ्यो तर मेरो भने उनको पिरैपिरले दिमाग झन् बढी तातेको कुरालाई त तपाइँहरूले पत्याउन सक्नुहुन्छ नि ।
अँ गर्नुपर्ने कुराहरू थुप्रै थियो । गर्छु भन्दाभन्दै, भुसुक्कै बिर्सने कहिलेकाहीँ त । बी.ए. नगरी बिहे गरियो । म गणितको विद्यार्थी, दोस्रो वर्षको एनलाइसिसको थिअरम घोक्दै थिएँ । छोरो एक्कासी बिरामी पर्यो, यसो टाउको मुसारेको त ज्वरोले रन्काइरहेको, डराइ-डराइ उसको काखीमुनी थर्मोमिटर घुसारेको त १०३ डिग्रीभन्दा बेसी रहेछ । अब घोकिस थिअरम भन्दै आफैले आफैलाई एक लोप्पा खुवाएँ । भोलिपल्ट परीक्षा थियो । त्यसरी एकोहोरिएर पढेको बेलामा त्यो साले ज्वरो कताबाट छिरेछ-छिरेछ ? दङ्गदास भएँ म त यता हेर्छु देख्दिन, उता हेर्छु देख्दिन । मेरो हातगोडा चिस्सै छ, उसको छोइनसक्नु तातो । उसलाई साँच्चै ज्वरो बढ्दैछ, मलाई पनि चिन्ताको ज्वरो एकसय आठभन्दा माथितिर उकालो लाग्न थाल्यो । डाक्टरलाई देखाउनुपर्यो । गाई, गैडा, हात्ती केही पनि छैन । नाम बेच्दा उधारो नपाइने त होइन । कति ठाउँमा फाल्नु आफ्नो नाम ग्याँसमा, चामलमा, तरकारीमा, औषधीमा आदि थुप्रै-थुप्रैमा, धेरै दिन राख्न मनै लाग्दैन, छिट्टै तिर्न पुनः फेरि चिन्ताको तापक्रम उकालै चढिरहन्छ । जे-जे सुकै होओस्, उपचारलाई त ढिलो गर्न भएन । नगदनारायण सजाएर दौडिनु पर्नेमा भगवान नारायणको नाम जप्दै दौडन्छु हस्पिटलतर्फ ।
यो त एकपटक छोरो बिरामी पर्दा दिमागमा ज्वरो चढेको कुरा । छाम्दा भेटिने ज्वरो नआए तापनि दिमाग तात्ने, मन तात्ने ज्वरो त कति आयो कति गनेर साध्य छैन भन्दा मन फराकिलो बनाएर विश्वास गर्नुभए हुन्छ । दुई जना बर्षौटे केटाकेटी दुवै जना सल्लाह गरेझैँ बिरामी हुने, उदरदेवको भण्डारलाई चाहिने सर्जाम पालैपालो सकिने, जुनबेलामा सार्हो पर्छ त्यही बेलामा पाहुना देवता टुप्लुक्क आइदिएर झन् सार्हो पर्ने यस्तै यस्तैले त होइन हजुर चिन्ताश्राव हुने । चिन्ताश्राव भएपछाडि दिमागमा रत्तश्राव हुन्छ र आउँछ ज्वरो । न त अरूले छाम्दा भेट्टाउँछन्, न त अरूलाई देखाउन मिल्छ । छाम्दा भेटिने ज्वरोलाई त सिटामोल र मिठामोलले दबाउन सक्छ तर हृदयको ज्वरोलाई, मनको ज्वरोलाई केहीले पनि दबाउन सक्दैन । अठ्याउने बहानाहरू भने तपाइँहरूलाई पनि थाहा भएको हुनसक्छ । अनुभव प्राप्त हुन्ुाहुन्छ पक्कै पनि । तपाइँहरू अनुमति दिनुहुन्छ भने म सुनाउँछु है त ? तपाइँहरूलाई पनि ज्वरो आइरहने विषयप्रसङ्ग कोट्याउँछु है त ?
तपाइँ एउटा लक्का युवक । एउटी अति मनमिल्ने प्रेमिकालाई प्रेम गर्नुभो । उसलाई मन दिनुभयो, धन दिनुभयो, माया दिनुभयो अफसोच तपाइँको प्रेमिकाले तपाइँलाई छोडेर अर्कोसँग बिहे गरेर गइन । तपाईँलाई पक्कै पनि चिन्ताको ज्वरो आएको हुन्छ । उपचारले नभेट्ने ज्वरो । यस्तो ज्वरो झन् अर्को ज्वरोभन्दा बढी खतरनाक हुन्छ । जीवनको अन्त्यसम्म पनि एउटै कारणले पनि पटक-पटक पिरोलिरहने गर्छ । त्यस्तै तपाइँ मानौ कुनै गृहणी हुनुहुन्छ । तपाइँ आफूले चौबीसै घण्टा रक्सी धोकेर हिड्नुहुन्छ । भन्ट्याङ्-भुन्टुङ् छोराछोरी छन् । भोक लाग्यो भनेर रुन थाल्छन् । बाल्ने र बसाल्ने कुरा केही पनि छैन । अब भन्नुहोस् त तपाइँको छातीभित्र कति डिग्रीको ज्वरो आउँछ । त्यस्तो ज्वरो न त छाम्दा भेटिन्छ, न त नाप्दा थर्मोमिटरमा चढ्छ, न त कहिल्यै बिसेक हुन्छ वा सन्चो हुन्छ ।
आयो आयो मनको ज्वरो
छोड् भन्दैमा कहाँ छोड्छ र ?
आफ्नै छाती मुटु खोप्छ
अरुको हात कहाँ पोल्छ र ?
एउटा विद्यार्थी मान्छे पढेझैं गर्छ विचरा बार्है घण्टा । दिमाग हलतिर होस् वा अन्य कतै होओस्, आँखा भने चौबीसै घण्टा किताबमा नै बिछ्याउँछ तर जब परीक्षाको रिजल्ट आउँछ, उसको नम्बर कहिल्यै आउँदैन, सँगैका साथी कोही डाक्टर, कोही मास्टर, कोही कन्डक्टर बन्दासम्म पनि उसको नाम आउँदैन । विचरा उसलाई पनि त आएको होला नि मनको ज्वरो । डाक्टरलाई देखाउन नमिल्ने ज्वरो, पेन किलरले नभेट्ने ज्वरो, तपाइँहरूलाई पक्कै आएको हुन्छ । कसैलाई हरेक दिन आएको हुन्छ, कसैलाई अलि लामो समयको फरकमाआउँला तर तपाइँहरूले यो पत्याउनु भए हुन्छ कि मलाई मनको ज्वरो दिनदिनै आए तापनि थर्मोमिटरले नाप्ने ज्वरो भने अहिलेसम्म आएको छैन । तपाईँहरूलाई के कस्तो छ, ढिलै गरेर भए पनि जानकारी दिन नबिर्सनुभयो भने म सधैँ आभारी रहिरहनेछु ।
वालिङ, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest





































