अनिल KH पौडेल’भैरव, म केमाथि व्यङ्ग्य गरौँ ?
सेनाको पनि भर छैन पुलिसको कसैलाई डर छैन, मुठ्ठीमा देश मन्त्रीको मन्त्र यस्तै भो भैरव प्रजातन्त्र, अब म कस्तो तन्त्रको मन्त्र छरौँ ? भैरव, म अब के माथि व्यङ्ग्य गरौँ ?

प्रिय भैरव !
तिमीले हास्य लेख्यौ व्यङ्ग्य घुसायौ
हामीलाई चटायौ, खुवायौ, चुसायौ
जय भुँडीले भुँडी बटार्दियौ
काउकुतीले भुईँमै पछार्दियौ
पछारिएका केही थान बौरिएर उठे
तिमीले छोडेको देश खोकलेर चुठे
चपाए, थुके फेरि टिपेर चुसे
कहिले तराई त कहिले पहाड,
हिमालले मुख पुछे
भनिदेऊ—
चालीस वर्षपछि पनि व्यङ्ग्य नै हान्नुछ म कस्तो गोली भरौँ ?
महापुरुषहरूले सिध्याए देश भैरव अब म केमाथि व्यङ्ग्य गरौँ ?
राजनीतिले रुवायो देश
प्रशासनले पत्रु बनायो
कर्मचारीले कुहाएर फाले
कुटनीतिज्ञले खल्तीमा हाले
ठेकेदारले भेलमा ठेल्दिए
खोयाबिर्केहरूले खेल खेल्दिए
ड्राइभरहरूले भिरबाट झार्दिए
जनतालाई ट्वाल्ल पार्दिए
प्राध्यापकहरू पतकर भैदिए
शिक्षकहरू सती गैदिए
लाग्दो हो तिमीलाई स्वर्गबाट
तत्काल तल झरुँ
भन भैरव,
अब म केमाथि व्यङ्ग्य गरौँ ?
तिम्रा पालामा पञ्च थिए
सञ्चले खाए अघाए
त्यसपछि भोकाहरू आए
गोसले झैँ देश भाग लगाए
साहित्यकार सडेर गए
राजनीतिकै बुई चढेर गए
कलाकारहरू कात्रोमा बेरिए
खेलाडीहरू डलरले फेरिए
सेनाको पनि भर छैन
पुलिसको कसैलाई डर छैन
मुठ्ठीमा देश मन्त्रीको मन्त्र
यस्तै भो भैरव प्रजातन्त्र
अब म कस्तो तन्त्रको मन्त्र छरौँ ?
भैरव, म अब के माथि व्यङ्ग्य गरौँ ?
हिँड्दा हिँड्दै सडक भासिन्छ
ढलभित्र छिरिन्छ
फुत्त निस्केर दौडिँदै गई सडककै कर तिरिन्छ
तराईका ठूला रुख ट्रक, ट्रयाक्टरमा भरिए
युवा जति साउदी, कतार, दुबईका गल्लीमा छरिए
देश कहिले कोशीमा बग्यो, गण्डकीमा छल्कियो
मुल्कोतिर ठेल्ने छिमेकी जाल फ्याँक्न पल्कियो
निडर हुनुपर्ने लिडरहरू देशको मिटर बुझाउन दौडिरहेछन्
बेपारी नामका बेकारीहरू जनताकै आँसुमा पौडिरहेछन्
खोले नभेट्ने साहित्यकारहरू झोले बनेर डुक्रिए
‘अधिकारवादी’ डलरेहरू जुठो चाटेर उफ्रिए
‘समाजसेवी’ किर्नाहरू जनताकै शरीरमा गाडिए
देशभित्र कोही नेपाली छैन, गुट गुटमा बाँडिए
देशप्रेमको गाँस घाँटीमा अड्कियो थुक्ने या निल्ने थाहा छैन
जनता अरिङ्गाल बन्नुपर्ने रे टोक्ने या चिल्ने थाहा छैन
दार्नेहरूले चिल्न अह्राए खै चिल्ने या मिल्ने थाहा छैन
लाखको पलङबाट ‘छलाङ’ मार्नेलाई के म पहिले चिल्न सुरु गरौँ ?
भैरव तिमी नै भन म अब के माथि व्यङ्ग्य गरौँ ?
तल्लापटि व्यङ्ग्य गरौँ आसन हल्लिन्छ रासन छेकिन्छ
माथ्लापटि व्यङ्ग्य गरौँ वस्त्र छेकिन्छ अस्त्र देखिन्छ
मङ्गलमुखीहरूले जङ्गलमुखी बनाइदिए
रकेट उडाए बिष्टा झारिदिए
देशको इज्जत उदाङ्गो पारिदिए
नग्न बनाएर हात थापिरहेछन्
तिनै तस्बिर अखबारमा छापिरहेछन्
तिमीलाई थाहा छ भैरव
सदियौँदेखि यसरी नै मागिरहेछन्
सिङ्गापुर भन्नेहरू सिङ्गै पुरिने बेला भयो
समृद्ध सपना, मगन्ते बिपना राष्ट्रवाद खेला भयो
सुतौँ…
सुत्दा पोल्छ छाती
उठौँ, उठ्दा तनाव नानाभाँती
चिन्ताबाट सुरु भएको बिहानी
तनावको तकियासाथ तन्किन्छ
अरिङ्गाल बनाउने झिँगाहरूको
राष्ट्रवाद भनन्न्न्…..न भन्किन्छ
तिम्रो छातीमा पोल्यो देशले
हाम्रो छातीमा सल्कियो
पराल खोज्दै आगो झोस्ने
पहिल्यैदेखि पल्कियो
तैपनि फिस्स हाँस्यौ, स्वदेशमै रमायौ
हामी त न स्वदेशी, न विदेशी, अदेशी भयौँ
कस्तो राष्ट्रवाद यो फोक्सोमा भरौँ ?
नेपाली हुनुको गौरवका खुट्किला माथि चढौँ या तल झरौँ
प्रिय भैरव !
जरुर भनिदेऊ
म अब केमाथि व्यङ्ग्य गरौँ ?
उर्लाबारी, मोरङ
‘आलेख’ पू्र्णाङ्क ३७ /३८ बाट
Subscribe
Login
0 Comments
Oldest







































