साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश हराएको सूचना (१)

देश तपाईंले आफ्नो मन मस्तिस्क र चिन्तनमा पाउनु भएको हुन सक्छ, यदि त्यो देशलाई पाउनु भएमा दक्षिणका मित्रलाई नभनि नजिकका देशभक्तलाई खबर गरिदिनुहुन बिनम्र अनुरोध छ ।

Nepal Telecom ad

भाइ फुटे गवाँर लुटे भन्या झैं इतिहासको यौटा देश हराएको हुँदा सर्वसाधरणमा यो सूचना प्रकाशनार्थ जारी गरुँ कि भनेर काईलाबाउले यौटा छापामा धाएका रहेछन् । काइलाबाउको सूचना परम्परागत सूचना भन्दा फरक रहेर यसरी बनेको थियो ः

दौरा सुर्वालको देशमा, हिमालै हिमालको देशमा, देशको लालपुर्जामा रेखाङ्कन गर्नको लागि कस्सिएका दलेहरूले मुसाले बिरालो खेलाए झैं खेलाउँदै गर्दा फुत्रुक्क मुसो भागे झैं कालापानी र सुस्तामा सुस्ताउँदै गर्दा इतिहासमा सार्वभौम भएको देश दक्षिण र उत्तरका छिमेकीको चेपुवामा परेर देश हराएको हुँदा देशलाई मुटुभित्र पाउनुहुने महानुभावले तत्काल नजिकको राष्ट्रवादी व्यक्तिलाई सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

कुर्सी खेलमा दलेहरू रमाइरहेको बेला दक्षिणी किरणले बिकीरण मच्चाई वातावरण धुमिल भएको बेला शान्त त्यो देश अशान्त बन्दै आपसी मिलापलाई बिलाप गराएर सर्बसाधारणको एकादेशको कथामा रहेको देश बनेको हुँदा देश हराएको सम्पूणर्लाई सूचित गरिन्छ । यसरी देश हराउँदा पनि दलेहरूले देशको वास्ता नगर्दै चुपचाप द्वन्द्वको परिकल्पनामा बसेकोले ती महानुभावले नै देश हराउनमा भूमिका खेलेको कारणले ती दलेका ठुल्टाउके नेताहरूलाई पनि हराएको देशसँगै फेला पार्नुहुन सूचित गरिन्छ ।

भिमसेन थापा, बलभद्र कुँबर, भक्ति थापाको शक्तिले अडेको स्वाभिमानलाई देशको रेखाङ्कनको बेला भंगीयताले गाँजेर अमिट देश हुनु पर्नेमा नामेट देश उन्मुख हुँदै गएको थियो । अझ कराई कराई बिहारमा हाम्रा लागि शिबिर बनिसके भनेर कुर्लनेले अझ यो देशलाई जानाजान बिलोप गराउन भूमिका खेलेको पाइएको हुँदा त्यो देशका नागरिकलाई अनागरिक बनाई बिहारको शिबिर उन्मुख गराउन लालयित गर्ने त्यो देशका महान् अमिनलाई जमिन हराउने मुख्य योजनाकार भएको हुँदा फेला पार्नुहुने महानुभावले ती व्यक्तिलाई तत्काल देशको बारेमा बुझ्न सूचित गरिन्छ ।

देशसँगै धर्म हराएर कर्म पनि हराएको पाइएको हुँदा तपाईका नजिकका धार्मिक स्थलमा गएर देशको धर्म खोज्न पनि सविनय अनुरोध छ । गंगाको जलले सिञ्चित भएको स्थललाई जातीय आतङ्क फैलाएर रगतको होलीमा परिणत गरेर बन्दका बुलन्द काम गरी जनतालाई माम खान नदिई हराम बनेर लाखौंमा जनताको मृत्युको मुल्य किन्न खोज्ने शासक, प्रशासकले त्यो हराएको देशलाई सो हविगतमा पारेकोले तत्काल ती व्यक्तिलाई अन्य देशले पनि राष्ट्रियता नभएका तत्वको रुपमा खोजी गरेर रेडकर्नर नोटिस जारी गरि प्रकाउ गर्न सकेमा राष्ट्रभक्त व्यक्तिको मुटुमा साहस आउने भएको हुँदा हराएको देश खोज्नको लागि, पुनर्निर्माणमा जुट्नको लागि यो सूचना सर्बसाधरणमा सूचित गरिन्छ । सूचना बारे केही गुनासो भए त्यो देशको सिंंहदरबारको सूचना पाटीमा हेर्नुहुन र गुनासो पेटीमा गुनासो खसालेर देश खोज्नुहुन देशभक्त व्यक्तिलाई अनुरोध गरिन्छ ।

इतिहासको त्यो एकादेश छिमेकीको साँधको टोकसोले दुब्लाउँदै गएको थियो रे, त्यसैले त्यो हराएको देश चेप्टिएर आयाताकार बन्न पुगेको थियो । टिस्टा र काँगडामा जम्जमाएको त्यो हराएको देश दक्षिणका ठूल्दाजुले भनेको मान्दा मान्दा पराधिनताको शिकार हुँदै आएको थियो ।

पशुपतिनाथलाई धाम मान्दामान्दै परमधाम गएको त्यो देशमा अन्त्यमा पशुपतिनाथ नै अनाथ भएका थिए भने मोदीका रोदीले पनि सहजै ठाउँ पाउने त्यो हराएको देशमा अलिकति बिहारी आवाज बढी सुनिन्थ्यो अनि त्यही देशका एकाथरी बिहारी साँध भएका मानिसलाई उचालेर ठुले दुई छिमेकीमध्ये यौटा बिहारी छिमेकीले त्यो देशमा खण्डको बितण्डता मनाउँदै थियो । विमानस्थलदेखि गाउँका बिश्रामस्थलसम्म हप्काउने र चप्काउने दाउमा सैन्यबलको आडमा ने मुनिको ध्वनिलाई मुनि पारेर सगरमाथालाई कसैले झारेपछि त्यो देश हराउन पुगेको थियो ।

थरुलाई हट भनेर थरुहट भएको थियो रे । माथिल्ला गाउँकालाई पुछार गाउँका मानिसले देख्नै नसक्ने गरी पानी बाराबार गरेपछि आवतजावत बन्द भएको थियो रे । माथिल्लो गाउँकासँग घुक्र्याएर राष्ट्रियतामाथि तुर्क्याउनेले राष्ट्रको झण्डा पोल्दै, बिहारी भाषा बोल्दै निशाना मेटाउने काम गरेको भन्ने सुनिन्थ्यो । नभन्दै बिस्तारै त्यो देशलाई अंशबण्डा गरेर तमुवान्, लिम्बुवान्, खम्बुवान् जस्ता बाँडफाडका बान् लगाएपछि देश बेहालमा परेको थियो रे ।

खेद्ने र मौका परे भेटेपछि रेट्ने प्रबृत्तिले त्यो देशभित्रै दलीय पाण्डबले ताण्डब नृत्य गरेपछि भस्मासुरको बाटोमा हिंडिरहेको थियो । चुट्कीको भरमा पुतली झैं नाच भने नाच्ने, बस् भने बस्ने जस्ता निर्देशनमा देश बिस्तारै लोप हुँदै गएको थियो । त्यसको अस्तित्व हराउँदै गएको थियो ।

बर्षौंसम्म स्वाधिन छु भनेर त्यो देशका मानिसले कपाल काट्न छिमेकी देशकालाई बोलाए, मिठाई पकाउन पनि दक्षिणी देशकालाई गुहारे, कवाडी उठाउन, सिरक डसना बनाउनदेखि चप्पल सिलाउन र आन्तरिक मामला मिलाउन सम्मका साना ठूला काममा अर्कै देशका मानिसको बोलाबाला रह्यो तर तिनै कपाल काट्ने देशका मानिसले त्यो हराएको देशका मानिसको टाउको काट्न उक्साए । स्वदेशी नपुगेको ठाउँमा पुगेर विदेशीले चनाचटपट बेच्ने कामसम्म गरेपछि देश हराउने नै भयो । यसरी हराएको देश तपाईंले आफ्नो मन मस्तिस्क र चिन्तनमा पाउनु भएको हुन सक्छ, यदि त्यो देशलाई पाउनु भएमा दक्षिणका मित्रलाई नभनि नजिकका देशभक्तलाई खबर गरिदिनुहुन बिनम्र अनुरोध छ । पाउनुहुने महानुभावलाई सगरमाथा उपहार दिइनेछ । तारेमाम् !

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x