साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको ९२ औँ श्रृङ्खला हास्यव्यङ्ग्यपूर्ण

हास्यव्यङ्ग्य विशेष काव्य श्रृङ्खलामा १७ जना स्रष्टाहरूको सहभागिता रहेको थियो ।

Nepal Telecom ad

फागुन १८, ०७८ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ हास्यव्यङ्ग्यकार एबं प्राज्ञ नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । वरिष्ठ स्रष्टा डा.बमबहादुर थापा जिताली र कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनि सुधा बास्कोटाको कुशल उदघोषणमा ९२ औं हास्यव्यङ्ग्य विशेष काव्य श्रृङ्खलामा १७ जना स्रष्टाहरूको सहभागिता रहेको थियो ।

अनलाइन प्रविधिमा आबद्ध कार्यक्रम हास्यव्यङ्ग्य रचनाको बेजोड प्रस्तुति सहित सम्पन्न भयो । आफ्ना हास्य र व्यङ्ग्यपूर्ण सिर्जना सहित उपस्थित स्रष्टाहरूमा लक्ष्मीप्रसाद मिश्र, यज्ञलाल सुवेदी, सिर्जना खनाल, द्वारिका कुईकेल, उर्मिला पन्त, सुरेश घिमिरे, शारदा आचार्य, चन्द्रावती अधिकारी, बिनु बाबा घिमिरे, सिता घिमिरे, चूडा निर्भिक, सुधा बास्कोटा लगायत हुनुहुन्थ्यो ।

आ-आफ्ना हास्यव्यङ्ग्य रचना कविता, मुक्तक, खोरिया, प्यारोडी प्रस्तुत कार्यक्रममा प्रमुख अतिथि लुइटेलले हास्यव्यङ्ग्य अहिले पछिल्लो पुस्तामा पुनरावृत्त भएको बताउनु भयो । चन्द्रागिरिको यो कार्यक्रम पनि महत्वपूर्ण बनेको बताउँदै उहाँले भन्नुभयो- हास्य र व्यङ्ग्यको उचित संयोजन भएन भने न त हास्य हुन्छ न त व्यङ्ग्य नै । भैरव अर्यालले खडा गरेको नेपाली हास्यव्यङ्ग्यको शिखर भेट्न धेरै स्रष्टाहरू वर्तमानमा पनि उकालो चढिरहेको देख्दा खुसी लागेको छ । भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामे, भूतको भिनाजु जस्ता शिल्पीहरूले नेपाली हास्यव्यङ्ग्यको मानक निर्माण गरेको बताउँदै सिर्जना तिखार्न उनीहरूका कृति पढ्नु पर्ने बताउनु भयो । कोरा आक्रोश र यथार्थको प्रस्तुति कलापूर्ण भएन भने गाली बन्छ, गालीको गोली हास्यव्यङ्ग्यको बोली हुँदैन- लुइटेलले भन्नु भयो ।

डा. बमबहादुर थापाले अहिलेकाे याे  विसङ्गत स्थितिमा हामीले व्यङ्ग्यको बारुद पढ्काउन सक्नुपर्छ भन्दै पद, पैसा र पावरको कमाल शीर्षाकमा व्यङ्ग्य कविता सुनाउनु भयो । त्यस्तै स्रष्टा कलानिधि दाहालले व्यङ्ग्य भनेको जस्ताको तस्तै गाली गर्ने होइन, त्यसमा कलात्मक पक्षको सिरक ओडाउन सक्नु पर्ने बताउँदै ‘खाली खाली भएँछु म’  शीर्षकको सशक्त व्यङ्ग्य कविता सुनाउनु भयो ।

कार्यक्रममा गंगा लिगलको कविता सुधा वास्कोटा ढकालले पढेर सुनाउनु भएको थियो भने प्रतिष्ठानका अध्यक्ष धड्कनले पद्म दीपा पौडेल स्मृति सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्नु भयो । अध्यक्ष जनार्दन अधिकारी धड्कनले (खोरिया पर्वतक)को हैसियतले खोरियाको सैद्धान्तिक पक्ष बारेमा बोल्दै लोक छन्दका कविताको उपविधा खोरियाका रूपमा चिनारी दिनुभयो र आफ्नो सिर्जना सुनाउनु भयो ।

धड्कनले विधागत, विषयगत काव्य श्रृङ्खला गर्ने मौका पाइरहेको बताउँदै हरेकश्रृङ्खलामा सहभागीहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोक प्रियता पाएको र आयोजकलाई खुशी थपिएको छ भन्नु भयो । उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै आफ्नो हास्यरचना सुनाएर कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

– सुधा बास्कोटा ढकाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x