साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंको नाम के हो…?

त्यही भएर त मान्छे नामको लागि मरिहत्ते गर्छ । तर मनग्ये लगानी विनाको त्यो मरिहत्तेले त त्यही न्वारनमा दर्ता भएको नाम समेत कुहिराको काग भएर घरको न घाटको हुनपुग्छ ।

Nepal Telecom ad

तपाईंको नाम के हो ……?
उनले फ्यास्स सोधे । केहीवेरदेखि हामी सँगै हिँड्दैथ्यौं ।
घोत्लिएँ एकछिन म ।

सोचें, यो विश्वव्रह्माण्ड नै नामको एउटा समुन्द्र वा महासागर हो । जसका कण कणभन्दा धेर मान्छेहरूका नाम राखिएका होलान् । यसै भित्र मेरो नामको पनि अस्तित्व छ त ?

फेरि अर्को कुनाबाट घोत्लिन थालें— अहो ! यो नामको महत्व र महिमा कत्रो छ यो दुनियामा । नामबाटै पृथ्वीको कुनै शक्तिशाली साम्राज्यको राष्ट्रपतिदेखि म समेतको चिनारी खुल्छ । समुन्द्रका कडोरन जीव वा बस्तुदेखि आकाशका सहस्र तारा समेतलाई नामबाट जानिन्छ । कण वा अणुदेखि व्रह्माण्डको सबैभन्दा ठूलो र शक्तिशाली घाम सम्मको जानकारी नामबाटै पाउँछौं ।

काखको कलिलो आफ्नो प्यारो शिशुदेखि ठूलो र घातक, डरलाग्दो शत्रुसम्मको हामी नामबाटै विज्ञ रहन्छौं । क, ख देखि संसारका महान् ग्रन्थ साहित्यसम्मको हामी नामबाटै हेक्का राख्छौं । विषदेखि अमृतसम्मको सम्झना हामी नामबाटै याद राख्छौं । जन्मदेखि रोग, महारोग र मृत्युसम्मको हामी नामबाटै स्मरण गर्छौं । आगोको पोल्ने शक्तिदेखि त्यसको उपकार, प्रयोग र उज्यालो अनि त्यसको बहुउपयोगी कामसम्म र व्यवहारको पनि हामी नामबाट जानकारी राख्छौं ।

अथवा यो हाम्रो सीमित विश्वका हरेक प्रायोगिक र प्रयोजनीय बस्तु र पदार्थको धेरथोर जानकारी पनि नामबाटै राख्छौं । क्रमशः भन्दै र गन्दै लान सक्छौं । तिनका गुण, स्वभाव अनुसार, रुप र रङ अनुसार, गति र यति अनुसार, अवस्था अनुसार, स्वाद अनुसार, चरित्र अनुसार, रङ अनुसार, क्षमता अनुसार सबै र सबैका बारेमा हामी सुन्ने सम्झिने वा देख्ने वित्तिकै नामबाट चिनिहाल्छौं । यस्तो सुविधा मान्छेको उपयोगमूलक स्वभाव र चरित्रको कारणले आफैले निर्माण गरेका काम र त्यसको परम्पराले प्राप्त गरेको नाम समेतको जानकारी नामबाटै गर्छौं ।

यस्तो जानकारी राख्ने वा पाउने मुख्य र सजिलो कारण हो— हाम्रो नाम राख्ने बानी । अब त कुुनै व्यक्ति वा बस्तु वा पदार्थको नाम नराखी त्यसको वा त्यस बारेको जानकारी त अब अनुमान मात्रैले जान्न वा बुझ्न सकिन्न ।

नाम भन्ने साथै उसको रुप, आकार, प्रकार, जीवनको स्वभाव र चरित्रको कुण्डली हाम्रो मस्तिष्कमा तयारी भइहाल्छ । गुण वा दोषको चर्चा त त्यसपछि मात्र । कपुरी कदेखि गाँठोपारी ज्ञसम्मको अक्षरका नाम राख्न सक्ने हाम्रा पूर्खाले जुन दिन अक्षरको आविष्कार गरे त्यसैदिन अक्षरका वनोटका हिसावले नाम समेत राखेर भावी पुस्तालाई अक्षर चिन्ने काममा सहयोग पुग्ने काम पनि गरेछन् । कति दुरदर्शी थिए त उनीहरू !

यी अक्षरहरूलाई स्वरुप र आकारका हिसावले नाम राखिसकेपछि यीनलाई स्वरवणर्सित लगनगाँठो कसेर क लाई क, का, कि, की, कु, कू जस्तै ट, टा, टि, टी, टु, टू को स्वरुपमा जोल्ठ्याउने काम पो कति वैज्ञानिक पद्धतिको । थाह छैन विश्वका अन्य भाषामा अक्षरहरूको कर्मकाण्ड गरेर यसरी जोल्ठ्याउने परिपाटी छ कि छैन ? बरु यो नाम भन्ने शब्द नै मलाई त लाग्न थाल्यो कि यो मान्छेको चेतनासँगै जीवनव्यापी र अझ विश्वव्यापी भइसकेको छ । यो विना हाम्रो व्यवहारले पाइलो नै सार्न सक्तैन ।

झूसदेखि भूससम्म, कणदेखि सगरमाथासम्म, अणुदेखि परमाणुसम्म, व्यक्तिदेखि समूहसम्म, एक देखि कैयन् अरबसम्म, थोपोदेखि अनन्त सागरसम्म— खोइ त कहाँ छ र नाम विनाको बस्तु !

ए साँच्चै.., उनले त मेरो नाम पो सोधेका थिए, एउटा अति सामान्य मनुवाको । तर अघि नै भनें नि, झुसदेखि भुससम्म सबैथोकको नाम भए सरह मेरो पनि त एउटा नाम हुनैपर्छ, उनको विश्वास होला यो, त्यसैले सोधेका हुनसक्छन् ।

हाम्रो व्यवहारमा यो नाम विनाको कुनै पनि बस्तु, पदार्थ वा व्यक्ति हुनै सक्दैन भन्ने कुरा पनि हामीलाई प्रष्ट भयो ।
उनले मलाई चिन्न खोजेको माध्यम पनि त्यही नाम हो । जसले गर्दा करोडौं वा अरबौंको संख्यामा नै सही, उनले त्यही नामबाटै छुट्टै रुपमा मलाई ठम्याउन सक्नेछन् ।

अहिले त मान्छेको नामले पनि जताततै भाउ पाउन थालेको छ । त्यो भाउ भनेको मूल्य हो । वस्तु वा व्यक्तिको भाउ वा मूल्य पनि उसको उपादेयता, श्रम, लगानी, त्याग र योगदानबाटै मूल्याङ्कित हुनेगर्छ । यस्तो नाम सार्थक पनि हुन्छ, शक्तिशाली पनि हुन्छ र दीर्घजीवी पनि पो हुन्छ । त्यही भएर त मान्छे नामको लागि मरिहत्ते गर्छ । तर मनग्ये लगानी विनाको त्यो मरिहत्तेले त त्यही न्वारनमा दर्ता भएको नाम समेत कुहिराको काग भएर घरको न घाटको हुनपुग्छ ।

तर योगदान हुनेको नामलाई त अरुले नै पो संरक्षण गरेर हुर्काउँछन् । यो त व्यक्तिसित सम्बन्धित नाम भयो । तर कति नाम चाँहि मान्छेले एकपल्ट राख्न सफल भयो भने त्यो त ढुङ्गाको अक्षर भएर बस्छ वा अजम्बरी नै बस्छ ।

नेपाली भाषामा बरु निन्दित बस्तु समेतको नाम राखिएको छ, जस्तै गु, टट्टी, सांकेतिक नाम दिसा, मल, आदि र तिनको क्रियामा हग्नु वा अधोवायुलाई पाध र अपान वायुलाई डकार भनेर समेत नाम राख्न छाडेका छैनन् । एक वा अनेक रुपका नाम राख्नमा कुशल हाम्रा पूर्खाहरूले कर्म, कुकर्म र सुकर्मका नामहरू पनि कति कति राखेका छन् । करोड होइन, अरबौं बनस्पतिका नाम नछोडिकनै राखिएका छन्; समष्टिमा भन्दा वन, जङगल भन्दिए पनि भएकै थियो । अझ तिनका भाषा पिच्छेका नामको त कुरै गरिसक्नु छैन ।

कतिका नाम, स्वरुप, गुण, प्रभाव, रस एवम् प्रवृत्तिका आधारमा राखिएका हुन्छन् । र कतिका लाक्षणिक नाम पनि हुन्छन् । रुन्चे, पिन्चे, लोते, अल्छे, हरिलठ्ठक, हुत्तिहारा, नामर्द, लाद्रे, खन्चुवा; यस्ता प्रवृत्तिगत नामहरू समेत हाम्रा नामवाची शब्दका रुपमा व्यवहारिक विश्वमा नभइ नहुने भएकाले नै राखेका वा बनाएका होलान् । मात्र आँखाका प्रकारमा मान्छेका कति नाम राखिएका छन् । जस्तै चिम्से, टेडे, बल्ड्याङरे, आँख्ले, अन्धा, कानो, कुहिरे ।

बस्नु त बस्नु नै हो जसरी बसे पनि । तर बस्नु भनेर मात्रै पुगेन, त्यसका पनि प्रकार रहेछन् र तिनका पनि नाम त राखिएकै छन् । जस्तै : पलेटी मारेर वा कसेर, थुचुक्क, थ्याच्च, टुक्रुक्क, टुसुक्क इत्यादि ।

यस्तो लाग्छ यो विश्व नामको भण्डार हो । जसो गर्‍यो नाम, जता फर्कियो नाम, सुतेको पनि नाम, हिँडेको पनि नाम, खाएको पनि नाम, हेरेको पनि नाम; कहिलेकहीं त लाग्छ— यो संसारनै नामको एउटा समुन्द्र हो । महासागर हो । अव यस्तो र यत्रो महासागरमा एउटा म नाथेको नामले पो के महत्व राख्ला ? वा कस्तो अर्थ लाउला ?

तै पनि उनले मलाई वोक्रे रुपमै भएपनि चिन्नकै लागि होला नाम त सोधिहाले । यो नामै नामको महासागरमा देखिनका निम्ति आफ्नो नाम भन्दिएँ मैले पनि । मेरो नाम …।

मान्छेका काम अनुसारका नाम हुन्छन् कि नाम अनुसारका काम हुन्छन् । तर मलाई त लाग्छ यी दुवै अनुसारका हुँदैनन् । किनभने नाम धनबहादुर भए पनि उ खल्तीपीडित हुनसक्छ, नाम रुपमती भएपनि उ काली कल्चुडी हुनसक्छे । त्यही भएर नै होला मान्छेहरू भन्ने गर्छन् — धन हुनेसँग मन हुँदैन र मन हुनेसँग धन हुँदैन । यो त हाम्रो नाम र चरित्र वीचको घोर अन्तरविरोधको कुरा भयो । अनि समाजले कतै यसको फाँटवारी मिलाउन सकेको पनि होइन । त्यही भएर त यो हाम्रो नामसितको एउटा समस्या पनि हो ।

त्यही भएर पनि हो— म मेरो नाम सोध्नेलाई भन्न अलिक धकाउँछु । किनभने म मा मेरो नाम जस्तो कुनै सामथ्र्य वा विशेषता छैन । नाम विजय छ तर जीवनमा भने सधैं पराजय नै छ । यो सामथ्र्य विनाको नामे शब्द सुन्दा र सोच्दा नै रस विनाको फल जस्तै लाग्छ ।

मेरो नाम पनि नाम जस्तै पोटिलो वा प्रभावशाली भए पो आफैलाई भन्न र अरुलाई सुनाउन पनि मनपर्दो, मीठो पनि लाग्दो हो । अलिक आत्मविश्वासको दाउन पनि लाग्थ्यो होला ।

तर पनि नाम भनेको त नाम नै हो; जुन नभइकन हाम्रो संसारको व्यवहार नै चल्दैन । नराम्रो वा व्यर्थको अनि तातो न छारोको भन्दिए पनि त्यो विश्वको प्रचलनले कतै कसैको नाम राख्न छोड्ने भए पो ?

यसको समस्या भनेको त नहुँदा पनि नहुने र हुँदा पनि काम नकाट्ने भएकाले गर्दा मात्रै हो ।
बरु अवस्था, स्वभाव र चरित्र अनुसार मान्छेलाई नाम पनि फेर्दै जान मिल्ने भए केही राहत हुन्थ्यो कि ?
ए साँच्चै …, तपाईंको नाम चाँहि के हो हँ……?

झापा
(२०७७/१०/१५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
देखाउने दाँत

देखाउने दाँत

विजय खरेल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x