डा. रामप्रसाद ज्ञवालीनयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?
शकुनीको जुवाभित्र फसेकी छु निरन्तर नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?

बिहान शीतका थोपा आशा बन्दै उदाउँछन्
दिउँसो मत पाएका नेताजस्तै बिलाउँछन्
साँझमा गहमा आई पीडा बन्दै रसाउँछन्
रातमा आँसु भै बग्छन् वर्षा बन्दै भिजाउँछन्
आफ्नै आँसु जमाएर बनेकी छु हिमालय
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?
“चुह्यो छाना पस्यो पानी भित्ता गल्दै गए अब
घरै ढल्ने भयो, छानो टाल्नै पर्छ मिली सब”
भनेर अगुवालाई चढाएँ छतमा तर
फेरे पिसाब घातीले घरै पारेर फोहर !
दुर्गन्धको कुवाभित्र खसेकी छु हुँदै क्षय
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?
काव्यका भाव मैला छन् गीतका स्वर मौन छन्
हर्षका कर्म देखिन्नन् यात्राका गति मौन छन्
फलाम सुनमा फेर्लान् भन्ने लाग्थ्यो बराबर
आफैँ फलाम भै आए पारसमणि पो तर !
शकुनीको जुवाभित्र फसेकी छु निरन्तर
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?
तथापि म त आमा हुँ सृष्टि गर्छु निरन्तर
नमैलिने सफा घाम जन्माउने छु निश्चय
सौन्दर्यका सबै ढोका उसले नै खुलाउला
जहाँ जहाँ पुगी टेक्ला त्यहीँ सौन्दर्य ल्याउला
त्यस्तो सन्तानको इच्छा गरेकी छु महाशय !
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































