साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्जनलाई मन नपर्ने निबन्धहरू

निबन्धकार लक्ष्मण गाम्नागे जागिर जाला कि भन्ने डरले सत्य लेख्नदेखि डराएका छैनन्, साथीभाइ रिसाउलान् कि भन्ने डरले तिनका कुकर्महरू लुकाउनपट्टि लागेका छैनन्, आलोचित भइएला कि भन्ने डरले आफन्तका वदमासी छोप्नतिर लागेका छैनन् ।

Nepal Telecom ad

रामप्रसाद ज्ञवाली :

उनी दुर्जनलाई पटक्कै मन पर्दैनन् । मलाई भने उनले जिस्क्याएको पनि मन पर्छ । जस्तो अहिले जिस्क्याएका छन र पनि मनै परेको छ । मान्छे त सामान्यतः चिनिएकै हुन् । मलाई माया नै गर्छन् जस्तो लागिरहन्छ । उनले मलाई यसरी पानीआन्द्रे नै तुल्याउलान् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। आम संसारजस्तै उनी पनि त्यस्तै निस्के, भित्र अर्कै र बाहिर अर्कै । हुन त त्यस्तो बन्न नसक्नेले वा त्यस्तो देख्न नसक्नेले यस क्षेत्रमा हात हाल्नै सक्दैन । भित्र एउटा र बाहिर अर्कै भएका दृश्यहरू, चिन्तन एउटा र चरित्र अर्को भएका व्यक्तिहरू, आदर्श एउटा र व्यवहार अर्कै भएका अगुवाहरू भएनन् भने हास्यव्यङ्ग्यकारलाई प्रस्तुत हुने विषय नै मिल्दैन । तर मलाई नै त्यसरी छड्के हान्लान् भन्ने कुरा मेरो साेचवाहिरको थियो । मलाई पानीआन्द्रे तुल्याउने मेरा साहित्यकार मित्र हुन् लक्ष्मण गाम्नागे ।

लक्ष्मण गाम्नागे वर्तमान नेपाली साहित्यका कल्पनाशील र प्रतिभाशाली हास्यव्यङ्ग्यकार, सिस्नुपानी नेपालका निर्देशक पनि, कार्यकर्ता पनि र उत्तिकै कर्मठ पनि, तथा भ्रष्ट कर्मचारीतन्त्रका अभ्रष्ट सेवक पनि। कमै हुन्छन् यस्ता अभ्रष्ट । तर यिनले मलाई पनि छाडेनन् व्यङ्ग्य गर्न । जो व्यक्ति हास्यव्यङ्ग्यको पात्र बन्छ उ सचेत छ भने उसले लज्जाको अनुभव गर्छ । परिचित समाजमा असक्षम ठानिएर लज्जित हुनु दुखदायी हुन्छ । म आज लज्जा अनुभव गर्दैछु स्वय हास्यव्यङ्ग्यको पात्र हुनुपरेकाले । हास्यव्यङ्ग्य निबन्धका स्रष्टा गाम्नागे आफ्‌ना निबन्धहरूको भूमिका लेखाइमाग्न हास्यव्यङ्ग्यको ‘ह’ नजान्ने मसँग आउनु एउटा रमाइलो ठट्टा । आजीवन एउटा हास्यव्यङ्ग्य लेख्न नसकेको पात्रले यसबारे के लेख्ने । त्यसमाथि रामले लक्ष्मणवारे बाेल्दा मूल्याङ्कनभन्दा स्नेह बढी भैदिनु स्वाभाविक हुन्छ । तैपनि पढेँ । उनका निबन्ध पहिले पनि पढ्दै आएको हुँ यसपटक चित्त लगाएरै पढेँ ।

लक्ष्मण गाम्नागे एउटा विशाल कार्यालय टाउकोमा बोकेर ठसठस कन्दै उकालोमा हिँडिरहेका छन् । कार्यालय अव्यवस्थित छ कर्मचारीहरू भ्रष्ट छन्, व्यवस्थापन लथालिङ्ग छ । गाम्नागेको आँट देखेर म छक्क पर्छु । त्यत्रो कार्यालय र त्यतिका भुँडे कर्मचारी तथा बुङबुड्ती गनाएका हाकिमहरूलाई त्यस्तो फुच्चे ज्यानले बोकेर कसरी हिंड्न सकेको होला । गानो जान सक्छ कि किचिन सकिन्छ । लर्तरो आँटले यस्तो हुनै सक्दैन । पानीमा गोहीसँग शत्रुता, त्यो पनि रगत पिउन पल्केका भाेका गोहीहरूसित । कार्यालयभित्र हेर्छु- उनका निबन्धहरू पल्टाउँछु। दुरुस्त विवरण छ । निबन्धभित्र झलझली देख्छ कर्मचारीतन्त्रका दस्तावेजहरू, भ्रष्टाचारी घुस्याहा कर्मचारीहरु, निर्लज्ज अकर्मण्य अनुहारहरू अनि जनताको रगत पिउँदै जनताकै मासुको भोज खाइरहेका विभत्स डकारहरू । तिनका अनुहार र स्वभावको जीवन्त वर्णन छ गाम्नागेका निबन्धहरूमा ।

मान्छेलाई देखेर यसरी वाकवाकी लाग्नु अनौठो भयो। कुरूप अनुहार र विभत्स क्रियाकलापको भण्डाफोर गर्ने निबन्धकारलाई स्याबासी दिन मन लाग्छ। मैले भनेर हुने हो र ? गाम्नागेजीले लेखेर सक्ने हो भने यी कुरूप अनुहारलाई नाङ्गेझार पारेर मात्र पुग्दैन । खाल्टो खनेर कसिङ्गरझैं पुरिदिनुपर्छ र नुन र औषधी हालेर मलखाद बनाउनुपर्छ । इतिहासले हामीलाई घोकायो मात्र, सिकाएन अनि पढायो मात्र बुझाएन । दुष्परिणाम हामी भोग्दैछौं । ती जिउन योग्य छँदै छैनन् । मलै बनाउनु बेस । तिनको पहिचान ठीक ढङ्गले गरेर निबन्ध लेख्ने गाम्नागेले झुटो अभिव्यक्ति दिएका छैनन् ।

मेरो विचारमा लक्ष्मण गाम्नागेका यी निबन्धहरू नेपाली समाज र प्रवृत्तिमाथि गरिएका कलात्मक आलोचना हुन्। यिनले युगयथार्थको कुरूप पक्षहरूको निर्भिक आलोचना गरेका छन् । यी निबन्धहरूमा पाठकले नेपाललाई खानेपानी उपलव्ध गराउने जिम्मा लिएको संस्था उल्टै नेपालै खाने संस्था बनेको देख्न पाउँछ । विकासको वजेटलाई आफ्‌नो पेटमा भरी राष्ट्रको विनाश गर्नेहरूको क्रियाकलाप यी निबन्धमा आलोचित भएका छन् भने आर्थिक संकटले तिल्मिलाएको निम्नवर्गीय जीवनका छटपटी पनि यिनमा चित्रित छन् ।

यसैगरी लेखकले प्रदुषित सहर र अतिक्रमित संस्कृतिप्रति चिन्ता व्यक्त गरेका छन् भने प्रजातन्त्रको नाममा भएका उद्दण्डता र शिक्षाका नाममा भएका अव्यवस्थालाई उ‌द्घाटित गरेका छन् । भ्रष्टाचार नगर्ने असल कर्मचारीहरूको दुर्दशा र क्षोभ तथा उनीहरूको खस्कदो जीवन समेत यी निबन्धहरूमा मुखरित भएका छन् । निबन्धकार माओवादीको अराजकता र खाओवादीको उन्मादबाट सङ्कटग्रस्त राष्ट्रप्रति सवेदनशील छन् भने आतङ्कित बस्ती र भयभित मनोदशाको उद्घाटन गर्न पनि सफल छन् । रक्तपात, हत्या र हिसाले मरणासन्न जीवन र दुर्बल राष्ट्रियताप्रति उनको चिन्ता र संवेदनशीलताले पनि यी निबन्धमा ठाउँ पाएको देखिन्छ । नेपालका यस्ता नकारात्मक पक्ष र प्रवृत्ति हास्यशैलीमा व्यङ्ग्य गर्ने प्रयत्न यी निबन्धहरूमा भएको छ ।

गाम्नागेका निबन्धहरू शब्दमा हँसाउनेतर्फ केन्द्रीत भए पनि अर्थमा दुखाउने खालका छन् । मुखमा हाँसो र मुटुमा आँसु हास्यव्यङ्ग्यको वर्तमान यथार्थ हो । झट्ट पढ्दा हाँसो उठ्न सक्छ तर अन्तर्तहमा कथ्यलाई बुझ्न खोज्दा चित्त दुखेर आउँछ । राष्ट्रले जनताको सुख र समाजको उन्नतिका निम्ति कर्मचारीहरूलाई कम्प्युटर उपलब्ध गराउँछ तर कर्मचारीहरू त्यसलाई ब्लू फिल्म हेर्न उपयोग गर्छन्, राष्ट्र जनसुविधाका निम्ति टेलिफोनको व्यवस्था गर्छ तर कर्मचारीहरू घुस खाएर सम्पत्तिवालको सेवा गर्छन् तथा कार्यालयको फोनबाट सालासाली र नाठानाठी तथा आफन्तहरूलाई घण्टौ फोन गरी राष्ट्रको सम्पत्ति डुबाउँछन् । जनता आफ्‌नो उद्दारकर्ता ठानेर राजनेताहरूलाई चुनाव जिताउँछन् नेता जनताको नाममा आएको रकम कुम्ताउँछ र जनताकै रगत पसिनाले तिर्खा मेटाउँछ । आत्मा नटुक्रियाेस् पनि किन, आस्था नभत्कियाेस् पनि किन, विश्वास नबढोस् पनि किन र वितृष्णा नझागियोस् पनि किन । जनताको हृदयका यस्ता गुम्फन, तनाव, विक्षान र आक्रोश टिप्न सफल छन्, गाम्नागेका निबन्ध । यी निबन्धहरू आम नेपाली जनताका तीता अनु‌भूतिहरूकै कलात्मक रुपान्तरण हुन् ।

जसले स्वयं भोगेर लेख्छ उसको अभिव्यक्तिमा यथार्थ वेसी हुन्छ र त्यस्ता रचनामा विश्वसनीयता हुन्छ । सज्जनलाई दुर्जन मन पर्दैनन् र दुष्टता पनि मन पर्दैन । तर मन नपर्ने-नपर्ने कुरामात्रै भोगिरहनुपर्दा, देखिरहनुपर्दा र त्यसैका वीचमा बसिरहनुपर्दा असन्तुष्टी बढ्ने गर्छ । निबन्धकार गाम्नागेका यी निबन्धहरू त्यस्तै असन्तुष्टीका अभिव्यक्ति हुन् । समाजमा ऐजेरु बनेर फैलिएका नकारात्मक प्रवृत्तिहरूप्रतिको उनको असन्तोप निबन्ध बनेर प्रकट भएको छ। उनको दृष्टि त्यहाँ त्यहाँ पुगेको छ जहाँजहाँ मान्छे मान्छे बनेको छैन, बरु राक्षस बनेको छ । राक्षसी प्रवृत्तिद्वारा अभिप्रेरित स्वार्थी, लोभी, अहकारी र भ्रष्ट मानिसहरू पाइलापाइलामा भेटिनुपर्दा हुने असन्तोषलाई प्रकट गरिएका यी निबन्धहरूमा यथार्थता किन छ भने स्वयं लेखक जुनजुन क्षेत्रमा जति बढी मात्रामा कार्यरत छन् ती ती कुरालाई क्रमशः प्राथमिकता दिएर यी रचना गरिएका छन् ।

सर्पको खुट्टा सर्पले नै देख्छ भनेकै कर्मचारी प्रशासन र तल्लो तहदेखि माथ्लो तहसम्मका कर्मचारीहरूका गलत प्रवृत्तिहरूलाई यी निबन्धहरूले सर्वाधिक सुक्ष्मतासाथ आत्मसात् गरी अभिव्यक्त गरेका छन् । धेरै निबन्धहरू यसै विपय र क्षेत्रमाथि लेखिएका छन् । लेखक स्वयं श्री ५ को सरकारका कर्मचारी ‘भएकाले यस विषायका उनका रचनाहरूमा विश्वसनीयता छ । दोस्रो महत्व पाएको छ राजनीति र नेतासम्वन्धी विषयले लेखक स्वयं पनि राजनीतिसचेत व्यक्ति हुन् । त्यसैले त्यसक्षेत्रका गलत कुराहरूलाई आत्मसात गरेरै यी निबन्धात्मक अभिव्यक्ति आएका देखिन्छन् । लेखक साहित्यकार हुन् र साहित्यिक क्षेत्रका कमीकमजोरीहरूसँग परिचित छन् । त्यसैले केही निबन्धमा नेपाली साहित्यका विकृतिमाथि पनि कडा व्यङ्ग्य गरिएको छ । यसबाहेक मुलतः लेखक नेपाली हुन् । आम नेपालीले सहनुपरेको दुख, भोग्नुपरेको कष्ट र बेहोर्नुपरेको समस्याबाट उनी पनि अलग छैनन् । त्यसैले नेपाली जनताका दुःख पीरमको र चाहनालाई प्रमुख विषय बनाएर यी निबन्ध लेखिएका छन् । यसरी आम नेपालीका जनजीविकासम्वन्धी प्रश्नहरूदेखि लिएर आदर्श र यथार्थवीचका जटिल द्वन्द्वहरूसम्मका प्रश्नहरू उठाउँदै यी निबन्धहरू प्रस्तुत भएका देखिन्छन् ।

म लक्ष्मण गाम्नागेलाई निबन्धकारभन्दा कविका रूपमा बढी चिन्दछु । उनका कवितामा मौलिकता छ । म तिनमा विचारको स्पष्टता पनि अनुभव गर्छु। ती कविताले समसामयिक पुस्ताका हास्यव्यङ्ग्य कविताहरूका वीचमा छुट्टै स्थान राख्छन् भन्ने मेरो ठम्याई छ । उनका ती रचना समाजको प्रगतिशील रुपान्तरणका लागि सन्देशक बनेका छन् र तिनमा स्वयं लेखकको अभिप्ट पनि त्यस्तै देखिन्छ ।

स्वाभाविक रूपमा कवितामा भन्दा बढी मात्रामा जीवनको व्यापकतालाई निबन्धले समेट्न सक्छ । यो कुरा गाम्नागेका यी निबन्धहरूबाट पनि पुष्टी हुन्छ। यी निबन्धहरू सन्देश नदिइकन सन्देश दिने खालका छन् तर त्यो सन्देशमा लेखकीय जिम्मेवारीको बाेध छ । निरुद्देश्य लेखनका सतही छायाबाट मुक्त हुन सक्नु राम्रो कुरा हो त्यो कुरा यी निबन्धहरूलाई प्राप्त छ ।

विधागत मौलिकताका दृष्टिले आत्मपरक निबन्धका रूपमा रहेका यी रचनाहरूको भाषाशैली अनुप्रासप्रबल र हास्यव्यङ्ग्यमय छ । हास्यभन्दा व्यङ्ग्यको मात्रा वढी देखिन्छ जुन आजका अधिकांश हास्यव्यङ्ग्य निबन्धकारको समस्या हो भन्ने मलाई लाग्छ । हास्य र व्यङ्ग्यको समान समन्वय र सन्तुलन नै आजका हास्यव्यङ्ग्यकारको प्रमुख चुनौती हो भन्ने म ठान्छु। यस दृष्टिले आज पनि निबन्धकार भैरव अर्याल नै सर्वश्रेष्ठ छन् भन्ने मेरो अनुभव छ । प्रतिभाशाली युवा साहित्यकार गाम्नागेले त्यस समन्वयमुखी चुनौतीलाई उचित जवाफ दिन साधना गर्नुपर्नेछ र गर्नेनै छन् भन्ने आशा गरौं ।

विधागत मौलिकताका दृष्टिले थप के भन्न मन लाग्यो भने कुनै कुनै रचना निबन्धभन्दा पनि कथाजस्ता छन् । पाठकले निबन्ध नठानी कथा ठानेर पढ्नुपर्यो भने विधागत मौलिकतासम्बन्धी प्रश्न उठ्छ । यसतर्फ लेखकको ध्यान जानु जरुरी छ । अहिले विश्वसाहित्यमा नै विधागत मौलिकताको सङ्कट छ भनिन्छ । यस्तो सङ्कट आउनुमा जथाभावी प्रयोग गर्ने प्रवृत्ति प्रमुख कारण रहेका छन् । जे भए पनि विधागत मौलिकताको रक्षा हुनु आवश्यक छ । यसतर्फ सवै लेखकको ध्यान जानुपर्छ । शैलीका कुरा गर्दा प्रमुख शैली हास्यव्यङ्ग्य भए पनि साथमा प्रश्नोत्तरशैली, प्रश्नशैली र पत्रात्मक शैलीको समेत सफल प्रयोग केही निबन्धहरूमा गरिएको छ ।

तपाई भ्रष्टाचारी हुनुहुन्न भने यी रचना तपाईलाई मन पर्नेछन्, तपाई व्यभिचारी हुनुहुन्न भन्ने वा तपाई देशघाती हुनुहुन्न भने वा तपाई कृतघ्न नेता वा तस्कर व्यापारी वा राष्ट्रघाती मन्त्री वा लफुड्गो कर्मचारी हुनहुन्न भने पनि तपाईलाई यी निबन्ध मन पर्नेछन् । यी निबन्धले संकेत गरेझैं तपाई दुष्ट हुनुहुन्छ भने स्वाभाविक रूपमा तपाईलाई यी निबन्ध मन पर्ने छैनन्, न त यसका लेखक नै मन पर्नेछन् । मलाई सोध्नुहुन्छ भने राम्रो लाग्यो । बाटोघाटोमा सुन्दरता घटाएर उम्रिरहेका झारजस्तै जथाभावी कविता लेख्ने झारजस्ता कवि र झारका गन्हाउने पातजस्ता कविताका सङ्ग्रहहरूको विमोचनमाथि लेखकले गरेको मर्मभेदी प्रहार वडो मज्जाको छ । साहित्यका क्षेत्रमा रहेको हुँदा त्यस यथार्थलाई मैले पनि आत्मसात गरेको छु । त्यस्तै प्रदुषित मस्तिष्कमाथिको निर्मम आक्रमण सह्राहनीय छ । लोभीपापीहरूको उछितो जति काढे पनि हुन्छ । उछित्तो काढ्ने फरकफरक ढङ्गहरू छन् । गाम्नागेको ढङ्ग पनि मलाई मन परेको छ । कुनै कुनै निबन्धमा गाम्ले भाषाको रोचक प्रस्तुति छ जुन लेखकका निम्ति पुर्नप्रयोगको राम्रो आधार देखिन्छ । यस्तो सचेत रचनाका लागि लेखक प्रशंसनीय छन् ।

मलाई भन्न मन त थियो नि उनै कुरा बारम्बार नदोहोरिएका भए हुन्थ्यो भनेर, तर भनिन । किनभने भूमिका लेखकले भूमिकामा आलोचना गर्नुहुँदैन भनेर केही महापुरुपहरूले पहिले नै धेरैचोटी सम्झाइसकेका छन् । भन्न मन त के पनि थियो भने निबन्धमा कथाप्रसङ्ग हुन सके पनि कथा नै निबन्ध हुन सक्दैन किन एकदुई कथालाई निबन्धसंग्रहमा संग्रह गरेको ? तर त्याे भन्नु पनि उही बाधाले छक्यो । भाषागत त्रुटीहरूप्रति असन्तुष्टी जनाउन पनि मन थियो तर भैगो त्यता पनि नजनाऊँ, यो भूमिका जो पर्यो ।

सोच्छु म पनि गाम्नागेजस्तै हास्यव्यङ्ग्यकार बन्न सकेको भए क्या मज्जा हुन्थ्यो । सोचेर मात्र के पो हुन्छ र । गाम्नागेको हँसिलो मुहारभित्र कति रापिला उच्छवासहरू र अंधेरा निश्वासहरू रहेछन् भन्ने कुरा त यी निबन्धहरूले बताउँछन् नै साथमा उनी जुझारु साहित्यकार हुन् भन्ने कुराको पुष्टी पनि यिनले गर्छन् । मलाई के कुरामा खुसी लागेको छ भने निबन्धकार लक्ष्मण गाम्नागे जागिर जाला कि भन्ने डरले सत्य लेख्नदेखि डराएका छैनन्, साथीभाइ रिसाउलान् कि भन्ने डरले तिनका कुकर्महरू लुकाउनपट्टि लागेका छैनन्, आलोचित भइएला कि भन्ने डरले आफन्तका वदमासी छोप्नतिर लागेका छैनन् । उनले देखेकै कुरा लेखेका छन्, भोगेकै कुरा लेखेका छन्, भएकै कुरा लेखेका छन् र निर्भिकताका साथ विनामोलाहिजा, विनाहिचकिचाहट रोचक भाषाशैलीमा लेखेका छन् । हत्याराहरूकै चाटुकार बनेर घिनलाग्दाहरूको स्तुतिमा रचना गर्ने हरिलठ्ठकहरूका सामु यिनका निबन्धहरू विजेता बनेर उभिएका छन् ।

सत्यप्रियता, यथार्थता, विद्रोह, आक्रोश, असन्तुष्टी, व्यङ्ग्य, हास्य र प्रगतिशीलता उनका प्रमुख निबन्ध प्रवृत्त हुन् जसको प्रशंसा गर्नुपर्छ । प्रतिभाशाली युवा साहित्यकार लक्ष्मण गाम्नागेको यस यथार्थवादी साहित्य यात्राले निरन्तरता पाउनेछ र थप साधना र परिष्कार पनि प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । आजको राष्ट्रिय परिवेश र राष्ट्रघातक देशमाराहरूलाई एक पुस्तकमा पढ्न चाहने पाठकले यो पुस्तक पढोस् भन्ने सल्लाह पनि दिन चाहन्छु । अन्त्यमा यस निबन्धसङ्ग्रहको ‘रोकी-हेरी जानुहोस्’ शीर्षकको निबन्धबाट एउटा अनुच्छेद उद्धृत गर्दै यो भूमिका लेखन समाप्त गर्न चाहन्छु –

‘खोलामा खुट्टा नराख्नुहोस् हत्तपत्त, रगत बगिरहेको होला । मान्छेका गिंडहरू होलान् खेतवारीमा, जङ्गल र खर्कहरूमा । उछिट्टिएका हातहरू, च्यातिएका भुँडीहरू, रेटिएका घाँटीहरू हुन सक्छन् जहाँकहीँ । धारैधार तरवारको बाटो छ अगाडि, भीषण दोहोरो भिडन्त छ पछाडि । मृत्यु कञ्चनिरबाट ओहोरदोहोर गरिरहेछ । मृत्यु मुटु छेउछाउबाटै हिँडिरहेछ । यस्तो अनिश्चिततामा आफ्‌ना आश्रित नाबालक छोराछोरी, वृद्ध बावुआमालाई एक्लो नछाड्नुहोस् साथै लैजानुहोस् । ऊ, अगाडि श्रीलङ्का मोड आउँदै छ । अझ अगाडि अफगानिस्तान भीर आउँदै छ । त्योभन्दा अघि जम्मुकस्मीर पहिरो लडेको छ, यसअगाडि सायद सोमालिया पहरो आउला । सावधान । रोकी-हेरी-जानुहोस् ।’

सबै निबन्ध पढ्न नभ्याउने पाठकले गोलमाल गणित, विमोचनको बजारभाउ, सातो खाने वाक्य, हत्तेरिका र एक युगनायकको जीवन मात्रै भए पनि पढ्नुहोला ।

०००
– लक्ष्मण गाम्नागेकाे ‘लाठीचार्ज’ निबन्धसंग्रहकाे भूमिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
साँच्चै सुन्दर छ्यौ तिमी !

साँच्चै सुन्दर छ्यौ तिमी...

डा. रामप्रसाद ज्ञवाली
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x