सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाली हास्यव्यङ्ग्य कवितातर्फको नयाँ प्राप्ति : ‘पत्याउँदा पत्याउँदै’

अनुभूतिको प्रगाढता, विचारको प्रगतिशीलता, विषयको विविधता, हास्य र व्यङ्ग्यको तीक्ष्णता, समकालीन यथार्थको प्रक्षेपण तथा भावको सहज सम्प्रेषणका कारण प्रस्तुत कृति (पत्याउँदा पत्याउँदै) नेपाली हास्यव्यङ्ग्य कविता परम्परामा नवीन उपलब्धी बनेर आएको छ ।

Nepal Telecom ad

डा. रामप्रसाद ज्ञवाली :

१. विषय प्रवेश
नेपाली हास्यव्यङ्ग्य कविताको परम्परा लामै भए पनि यसको विस्तार सन्तोषजनक रूपमा भएको स्थिति आज पनि छैन । सस्तो हास्य भएका कविता प्रशस्तै पाइन्छन् भने व्यङ्ग्य बढी र हास्य कम भएका कविताहरूको सङ्ख्या पनि उल्लेख्य नै छ तर तुलनात्मक दृष्टिले हास्य र व्यङ्ग्य दुवैको समन्वय भएका कविताहरूको अभाव आज पनि खट्किरहेकै छ । आजभोलि हास्यव्यङ्ग्यात्मक कविता लेख्नेहरू देश विदेशका विभिन्न भागमा छन् । काठमाडौँमा बसेर हास्यव्यङ्ग्य कविता रचना गर्न सक्रिय केही कविहरूको नाम लिनुपर्दा अर्जुन पराजुली, डम्बर घिमिरे, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, चट्याङ मास्टर, टङ्क आचार्य, प्रेम वली आदिको नाम अगाडि आउँछ । यी कविहरूमध्ये पनि वैचारिक तीक्ष्णता र कलामूल्यका दृष्टिले राम्रा हास्यव्यङ्ग्य कविता लेख्ने कविहरूमा लक्ष्मण गाम्नागे अग्रपङ्क्तिमा देखिन्छन् ।

कवि लक्ष्मण गाम्नागे स्वभावमा सरल र विनम्र छन् भने व्यवहारमा मिलनसार र सहयोगी छन् । सज्जन र इमानदार मानिसका आँखामा पटक्कै नबिझाउने कवि गाम्नागेले करिब तिन दशकदेखि हास्यव्यङ्ग्य निबन्ध र हास्यव्यङ्ग्य कविताको विकासमा योगदान दिँदै आएको पाइन्छ । राजतन्त्र विरोधी जन आन्दोलनमा सशरीर उपस्थित भएर हास्यव्यङ्ग्य कविताका माध्यमबाट क्रान्ति चेतना छर्ने गाम्नागे बाहिरबाट हेर्दा र व्यवहार गर्दा सामान्य लाग्छन् तर कवितामा असामान्य ओज व्यक्त गर्ने सामथ्र्य राख्छन् । यिनी आफ्ना हास्यव्यङ्ग्य कवितामार्फत सामाजिक तथा चारित्रिक विकृतिमाथि कटु व्यङ्ग्य गर्दै नकारात्मक प्रवृत्ति र दुष्ट कर्म विरुद्ध कडा प्रहार गर्ने कवि हुन् । यिनले सामाजिक तथा राष्ट्रिय अग्रगमनका लागि हास्यव्यङ्ग्यका माध्यमबाट जागृतिको सञ्चार गर्ने प्रयत्न गर्दै आएका छन् । यिनीद्वारा लेखिएका हास्यव्यङ्ग्य कविताहरू विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । तिनै कविताहरू सङ्कलन गरी साथमा केही नयाँ कविताहरू समावेश गरेर यिनले हालसालै ‘पत्याउँदा पत्याउँदै’ नामक हास्यव्यङ्ग्य कविता सङ्ग्रह पाठकसामु ल्याएका छन् । ऐरावती प्रकाशन प्रालिबाट प्रकाशित यो कविता सङ्ग्रह वर्तमान नेपाली हास्यव्यङ्ग्य कविताका प्रतिनिधि कविता सङ्ग्रहमध्येको एक देखिन्छ । प्रस्तुत लेख यस कविता सङ्ग्रहका कविताहरूलाई एकसरो अध्ययन गर्दा भएको पाठकीय अनुभूतिको सामान्य प्रतिक्रिया हो ।

‘पत्याउँदा पत्याउँदै’ कविता सङ्ग्रहमा ४३ वटा कविताहरू समावेश गरिएका छन् । भूमिकासहितका १६६ पृष्ठहरूमा संरचित यस पुस्तकमा २०४५ सालदेखि २०६९ सालसम्म लेखिएका (२६ वर्षभित्र विभिन्न समयमा लेखिएका) कविताहरू रहेका छन् । पुस्तकको नामकरण ‘पत्याउँदा पत्याउँदै’ शीर्षकको कविताबाट गरिएको छ । सङ्ग्रहमा रहेका धेरैजसो कविताहरू विभिन्न साहित्यिक मञ्च तथा विभिन्न कविता गोष्ठीहरूमा सुनाइसकिएका र धेरैजसो पाठक तथा श्रोताहरूले पहिले नै सुनिसकेका कविताहरू नै देखिन्छन् । खास गरी ‘मूला कविता, राष्ट्रिय ए—कता ?, दिशा धोएपछि साबुनपानीले हात धुनुपर्छ, बाहिर निस्कनु स्वास्थ्यका लागि हानिकारक छ, उहाँहरू संविधान बनाउँदै हुनुहुन्छ, पत्याउँदा पत्याउँदै, धु्रवे द ग्रेट, जनताको कविता, गाली कविता’, ‘नेपाल सरकारलाई सधाउनुहोस्’ शीर्षकका कविताहरू अनेक पटक अनेक ठाउँमा सुनाइसकिएका हुन् ।

हास्यव्यङ्ग्य कविताका लागि नेपाल विश्वकै उर्वर देश हो । यहाँको सामाजिक जीवन स्थिति तथा यहाँका मानिसहरूका चरित्र हास्यव्यङ्ग्यका लागि अत्यन्त सहयोगी स्रोत बन्न सक्छन् । हास्यव्यङ्ग्य मूलतः विकृत र अनौठा कुराहरूबाट उत्पन्न हुन्छ । यहाँका राजनीतिक व्यक्तित्वहरू खराब चरित्रका सन्दर्भमा विश्वकै नमुना चरित्र भएकाले उनीहरू हास्यव्यङ्ग्य साहित्यका लागि विश्वकै सर्वाधिक उपयुक्त स्रोत देखिन्छन् । त्यसैले नेपाली हास्यव्यङ्ग्यका स्रष्टाहरूले नेपाली नेतागणका चरित्र र प्रवृत्तिहरूलाई लिएर सबैभन्दा बढी हास्यव्यङ्ग्य साहित्यको सिर्जना गरेको देखिन्छ । कवि लक्ष्मण गाम्नागेको यस कविता सङ्ग्रहमा पनि हास्यव्यङ्ग्यका लागि सबैभन्दा बढी महत्त्व दिएर टिपिएका विषय र पात्रहरू नेपाली राजनीति र नेपालका तथाकथित ‘राजनेताहरू’ देखिन्छन् ।

‘पत्याउँदा पत्याउँदै’ भित्रका कविताहरू विषय विविधतालाई समेट्न सक्षम छन् । एउटै कवितामा अनेक यथार्थहरू समेट्ने र यथार्थका विकृत रूपहरूको उद्घाटन गर्ने शैली अँगालिएका यी कविता पढ्दा धेरैजसो पाठकहरू आफ्नै जीवन यात्राका अनेक चरित्र, आफ्नै समाजका अनेक स्वरूप र आफ्नै भोगाइका अनेक अनुभूतिको नजिक पुग्छन् । यी कविताले गर्ने आलोचनामा पाठकले आफ्नै बुझाइ र आफ्नै असन्तुष्टिले अभिव्यक्ति पाएको अनुभव गर्छ । पाठकलाई स्वयं आफूले भोगेको जटिल सहरिया जीवन, आफ्ना सपना र ती सपनाको हत्या भएको व्यथा, आफ्ना रहर र रहर पुरा गर्न नसक्ने अभाव र बाध्यताको अनुभूति पनि यी कविताले गराउँछन् ।

कवि लक्ष्मण गाम्नागेको दृष्टि सर्वसाधारण नेपालीका दैनन्दिन समस्यादेखि राष्ट्रिय समस्यासम्म पुगेको छ । ‘मूला कविता’ शीर्षकको कवितामा बिहान साँझको छाक टार्न धौ धौ हुने अवस्थाका नेपाली कर्मचारीहरूको पारिवारिक व्यथा प्रस्तुत गरिएको छ । परिवारका सदस्यहरूका रहर र ती रहर पुरा गर्न नसक्ने कर्मचारीको विवशताको मार्मिक प्रस्तुतिका रूपमा तयार पारिएको यस कवितामा जीवनका जटिल भोगाइ र मार्मिक अनुभूतिलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ । पढ्दा पाठकलाई रमाइलो लाग्छ, हाँसो पनि उठ्छ तर कविताभित्र इमानदार कर्मचारीका आर्थिक समस्या र समाजका सामु उसले देखाउनुपर्ने स्वाभिमानका बिचमा पिल्सिएको उसको जीवनको मर्मबोध गर्न थालेपछि पाठकलाई पीडानुभूति हुन थाल्छ । पाठक यदि घुस नखाने र भ्रष्टाचार नगर्ने कर्मचारी वा त्यस्तो असल कामदार हो भने उसलाई यो कविता आफ्नै जीवनको अभिव्यक्ति लाग्न सक्छ । शैलीले हँसाउने र भावले गम्भीर बनाउने यो कविता आर्थिक कठिनाइबाट परिवारमा उत्पन्न हुने समस्यालाई सम्बोधन गर्न सक्षम छ ।

‘राष्ट्रिय ए—कता ?’ शीर्षकको कविताले नेपालभित्र दसकौँदेखि चल्दै आएका घातक प्रवृत्ति, घुसप्रथा, अन्ध विश्वास, भ्रम, सामाजिक विभेद, वर्गीय उत्पीडन, प्रशासनिक भ्रष्टाचार, राजनीतिक बेइमानी, नेतृत्वको गद्दारी, देशद्रोह आदि अनेक पक्षहरूलाई एकै ठाउँमा समेटेर अभिव्यक्ति दिएको छ । अप्रस्तुत प्रस्तुतिका माध्यमबाट समाज सुधार, चरित्र निर्माण, देश विकास र राष्ट्रिय स्वाभिमानको सन्देश दिने यो कविता देश सञ्चालनको जिम्मा लिएर बसेका र भाषणमा राष्ट्रवादको नारा दिँदै व्यवहारमा अराष्ट्रिय गतिविधि गर्ने नेतृत्वमाथि कडा प्रहार गर्न सक्षम छ ।

‘दिसा धोएपछि साबुनपानीले हात धुनुपर्छ’ ले पाठकलाई राम्ररी नै हँसाउँछ भने युगौँदेखि पछौटे चेतना बोकेर आधुनिक संसारमा पनि जङ्गली व्यवहार गर्दै आएको नेपाली सभ्यता र समाजमाथि कठोर व्यङ्ग्य गर्छ । देशका अगुवादेखि बौद्धिक भनिने नागरिक तथा सामान्य नेपाली जनतासमेतमाथि कटु व्यङ्ग्य गर्ने यो कविता भावका दृष्टिले मार्मिक छ भने शैलीका दृष्टिले मौलिक छ । संसार कहाँबाट कहाँ पुगिसक्यो तर हामी नेपालीको सोच भने अझै जङ्गली नै छ । अरू राष्ट्रले पुँजीवादी विकास गरिसके भने उनीहरूले समाजवादी न्यायको स्थापनामा पनि धेरै हदसम्म सफलता पाइसके तर हाम्रो देश भने अझै पनि सामन्तवादकै चेपुवामा अँचेटिएको अँचेटियै छ भन्ने कुरालाई बडो मार्मिक पाराले प्रस्तुत गर्ने यस कविताको अध्ययन गर्दा हामी हाम्रै अनुहार र हामीले गर्ने आफ्नै व्यवहार झलझली सम्झन बाध्य हुन्छौँ । हामी आज पनि निर्लज्ज किसिमले बाटैमा ठाठ्ठाडै पिसाब गर्र्छौं, मन्दिरतिर फर्केर दिशा बस्छौँँ, रक्सी पिएर स्वास्नी कुट्छौँ, मातेर नालीमा सुत्छौँ र यस्ता धेरै असभ्य कामहरू गर्छौं जुन सभ्य समाजका लागि ग्राह्य हुँदैनन् । हाम्रो पछौटे सोच र दास मानसिकता, हाम्रो भिखारी स्वभाव र तुच्छ प्रवृत्ति, हाम्रो निरर्थक अहङ्कार र आपसी ईष्र्याद्वेष, हाम्रो निर्माणप्रति निष्क्रियता र ध्वंसप्रति सक्रियता नै हामीलाई पछि पार्ने तत्त्व हुन् । यस कुरालाई निकै राम्ररी बुझेर प्रस्तुत गरिएको यस कविताले मान्छेका जङ्गली प्रवृत्तिमाथि सशक्त व्यङ्ग्य गर्दछ ।

‘पत्याउँदा पत्याउँदै’ कवि गाम्नागेलाई सबैभन्दा राम्रो लागेको कविता हुनुपर्छ । त्यसैले नै उनले ४९ कवितामध्ये यसै कविताको शीर्षकबाट पुस्तकको नामकरण गरेका छन् । यस कविताले नेपाली राजनीतिको मूल प्रवृत्ति र त्यस प्रवृत्तिले नेपाली जीवन र यस देशको विकासमा पारेको अवरोधलाई राम्ररी सम्बोधन गर्छ । नेपाली जनतासामु बारम्बार आफूलाई नेतृत्व दिन अनुरोध गर्ने र जनताले पनि उनीहरूमाथि विश्वास गरी सत्ता प्रदान गर्ने तर सत्ता पाएपछि जनता र देशलाई बारम्बार धोका दिने राजनीतिक नेता र नेतृत्वलाई यस कवितामा विषय बनाइएको छ । नेपाली नेतृत्वको यो प्रवृत्ति लामो समयदेखि देश र जनताका निम्ति अभिशापका रूपमा लागु भई नै रहेको अवस्था छ । त्यागी र सच्चा कार्यकर्तालाई पाखा लगाएर आफूलाई मात्र फाइदा हुने किसिमले खराब व्यक्तिहरूलाई पार्टीमा स्थान दिने, युवा नेपालीहरूलाई ठुला आदर्श देखाई आश्वासन दिने र डर लाग्दो क्रान्तिको आगोमा होम्ने, उनीहरूको रगत बगाउने, जोसिला युवाहरूलाई बर्गलाएर युद्ध र क्रान्तिमा सहिद बनाउने र उनीहरूलाई भर्‍याङ बनाई आफूलाई सत्तामा पुर्‍याउने तर आफू सत्तामा पुग्नासाथ त्यागी कार्यकर्ता र आफूलाई विश्वास गर्ने जनताहरूको योगदान बिर्सने कृतघ्न, गद्दार र धोकेबाज नेतृत्वप्रति यस कवितामा कटु आलोचना र व्यङ्ग्य गरिएको छ । यो कविता पढ्दा पनि पाठकलाई आफ्नै यथार्थबोधले कवितामा वाणी पाएको अनुभूति हुन्छ । यसै गरी ‘उहाँहरू संविधान बनाउँदै हुनुहुन्छ’ शीर्षकको कविताले पनि राजनीतिलाई नै विषय बनाएको छ । राजनीतिलाई देश र जनताको सेवाका रूपमा भन्दा निजी अर्थोपार्जन, पारिवारिक सुख र सत्ताप्राप्तिको लाभ आदिको साधनका रूपमा मात्र लिने नेतृत्वको कटु आलोचना गरिएको यस कवितामा संविधान बनाउने जिम्मा पाएका राजनेताहरूको निर्लज्ज चरित्रलाई उदाङ्ग पारिएको छ ।

प्रस्तुत पुस्तकमा समाविष्ट कविताहरूमध्ये लेखनका दृष्टिले पछिल्लो कविता ‘मान्छे र आइमाई’ हो । यो कविता पुरुष र पितृसत्ताका हिमायतीहरूसँग गम्भीर प्रश्नहरू तेस्र्याएर पितृ सत्तात्मक समाज व्यवस्थामाथि कठोर प्रहार गर्ने नारीवादी कविता हो । नारीलाई केन्द्रमा राखेर तयार पारिएको यो कविता नारीहरूले त पढ्नै पर्छ, साथमा नारीमाथि जथाभावी कलम चलाई नारीको उपहास गर्ने कविहरूले पनि पढ्नु जरुरी छ । पितृ सत्तात्मक सोच भएका र नारीमाथि हैकम चलाउने जोसुकैमाथि यसले कडा प्रहार र व्यङ्ग्य गर्छ । व्यङ्ग्य गर्ने शैली बेजोडको भएकाले यसले पाठकलाई आफूबाट अलग हुनै दिँदैन । यो आहत नारीलाई राहत दिने कविता हो जसले लैङ्गिक उत्पीडनका विरुद्ध शक्तिशाली व्यङ्ग्य प्रस्तुत गर्छ । यो कविता त्यस्ता हास्यव्यङ्ग्य कविहरूमाथिको आक्रमण पनि हो जो नारीमाथि भद्दा शब्दहरूमा टिप्पणी गर्छन् र साहित्यिक मञ्चहरूमा नारीको उपहास गर्दै टुक्रे कविताहरू पढ्ने गर्छन् । त्यस्ता कविहरूले त यो कविता झनै पढ्नुपर्छ । यस कविताले हँसाउँदैन; व्यथित बनाउँछ । यदि पाठकले पारिजातको ‘मानुषी’ शीर्षकको कविता पढेको छ भने यो कविता पढ्दा उसलाई पारिजातको त्यस कविताको झझल्को आउने छ । यो हास्य कविता नभई व्यङ्ग्य कविता हो । यसले कवि गाम्नागेको भावुक हृदय, तीक्ष्ण अवलोकन दृष्टि र संवेदनशील मस्तिष्कको परिचय दिन्छ ।

‘जनताको कविता’ प्रस्तुत सङ्ग्रहको अर्को उल्लेख्य कविता हो । पुस्तकमा अन्तिम कविताका रूपमा रहेको यो रचना यस सङ्ग्रहका कविताहरूले प्रस्तुत गर्ने विषय र मुख्य कथ्यलाई सारमा समेट्ने कविता पनि हो । यस एउटै कविताले नेपाली धर्म, नेपाली संस्कृति, विश्वको इतिहास, पुराण, राजनीति, जात, सम्प्रदाय आदि अनेक क्षेत्रका तमाम विकृति र बहुल यथार्थलाई सम्बोधन गर्छ । यसले शिक्षित जनतालाई उत्तेजित पार्छ भने अशिक्षित जनतालाई आफूलाई चिन्न र आफ्ना हक अधिकार प्राप्त गर्ने दिशामा अगि बढ्न अभिप्रेरित गर्छ । जनतालाई इख्याएर तिनलाई आफ्ना हकअधिकारप्रति सचेत गराउने अनौठो शैली यसमा पाइन्छ । हास्य पनि केही मात्रामा रहेकाले यो हास्यव्यङ्ग्य कविता हो । यसले नेपाली जनताप्रतिको गम्भीर संवेदनशीलतालाई मार्मिक रूपमा सम्बोधन गरेको छ ।

‘मूला कविता’, ‘राष्ट्रिय ए—कता ?’, ‘पत्याउँदा पत्याउँदै’, ‘उहाँहरू संविधान बनाउँदै हुनुहुन्छ’, ‘मान्छे र आइमाई’ र ‘जनताको कविता’ प्रस्तुत कविता सङ्ग्रहका प्रतिनिधि र शक्तिशाली कविता हुन् । यीबाहेक २०४६ सालपछिको अवस्था, माओवादी सशस्त्र सङ्घर्ष र त्यसबाट उत्पन्न सङ्कट तथा तिनको चरित्र, प्रतिभा नभएका स्तरहीन कविहरूले गर्दा कविताको मूल्य घटेको स्थिति, पुरस्कारका नाममा फैलिएको विकृति, सहरमा डेरा लिई बस्ने गरिब नेपालीको कठिन जीवन स्थिति, जोसुकैलाई सहिद घोषणा गर्न माग गरी सहिदको महत्त्व नामेट पार्ने प्रयत्न गरिरहेका पार्टी, पुरानो पुस्ता र नयाँ पुस्ताका नितान्त भिन्न सोच र त्यसले निम्त्याएको समस्या, वृद्धवृद्धाले देख्ने सुन्दर सपना तर विपनामा ठिक विपरीतको भोगाइ आदि अनेक विषय र पक्षहरूलाई समेटी तयार पारिएका कविता पनि यहाँ छन् । तर कलामूल्य र विषयको पुष्टि तथा हास्य र व्यङ्ग्य शैलीको सारभूत प्रतिनिधित्व उक्त पाँच कविताहरूले गर्छन् । अन्य कविताका भाव यी पाँच कविताभित्र सारभूत रूपमा अटाउँछन् ।

‘पत्याउँदा पत्याउँदै’ भित्रका कवितामा अँगालिएको शैली पक्ष पनि उल्लेखनीय छ । कविले यसमा निजी शैली निर्माण गर्ने कसरत गरेका छन् । कविताका अनुच्छेहरूमा अनुप्रासको व्यवस्था गर्दा मौलिकताको स्थापना गर्ने प्रयत्न गरिएको छ । पद पदावलीको रखोटमा व्यतिरेकको व्यवस्था गरी मौलिक लय विधान गर्ने प्रयास गरिएको छ । मुक्त छन्दमा पनि शास्त्रीय छन्दको जस्तो निश्चित आरोह अवरोह दिने प्रयत्न पनि गरिएको छ जसमा भूपी शेरचन र गोपालप्रसाद रिमालले गरेको शैली निर्माणको झझल्को मिल्छ । तलको एउटै उद्धरणबाट पनि मुक्त लयभित्र बद्ध लयको प्रयत्नको नमुना देख्न सकिन्छ :
भित्र छ बोतल भित्र छ मात
भित्रै छ चौरासी व्यञ्जनको खात
भित्र छ सेमिनार, साप्रा र सुकुटी
भित्रै छ देशको राष्ट्रिय ढुकुटी ।… आदि ।

प्रत्येकजसो कवितामा अनुच्छेदहरूको अन्त्यतिर मूल भाव प्रस्तुत गर्ने सार वाक्यको आवृत्ति गर्ने शैली अँगालिएको छ । यो शैली दुनाटपरी गाँसेपछि तिनको बिट मार्ने कला जस्तो लाग्दछ । मुक्तकको शैलीबाट पनि प्रभाव ग्रहण गरिएको छ भने सादृश्य विधानको कला पनि देख्न पाइन्छ । तलको एउटै उदाहरणबाट पनि सादृश्य विधान गर्ने शैलीको प्रतिनिधित्व देख्न सकिन्छ :
नुन नहालेको तरकारी जस्तो खल्लो खल्लो
दाना नपुगेको बोइलर कुखुराको चल्लो जस्तो ।
….मुद्दैमुद्दामा फसेको गरिब किसान जस्तो
काट्न काट्न लागिएको बलिको बोको जस्तो…
पुलिस कस्टडीमा परेको निर्दोष गाउँले जस्तो ।…आदि ।

लक्ष्मण गाम्नागेका यी कविता विभिन्न विषयमा रचिएका भएर पनि यिनमा भावको पुनरावृत्ति भने प्रशस्त पाइन्छ । उनै भाव र उनै विचार फन्को मारी मारी बारम्बार व्यक्त भइरहन्छन् । नेपाली जीवन र नेपालीका प्रवृत्तिहरूमा क्रान्तिकारी रूपान्तरण नभई उस्तै तुच्छ प्रवृत्ति र उस्तै उस्तै जीवन स्थिति रहिरहेकाले पनि तिनैलाई सम्बोधन गरी तयार पारिएका यी कवितामा यस्तो पुनरावृत्ति भएको हो । तर प्रत्येक बिहानी बाहिरी रूपमा हेर्दा उस्तै उस्तै लागे पनि उही उही नभई केही न केही फरक भए झैँ यी कविताहरूमा देखिने पुनरावृत्ति पनि केही न केही मात्रामा फरक नै छन् ।

प्रस्तुत कविता सङ्ग्रहका बिच बिचमा वरिष्ठ चित्रकार राजन काफ्लेका आधा मूर्त र आधा अमूर्त चित्रहरू पनि राखिएका छन् । पुस्तकको आवरण पृष्ठ पनि उनैले बनाएको देखिन्छ । कविका भावना र चित्रकारका भावनाका बिचमा केही साम्यता पनि पाइन्छ । यी चित्रले पाठकलाई कविताहरूको पठनका क्रममा केही विश्रामको अवसर दिन्छन्; उकालो बाटोमा यात्रा गरिरहेको बटुवालाई भन्ज्याङको चौतारीले एकछिन विश्रामको अवसर र शीतल बतास दिए जस्तै । अर्थात् यी चित्रले कविताको गरिमा र भाव गाम्भीर्य बढाएका छन् । त्यसैले कवि लक्ष्मण गाम्नागेका साथमा चित्रकार राजन काफ्ले पनि प्रशंसाका पात्र छन् ।

उत्कृष्टताका दृष्टिले हेर्दा यस सङ्ग्रहका केही कविता धेरै राम्रा छन्, केही राम्रा मात्रै छन् भने केही सामान्य मात्र छन् । केही कविताहरू आजका स्थापित कवि गाम्नागेको कवित्वलाई नसुहाउने स्तरका पनि छन् । उच्च स्तरका कविताहरू राखिएका ठाउँमा यस्ता हलुका कविताहरू राख्ने लोभ कविले नगरेकै भए राम्रो हुने थियो तर आफ्नो कविता यात्राको क्रमिक विकास बुझ्न पाठकहरूलाई सजिलो होस् र शक्तिशाली वा स्थापित भइसकेको कवि पनि एकै पटकमा र एक दुई कविताको यात्राबाट मात्र स्थापित र शक्तिशाली बनेको हुँदैन, शक्तिशाली र स्थापित कवि बन्नका लागि उसले पनि लामै अभ्यास साधना गरेको हुनुपर्छ भन्ने कुरा बुझाउन सजिलो होस् भनेर पनि सायद कमजोर कविताहरूसमेत यस सङ्ग्रहमा समावेश गरिएका हुन सक्छन् । अथवा यस लेखकलाई अति सामान्य र हलुका लागेका कविताहरू पनि कवि गाम्नागेलाई उच्च स्तरका लागेकाले नै यहाँ समावेश गरिएका पनि हुन सक्छन् । यथार्थ के हो, स्वयं कवि गाम्नागे जानून् तर यो पुस्तक प्रकाशन हुनुपूर्व नै यी कविताहरू पढ्न पाएको भए यस लेखकले कवि गाम्नागेलाई यहाँ भएका करिब डेढ दर्जन कविता यस सङ्ग्रहमा नराख्न अनुरोध गर्ने थियो ।

सङ्क्षेपमा भन्नुपर्दा ‘पत्याउँदा पत्याउँदै’ मूलतः राजनीतिक तथा सामाजिक विषयवस्तुमा आधारित कविताहरूको सङ्ग्रह देखिन्छ जसमा हास्य र व्यङ्ग्य शैलीको उपयोग गरिएको छ । यहाँका कविताहरूले उत्पीडित वर्गीय पक्षधरता बोकेका छन् । श्रमजीवीका दुखपीडाको बोध गरेका छन् । तिनीहरूप्रति सहानुभूति व्यक्त गरेका छन् । वर्गीय समस्याका विभिन्न पाटाहरूको उद्घाटन गरेका छन् । प्रशासनिक अस्तव्यस्तताको सूक्ष्म निरीक्षण गरेका छन् । राजनेताहरूका तुच्छ चरित्रको उद्घाटन गरेका छन् । बेइमानी, धोकाधडी, व्यभिचार, भ्रष्टाचार, गद्दारी आदि सबैको सीमा नाघेका चरित्रहीन नेता र अदूरदर्शी नेतृत्वको कटु आलोचना गरेका छन् । समग्रमा यी कविताहरू दृष्टिकोणविहीन नेतृत्व र दिशाहीन युवाशक्ति, चरित्रहीन र अदूरदर्शी नेता, नेतृत्वहीन देश र जनता, कर्तव्यहीन कर्मचारी, सहाराविहीन उत्पीडित जनता, न्यायविहीन राज्य व्यवस्था, अराजक समाज, निर्माणहीन ध्वंस र सिपरहित शिक्षा प्रणाली, रोजगारीविहीन शैक्षिक जनशक्ति, स्वाभिमानरहित नेपाली जनता र भिखारी मानसिकताले गाँजिएको राष्ट्रवाद, निकास दिन नसक्ने नेतृत्व र हिंसामा विश्वास गर्ने नेताहरूलाई सम्बोधन गर्दै रचिएका कविता हुन् ।

यस लेखको बिट मानुपूर्व प्रस्तुत पुस्तकमा रहेको भूमिकापरक लेखका बारेमा पनि केही टिप्पणी गर्नु उचित लागेको छ । सुरुमा कवि लक्ष्मण गाम्नागेकी जीवन सँगिनी गीता दाहालद्वारा लेखिएको ८ पृष्ठको भूमिकापरक लेख छ । श्रीमती गाम्नागेले यसमा कवि गाम्नागेसँग बिताएका मार्मिक क्षणहरूको रोचक स्मरण गरेकी छन् । यस भूमिकाले गाम्नागेका बारेमा धेरै कुरा बताउँछ । उनको जीवनका बेग्लै पाटाहरूको उद्घाटन गर्छ । उनका कविता मात्र पढेका र बाहिरबाट मात्र उनलाई चिनेका पाठकहरूलाई उनका भित्री बानीबेहोरा बताउँछ । गाम्नागेका धेरैजसो कविताहरू कुनै न कुनै सन्दर्भसँग गाँसिएका छन् भन्ने कुराको रहस्य खोल्छ । हुन पनि श्रीमान्लाई सबैभन्दा बढी चिन्ने व्यक्ति श्रीमती नै हुन्छिन् । समाजमा चर्चित र पाठकहरूका बिचमा लोकप्रिय कवि आफ्नो परिवारमा पनि प्रिय नै हुन्छ भन्न सकिन्न । धेरै कविहरू आफ्नो अव्यावहारिकताका कारण परिवारमा वा पत्नी र सन्तानका लागि अप्रिय भएको पनि पाइन्छ । बाहिर बाहिर सम्मान पाउनु तर परिवारमा अपमानित भएर बाँच्नु कष्टकर हुन्छ तर धेरै साहित्यकारले यस्तै नियति भोगेको पाइन्छ । यस भूमिकाले कवि गाम्नागेलाई कर्तव्यपरायण पति र जिम्मेवार पिताका रूपमा चिनाउँछ । साहित्यमा लागेको र आर्थिक रूपमा सामान्य मात्र रहेको स्रष्टाका लागि सदा सदा परिवार र परिवारमा पनि श्रीमतीको सम्मान पाउनु सहज छैन । यो भूमिका पढेपछि असल पाठकलाई के कुरामा खुसी लाग्छ भने कवि गाम्नागे समाजमा मात्र होइन; परिवारमा पनि सम्मानित छन् । हामीमध्ये कति जना साहित्यकारहरू आफ्नो परिवारमा सम्मानित छौँ ? हाम्रो कविता लेखनबाट हामीमध्ये कति जनाका पत्नी र सन्तान गौरवबोध गर्छन् ? यो गम्भीर प्रश्न हो । यी कवितामाथि कवि गाम्नागेकी जीवन सँगिनी गीताले नलेखेर हामीमध्ये कसैले भूमिका लेखेको भए सायद पाठकहरूलाई यी भित्री कुरा थाहा हुने थिएनन् । त्यसैले पनि यस भूमिकाको विशेष महत्त्व छ ।

प्रस्तुत भूमिका कवि गाम्नागेको आन्तरिक पाटोसँग साक्षात्कार गराउने लेख भएकाले मात्रै उल्लेखनीय बनेको होइन । भाषाशैलीका कारणले पनि यो उल्लेखनीय छ किनभने यस भूमिकाको प्रस्तुति उत्तिकै कलात्मक पनि छ । यो आफैमा कविता जस्तो छ । यसको भाषामा लालित्य छ; मिठास छ । वाक्य अर्थपूणर् छन्; छरिता छन् । व्यङ्ग्य चेतना मार्मिक छ; सशक्त छ । यत्तिको मिठो र लालित्यपूणर् भाषाशैलीमा अभिव्यक्ति दिन सक्ने र जीवनका जटिल मोडहरूसँगको साक्षात्कारबाट अनुभूति सम्पन्न श्रीमती गीताले पनि साहित्यमा हात हाल्नु उचित देखिन्छ । उनले चाहेमा उनीबाट राम्रा निबन्धहरू रचिनु सम्भव छ ।

अनुभूतिको प्रगाढता, विचारको प्रगतिशीलता, विषयको विविधता, हास्य र व्यङ्ग्यको तीक्ष्णता, समकालीन यथार्थको प्रक्षेपण तथा भावको सहज सम्प्रेषणका कारण प्रस्तुत कृति (पत्याउँदा पत्याउँदै) नेपाली हास्यव्यङ्ग्य कविता परम्परामा नवीन उपलब्धी बनेर आएको छ । त्यसैले यो पठनीय तथा सङ्ग्रहणीय दुवै छ । नेपाली कविताका पाठकहरूलाई यस्तो कृति दिएकोमा कवि गाम्नागेलाई साधुवाद; बधाई ।

०००

कपन १, काठमाडौं।

(गाम्नागेकाे २०७१ सालमा  प्रकाशित ‘पत्याउँदा पत्याउँदै’ हास्यव्यङ्ग्य कविता कृतिमा समालाेचक ज्ञवालीकाे भूमिका ।)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
साँच्चै सुन्दर छ्यौ तिमी !

साँच्चै सुन्दर छ्यौ तिमी...

डा. रामप्रसाद ज्ञवाली
नेपाल बेकार छ !!

नेपाल बेकार छ !!

डा. रामप्रसाद ज्ञवाली
आत्महत्या गरे भयो !

आत्महत्या गरे भयो !

डा. रामप्रसाद ज्ञवाली
नयाँ वर्ष तिमी मेरा जय हौ वा पराजय ?

नयाँ वर्ष तिमी मेरा...

डा. रामप्रसाद ज्ञवाली
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे