साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकतारे वाद

यदि यी सबै कर्म नगरेर सधैं जय हजुर गर्‍यो भने चाहे त्यो प्रजातन्त्रवादी होस वा समाजवादी उसका हातमा स्थानीयदेखि राष्ट्रियसम्मका पुरस्कारहरू आउँछन् । पुरस्कारको क्याटागोरी क्वालिटी हुँदै होइन भन्ने कुरा उदाहरण दिइरहनु पर्दैन ।

Nepal Telecom ad

मित्र वैजयन्ती :

समाजवाद, साम्यवाद, प्रगतिवाद, अस्तित्ववाद, शून्यवाद आदि आदिजस्तै हिजोआज नेपाली समाजमा मौलाएको छ एकतारे वाद । यो एउटा तारा भएको वाद नसम्झनुहोला । यसभित्र तारा हुन पनि सक्छ, नहुन पनि सक्छ । अर्थात् यसो भनौ- यसबाट उज्यालो पाउनेलाई तारा हुन्छ नपाउनेलाई तारा हुँदैन । धेरैजसो तारा नभएरै यो चर्चामा आइरहन्छ ।

एकतारे र वाद अलग्ग दुई शब्दबाट बनेको यस शीर्षकले के अर्थ देला भनी धेरैलाई लागेको हुनसक्छ । ‘एकतारे भन्नाले आधा पारिएको तुम्बालाई छालाले मोहोरी बिचमा बाँस आदिको लठ्ठी घुसारी, एउटा मात्र तार जडेको, नक्खीले बजाइने एक प्रसिद्ध बाजा’ भनिएको छ र वाद भन्नाले ‘तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट मत वा सिद्धान्त’ भनेर बृहत् नेपाली शब्दकोशमा भनिएको छ । यी दुई अलग अलग एकतारे र वाद शब्दबाट ‘एकतारे वाद’ जस्तो प्रसिद्ध वादको जन्म नेपालमा हुन पुगेको छ । तुम्बा भनेको के होला भन्नुहोला, यो बुझ्न सजिलो छ । आफ्नै बारीमा पाइने लामो घाँटी भएको र पेट ठुलो भएको तरकारी खाने लौका जातको फल चिन्डो त हो । नेपाली शब्दकोशलाई नै आधार मान्ने हो भने पनि एक विशिष्ट प्रकारको भुँडे भाँडामा जोडेको एउटा तारलाई नङले बजाउदै ध्वनि निकाल्ने एक साधन र त्यही ध्वनिको सनकमा बजाउने तरिका नै यसको तत्त्वदर्शन हो अर्थात् वाद हो भनी बुझे हुन्छ । एकतारेले धुन एउटा मात्रै निकाल्दैन । यसले धेरै धुनहरू मात्र होइन, चाहेको जस्तो धुन पनि निकाल्न सक्छ । एकतारे बाजा बनाउन सजिलो पनि छ । सजिलो किन छ भने यसमा एउटा मात्र तार लाग्छ र सधैं एउटै तारको जोहो गरे भइहाल्छ । खोजेकै तार छैन भने पनि भेटिएको तारलाई लम्बाइसम्म मिल्ने भयो भने जोडेर बजाउन मिलिहाल्छ । अर्को सजिलो किन छ भने यो एउटा तार भए पनि आफूले चाहेबमोजिमको विभिन्न प्रकारका ध्वनिहरू उत्पन्न गर्न सकिने भएकाले  भिन्न भिन्न तारको झमेला बेहोर्नु पनि परेन । आफूखुसी बजाउन पनि पाइयो र तारले पनि वादकको इच्छानुसार बजिदियो भने यो जतिको गहिरो मिलाप केमा हुन सक्छ र ! यही सजिलो भएकैले त यो सर्वस्प्रेम पनि छ नि । यही बाजाकै चरित्रमा वादको सिर्जना गरिदिएपछि यसको पुष्टि गर्न कुनै प्रकारको कमेला पनि गर्न परेन। जति धेरै तार त्यति धेरै व्यवस्थापन, जति धेरै बाजा त्यति धेरै वादक, जति धेरै वादक त्यति धेरै विज्ञ, जति धेरै विज्ञ त्यति धेरै विचार, जति धेरै विचार त्यति धेरै द्वन्द्व, जति धेरै द्वन्द्व त्यति धेरै निषेध । बरु एकतारे बजाऊ, डबली सजाऊ। राम्रो हुन्न त !

एकतारे बनाउन सजिलो, बजाउन सजिलो, यसका लागि अनेक डबलीको सिर्जना गर्न पनि सजिलो हुन्छ कि किन हो, यो नेपालमा निकै मौलाएको र फस्टाएको प्रवृत्ति हो । मानिसको केही सङ्ख्या मिल्यो, एउटा रानो बनायो, अरू अनुकर्ता भयो र डबली खोल्यो र एकतारे बजाउन थाल्यो । मेरै गीत राम्रो, मेरै लय र सङ्गीत राम्रो, मेरै विचार उत्तम, मेरै हाउभाउ असल भन्नु यसको तत्त्वदर्शन हो । पहिला त यो धार्मिक- सांस्कृतिक प्रवृत्ति र अनुष्ठानमा ज्यादा गहन थियो । पछि यसले राजनीतिमा गहिरो मलजल पायो र गतिलो गरी फस्टायो । नेपाली राजनीतिको ढाडमा एकतारे वादले जब परेड खेल्न थाल्यो तब मात्र नेपालमा बहुदलको रङ्गमञ्चले भयानकताको कला देखाउन थालेको हो । बुद्धिको राजनीतिमा एकतारे वाद हलहली मौलाउने र फस्टाउने मौका जब पायो, तब यसले साहित्य, सङ्गीत, कलादेखि मन्त्रालय, शिक्षालय, अस्पताल कहीँ पनि बाँकी राखेन । अनुहार मात्रै हेरेर डबलीमा नाच्नेलाई चिप्ला मुखको धमिलो पेट के थाहा ? जेको पनि मेहेरी आउँदो रहेछ । आइरहेको छ ।

ए ! वाद त सजिलो पो रहेछ भनेर कहिलेकहीँ हामी उत्तरआधुनिकसमेत भइदिन्छौँ र वकेन्द्रको नाममा अकेन्द्र र अकेन्द्रको नाममा नयाँ केन्द्र बनाएर आकाश, पाताल, देवी, देवता आदि इत्यादि विषयक नयाँ वाद बनाइदिन्छौँ अनि त्यसमा भएभरका यथार्थवाद, अति यथार्थवाद, साम्यवाद, पूँजीवाद, समाजवाद, सामन्तवाद, अतिवाद जे जेका भेटिन्छ सबैका एक एक बुँदा राखिदिएर नयाँ एउटा वादको घोषणा गरिदिन्छौं र एकतारे वादको विपक्षमा उभिएर द्वन्द्वको सिर्जना गरिदिन्छौँ । ए ! द्वन्द्व त यसरी पो भइरहेको रहेछ भन्नुहोला । यस्तो द्वन्द्वले राम्रै द्वन्द्वतिर लैजान्थ्यो होला तर यहाँ त एकतारे वादको रनाहाले छोएपछि अनेकतारे वादसँग मिलाप हो कि अमिलाप हो सब बिर्सी पनि जान्छ र अलमल हुन जान्छ। कता हिँडेको कता पुगेपछि अनि चल्छ निषेध । एउटा एकतारेले अर्को एकतारेलाई निषेध, त्यस्तै यहाँ भएका अनेकौँ एकतारेले अनेकौँ अर्को एकतारेलाई निषेध । उहीले उहीलाई, उस्तैले उस्तैलाई निषेध र यसरी यहाँ यस्ता अनेकौँ एकतारे वादहरूले निरन्तर जन्म लिन पुगिरहेका छन् ।

एउटा वादलाई ठाउँ विशेष जन्म दिन निकै गम्भीर तयारी गर्नुपर्ने हुन्छ । साहित्यिक-सांस्कृतिक वाद छन् भने त ठिकै हो तर राजनीतिक वादको जन्म गर्नुपर्यो भने तत्कालीन सरकारीवादले नयाँ वाद कसरी र कहाँबाट जन्म लिँदै छ भनेर चासो राख्छ नै । राणावादीले प्रजातन्त्रवादीलाई, प्रजातन्त्रवादीले साम्यवादीलाई, साम्यवादीले सामन्तवादी र प्रजातन्त्रवादीलाई विपक्षीमा राखेर प्रतिद्वन्द्विताको व्यवहार गरेकै हो नि । भर्खरैको घटना हो, काठमाडौंको माइतिघर मण्डलामा एक प्रकारका विचारवादीको एकतारे बजाउने कार्यक्रम थियो । यो ठाउँचाहिँ बेलायतको स्पिकर कर्नर जत्तिकै प्रसिद्ध भएको छ केही समयदेखि आफ्ना आफ्ना बाजा बजाउनेहरू जम्मा भएर ताली र गाली बर्साउँछन् र आत्मरतिमा रमाउँछन् । त्यस्तै कुनै दिन यस ठाउँमा एकतारे बजाउने एक प्रकारका वादीहरू जम्मा भए र उस्तै प्रकारको वादको व्यवहारमाथि चर्का चर्का प्रतिवाद गरे। तालीका पर्रा गुन्जिए । विजयी मुद्रामा फर्किए। एकतारे वादलाई ग्रहण गरिनसकेका मनुवाहरूले खोइ के ? खोइ के ? को मुद्रामा दिन बिताइरहेका थिए। अर्को एक दिन अर्को एकातारे वादी आएर फेरि त्यसरी नै तालीले गगन गुन्जाए । यसरी हेर्दा हरेक एक टाउकामा एक एकतारे बाद जन्मन पुगेको छ । अभिमानी स्वाभिमानले जन्माएको विचार, राजनीति र शासनले घर मक्किएको आभास छिमेकीले पाइसकेका हुनन् । त्यस बखत कमजोर भएकै बेला नाकमा बुलाकी लाइदियो भने आफ्नै गोठको दाएको गोरु ठानी रमाउने दाउमा ती हुनन् । यसो हुँदो हो त हिजो आफ्नो ती एकतारे वादीहरूलाई आफ्नै बलियो छानो सम्झिरहेका मनुवाहरू विरक्त भएर गेरुवस्त्र धारण गरी ‘जय शम्भो !’ को भावमा पलायन हुने निश्चित देखिदै छ । हुन त दुईचार पलायन भएर के भो त ! भर्ती त खुल्ला छ, गीत गाउनेहरूलाई प्रवेश खुला छ भन्ने सोचले भद्र ग्रस्त देखिन्छन् एकतारेवादी अग्रजहरू ।

नेपाली माटो र पानी पनि निकै मलिलो भएर हो कि जसले पनि एकतारेका लागि चिन्डो रोप्ने थलो बनाएको देखिन्छ । अन्तर्राष्ट्रिय मलखाद र बिउबिजनले अन्तर्यमा पुर्‍याएको योगदानले नै सम्पूणर् नेपालीलाई एक एकओटा एकतारे बजाउने बनाइदिएर नेपाल एकतारे वादमा रमाएर टाइटानिक हुँदै छ भन्ने सन्देश फैलिने निश्चित छ । उहिले उहिलेकाले आगो खाएर शक्ति उगेल्थे, फर्किएर, फर्किएर हुर्रिएका नया भर्तीका मनुवाले भने सधै मझेरीमा बसेर थैलो भर्न चाहन्छन् । यसो कसो गर्दागर्दै शक्तिका अंशियारहरूको व्यथाको उत्ताप भयानक हुँदै गएको छ भन्ने कुरा एकतारेवादीको शुभनायकले थाहा पाउनु जरुरी छ भन्ने सुभावना यस राजनीतिक महामारीमा यत्रतत्र पाइन्छ । नत्र कुरोको चुरोमा एकतारेकै भए पनि घ्याम्पो चर्काइदिएर फेरि कहिल्यै नउठ्ने गरी घुर्‍यानमा पल्टाइदिने दाउमा रेफ्री नहोलान् भन्ने छैन ।

महामारीको कुरो भिक्ता यहाँहरूलाई कोविडको विषयमा चासो त लागिहाल्ला नि । कोविड १९ को महामारीले थलिएको छ देश । पनि कोविडले र बन्दाबन्दीले गलित छ । तपाईं भन्नुहोला घरेलु औषधी खाने र घरेलु उत्पादनमा रमाउने हो भने न कोविडले गलाउँछ न त बन्दाबन्दीले थलाउँछ । त्यसो त अन्नको दल किन्न र खेतीका लागि मल किन्न पनि एकतारे गीतको सिफारिस चाहिन्छ । भ्याक्सिन नेपाल भित्रिइसके । अब भ्याक्सिन लगाए त यो महामारीको महान् समस्या समाधान हुँदै जान्छ, केवल पर्खन सक्नुपर्छ भनेर सम्झाइबाइ गर्नेहरू सर्वसाधारणले थाहै नपाई एकतारे डबलीको निगाहमा पहिल्यै भ्याक्सिन लगाएर अरूलाई सान्त्वना दिन आएका हुन्छन् । जीवनको डाइमन्ड र गोल्डेन जन्मोसत्व मनाइसकेकाहरू आफ्नो उमेरको पालो हो भनी पर्खेर बसेका बेला उनको अवसर डबलीवादले उम्काइदिएपछि न उमेरको हदबन्दी लाग्छ न त देख विमारको । दुखविमारले ज्यानै लिएपछि एकतारेवादी मिलेर ’रिप’ लेखेपछि सकिन्छ ऊप्रतिको दायित्व । रिप पाउन पनि केवल एकतारेवादी भइदिनु आवश्यक छ । त्यसको निगाहामा यहाँ घुन, धुन र गुन सबै सुन हुन्छ । यतिखेर जोवनले समय खाएकाहरू भ्याक्सिन लाउने सेवा केन्द्र बाहिरको गेटमा धक्काधक्की मार्दै बेफ्वाँकमा घाम खाइरहेका हुन्छन् । ‘भ्याक्सिन सकियो !’ भनेर सूचना पाउँदा एकतारे डल्लो फुटाइदिने प्रौढ झोंक देखाउदै चियापसलतिर रन्थनिएको देख्नुपर्छ जसको भित्री कोठामा चलिरहेको छ भ्याक्सिन कार्यक्रम भन्ने डबली गीत ।

यति भनिसकेपछि एकतारे कहाँ बजाउने भनी चिन्ता लिनु आवश्यक पनि भएन, आफ्नै डबलीमा बजाउने । डबलीमा भेला भएर बजाउने जति सबै सबै आफन्त । आफन्तको सबै प्रकारका दोष पनि गुणमा नै परिणत हुने भइहाले । अनि कुरा आउँछ डबलीमा डब्बल एकतारे बजाउनेलाई अब्बल ठानी पुरस्कार दिने अवस्था । जहाँ पुरस्कार हुन्छ त्यहाँ दण्ड पनि हुन्छ। डबलीका नियम, ऐन, कानुन सबै निश्चित हुन्छन् । एकदिन मात्रै कुनै डबलीको मानिस अर्को डबलीको मानिससँग वनभोजमा गएर नाचेछ भने अब त्यसको पैरो गयो भने पनि हुन्छ । श्रद्धाञ्जलि दिन पनि सोधेरै जानुपर्ने जस्तो कडा नियम हुन्छ भने तालुमा भरिएको गिदीमा ऊ आफ्नो पनि चिन्तन र विचारले बाँच्न र विचार प्रदान गर्न सक्छ भन्ने डबलीवादीलाई लाग्दै लाग्दैन । विचार हुनलाई गिदी चाहिन्छ, गिदी हुनलाई गुदी चाहिन्छ, तपाईं आफैँ बुझ्नुहोस् एकतारे खोक्रो भएर मात्र बज्न सक्छ । अनि खोक्रो विचारको डबलीमा गिदीमा गुदी भरेर उपस्थित हुने मानिस निषेधको कालो भित्तोले धक्का दिएपछि कि त अर्को डबलीमा पुग्छन् कि त अर्को डबली खोल्छन्, होइन भने डबलीको विरोध गरेर डबलीवादको अन्त्यको कामना गर्छन् । कुनै सदस्य एक दिन मात्रै अर्को डबलीको सदस्यसँग बजार भर्न गएछ भने उसको अवस्था नाजुक हुन्छ । उद्योग, कलकारखाना, सामूहिक अनुष्ठानजस्ता सन्दर्भमा पनि डबलीको ठुलो महत्त्व हुन्छ । डबलीको सदस्यले एकतारे कसरी बोकेको छ ? कुन तरिकाले बजाउँदै छ ? कहाँ कहाँ बजाउदै छ ? आफ्नो बजाउदै छ कि अर्काको एकतारेसँग पनि साँठगाँठ छ ? डबलीमा उसको शिर कतिको नत छ ? जस्ता विषयको चियो गर्ने महामानवहरूले यति गहिरो अनुसन्धान गर्छन् कि अर्को चियो दर्शन को जन्म हुन पुग्छ । विचार, दर्शन, चिन्तन सबै आफैले बनाएको हो, बाबुको सम्पत्ति हो र म मात्र यसको अशियार हैं भन्नेहरूले अरूले पनि सोच्ने गर्छन, विचार तथा दर्शनहरूमा अरूको पनि दख्खल हुन्छ, अरूका कुरा पनि सुन्नुपर्छ भन्ने बिर्सिएर ‘वरिपरिवाद’ लाई नै सर्वश्रेष्ठ ठान्ने हुँदा कतिपय खस्रा तर असल मानिस डबलीबाट उछिटिएर प..र बसेर रमिता हेर्न बाध्य छन् । यो सिधासिधी दण्ड भइहाल्यो । यदि यी सबै कर्म नगरेर सधैं जय हजुर गर्‍यो भने चाहे त्यो प्रजातन्त्रवादी होस वा समाजवादी उसका हातमा स्थानीयदेखि राष्ट्रियसम्मका पुरस्कारहरू आउँछन् । पुरस्कारको क्याटागोरी क्वालिटी हुँदै होइन भन्ने कुरा उदाहरण दिइरहनु पर्दैन ।

भैगो धेरै शब्द खर्चिएर आफ्ना विचार राख्दा कुनै दिन यही विचारले टाउको फुटाइमाग्नुपर्यो भने त्योभन्दा उत्तम पुरस्कार के हुन सक्छ र ? एउटै इच्छा छ साँघुरो डबलीमा एकतारे नबजाएर एक दिन मिठो सङ्गीतका लागि आफ्नै भूमिको आर्केष्ट्रा बजोस् जहाँ समतावादी गीत गुञ्जियोस् र त्यही गीत र सङ्गीतले आफ्ना बालबालिकाले प्रशिक्षित हुँदै हुर्कन पाऊन् । अस्तु ।

०००
उर्लाबारी , मोरङ

‘मुखास्त्र’ संयुक्तव्यङ्ग्य निबन्धसङ्ग्रह (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाघले आगो खाएपछि

बाघले आगो खाएपछि

मिश्र वैजयन्ती
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x