
नेपाल बेकार छ !!
कल्ले गरोस् दुःख स्वदेश भन्दै ! हिमाल, पाहाड, मधेस बन्दै ! बसून् यहाँ मूर्खहरू रमाई ! नेपाल बेकार छ यो मलाई !

डा.रामप्रसाद ज्ञवाली
जाँदै छु साथी ! म अमेरिकामा
हो गर्व गर्दै छु बिदेसिँदा म
नेपाल त्याग्दा मनमा छ हर्ष
र दास बन्दा पनि लाग्छ गर्व !
मभित्र मेरो पहिचान छैन
स्वतन्त्र मेरो परिधान छैन
मेरो कुनै राष्ट्रिय गान छैन
“नेपाल“ भन्ने अभिमान छैन !
पाए पुग्यो खान मिठो मलाई
पाए पुग्यो गर्न ठुलो कमाइ
मिल्छन् कुरा यी जुन देश धाई
म पुग्छु नाच्दै सपना सजाई !
नेपालको भन्नु र बन्नु छैन
पाखापखेरा अब खन्नु छैन
यो देशको जागिर खाइँदैन
नेपाल नाथे अब चाहिँदैन !
बेग्लै छ साथी ! पहिचान मेरो
पैसा जहाँ पाउँछु, मार्छु फेरो
पैसाविना गौरव चाहिँदैन
स्वदेश भन्दै अब धाइँदैन ।
कल्ले गरोस् दुःख स्वदेश भन्दै !
हिमाल, पाहाड, मधेस बन्दै !
बसून् यहाँ मूर्खहरू रमाई !
नेपाल बेकार छ यो मलाई !
०००
काठमाडौं