तरबार धुँदै छु म !
लाछी क्षुद्र बसेका छन् तँजस्तो जुन देशमा के हुन्थ्यो जिन्दगी राम्रो दुर्गन्धी परिवेशमा ! के गरूँ के गरूँ हुन्छ हिउँले पोल्छ बेसरी ! पौडन्छु पिउँदै पानी तिर्खा मेटिन्न क्यै गरी !
डा. रामप्रसाद ज्ञवाली :
ए पाजी ! दासता चाट्दै तँ कस्तो क्रान्ति गर्दछस् !
भित्र भित्र घुँडा टेक्दै धक्कु बाहिर छर्दछस् !
थुक्क लाछी ! सधैँ गर्छस् कपटी गफ यी कति !
खस्ने हो पशुताभन्दा तल धेरै अझै कति !
छैन ठेगान बोलीको के भुक्छस् क्रान्तिका गफ !
थुक्क पामर ! के बाँच्छस् निर्लज्ज भै युगौँयुग !
जनता-देशका बग्छन् दिनहुँ आँसुका दह !
पिउँदै तिनकै आँसु गर्छस् सधैँ चहःचहः !
देशको शोकमा नाच्दै दुष्ट ढोल बजाउँछ !
तेरो निर्लज्जता देखी लाज आफै लजाउँछ !
लाछी क्षुद्र बसेका छन् तँजस्तो जुन देशमा
के हुन्थ्यो जिन्दगी राम्रो दुर्गन्धी परिवेशमा !
के गरूँ के गरूँ हुन्छ हिउँले पोल्छ बेसरी !
पौडन्छु पिउँदै पानी तिर्खा मेटिन्न क्यै गरी !
सुन्न पनि म चाहन्नँ तेरो यो लोभको कथा !
भ्रष्ट जोगाउँदै हाँस्छस् यो कस्तो क्रान्ति हो बता ?
भस्मासुरहरू मास्न अग्निज्वाला हुँदै छु म !
काँडेघारीहरू फाँड्न तरबार धुँदै छु म !
०००
काठमाडौं