मूषक माहात्म्य
निशाचरको एकछत्र राज र निरङ्कुश अत्याचारबाट बच्न चालेका चाल र हरेक प्रयास सरकारको गरिबी निवारण कार्यक्रमजस्तै गर्भमै विलीन भए र मेरो ‘मैँ हूँ’ भन्ने चुरिफुरी सबै सिरिखुरीसहित ढलमतीमा सललल गर्दै स्वाहा भयो ।
सुमी लोहनी :
गज्याङगुजुङका गजधम्मे गुरुजीको गर्जन सुनेर कस्ता-कस्ता मैँ हूँ भन्ने वीरबहादुरहरू त धर्केर धुरुरु हुँदै तुरुरु पार्छन् भने त्यस्तालाई पनि हाराबारा तोरीको फूल देखाए नि बाबा, गजानन गणपति वाहनका सन्ततिले । साम, दाम, दण्ड र भेद आदि सबै रणनीति अपनाउँदा पनि यी छुसीमुसीका सन्तानको अन्धकार अट्याक नीतिसँग लस्त भै परास्त हुनु पर्यो । पक्कै पनि विद्रोही तत्त्वसँग यिनीहरूको मितेरी साइनो गाँसिएको हुनुपर्छ । बङ्कर निवासी भएकाले यिनीहरूको हेडक्वार्टर पत्ता लगाउनु भनेको मेलम्बीको पानी काठमाडौंबासीका धारामा आउनु जस्तै हो । दुःख पनि अलेनि दिएका भए सहनु पनि हुन्थ्यो तर अब त सहनै गाह्रो भइसक्यो । तपाईं पनि सुन्नुहुन्छ भने लौ कानेगुजी निकालेर सुन्नुस् अनि बचाउको कुनै उपाय तपाईको ‘पत्ता लगाऊ आयोग’ ले पत्ता लगायो भने बिरालोलाई दूत बनाई मेसेज पठाउनुस्, है त ।
एक दिन बिदामा आफ्ना तिलचामले केशराशिलाई रङ्गाउने विचारले बेलुका मेहन्दी भिजाएर राखेको त विनायक बाहनले अन्धकारमै पूरा शरीर रङ्गाई मक्ख परेर आफ्ना मालिकको सेवामा सामेल भई हुकुम तामेल गर्न सुटुक्क सुईकुच्चा ठोक्न भ्याइसकेछन् । आफू भने ‘हिस्स परी खिस्स दाँत ।’
त्यस्तै एकचोटि मासुको कबाब बेलुका पकाएर भोलि आनन्दले खाउँला भनेर लोभ गरेर राखेको त ‘लोभीको धन पापीले खान्छ’ भनेझै उसका सातै पुस्ताले दशैँ मनाइवरि हाड मात्रै बाँकी राखेर दूला महलमा मस्ताराम भइसकेका, कम्ता रिस उठ्याथ्यो र । भेटेको भए तिनीहरूलाई तातो तेलमा परपरी नपारी त्यसै कहाँ पो छोड्दै र । तर के गर्नु ‘भाउजू परिन् दाजुको हात, रिस पज्यो आफ्नो हात’ ।
सानोमा एक पटक त मलाई यिनैका कारण चोर दोष नै लागेको । भयो के भने मेरी हजुरआमाले सुत्ने बेलामा बिझायो भनेर आफ्नो गलहरी खोलेर टेवलमा त्यत्तिकै राखेको देखेछ अनि त उसलाई के चाहियो र । आफ्नी मुसीलाई खुसी पार्न लिएर कुलेलम ठोकेछ । बिहान गलहरी नभेटेपछि खैलाबैला मच्चियो । सबैसँग सोधखोज भयो तर कसैबाट चोरको सुराक पाउन नसकेपछि घरमा सबैभन्दा सानो भएकाले दोष थुपार्ने डम्पिङ्ग साइड मेरो टाउको भयो र दोष जति सबै त्यहीँ थोपरियो । मैले चोरेको छैन भनेर कत्ति भनेँ, रोएँ तर कसैले मेरा कुरा पत्याएनन् । पछि सफा गर्दा छिनेको पोते र कोरिएको गलहरी भण्डार कोठाको सन्दुक पछाडि पो फेला पर्यो । त्यसपछि मात्र नचोरेको चोर दोषबाट मैले मुक्ति पाएँ ।
त्यस्तै एक पटक चाहिँ सुत्केरी भएर माइतमा बस्न आएकी छोरीको शिशु राति चिच्याएर रोएको सुनी ‘के भयो ?’ भन्दै हेर्न जाँदा त बच्चाको हातका कोमल औँला डिनर गरेर रगताम्य पारी मुसा महोदय म्याराथुनमा सहभागी भइसकेको ।
यी त केही उदाहरण मात्र हुन् । सबैको बेलिबिस्तार लाउन थाल्यो भने त उन्नाईस पुराण नै बन्ला अनि फेरि बिचरा बुढा व्यासको रेकर्ड नै तोडिएला भन्ने टेन्सन भएर पो। नत्र त कति छन्, कति छन् नि कुराका पोकापुन्तुरा ।
घरबारी, खेतखलियान, छिँडीबार्दली, दराजसन्दुक आदि कुनै त्यस्तो ठाउँ छैन, जहाँ यिनीहरूको पहुँच नहोस् । वैज्ञानिक मङ्गल ग्रहमा पुगिसक्यौँ भन्छन, तर मङ्गलदायकका सवारीको आतङ्कबाट बच्ने कुनै उपाय चाहिँ अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । बित्थामा केको नाक फुलाउनु नि उन्नति गर्यो भनेर ?
ठोस-तरल, सारो-गिलो, काँचो-पाकेको आदि कुनै पनि कुरा अछुत रहन दिँदैनन् यिनीहरूले । शबरीले बयर चाखेको जस्तै सबै कुरा चाख्छन् । पिठोमा भुदुल्की खेल्छन् । टूथपेस्ट खुला भेटे दाँत ब्रस गर्न छोड्दैनन् । फलफूलका दाना अथवा तरकारी वा आलु आदि पाए आफ्नो नाम लेख्छन् । राम्रा लुगा भेटे पति/पत्नी, छोराछोरी या आफन्तलाई उपहार दिई खुसी पार्छन् । झ्यालढोका दराज आदि बन्द देखे रिस पोख्तै काटेर भित्र पस्छन् । अनेक थरीका रोग फैलाउन माहिर दूलाबासीले मानवका खानेकुरालाई सार्वजनिक शौचालय ठान्छन् र त्यस्तो खाना खानेलाई सकेसम्म स्वर्गलोकको सवारी, नभए पनि अस्पतालको आतिथ्य चाहिँ ग्यारेन्टी गराउँछन् ।
सहन सकुन्जेल त सहियो । सहन नसकेपछि यिनीहरूको अत्याचारबाट हत्तु भएर ‘मुसा सखाप अप्रेसन’ अभियान आरम्भ गरियो । लड्डुप्रिय लम्बोदरका वाहनलाई लड्डुले लोभ्याई लम्पसार पार्ने महान् उद्देश्यले महागफी लाटोको पसलबाट लड्डु ल्याई विष मिसाएर राखी अब त मुक्ति पाइने भो भन्दै आनन्दले सुती बिहान सबेरै खुसी हुँदै उठेर हेर्न गएको त सखाप पार्ने षड्यन्त्रको गन्ध आएर हो वा किन हो ? विषका लड्डु त ‘रातभरि कुर्यो… जिउँदै’ भनेझै जस्ताको तस्तै अडिग रहेर राख्नेलाई नै जिस्क्याइरहेको भन्या ।
ख्वाएर भएन, अब साँचोमा च्यापेर च्वाट्ट पार्नुपर्यो भन्ठानेर साँचो थापी अब त छुट्कारा मिल्ने भो भन्ने सोच्दै सुतेको स्वप्नलोकको सैर गर्न पुगिएछ । प्यासले प्याकप्याक पारी मध्यरातमा आँखा खुलेकाले पानी पिउनु पर्यो भन्ने सोचेर छामछुम गर्दै किचनमा गएको त आफैले थापेको एम्बुसरूपी साँचोमा आफ्नै खुट्टा पर्न गयो । दुखाइको तोडले झिलिमिली पहेंला तारा देख्दै बल्लबल्ल बत्ती बाली हेर्दा त खुट्टाबाट भलभली रगत बगिरहेको अनि शक्तिशाली शत्रु चैँ कुनामा बसेर ‘खुच्चिङ ताला मैताला… ’ भने झै गरी मलाई नै टुलुटुलु हेरिरहेको ।
के गर्दा ठिक होला भन्ने ठुलो सोचविचार र पारिवारिक छलफलपछि खोरमा थुन्ने योजना बन्यो । खोर ल्याई थाप्ने अभियान पनि जोडतोडका साथ सुरु भयो । तर हरेक दिन बिहान बडो उत्सुकताका साथ जन्मजात वैरीलाई खोरमा जाकिएको देख्ने अभिलाषामा पनि तुषारापात हुन थाल्यो । हैन बाठा पनि के बिघ्न बाठा भन्या, सधैँ खानेकुरा चाहिँ सबै सफाचट् खाली खोर चाहिँ यथावत् । तर प्रतीक्षाको परिणाम सुखद हुन्छ भनेझैँ एक बिहान मेरा प्यासी आँखाले देख्न चाहेको दृश्य सामुन्ने देखेर हर्षको सीमै रहेन । खोरमा कैद शत्रुलाई देखेर म खुसीले चिच्याउँदै नाचेँ । अब यसलाई के गर्ने भन्ने समस्याको समाधान गर्न पारिवारिक सर्वपक्षीय सभा बस्यो र लामो छलफलपछि टाढा लगेर फाल्ने निर्णय भयो । त्यसपछि यो वीरतापूर्ण कार्यलाई सम्पादन गर्ने जिम्मा मेरै बलिष्ठ बाहुलाई सुम्पियो । खुबै वीरताका साथ सानले खोर बोकेर आफ्नो अरिलाई नेटो कटाउन प्रस्थान गरेँ ।
निकै टाढा पुगेपछि अब त फाल्नुपर्यो भनेर यसो खोर खोल्न खोजेको त वरिपरिका मान्छे जम्मा भएर झन्डै मैलाई नमारेका नि मेरी बाबै । धन्न माफी माग्दै भागेँ र पो नत्र आफ्नै ‘राम नाम सत्य’ हुन्थ्यो । धेरै पटक यस्तै भयो । गाली त कति खाइयो, खाइयो । नभागेको भए गोदाई पनि टन्न खाइन्थ्यो होला । एक जनालाई दया लागेर हो वा ऊ पनि भुक्तभोगी भएर हो, खोलामा लगेर फाल्नुपर्छ भन्ने सल्लाह दियो । उसलाई धन्यवाद दिँदै करिब एक घण्टा जति हिँडेर खोला त हैन, ढलमतीको किनारमा लगेर नाक बुन्दै फालेँ । थाके पनि आफ्नो विजय अभियान सफल भएकामा खुसी हुँदै घर फर्केर आफ्नो वीरगाथा सबैलाई सुनाएँ । सबै खुसी भए । दिन बित्यो रात पर्यो । विजयको खुसीमा मग्न हुँदै सबै सुत्यौँ । यसो निद्रादेवीको अङ्गालोमा बाँधिन मात्र के लागेको थिएँ सधैँझै आवाज आयो । के रहेछ भनेर हेर्न गएको त उही चिरपरिचित शिवसूतको सवारी साधन पो मेरो मेख मार्दै मलाई जिस्क्याउँदै मस्त भएर खानेकुरामा बुद्रुकी मार्दै र्यापमा रमाइरहेको ।
यिनीहरूबाट बच्नका लागि जसले जे भन्यो त्यही गरेँ । मालिकलाई खुसी पारे यिनले दुःख नदेलान् कि भनेर मुसापतिको पूजन गरेँ। लड्डु चढाएँ । प्रार्थना गरेँ । तैपनि भएन । मुसा भगाउने मेसिन ल्याएर म्युजिक सुनाएँ । उनीहरू झन् दङ्ग परेर म्युजिकको तालमा ताण्डव नृत्य गरिरहे । म चाहिँ तीखो आवाजले निदाउन नसकी रातभर छट्पटिइरहेँ । आउनसक्ने सम्भावित सबै स्थानमा नाकाबन्दी गरेँ तैपनि केही सिप लागेन ।
यसरी निशाचरको एकछत्र राज र निरङ्कुश अत्याचारबाट बच्न चालेका चाल र हरेक प्रयास सरकारको गरिबी निवारण कार्यक्रमजस्तै गर्भमै विलीन भए र मेरो ‘मैँ हूँ’ भन्ने चुरिफुरी सबै सिरिखुरीसहित ढलमतीमा सललल गर्दै स्वाहा भयो ।
०००
‘समकालीन साहित्य’ (२०७६)
Subscribe
Login
0 Comments
Oldest