केशव दुवाडीगठबन्धनको गाँठो !
राजनीतिक गठियावातको अचूक उपचार गठबन्धन नै हो भन्ने जानेर क्विन्टलपार्टी र ढकपार्टी सबै बग्रेठाबग्रेठी समेटेर गठबन्धनमा जुटेका छन् । आयाराम गयारामहरूले दिमाग भुटेका छन् ।

“कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ” भन्ने गठबन्धनको परिभाषा रहेछ। यो म जस्तो अडबाङ्गे अक्कडो अज्ञानीले गरेको परिभाषा हैन ।
परेको बेलामा पार्टीको झण्डा बोक्ने, भित्र भित्र नेतासँगै जाँड धोक्ने, बाहिर बाहिर स्वतन्त्र बुद्धिजीवी भन्ने पहुँचको आधारमा एउटाको नाममा टिपेक्स लगाएर अर्कालाई प्राज्ञ समेत बनाउन सक्ने प्रतिष्ठानका प्रतिष्ठितहरूले बनाएको शब्दकोशबाट खोजेर ल्याएको परिभाषा हो । कुरो बुझ्नु भो ?
अब गठबन्धन किन चाहियो ? किन चाहिने नि सत्ता र भत्ता प्राप्त गरी मत्ता हात्तीले झै तामझाम गर्न । जन प्रतिनिधिको नाममा जनशासक बन्न, डोजर चलाएर बाटो खन्न अनि कमिसन कुम्ल्याएर खल्ति टन्न भर्न ! अनि नगरी भयो ।
यो गठबन्धन आफ्नो पार्टीले गर्दा पवित्र र अग्रगमन हुन्छ अर्काले गर्दा अपवित्र र प्रतिगमन हुन्छ । आफूले गर्दा ठीक अर्कोले गर्दा बेठीक यो राजनीतिको सनातन सार हो ।
अब गठबन्धन नगरे के हुन्छ ? नगरे आफ्नो राजनीति शरीरको जोर्नी जोर्नी सुनिएर दुख्ने आँख्ले बाथ अथवा गठियावातले थलिएको मान्छेको जस्तै कक्रक्क परेर बस्नु पर्ने हुन्छ । न कसैले सलाम ठोक्छ न कसैले जदौ गर्छ न क्वीनटलको माला पाइन्छ न मलमलको खादा ।
राजनीतिक गठियावातको अचूक उपचार गठबन्धन नै हो भन्ने जानेर क्विन्टलपार्टी र ढकपार्टी सबै बग्रेठाबग्रेठी समेटेर गठबन्धनमा जुटेका छन् । आयाराम गयारामहरूले दिमाग भुटेका छन् ।
हिजो आजको राजनीतिक भाषणहरू पनि पाँडेगाली र हास्य व्यङ्ग्य निबन्ध जस्ता छन् भनेको एकले अर्काको उच्छितो काढ्ने ! आफ्नो अनदरप्यानको इजार छरिसक्यो विपक्षीलाई कुरीकुरी भन्छन् । डोको न डालाको कुरा गर्छन्, मैले भन्दा ठर्रा व्यङ्ग्य बोल्छन् । आफू इज्जतदार अरु हुल्लडबाज !
फेरि केही आसेपासे ताली त्रीतालीहरू नेताले जे भने पनि हो भन्दै गटट ताली ठोक्ने । कार्यकर्ताको ताली पाएपछि नेताले समुद्रको जहाज सगरमाथा उकाल्ने, हिमालको हिउँबाट पेट्रोल निकाल्ने गुड्डी हाँकहाल्ने ! रमिता पो हुन्छ त बाइ ! नेताका थुनुनारबिन्दबाट ओकलिएका उखानहरू सुन्नु भयो भने हास्यकवि संमेलन महामूर्ख भेला सबै त्यही पाइन्छ । ताली लाइन्छ, मोटरसाइकलमा पेट्रोल हालिन्छ मासुभात र ताक परे एक दुई प्याक पनि लाइन्छ ।
हिजो आज केटाहरू केटीसँग डेटिङ् जानुभन्दा नेतासँग सेटिङ मिलाएर जुलुसमा जान रुचाउन थाले । कारण किनकि डेटिङ गए पैसा तिरी, तिरी “आई लभ यु” भन्नु पर्ने जुलुसमा गए सित्तैमा खान पाइने । जुलुसमा गर्लफ्रेण्ड बनाउन सकियो भने नेताको खायो नारामा ठूलो स्वरमा “आइलभ यु नेता” भन्यो साथीको हात समायो आइलभ यु माइडियर भन्यो भए न त डबल मजा ?
कुरा गठजोडकै जोड घटाउ गर्नु पर्दा- यो राजनीतिक गठबन्धन भनेको कहिले अनौठो प्रेम बन्धन जस्तो देखिने कहिले भयङ्कर घृणास्पद देखिने ।
भागबण्डा नमिल्दा दुबैले दुबैलाई चर्पीको चारखालमा हाल्ने स्वार्थ मिल्दा चर्पीको चारखालमा चुर्लुम्म डुबेको कायालाई एक आपसमा माया गर्ने ।
राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने सिद्धान्त सरात गर्नु अघिको प्रायस्चित्त गोदान भन्दा पनि चोखो हुने रहेछ राजनीतिमा !
राजनीतिको गठबन्धनकै कुरा गर्दा एक जना नेताको छोराको याद आयो । एक जना नेताले छोरालाई पढ्न विदेश पठाएछन् छोरालाई राजनीतिमा लगाएर आन्दोलनमा हिँडाएर उल्लु बनाउनु भन्दा यसो मित्रराष्ट्रको राजदूतावाससँग सेटिङ मिलाएर छात्रवृत्तिसमेत पाउने गरी व्यवस्था मिलाएका रहेछन् ।
सेटिङ मिलाएर पाएको छात्रवृत्ति मेहिनत गर्ने बानी नपरेको नेताको पुत्र ! पढाई भनेको त त्यस्तै हो देश हेरेर मुख फेरेर छोरो फर्कियो बाउलाई आफू पनि राजनीति गर्ने मेसो मिलाउन विन्ति बिसायो । राजनीति सिकाउन भन्यो ।
पढ्न पठाएको छोरो डुकुभुत्तो भएर फर्केको मन नपरेको बाउले हुन्छ भन्यो ।
आन्दोलनमा लिएर गयो कर्नर स्पिच गर्न पर्छ पर्खालमाथि भर्याङ हालेर चढायो । आन्दोलनमा पुलिसले लाठी बर्सायो, मान्छेहरू भागाभाग गरे एउटाले भर्याङ काँधमा हालेर टाप ठोक्यो ।
एकपछि छोरा खोज्दै बाउ आयो छोरोलाई भाषण गर भन्यो, आधाघन्टा भित्र पक्राउ गरेका सबैलाई छाडिएन भने म यो पर्खालबाट हाम्फाल्छु भन्न सिकायो । छोराले त्यसै गर्यो ।
पुलिसले छाडेन बाउले बचन पुरा गर्न हाफाल् ! भन्यो । भीडले ताली पिट्यो। छोरालाई हाम फाल म समाउँछु, भीडमा भाइरल हुनु पर्छ भन्यो । छोरा अग्लो पर्खालबाट हाम फाल्यो तर बाउले समातेन ।
छोराको हात भाँचियो भीडले वाह! वाह! गर्यो एक छिन पछि अस्पताल लगियो । मल्हम पट्टी पछि छोराले बाउलाई भन्यो म हाम फाल्दा किन नसमातेको ?
बाउले जुँगामा ताउ लाउँदै भन्यो राजनीतिमा बाउको पनि विश्वास गर्नु हुँदैन भन्ने कुरा सिकाउन । राजनीति भनेको अविश्वास भित्रको विश्वास र विश्वास भित्रको अविश्वास पनि हो ।
राजनीतिमा सबै संभव छ त्यसैले राजनीतिको बास भोजनालय मा थोरे शौचालयमा धेरै हुन्छ रे ! नत्र निकासै नआउने !
कहिले आन्दोलनकारी र आन्दोलनकर्ता एकै ठाउँमा हुने, कहिले टाउकाको मोल तोक्ने र तोकिने एकै ठाउँमा हुने, कहिले प्रतिगामी र अग्रगगामी भनिने पनि एकै ठाउँमा हुने ! अचम्म छैन त यो सत्ता गठबन्धन ?
क्रान्तिकारी कुरा गर्दा अग्रगामी छलाङ प्रतिगामीहरूसँग गठन गर्नु पर्दै दुई कदम अगाडि एकदम पछाडिको प्रगतिशील सूत्र । यो गठबन्धनको खेल नै विचित्र !
लगौँटीको गल्बन्दी बेरे पनि ठीक टोपीको अन्डरप्यान लगाए नि ठीक अन्धभक्त कार्यकर्ता लाज पचेका नेता !
त्यसैले त “एक लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्” भनिएको रहेछ गाँठे !
्
अब गठबन्धन भन्ने शब्दलाई शल्यकृया गर्ने हो भने पनि यो अनमोल रतन जस्तो देखिन्छ । गठ+बन्धन, गठ भनेको एकता, बन्धन भनेको गाँठो । गठलाई उल्टो पार्दा ठग एकले अर्कालाई मौका मिल्ना साथ ठग्न पनि मिल्यो ।
त्यसैगरी बन्धनबाट ब झिकिदिए पछि धन हुन्छ चुनाव जिते पछि ब हटाएर धन कमाउन सकिन्छ । कुरा मिलेन भने गठबन्धन बाट “ठबन्ध” झिक्दा गन बाँकी रहने गन भएपछि विपक्षीको मन थरर भै हाल्छ !
नभए गठबन्धनबाट “गठधन” झिक्दियो बन बाँकी रहन्छ बन पसेर भूमिगत भयो । त्यसैले यो गठबन्धन मात्र हैन महागठबन्धन हुनु पर्छ । यो अन्तर्राष्ट्रिय लोकतान्त्रिक असल अभ्यास हो यो काइदा सबैलाई फाइदा हुन्छ । त्यसैले सबै पार्टीले भनौ जय गठबन्धन !!
धादिङ
२०७९ बैशाख १
Subscribe
Login
0 Comments
Oldest







































