साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नर्कपालिका

उराठ, उदास, जर्जर यस भूमिमा सेवा सुविधा, आड भरोसा, उपकार, उद्धार उपचार आकाशको फल भएको छ । भोका नाङ्गा गरीब दुःखीको हितमा नगरपालिकाले के रित पुर्यायो ? कर मात्रै ठोक्ने जनताको अविभारा नबोक्ने ?

Nepal Telecom ad

आङमा मासु भरिँदै गएपछि स्याल पनि घोर्ले हुन्छ । घोर्ले भएपछि स्याल पनि ठूलो स्वरले कराउँछ । विकर्षक भए पनि आकर्षक हुन्छ । आकर्षक भएपछि आँखा लाग्छ र अरूको ध्यान आकर्षण पनि हुन्छ । छोराछोरीहरू घोर्ले भएपछि नै हराउने र एकले अर्कालाई मन पराउने गर्छन् । चित्ताकर्षक मनमोहक भएपछि चोरले बाउको बुद्धि अप्नाएर भए पनि दशदाउ लगाएर माउ बनाउन उछिट्याउँछ । चोर्नु चोरको धर्म हो भने आफै चोरिनु चाहिँ पर्म हो । जुन तत्काल खाँचो टार्न ऐंचो पैंचो गरिन्छ । नबन्नु चोर बनिसकेपछि खोरको खुराक खान आनाकानी गर्नु हुँदैन । एक अर्थमा घरजम भनेको यही हो । खास गरी घरबाट जम्प गरेर भागेपछि घरजम हुने गर्छ । त्यसपछि आफ्नो मौलिकता बिर्सिएर अरूको देखासिकी गर्न रुचाउँछन् । आवश्यक परे सर्वाङ्ग उदाङ्ग पार्ने , ढाड करङ देखाउने वा ठाउँ ठाउँमा फाटेको पाइन्ट, उध्रिएको हाफ पाइन्ट लगाउन उद्यत हुन्छन् । उट्पट्याङमा नै सर्वस्व देख्छन् । आफ्नो परम्परा संस्कार संस्कृतिलाई विकट विकृति ठान्छन् र कुरीतिलाई झ्याइँ झ्याइँ बाजा बजाएर अन्माउन खोज्छन् । यसमा जनता जनार्दन चनाखो नहुने हो भने चोर डाकाहरूले उँधो बगाएर उँभो खोज्न जान्छन् । नेपालका वडापालिका, नगरपालिका, महानगरपालिका यस्तै यस्तै बहादुरी र पौरख गर्ने गरेका कारणले नै नर्कपालिका भन्न लायक भएका छन् ।

मेरा हजुर बुबाले आफ्नो विर्ता जग्गामा रुख विरुवा रोपेर रेखदेख र संरक्षण गर्दै हराभरा बनाएको पोखरा ९ र त्यसैको पारिपट्टी पोखरा १० को उबेलाको घना वैरागी वन नगरपालिका घोषणा भएपछि अर्थात् प्रजातन्त्रको प्रादुर्भाव पछि शान्ति वन नामाकरण गर्दै विभिन्न सङ्घ संस्थाले वा पहुँचवालाले हडपेर अहिले त्यस्तो घना जङ्गलमा घना घना घरहरू ठडिएका छन् । अहिले भोटेको बोकेदारी जस्तो अलिकति बचेको जङ्गल पनि भोलि पहुँचवालाको पोल्टामा पर्ने होला । घना घर भएपछि नगरपालिकाको लत्रिएको नाक र सिउर ठाडो र उच्च हुन्छ क्यार । ऊबेलामा ठाउँ ठाउँमा जडित सार्वजनिक धारो, पाटी, पौवा, चौतारो, शौचालय, वरपिपलहरू उखेलेर फालेपछि पोखरा महानगरपालिका बन्न योग्य भयो क्यार । अरू नगरपालिका पनि एउटै ड्याङका मुला हुन् । नगरपालिकाको स्वभाव जुकाको जस्तो छ । कर मात्रै ढाडिने र सेवा सुविधा दिनुपरे टाढिने । यस्ता अर्धन्यायिक निकाय नर्कपालिकाको स्वायत्त नियम कानून र विकासका लागि ठाउँ कुठाउँ बेला न कुबेला बन्ने भत्किने अनि भ्रष्टाचार गर्न प्रेरित गर्ने र भ्रष्टाचार गर्न मिल्ने अखडा खोज्ने मिलाउने कामका लागि नगरपालिका अग्रस्थानमा छ । फलतः अपत्यारिला विकास निर्माण, जैविक विविधता र प्राकृतिक संरक्षणका कामहरू हुने गरेका छन् । त्यसैको चपेटामा परेको छ बैरागी बन । अब भावी सन्ततिले पनि यस्तै यसैको सिको गर्नु नै निको मान्लान् ।

म सुरुमा काठमाडौँ जाँदा काठमाडौँ शहर प्यारी प्रेमिका भन्दा पनि प्यारो लागेको थियो । घर पुगेर कुनै शत्रुले निहु खोजे भने काठमाडौँ गएर आएकोसँग निहुँ खोज्ने भन्दै पाखुरा सुर्कियो भने आफै पछि हट्थे । काठमाडौँको पावर र पाइन छुट्टै थियो । नाम मात्रै लिँदा पनि धेरै थान्को लाग्थे । काठमाडौँका गल्ली गल्ली चुम्न र घुम्न लायक थिए । सुन्धाराको होटलमा बसुन्धरासँग बसेर सुन्धाराकै पानीले नुहाउने र पिउने गरेको प्यारो ज्यान हो यो । अहिले काठमाडौँ सिंगो सहर र सुन्धारा कुल्चिन लायक छैनन् भने प्यारो संस्कृति सम्पदाले भरिपूर्ण काठमाडौँलाई कसरी चुप्पा गरौँ ? मुखभरी महामारी सल्कियो भने ।

पुरानो मखमली मलमलको धरहरालाई बहत्तर सालको भूकम्पले सर्लक्क निलिहाल्यो । नयाँ धरहरा सुस्त सुस्त ठडिँदै छ । पुरानाको तिर्सना मेटाउन सक्छ कि सक्दन भविष्यले ओकल्दै जाला । बन्ने भत्किने मानव विकृति त छँदै थियो त्यसमाथि प्राकृतिक विपत्तिले पनि थपिदियो । घरैघरले भरिएको काठमाडौँका सडकमा एक्लै दुक्लै हिँड्न पनि डर लाग्छ । अपराधीले झै नाकमुख छोपेर उधोमुन्टो लगाएर हिँड्नुपर्छ । अपराधी जेलमुक्त भए झै खुसी हुँदै काठमाडौँ उपत्यका छोड्नुपर्छ । काठमाडौँलाई टेक्दै नटेकुँ पनि सारा शैक्षिक प्रवेशपत्रदेखि लब्धाङ्क पत्र र अनेक सत्र उसैको खोकिलामा छ । टेक्दा टेकीसक्नु छैन । देख्दा देखिसक्नु छैन । जाँदा गइसक्नु छैन । तै पनि हामी नेपाली राजधानी भन्दै नाक ठड्याउँछौँ ।

महानगरपालिका बनेपछि काठमाडौँ कुल्ची नसक्ने गरी कुरूप बनेको छ । धार्मिक, देव तीर्थस्थल, कुवा, धारो, कुण्ड, तलाउ, पोखरी, गन्धायमान छन् । थानकोटबाट छिर्ने वित्तिकै देउतेबोको गनाएझैँ गनाउन थालिहाल्छ । गल्ली गल्छेडाहरू पिनासको नासै गरुला झै उधुम चर्काे गन्धले नाकका बन्द ग्रन्थीहरू आफै खुल्न थाल्छन् । यस्तो पो विकास परिवर्तन, विकसित नेपाल, नयाँ नेपाल, सुखी नेपाली । यसभन्दा बढ्ता आस गर्नु पनि एक किसिमको मुख्र्याइ नै हो नि ।

उपत्यकाभित्र सतहत्तर जिल्ला लगायत विश्वका रङ्गीविरङ्गी नानाभाँतीका मान्छेको ताँती देख्न पाइन्छ । महिला र पुरुषको घनघोर आत्मीयतालाई अहिलेको यो कोरोना महामारीले छिन्नभिन्न पारेको देख्दा देह द्रवीभूत भएर आउँछ । ठमेल भन्ने ठाउँमा त झन ठेलम ठेल नै हुन्छन् क्यार । महाबौद्ध तीर्थस्थलमा भोटे र भोटिनीको नक्कल गर्दै पश्चिमा पर्यटक पनि एकबित्ते लुगा लगाएर खुसी र उमङ्गले तिनबित्ता उफ्रिँदै मोइ खान तँछाड मछाड गरेको देख्दा ओरालो लागेको जवानी पनि कुवाको पानी पानी भन्दै बौरिन्छ भन्छन् । सुन्दा पनि रहरै लाग्ने । खप्परमा लेखेको भए पो ठाउँमा पुगिन्छ । कुवाको भ्यागुताको भाग्य नै कति हुन्छ र ? आशन न शासन पर्यटकले आफ्नो कला देखाउने क्षेत्र रहेछ यो । मौका मिल्यो कि गुटुमुटु लुटुपुटु हुन्छन् र देखाइ देखाइ मान्छेका मुखिन्जी कसरी बजाउन सकेका । पोखराको लेकसाइडलाई पनि हराउँला जस्तो गरेर नग्न, अर्धनग्न र महानग्नका आङ्गिक स्वाङमा भ्वाङ टालिरहेका देखिन्छन् । पगार्ने कोरल्ने यिनको ध्यान नै त्यसैमा रहेछ । अधिक जाँडपानी डाउनलोड गरेर होला खुट्टा र विचार लड्खडाइ रहेको हुन्छ । एकबारको जुनिमा काठमाडौँ बौद्धको अधिक जाडो चाख्न गाको सिरक ओड्नु पर्दैन भनेर जाँडै चखाएर पठाइ दिए भट्टीवाली भोटिनीले । जेहोस्. नचाखेको कुरा चाख्न र नदेखेको कुरा देख्न पाइन्छ र पो पर्यटक नेपाल भनेपछि झुत्ती खेलेर आउने गर्छन् । यसो भएपछि महा नर्कपालिका घोषणा हुने नै भयो नि ।

स्वर्गतुल्य कान्तिपुरी नगरी अहिले भ्रान्तीपुरी नगरी भएको छ । टुँडिखेल ढुँडीखेल भएछ । उराठलाग्ने उद्यान मैदानहरू देख्दा विकासको निकास भएछ आयात भएन छ । पहिला काठमाडौँको कुना काप्चामा पल्टौ पल्टौ, बसौँ बसौँ लाग्थ्यो अहिले त टकौँ टेकौँ नै लागेन । फेरि फेरि देखौँ देखौँ पनि लागेन । न भोटिनीको गन्धले तान्न सक्यो न काठमाडौँको छन्दबन्दले ।

अग्ला–अग्ला घर ठड्याएर विदेशझै विकसित बनाएका हुन् क्यार तर महानगरबासीले घामको मुख नदेखेर रोगको भण्डार साथमै राखेजस्तो लाग्यो । बागमती विष्णुमतिमा स्नान गरेर कैयौँ देवी देवताको ध्यान आफूतिर खैचिन सफल यो ज्यानलाई बागमतीमा नुहाएको भनेर घरबेटीले घरभित्र छिर्नै दिएनन् । विकासको चरम स्वाद चाखिरहेको महानगरपालिका शरम नमानी नर्कपालिकामा रूपान्तरण भएको देख्दा आफ्नै जन्मभूमिप्रतिको मोह पनि एकाएक भङ्ग भएका कारणले नै युवा बौद्धिक जमात बाहिर हानिन आतुर हुन्छन् । घरैघरले भरेर मानवको घुइँचो घचारो बनाउँदैमा महानगरपालिका भैहाल्यो त ?

खै महानगरपालिकाले जनतालाई दिनु पर्ने आवश्यक आधारभूत सेवा सुविधा ? मलमूत्रले च्याप्यो भने दौडेर कुना पस्नुपर्छ । बाटो घाटोमा लाटो हिँड्नै नसक्ने भैसक्यो । एक किलोमिटर छिचोल्न २ घण्टा लाग्न थालिसक्यो । सुको दाम नभए जलस्रोतको धनी देशका जनताले पानी पनि पिउन पाउँदैनन् । गरीब दुःखी रोग र भोकले मुक्ति मार्ग खोजिरहेका हुन्छन् । उराठ, उदास, जर्जर यस भूमिमा सेवा सुविधा, आड भरोसा, उपकार, उद्धार उपचार आकाशको फल भएको छ । भोका नाङ्गा गरीब दुःखीको हितमा नगरपालिकाले के रित पुर्यायो ? कर मात्रै ठोक्ने जनताको अविभारा नबोक्ने ? महानगरपालिकाको ताल बेताल देख्दा भावी सन्ततिले पनि नर्कपालिका भनेर नै सम्बोधन गर्छन् कि झै लागिरहेको छ । घाम छँदै नाक जोगाउने काम गरौँ ।

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x