सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रेखा

सीमा रेखा, भाग्यरेखा, हस्तरेखा, लक्ष्मणरेखा, भूमध्य रेखा र नाम मात्रको रेखा भए पनि मानव जीवनमा नचाहेर पनि शिरोपर गर्ने पर्ने रेखाहरू हुन् । जुन शत्रु-मित्रु, साना-ठुला, गरिब-धनी, दरिद्र-सम्पन्न सबैले समान रूपले वरण गर्ने पर्छ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

रेखाका बारेमा सबै जानकार नै जस्तो लाग्छ । रेखा नामवाचक शब्द हो । भारतीय चलचित्रकी कुशल नृत्याङ्गना, तन्नेरी गणको निँद हराम गर्ने सुन्दरीको नाम पनि रेखा । यस्ता रूपसी नेपालका गल्ली गल्लीमा हत्तीहल्ली समय सिनित्त सिध्याउने लुते धन्दावाली नायिकाहरू छन् तर चर्चित छैनन्, खर्चित छन् । नाम एकैनासको भए पनि कर्म कमाइ र स्वभाव फरक फरक छ । ज्ञात अज्ञात अगणित रेखाहरू खोजी पर्ने हो भने छ्यास्छ्यास्ती पाइन्छन् । कुनै रेखाले कला कमाउँछन् त कुनैले गला । कुनै रेखाले पैसा कमाएका हुन्छन् भने कुनै रेखाले पोइ मात्र। नाम कमाउने रेखा र दाम कमाउने रेखामा केही फरक र भिन्नता पाइन्छ । नाम कमाउने रेखाले इज्जतलाई सुरक्षित राखेका हुन्छन् भने दाम मात्रमा ध्यान दिने रेखाले इज्जतको लिलाम बढाबढ गर्दै र दाम बटुल्दै, बिटुलिइरहेका हुन्छन् । जेहोस् कुनै रेखाले सुख सन्तोष दिन्छन् र लिन्छन् पनि त, कुनै रेखा असन्तोष र तनावको तलाउमा घिटीघिटी हुँदै पौडी खेलिरहेका हुन्छन् । यहाँ यस्तै फलदायी, निष्फल, भरिला पोटिला, फुसा खखा र फोसा अनेकानेक रेखाका बारेमा चर्चा गर्नु सान्दर्भिक ठानेको छु ।

रेखाको अर्को नाम धर्को पनि हो । धर्को स्कुलको सरको होस् या आफ्नै घरको एउटै हो । धर्को मलीन होस् या चर्को धर्को धकै हो । धर्को एउटा मात्र होइन, अर्को पनि हुन्छ । सामुद्रिक शास्त्र अनुसार शुभाशुभ फल बताउने अनि हात, गोडा, निधार, गला आदिमा रेखाचिन्हको माध्यमले गणित सिद्धान्तको प्रतिपादन, रूपाङ्कन, खाका, रेखाचित्र पनि धर्को डोरोकै अर्को नाम हो । सरलरेखा, बकरेखा, षट्कोण, त्रिकोण वा चतुष्कोण रेखाकै माध्यमद्वारा तयार पारिन्छ । हेरकोर गणितीय सामुद्रिक ज्ञानमा पनि यसको मद्दत लिने गरिन्छ । यसका बारेमा भविष्यपुराणको ब्रह्मपर्वमा एउटा छोटो कथा छ । शिवपुत्र कार्तिकेयले महिला र पुरुषका शुभाशुभ लक्षणका बारेमा भविष्यवाणी गर्ने भएछन् तर त्यस कुरालाई गणेशले अस्वीकार गरेछन् । गणेश र कार्तिकेयको घमासान लडाइँ भएछ । झगडा साम्य पार्न शिवजी स्वयम् आउनु परेछ । झगडा शान्त पार्दै शिवजीले कार्तिकेयलाई प्रश्न सोधेछन्- “भन ममा कस्तो मानवको लक्षण छ ?” कार्तिकेयले भनेछन्- तपाईं संसारमा कापालीका नामले प्रसिद्ध हुनुहुनेछ ।” कार्तिकेयका कुरा सुनेर शिवजी रिसाएछन् र कार्तिकेयको हातमा रहेको ग्रन्थ खोसेर समुद्रमा फालिदिएछन् । रिस मत्थर भएपछि शिवले भनेछन्- “अब यस लक्षणग्रन्थको फेरि रचना गर अनि यो सामुद्रिक शास्त्रका नामले प्रसिद्ध हुनेछ ।”

हामीलाई थाहा छ होला, शुभाशुभ फल बताउने एउटा यस्तो ग्रन्थ छ, जसलाई सामुद्रिक शास्त्र भनिन्छ । भविष्यपुराणको चौबीसौँ अध्यायदेखि २८ औं अध्यायसम्म यसका बारेमा प्रकाश पारिएको छ ।

हस्तरेखा मानव चोलाको अत्यन्त महत्त्वपूर्ण रेखा हो । हातका रेखालाई चानचुने मान्नु आफै चानचुने हुनु हो । हातका औँला औँलाका टोप्रादेखि हत्केलाका चारै दिशा ढाकेर शङ्ख, चक्र आदि रेखाहरू जन्मिनुपूर्व प्राणसँगै कुँदिएर आएका हुन्छन् । भनिन्छ, मानव हात र मस्तकमा आफ्नो छैटीका दिनको लेखा अनुसारकै रेखा हुन्छन् । रेखा अन्यत्रभन्दा अधिक हातमा हुने भएकाले हस्तरेखा भनिएको हो । शरीरको छाला रौँरहित खाली हुनेबित्तिकै रेखा पलाउँथ्यो भने तालुखुइलेको तक्लामा पनि भाग्यरेखा, कर्मरेखा, मात्रेखा, पित्रेखा, आयु रेखा, पत्नी रेखा, सन्तान रेखा, निर्धन जोगी रेखा आदि नाना भाँतीका रेखा देखा पर्ने थिए होलान् । तर त्यसो होइन, भाग्य दैव पनि नियममा बस्छ र नियममा नै चल्छ । जताको मन लाग्यो, त्यतैको रेखा देखाउन मिल्थ्यो भने चरचर फुटेको खुट्टाको रेखा पनि देखाउँथे होला । जे हुन्छ हरेक कुराको नियम र सीमा हुन्छ । त्यसै अनुसार चल्न सके मात्र मान्छे सज्जन कहलाउँछ । अन्यथा असती दुर्जनमा दरिन्छ ।

रेखाले विभिन्न जातजाति विशेषको धर्म बस्दैन, कर्म बक्छ । धर्म बोल्दैन, कर्म बोल्छ । धर्मका पछि लागेर रेखा देखा पर्‍यो भने जुन जातिका मान्छे धेरै छन्, तिनै जातिका धेरै रेखा हुन्थे होलान् । तर त्यसो नभई मानव जातिलाई एक सूत्रमा बधिर बर्म गए कर्म सँगै भने जस्तो जतासुकै जहाँसुकै गए पनि तिनै जन्मिदै लिएर आएको रेखा र लेखा आफूसँगै हुन्छ । जुनीजुनीसम्म हामी तिनै रेखा र लेखा अनुसार जन्म लिँदै मर्दै गरिरहेका हुन्छौँ तर मानव अधिक बलाख बन्दै के पनि भन्छन् भने फलानाले गर्दा भन्यो, चिलनाले गर्दा बाँच्यो । यस्तो पर्‍यो, उस्तो पर्‍यो। यसले गर्‍यो, उसले गयो भन्छौ । ययार्थमा भएको चाहिँ रेखा र लेखा अनुसार नै हो ।

हस्तरेखा छाँगा-छहरा, भीर-पहरा, कुना कन्दरा, समुद्र सतह, आकाश पाताल जहाँ जता चक्कर लाए पनि वा ठक्कर खाए पनि छिन्नभिन्न होइन, अविछिन्न नै हुन्छ । अविच्छिन्न भाग्यले प्राणीलाई मृत्युपर्यन्त पनि छोड्दैन । आफूले हजार हन्डर ठक्कर खाए पनि खप्पर टुटफुट र हात कच्याककुचुक भए पनि रेखा बदलिँदैन, टुक्रिँदैन, फुट्दैन र चोरी डकैती पनि हुँदैन । हात छिन्छ तर हस्तरेखा छिन्दैन । हातमा अनेक रोग लाग्न सक्छ तर हस्तरेखा ज्युको त्यु हुन्छ । अरु त कुरै छोडौँ, हातै नभएका मानवमा पनि हस्तरेखाको फल निहित हुन्छ । अजर अमर कालजयी यस किसिमको रेखा आफ्नो विश्वासका साथ श्वाससँग आउँछ, श्वाससँगै जान्छ । न श्वास कसैलाई दिन मिल्छ न त हस्तरेखा नै । त्यसैले मान्छेहरू भविष्यवेत्ताका अगाडि हात पसार्दै भन्ने गर्छन्- ‘लौ न भाग अभाग कस्तो छ हात हेरेर त्रिकालको फल बताइदिनु पर्‍यो ।”

सीमारेखाले देशको वा जग्गा जमिनको सीमाना छुट्याउने काम गर्छ । भूभागको कित्ताकाट गर्न सीमारेखाको सहायता लिने चलन पुरानै हो । मेरो यति, तेरो त्यति हुनुको जडत्तत्त्व नै सीमारेखा हो । सीमारेखा मिचिँदाखेरि दुई देशबिच तनावको स्थिति सिर्जना हुन्छ । दुई मित्र राष्ट्रमा हानाहान तानातानको स्थिति पैदा हुन्छ । अगौटी खोसाखोसको स्थिति पैदा हुन्छ । अपराधजन्य मर्ने मार्ने काम सीमा मिचिँदाखेरि नै मौलाउने गर्छ । सृष्टिकी प्रारम्भ हुँदा जसको शक्ति उसको भक्ति प्रचलनमा थियो । जसका बाहुबलले धेरै सीमा ओगट्न सक्यो, उसैको ठुली देश हुन्थ्यो । नसक्ने लिखुरे कायर कमजोर कामचोरहरूका देश नेपाल भुटान जस्तै सानासाना हुनुको कारण नै सीमा ओगट्न नसकेर हो । नेपालका बडामहाराजाधिराज पृथ्वीनारायण शाहले विशाल नेपालको सीमा कायम गरे पनि मिचाहा मित्रराष्ट्र भारतले मिच्दै लिँदै गरिरहेको छ । कमजोर नेतृत्व, चाकरी चाप्लुसी रुचाउने नेताहरूले नेपालका धेरै सीमाक्षेत्रहरू भारतलाई लुटाइसकेका छन् । आफ्नै सुरक्षाकर्मी कुटाइसकेका छन् ।

पत्याउनु हुन्छ, उहिले उहिले देशका लागि सीमाना भए पनि मान्छे आउजाउ गर्ने सीमाना थिएन । जो जता गए पनि स्वतन्त्रताको शिखर चढ्न पाइन्थ्यो । अहिले मानव अधिकारको झोला बोक्नेलाई समेत यो देशबाट त्यो देश जानु पन्यो भने तत् राष्ट्रको अनुमति र दाम दक्षिणा टकारेर मात्र टेक्न देख्न पाइन्छ । सीमारेखा एक किसिमले भन्ने हो भने काइदाको कलहको बिउ बन्दो रहेछ । भारत शक्ति राष्ट्रले नेपालको सीमा मिचेर हैरान छ । लुट्ने र कुट्नेसँग कसैको केही लाग्दैन । रातारात भारतले नेपालको सीमा मिचेको देख्दा र सुन्दा मनोरोग नै लाग्ला जस्तो भैसक्यो ।

सीमारेखालाई कलहको बिउ या झगडा नै नपर्ने एउटा भरपर्दो उपायका रूपमा पनि वरण गर्न सकिन्छ । सीमा नभएको भए पाकेको भात खान हात धोएर आउँदा भात हराइसकेको हुन्थ्यो । पल्लो घरमा पाकेको भात तल्ला घरकाले खाएर चाटचुट पारिसकेका हुन्थे । धन्न सीमा छर नै भण्डारमा अन्न छ । नत्र भने अर्काको सिदोपिठो चामल चोरेर भण्डार भुँडी फोरेर आफ्नो पेट भर्न सक्थ्यो । त्यो देशका मान्छे यस देशमा पस्थे र ढुक्कले बस्थे । सीमा छ, त्यसैले हामी श्रीमती र सम्पत्ति काखी च्यापेर ढुक्कले निदाउन पाएका छौँ । मनपरीतन्त्रका लागि सीमारेखा बाधक बन्न विवश छ । सीमारेखा खुल्ला हुनु भनेको अराजक गतिविधि हाबी तथा खुल्ला हुनु हो । जसका कारण लुटपाट, चौरचार, फोरफार मौलाउँछ र मान्छेका विरुद्ध मान्छे नै बौलाउँछ । प्रगतिले आकाश चुमेको होस् या गरिबीले धर्ती ढाकेको सीमाभित्र रहेन भने बुढी चोरिने र भुँडी फोरिने डर प्रवल हुन्छ । भोकै नाङ्गै मरे पनि सीमाभित्रै मर्दाको आनन्द अर्कै हुन्छ । सीमा पार गरेर जानु परे त्यस देशको कर, कुरा र कानूनको अक्षरशः पालना गर्ने पर्छ । धार्नीको टाउको छुनुमुनु पारेर छुट पाइँदैन । कर दस्तुर तिरेर कानुन जानून् या नजानून् सीमामा रहेर फड्किन र गएकै भए फर्किन सकिन्छ ।

भाग्यरेखा त्यस्तो रेखा हो जो अरूका अधीनमा हुँदैन र स्वयम् भाग्यरेखा बाहकको अधीनमा पनि हुँदैन । भनिन्छ, भाग्य कसैका अधीनमा हुँदैन । शत्रुले खोस्न र मित्रले दिन पनि मिल्दैन । यो जन्मजातै प्राणीमा प्राण भरिएपछि मासपिण्डमा सँगसँगै कुँदिएर आएको हुन्छ । श्रीमान् श्रीमती छुट्टिन, छुट्याउन मिल्छ तर भाग्य छुट्याउन मिल्दैन । गिँजाबाट दाँत र शरीरबाट हाड छुट्याउन मिल्छ, भाग्य छुट्याउन सकिँदैन । यो मुटुसँगै मिसिएर आएको हुन्छ । हातखुट्टा, आँखा, कान, नाक, त्वचा, अधर, बोलाइ, उठाइ, हँसाइ, हिँडाइ र हेराइमा समेत भाग्य अङ्कित हुन्छ । त्यसैले होला, नेपाल सरकारका कार्यालयहरूमा नियम नै बनाएर हो या पुरानो चलन चालु राखेका हुन् । हाकिमले कर्मचारीको अन्तर्वार्तामा उसका यावत् चालढाल र गतिविधि ख्याल गरीगरी दायाँबायाँ ल्याप्चे धस्काउन बाध्य पारिन्छ र मात्रै नियुक्तिपत्र पाइन्छ । के यी सबै गतिविधि भाग्यमापनका मापदण्ड साबित हुन सक्दैनन् ?

भाग्यरेखा एकलौटी होलसेल फल दिनेदेखि लिएर फुटकर मिश्रित फल दिने पनि हुन्छन् । जन्मदेखि मृत्युपर्यन्त लगायत जीवन भोगाइका आरोह-अवरोह, उकाली ओराली, उल्टो-सुल्टो, घोप्टो-उत्तानो, शत्रु-मित्रु, मानसम्मान, भोगभाग, सन्तान दरसन्तान, ऐस आराम आदि भाग्यरेखाबाटै निक्र्योल गरिन्छ । मान्नुस् नमान्नुस्, भाग्यरेखा त्रिकालदर्शी ऐना हो जुन कुशल दृष्टाले मात्र देख्छ । जसको निचोड र छिनोफानो सम्बन्धित फाँटका प्राविधिकबाट पार लगाउने चलन छ । त्यस्ता प्राविधिकहरू लात्तो लाग्ने किसिमले ओखलमा मुसल/मुस्ली ठोक्दै जिब्रो टोक्दै हत्ती हत्ती हाइ हाच्छिउँ गर्दै काल पर्खिरहेका हुन्छन् । इच्छुक भाग्यरेखा वाहकले नमस्कार गर्दै आफ्नो भाग्यरेखाको क्षेत्रफल भाग्यफल र घनत्व मापन गराउन ढिला गर्नु हुँदैन । किनकि मौका आउँछ, पर्खिँदैन, बगेको खोला फर्किँदैन ।

लक्ष्मणरेखा राम भगवान्का पालामा कोरिएको रेखा हो। यो रेखा रामका भाइ लक्ष्मणले अत्यन्त सुन्दरी भाउजू सीताको सुरक्षाखातिर कोरेका थिए । लक्ष्मणरेखा तन्त्रमन्त्रद्वारा कोरिएको रेखा हो । यो रेखाबाट अर्थात् यहाँबाट उता नजानू भनेर राम-लक्ष्मण मृगको खोजीमा जङ्गल पसे । त्यही बखतमा सीताले रेखा पार गरिन् र रावणले हरण गरेका थिए । नियम अनुशासनकै रेखामा बसेर पाण्डवहरूले द्रौपदीको भोग गरेका थिए । एक वर्ष मात्र एक जनासँग बस्न पाउने नियम नारद ऋषिलाई साक्षी राखेर बनाएका थिए । यसरी बस्दा एकले अर्काको सहवास देखे देख्नेले बाह्र वर्ष वनबास जानुपर्ने नियम बनाएका थिए । इमानदार बनेर पालन पनि गरे तर एकपटक ब्राह्मणका गाईबस्तु लुटिन लाग्दा अर्जुनसँग मद्दत मागे । अर्जुन हतियार लिन दाजु युधिष्ठिर र भाउजू द्रौपदी भएको खोपीमा पुग्दा दाजु र भाउजूको एकान्तबास देख्नु परेका कारण १२ वर्षसम्म घर त्याग्नु परेको थियो । नियम कानुनमा नबस्दा मान्छेले त सास्ती पाउँछ पाउँछ प्रकृतिले समेत वितण्डा मच्चाउँछन् । जस्तो सूर्य, चन्द्र, पृथ्वी र अन्य नक्षत्र ग्रहहरू पनि आफ्नो कक्ष वा रेखामा रहेर नै टहलिइरहेका हुन्छन् । आफ्नो धर्म कर्म निर्वाह गरिरहेका हुन्छन् । अनि यो पूर्ण कद बेहद सुखदायक बन्न सक्छ ।

माथि उल्लिखित विभिन्न रेखाहरूका अतिरिक्त गरिबीको रेखा, सीमान्तकृत रेखा, वक्ररेखा, सरलरेखा पनि हाम्रो समाजमा चलनचल्तीकै रेखा हुन् । हामीले हामै लेखा अनुसारको रेखामा टेकेर बुर्कुसी मारिरहेका हुन्छौँ । जीउ भारी गरीगरी भए पनि हामीले वारिपारि गरिरहँदा नानाभाँतीका रेखाका ताँतीको सामना गर्नुपर्ने हुन्छ । सीमा रेखा, भाग्यरेखा, हस्तरेखा, लक्ष्मणरेखा, भूमध्य रेखा र नाम मात्रको रेखा भए पनि मानव जीवनमा नचाहेर पनि शिरोपर गर्ने पर्ने रेखाहरू हुन् । जुन शत्रु-मित्रु, साना-ठुला, गरिब-धनी, दरिद्र-सम्पन्न सबैले समान रूपले वरण गर्ने पर्छ । हिन्दु सनातन मार्गी, बौद्ध मार्गी, मुस्लिम, क्रिस्चियन सबै धर्मले समान रूपले रेखा शिरोपर गर्नैपर्छ । अहिले एक्काइसौँ शताब्दीमा यी माथि उल्लिखित रेखाभन्दा कमरेखा बलवान् मान्ने जुन अहङ्कार छाएको छ, विश्व जगत् सुखको सास फेर्दै अल्मलिँदै त्यसैमा ढुक्क हुँदै नाम्ते परेको बोकोझै च्याँप फुलाएर जिउमा दुम्सीको झैँ काँडा उमार्दै एकतमासले उग्राइरहेको देख्दा उदेक लागेर आउँछ ।

०००
पोखरा
‘समकालीन साहित्य’ (२०७६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा