साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता

देशमा कहिले सत्मार्ग, सत्ज्ञान छर्ने बुद्ध जन्मने, मण्डेला र गान्धी खोज्ने कहिले ? खुट्टा तानातान गरेर पद नै सबै ठान्ने प्रवृत्ति अन्त्य गरौँ । सबै मिलेर नेता खोज्ने सम्मेलन गरौँ ।

Nepal Telecom ad

धेरै दिन तालुको रौँ झर्ने गरि सोच्दा पनि आफूलाई चित्तबुझ्दो परिभाषा नमिलेपछि म आफैंले देशको माटो सुहाउँदो परिभाषा पत्ता लगाएँ । जो आँतिदैन त्यो नेता । मैले दिएको यो परिभाषालाई कतिले गाली गर्लान्, कतिले आलोचना गर्लान्, कतिले ओठ लोपार्लान् मलाई त्यसमा कुनै टाउको दुखाइ हुने छैन् । बुद्धि भन्दा विवेक नगन्य भएका ज्ञानभन्दा अज्ञान बढी भएका हठी स्वभावका कतै पूर्ण कतै अपूणर् बनेर लेपसिएका नाटकका पात्र जस्तै हुन् नेता । रुचि, गुण, व्यवहार, कार्यशैली हाउभाउ आदि क्षमताले छिपिएको पात्र । दुनियाँले हरिलठ्ठक भनेर चिनेको पात्र ।

बलियोको भिडमा झन् बलियो, दुब्लोको भिडमा झन् दुब्लो पात्र नेता । नेता जसको पनि हुन्छ । बाँदरको फौज हाक्ने नेता, गधा, खच्चड, भेडा, चराचुरुङ्गीदेखि मौरीसम्म नेताको खटनपटनमा खटिने गर्छन् । सबैको सुरक्षा दस्ता नेता । घरदेखि बजारसम्म जतासुकै भेटिन्छन् नेता । चोर, ठग, भलाद्मी, रोजगारी, बेरोजगारी सबैको हस्ताक्षर पात्र । नेतालाई कतै तालीको हार्दिकता कतै गालीको वर्षा । जस अपजसको पोको बोकेर स्वार्थका कनिका खाने पनि नेता । स्वार्थले चिरिएका राजनीतिक दल । सानो मुलुकमा जम्बो मन्त्रीमण्डल, छ्यापछ्यापी सुख सुविधा, पार्टी अनि असरल्ल नेता । समूह, पार्टी, संस्था यिनैले कोरलेका चिचिभुँडी सबै नेता । नेता हुन सरकारी कार्यालयमा योग्यताको प्रमाणपत्र बुझाए झैं न दरखास्त दर्ज गर्नुपर्छ न प्रमाणपत्र चाहिन्छ । अनेकन बितण्डा मच्चाएर मान्छे नेता बन्छ । कोही सबल त कोही दुर्बल । भाग बिलो नपाए आन्दोलन, हड्ताल, चक्काजाम, राँके जुलुसले नेता कोरल्छ । स्तर ध्यान, त्याग अनुसार टाउको, हात, पाखुरा र ज्यानले एक से एक छन् हाम्रा नेता ।

मुन्द्रेदेखि भकुर्नेसम्म सबै सम्मानको र्‍याल चुहाउँछन् र त आ-आफ्नो समूह खडा गर्छन् । हिलोमा फुल्ने कमल शोभनीय हुने ठानी शहरको फोहोरमा रैथानेदेखि आदिवासीसम्म झुत्ती खेलिरहेछन् गुजाराको लागि ।

पहराको लहरे फूल भएर रङ्गिनु त ठिकै हो तर पानीको गहिराइ नाप्नु मुर्खता । कतिका गर्धन रेटेका, कतिका पाउ सेकेका, स्वाभिमानको जरालाई अभिमानको बन्चरोले काट्दै साइरन बजाउने, जुल्फे पनि काकताली परेर नेता हुन्छन् समय समयमा । नेता जाँच्ने न तुलो न तराजु, न फित्ता न मिटर, गुण, स्वभाव, योग्यता, कार्यशैली, लगनशीलता अपच हुने पात्र हो नेता । गुणभन्दा बढी अवगुण भएको नेताको बढी जगेर्ना गरेका छौँ हामीले । सबै गुणले युक्त नेता पाउन मुस्किल छ आजकाल । नेता गतिलो नहुँदा विकासमा सुस्तता छाएको छ । छाडातन्त्र मौलाएको छ । अधिकार भनेको कानुन चिथोरेर नुन छर्नु बुझ्ने हामी लाउके कति छौ यहाँ । जेलमा परेकालाई रेल चढाउन नेतालाई तेल लगाउन पुग्नेदेखि जागिर खुवाउन, रकम असुल्न कसैलाई सपार्न कसैलाई बिगार्न नेता नभै हुँदैन हामीलाई । नेतालाई धिकार्ने हामी जनता धिकार्नु हाम्रो विशेषता ।

आधारबिनाको धार लिएर हठ गर्ने चलन हुन्छ नेतामा । नेतामा सुन्ने क्षमता प्रवल भए पनि हल्लने क्षमता न्यून हुनुपर्छ । आफ्नो क्षमता बलियो भएपछि पासपोर्ट बेचेपनि, रक्तचन्दन ओसारे पनि ठगी गरेर बग्गी चढे पनि कसले लछारपाटो लगाउँछ यहाँ । रेटेका, भेटेका, चढाएका, बढाएका, लडाएका, दौडेका, पौडेका जो जताबाट तर मारेर आएका भए पनि उनीहरू विशिष्ट त्यागी भनेर पुकारिन्छन् । हामी यिनीहरूको उपासना गर्दै केश पकाउछौँ । धूप बाल्छौ र अर्ध चढाउँछौँ । तुलोमा जोखेर माला घुसारी दिन्छौं ।

बिहेदेखि व्रतबन्धसम्म, न्वारानदेखि किरियासम्म यिनीहरूको पाउले आँगन टेकेर पवित्र पार्ने र तस्बिर खिचेर मुस्काउने चलन चलेको छ आजकाल । नेताको फेटामा घुसेर संसदको टिकट खोस्न तँछाडमछाड गर्छन् कतिले । इमानदारीता, पारदर्शिता तर पारेर हिलो, लेदो र सिनोमा लम्पट पर्नु र पाताल पस्नु नेताको आदत हो । लबेदा, सुरुवाल, बुख्याँचा बनाएर तानातान गर्दाको मज्जा मात्र नेतालाई थाहा छ । खोर्सानी आँखामा हाल्नेदेखि काउसो जिउमा फाल्नेसम्म, भट्टीमा जनता पोलेर सत्ताको भर्‍याङ उक्लनेसम्म हाम्रै नेता बनेर सडकमा छारो उडाइरहेछन् । माइक टेबल भाँच्नेदेखि गाला चड्काउनेसम्मका हर्कत गरि हाम्रो मतलाई लात हानिरहेछन् नेताले ।

देशमा नेता धेरै छन् नेतृत्व छैन । सिद्धान्त सिका लगाएर नेता बन्नु कम रवाफिलो छ र यहाँ । ल्याप्चे, थ्याप्चे, हलन्ते, गडन्ते जो भएनि चौथी परेर नेता भै गौरवको झण्डा हल्लाउँदै खोया बिर्केमा फिर्के लाउने नै नेता । अपुताली परेर, पाटे फुटाएर, जोडिएर, फोडिएर, पोतिएर, चेपिएर, नोटिएर नेता हुनेको लर्को बाक्लो । एक व्यक्ति, एक पार्टी, एक नेता, एक मन्त्री, पार्टीको सबै डाडु पन्यौ आफ्नै हातमा । संसद बहिष्कार गर्ने पनि तिनै अवरुद्ध गर्ने पनि तिनै । हाजिर खातामा हस्ताक्षर गरेर तलब बुझ्ने पनि तिनै । गुणस्तरहीन खाद्यान्न जस्तो । जीवनदेखि हारेको यौटा किर्ते हस्ताक्षर नेता ।

तपाईं कतै नेता बन्ने ध्याउन्नमा त हुनुहुन्न ? हुनुहुन्छ भने आफ्नो गुण हेरेर मात्र कुर खोज्नु होला । अपहरण, चोरी, ठगी, बलात्कार हतियार ओसारपसार नगरे नेता हुने सपना नदेख्दै राम्रो । जागिर खान अनुभव, योग्यता, तालिमका प्रमाणपत्र फिँजाए झैँ मान्छे मारेको, कुटेको, लुटेको भष्ट्राचार गरेको धेरथोर योग्यता नभए तपाईं नेता हुने कष्ट नगर्नु होस् । बग्रेल्ती समस्याको बिस्कुन फिँजाएर निश्चिन्त नसुते के को नेता । महँगीले टाउको टेकेर गाँस काट्दै बाँच्नेको बेथा बुझ्ने को ? कुर्सीको बाघचालमा को कसको जालमा कतिखेर जेलिन्छ कसलाई थाहा हुन्छ । बोले पनि नबोले पनि चर्चा नेताको । सञ्चारको संसारमा पिङ खेल्दै पृथक स्वभावमा अल्झेर बकबक गर्दो छ नेता । नेतालाई महामारीले सुदूरपश्चिम निख्रे पनि भोकले आँतिए पनि के भो ? तराई डुबे पनि पहाड पैरोले लगे पनि के । समस्या माथि राजनीति स्थायी जड । सरकारी सम्पत्तिमा हुँइकिने सोख । पुङ्माङ बनेर लघारिनु भन्दा नेता बन्नु कहाँ हो कहाँ जिम्मेवारी । बिदेशी ऋण नाङ्लोमा निफन्दै समयलाई चाल्नोमा छानेर डोकोमा थिग्राउनेको भीड । यहाँ गान्धी बनेर गोली खाने कोही भेटिदैन । अगाडि पछाडि बन्दुकले घेरिएर शान्तिका परेवा उडाउँदा क्रान्तिको राग सुवासिन्छ ।

र्‍याल काडेर जीवन थोत्रो पार्दै अर्घेलो जीवन बाँच्ने हाम्रो नेता हुनु छैन । मलाई लाग्छ नेता हुनु अस्तित्व बेच्नु हो । कानुनलाई आँ गर्न नदिई अपराधका कृष्ण लिला चलिरहेका हरदम । पृथक हुनु नै नेताको परिचय । सबै समान भए के को नेता । श्रम हामी गर्छौ पसिना खाने अर्को हुन्छ । निरङ्कुशता ढाल्दा आफ्नो छातीमा रगत पोतेर उभिएको छ सडक । खै शहीदको सपना कसले मिल्कायो रछ्यानमा । खै द्वन्द्वको घाउको हिसाब किताब ? माडीको मुटु काटेर पिएको रगतको हिसाब खै ? दोरम्बाको छातीमा हानेको गोलीको मुल्य खै ? सबै व्यर्थ । कुलतमा लतपतिएको युवालाई खै गैती, कोदालो, कम्प्युटर खै ? युद्धले खँगारेको मनमा खै शान्तिको शितलता ? अमिलो डकार बाफिलो हरक । भोगटे रोपेर सुन्तलाको स्वाद चाख्न हतारिँदो जनता जनार्दन ।

भोकमा भोक खाएर सडकमा कुङ्लिनेहरू । भरदिन सडक डुलेर जिन्दगी सराप्नेहरू । रोगले आक्रान्त भएर अस्पतालका शैया पर्खिरहेकाहरू । अभाव हरिदिने पेट भरिदिने भोक र रोगको निसाफ गरिदिने, नेप्टे, थेप्चे, मुन्द्रे, फुन्द्रे, रछाने, अचाने, ओखरपाङ्ग्रे जस्तो भए पनि नेता खोजिरहेछन् । पाताल पसेर भए पनि स्वर्ग पुगेर भए पनि नेता चाहियो देशलाई । समस्या सल्टाउने, देश हाँक्ने, सक्षम, स्वाभिमानी दूरदर्शी नेता चाहियो देशलाई । देशमा कहिले सत्मार्ग, सत्ज्ञान छर्ने बुद्ध जन्मने, मण्डेला र गान्धी खोज्ने कहिले ? खुट्टा तानातान गरेर पद नै सबै ठान्ने प्रवृत्ति अन्त्य गरौँ । सबै मिलेर नेता खोज्ने सम्मेलन गरौँ ।

०००
ओखलढुङ्गा
सम्पर्क : ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x