समय अब सङ्लिनु पर्छ
हाम्रा बर्षौं बन्द आँखाहरू आफ्नै पनको सौन्दर्य अनुभव गर्न थालेका छन् अब मौसमले त्यसलाई साथ दिनुपर्छ समय अब सङ्लिनु पर्छ ।
समय अब सङ्लिनु पर्छ
धेरै बग्यो धमिलो पानी
धेरै अमिलो भो जिन्दगानी
बेकारमा बिते उर्जा र जवानी
समय अब सङ्लिनु पर्छ ।
तातो बालुवामा उठेका फूलहरू जस्तो
लवस्तरा शब्दहरू जताततै पड्किरहे
बन्दकी खुशीहरू
आशामुखी झ्यालखानामा
जीवन जन्जीरभित्र धेरै रोए
तर धेरै भयो निराशाको हुस्सुभित्र हराएको
मौसम बदलिनुपर्छ
सम्भावनाले गतिलिनु पर्छ
समय अब सङ्लिनु पर्छ ।
अभावलाई बन्दुक बोकाएर
निमुखा मार्ने खेल अब खेल्नुहुन्न
भ्रमलाई सपना बनाएर
यथार्थलाई अकर्मण्यताले छेल्नुहुन्न
सीमाहीन आतङ्क अझै छरपष्ट छ मनभरि
पहिले नै आशंकाले रएल्नु हुन्न
अँधेरा गल्छेंडाहरूमा
बिस्तारै घामलाग्न दिनुपर्छ
समय अब सङ्लिनु पर्छ ।
जस्तोसुकै झुप्रोभित्र बाँचे पनि
जस्तोसुकै पीडाभित्र हाँसे पनि
स्वाभिमानको न्यानो बर्को कसैले एकैक्षण ओढाइदिंदा
हाम्रा बर्षौं बन्द नाकहरू
आफ्नै धरातलको सुगन्ध महसुस गर्न थालेका छन्
हाम्रा बर्षौं बन्द आँखाहरू
आफ्नै पनको सौन्दर्य अनुभव गर्न थालेका छन्
अब मौसमले त्यसलाई साथ दिनुपर्छ
समय अब सङ्लिनु पर्छ ।
०००
गौरादह, झापा