सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लात !!

खेलिरहेको विद्यार्थी,  बोलिरहेको छोरो, पिइरहेको ज्वाइँ, उँघिरहेको पाले, खोजिरहेको पत्रकार यी सबैलाई तर्साउने आधार लात नै बनेको छ । अहिलेसम्म लात के हो त ? त्यो भने तपाईंकै जिम्मा ।

Nepal Telecom ad

रङ्गढङ्ग मिलेमिलोस नमिले भुत्रैसित । शिर पुच्छर तन्काएर कसैलाई खुट्टो उझाउनु लातको नाता हो । रीसको रन्कामा दाहिने वा देब्रे खुट्टो कसैमाथि निर्विवाद बजार्नु लात होला । समाजमा अनेक प्रकृतिका लात्तेहरू छरपस्ट छन् । स्तर हेरी, सिरान फेरि झोकमा बजारिहाल्छन् ? सकेसमम सत्य काममा नभए आफ्नो भित्री छलछामको थाँक्रो अड्याउने टाउके उद्देश्य यसले बोकेको भान हुन्छ । लातकै सहाराले लात्तेहरू बाँचेको अनुभूत गर्दछन् । ठाउँ न ठहर झ्याप्लीको रहर भनेझैँ तान न तुलमा लातको उदाहरण दियो भनेर तपाईँ मसँग झन्कनु होला । मलाई फेला नपार्दा अँगेनीमा जोत्या ठुटोझैँ पड्कन पनि बेर नलाग्ला । तपाईंलाई के थाहा लात्तेहरू कस्ताकस्ता छन् । फेरि रीसको पारो तपाईँको ह्वात्तै बढ्ला । मलाई नजान्ने बनाउने ताकत तैँले कहाँबाट आर्जन गरिस् भनेर । तपाईँ झोक्किनु हुन्न भने म भनौँ । फेरि रन्कनचाहिँ मनाही छ । फन्कन भनेसम्म तपाईँको स्वतन्त्रतालाई म खोस्न सक्दिनँ । खोस्न खोजे पनि तपाईँ लर्तरो पाराले हट्ने मान्छे हुँदै होइन मलाई थाहा नभएको हो र !

बिहान उठेर मशाल बाल्दै हिँड्नोस् त कस्ताकस्ता लात्तेहरू झुल्किन्छन् । समाजमा अहिले प्रचुर प्रकृतिका लातहरू पचाएर लात्तेहरू बौरिएकाछन् । घोडे लात, जोडे लात, होडे लात, भैँसे लात र कुखुरे लात कतिकति । छिन्लाञे मा.वि.को प्राङ्णमा सम्साझैँ गाउँका चेली जिस्क्याउने रने माहिलो देखेर माझ घरे पाछपुछे आगो बन्छ । थालमा हाल्दियाजति सबै पाछपुछ गरी खाने हुनाले उसको नाम पाछपुछे राखिएको थियो । धेरैपटक उसको चालामाला बुझेको उसले रिसको आगोले जल्दै उसको नजिक पुग्छ र भएभरको ताकत सँगालेर बजाउँछ । बिचरो रनेको झन्डै प्राणपखेरु चिलिमच्वाँट भाथ्यो । गाउँमा गाइँगुइँ चल्यो रनेले आज घोडेलात भेट्यो । तेरी बहिनीलाई डाँडाघरे बर्नेले उडायो । आज बसमा हालेर काठमाडौँ कुदाइसक्यो । त्यो सुनेर रीसको आगो शान्त पार्न सकेन बल्ढ्याङ्ग्रेले ।

एयरपोर्टमा सुरक्षामा खटिएको बेला परेछ । हाकिमसँग विदा मागेर लोकन्थलीमा गाडी पर्खेर बस्यो ऊ । दैवसंयोग त्यही बेला गाडी आइपुग्यो । भित्र पसेर हेर्दा त बहिनीको चालामाला देखेर लात्ती उझायो बेर्नेमाथि । अरु पाइनस र मेरै बहिनी दाग्ने भन्दै बजाएथ्यो बल्ढ्याङ्ग्रे । जोडा बनाएकै दिन जोडे लात तात्तातै भेट्टायो बेर्नेले । कन्सुत्ले र गड्यौँले गाउँका नामी काक्राचोर थिए । बाबुआमाले उनीहरू साना छँदै सिलटिमुर खाइसकेका थिए । माख्लाघरे काकाको घरमा आश्रय पाएका थिए तिनीहरूले । हुर्किएपछि लामो हात गर्ने बानी उनीहरूमा पलाएको थियो । गाउँघरका मानिसहरू उनीहरूका चोरीकर्मबाट सशञ्कित थिए । कुनै न कुनै बेला गाउँलेहरू उनीहरूलाई रञ्गेहात पक्डन आतुर थिए । नभन्दै एक दिन चौतारिमा गाउँलेहरू गफ गरिरहेको बेला लुले ढकालको काँक्राको झाल हल्लियो । पूजनेले शञ्का गर्‍यो सक्कै काँक्रो चोर आइपुग्यो । सबैजना कराउन थाले समात समात !! तल्लो र माथ्लो गह्रा हुँदै चोरको प्रमाण फेला पार्न कुदाकुद मच्चियो । नभन्दै चिम्से विष्टको कटेरोभित्र काँक्रोसहित समातियो कन्सुत्ले । गँड्यौले अझै फरार । खोजेको प्रमाण फेला परेपछि एकपटक सबै जिल्लिए । मान्द्रेले एकलात्ति के बजाएथ्यो कन्सुत्लेलाई । सबैले पालैपाले लात बजाथे कन्सुत्ले माथि । ऊ उत्तानो परेर मरेझैँ भयो । पुर्सिङ्गेले अगाडि बढेर भन्यो कसले बढी गोद्ने भन्न होडले गरी यस्तो भयो होडको लात पायो कन्सुत्लेले ।

कन्कुथी माइली बेपत्तै मापकी थिई । पँधेरामा पुग्नासाथ उसलाई कसैको पालो सोध्नु पर्थेन । ऊ आउनासाथ टेढो नजरले हेर्थे पँधेर्नीहरू । उसलाई यस्ता कुराको कुनै मतलव थिएन । कहिले ढिँडापानी उम्लिसक्या, कहिले तिहुन डढ्या कहिले हात चुठ्ने पानी नभाको भन्दै पालो मिच्ने उसको शैलीलाई आज टुँडालघरे मनपराले सहँन सकिनँ । निमेषभरमा जगल्ट्यार के फालेकी थिई उसले । सबैले अगाडि, पछाडिबाट खुट्टाले हातले हान्न थाले सामान्य तालिम पनि नपाएका महिलाहरूले लात्ताले हान्न खोज्थे । धेरै आफ्नै फरियामा अल्झी भुइँमा डञ्रञ्ग पर्थे । त्यहीबेला आइपुगेको माटे कान्छाले छुट्यायो । भैँसीले हान्याजस्तो तालले पनि केही हुन्छ । गिज्यायो उसले । डन्डिबियो खेल्दै गरेका केही किशोरहरू विवादी भेलमा होम्मिए । भुटौरेले भुल्यायो हाम्लाई । उसको तीन बीसमात्रै थियो अहिले नौबीस भन्छ-

कटुसे काहिँलो करायो । भुटौरे र कटुसेको रन्कारन्कीमा अरु पनि मुछिए कता कता ! अन्त्यमा बेपत्तैको बालयुद्ध मच्चियो । त्यतिवेला मुनिघरे बाघमारे काका देखापरे । केको कुखुरे जुधाइ हो यो सबै लात हान्याहान्यै छौँ । सबै एकै छिनलाई अल्मलिए ।

यी माथिका लात सामाजिक जीवनका पेचिला र निम्छरा उदाहरण मात्र हुन् । यिनले राष्ट्रिय जीवनलाई त्यति प्रभाव पार्दैनन् । तपाईं राष्ट्रिय मामलालाई नियाल्नुहुन्छ भने म उदाहरणको बम्फस्योल बिस्कुन लगाइदिन सक्दछु । नेपालको इतिहासलाई साक्षी राखेर गम्दा अनेकौँ लातको मारमुङ्ग्री नेपालीहरूले थाप्लामा सँगालेका छन् नि ! जङगे लात, जुद्धे लात, सत्रसाले लात, अन्ठाउन्नसाले लात, बामपुड्के लात, लामखुट्टै लात, बाघजुङ्गे लात, खोर्साने लात आदि आदि ।

युवराज सुरेन्द्रलाई ललाइ फकाइ श्री ३ को माला भिर्ने जङ्गेको करामतले के जहाँनियाँ शासन जन्मेको हाेइन त ? बङ्गलादेशमा परेका केही भू-भाग हाल स्वतन्त्र छन् । तिमीहरू दावी गर हामी मिलाइदिन्छौँ । अङ्ग्रेजहरूले पाँचपटकसम्म भनेका थिए । सुरासुन्दरीको भूलभुलैयामा लागेर देशलाई भू-परिवेष्ठितको साङ्लोमा बाँध्ने जुद्दे लातले के देशलाई नडुबाएको हो त ?

प्रजातन्त्रको घाँटी निमोठ्दै दुईहजार सोह्र सालमा नेपाली जनताको भावनामाथि कुठाराघात भयो । यदि सत्र सालमा प्रजातन्त्र खोसिएको थिएन भने प्रजातन्त्र प्रौढ भइसक्थ्यो । उही कारणबाट अधकल्चो धामी बोक्सीको एक गाँस भनेझै आज शिशु प्रजातन्त्र फल्नफुल्न नपाउँदै … । त्यसै गरी बामपुड्केको आधा प्रतिगमनको लात । बाघजुङ्गेको अन्तिम ध्येय भन्दै अन्त्यमा सम्झैतारुपी लात, लामखुट्टेकोको बामपन्थी धुल्याउने षड्यन्त्ररुपी लात र खोर्सानेको अदालतको फैसलाको लात हसुर्दै आज नेपाली जनता वाक्क दिक्क भएका छौँ । तपाईँहरू धार्मिक प्रसङ्गतर्फ ध्यान एकोर्‍याउनुहुन्छ भने त्यस्ता हजाराैँ प्रसङ्गको लात पस्कन सक्दकछ । जस्तैः

कैकेयी लात, दुर्योधने लात, दुशासनते लात, रावणे लात, दुर्वासे लात, जरासन्धे लात, कालयवने लात, मचुकुन्दे लात अझै फुकाउनुपर्ला त पोको-पुन्तुरो । लातको प्रसङ्ग, वेप्रसङ्ग, सन्दर्भ र उदाहरणको बग्रेल्ती ठेली दिन सकिन्छ । धार्मिक, अधार्मिक, इतिहास, व्यवहार हरक्षेत्रमा लातको खातैखात बटुलिएको छ । प्रजातान्त्रिकेदेखि अप्रजातान्त्रिकेहरू समेत अमोध अस्त्र ठानी पूजा गर्दछन् । गन्थन, मन्थन, छलफल, कुराकानी र भलाकुसारीमा लातकै घुमाउरो पाराले प्रशंसा हुने गरेको छ । यसको एकमात्र ओखतीले धेरैको भुँडी फुलेको गर्धन र पाखुरीमा बोसो जमेको छ भन्न मिल्ला कि ?

यहाँलाई लाग्ला यसले लातको समर्थन गर्‍या हो कि विरोध ? लातले उन्नति हुने हो कि अवनति ? तपाइँ अझै निधार चाउरी पार्नुहोला, लातको सत्तोसराप गर्नेहरू उँभो लाग्लान् कि उँधो ? मैले नढाँटी भनेको हाम्रो देशमा लात र वातको प्रयोगबाट नाक फुलाएको र फाइदा काबुमा पारेको छनक मिल्दैन त ? इतिहासका पाना पल्टायौँभने अधिकांश राजनेता र राजनेतीहरू लातको जोर जबर्जस्तीबाट मौलाएका छैनन् ? मुटु अलि लुलो हुनेहरू कडा वातको काबूमा लुकेकै छन् । भित्र थुप्रै स्वार्थको पुलिन्दा बोकेर पनि लातको त्रास र वातको आघात हजम गर्ने सामथ्र्य नहुँदामात्र धेरै मानिस सुध्रिएको देखिन्छ । दह्रो पेलाइ सहनुपर्ने भएर कुरा सुन्न नसक्नेहरू वातको प्रभावबाट निचोरिएकै छन् भनिन्छ ।

मैले आरोप थोपर्नमात्र खोजेको हैन । आज हामी नेपालीले आफ्नो स्वचरित्र यही दुईवटा भुँडीवाललाई सुम्पिँदै छौँ कि ? तर यही प्रवृत्तिले हामीलाई इतिहासले समेत धिक्कारिरहेको कुने पत्तो छ कि ? तानाशाहको अचुक अस्त्र लात र वातको छिनाझप्टीमा असल नागरिक बन्ने लक्ष्य ओझेलमा पर्ने हो कि । तर्क यति हो थोरै घटना इतिहास र परिघटना स्वभाविक र निरन्तर होलान्, नभए अधिक नेपाली चरित्र यसैको सेरोफेरोमा टुपी तानिरहेछ ।

तपाइँलाई बम्कन मन लाग्ला यो बबुरो लेखकसँग । तेरा लेखमा पनि लेख्न नहुने कुरालाई लात् मार्दै हुने हुने कुरा मात्रै लेखिस् भनेर तपायँले मलाई भन्न के बेर । यो पनि लातकै भोको रहेछ भन्दै देखाइदिइहाल्नुभो भने के गर्ने ? सुख र दुःख जन्मनु, सर्वत्र कुस्ताकुस्ती झल्कनु, छरपस्ट मामलामा लातको यो रुप र ऊ रुप देखा परिहाल्छ । खेलिरहेको विद्यार्थी,  बोलिरहेको छोरो, पिइरहेको ज्वाइँ, उँघिरहेको पाले, खोजिरहेको पत्रकार यी सबैलाई तर्साउने आधार लात नै बनेको छ । अहिलेसम्म लात के हो त ? त्यो भने तपाईंकै जिम्मा ।

०००
सिन्धुपाल्चोक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कन्जुस्याइँ

कन्जुस्याइँ

देवीप्रसाद चापागाईं
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं
अङ्ग प्रत्यारोपणको भूकम्प

अङ्ग प्रत्यारोपणको भूकम्प

देवीप्रसाद चापागाईं
दैले ‘द’ को डुक्र्र्‍याइ

दैले ‘द’ को डुक्र्र्‍याइ

देवीप्रसाद चापागाईं
खुचिङ

खुचिङ

देवीप्रसाद चापागाईं
लुतो

लुतो

देवीप्रसाद चापागाईं
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे