मीनप्रसाद लामिछानेबजेट भाषण
बजेटमा भएका अन्य व्यवस्थाहरू यथावत् छन् । ठुला व्यापारीहरूबाट हिस्सेदारीको स्पष्ट वचन बद्धताका साथ अनुरोध भै आएमा सदाझैं करका दरहरूमा हुने हेरफेरको सम्भावनालाई कायम राखेको छु । हस् त ।

मीनप्रसाद लामिछाने :
सभानाक महोदय,
मैले यहाँ अनर्थ मन्त्रीको हैसियतले हिजो आर्थिक बर्ष ८०/८१ को अनुमानित व्यय र आयको विवरण प्रस्तुत गरिरहँदा एउटा पाना अर्को पानासँग टाँसिएर पल्टिन गएकाले वाचन गर्न छुटेको व्यहोरा सगर्व जानकारी गराउँदै उक्त छुटेको पाना वाचन गर्न उपस्थित भएको छु ।
यस अवसरमा पुनः
क्रान्तिका नाममा कुरै नबुझी ज्यान फाल्ने,
आफू भोकभोकै बसेर हामीलाई पाल्ने
हाम्रा कुरा पत्याएर हामीलाई भोट हाल्ने
र हामीलाई लगेर सिंहदरबारको कुर्सीमा बसाल्ने
सबैमा सबैमा सर्वप्रथम नियमानुसार श्रद्धाञ्जली, सहानुभूति एवं बधाई दिन चाहन्छु ।
आगामी आर्थिक वर्षको बजेट कार्यकर्ता पाल्न मनग्गे रकम दिएर सांसदहरूको मनोबल उच्च राख्ने, माननीय मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूलाई माग भए बमोजिमका सबै सुविधा उपलब्ध गराएर तिनका जीवनशैलीलाई राजकिय बनाउने एवम् बाँकी ठेउकेहरूलाई त्यसैमा रमाउने र ताली बजाउन लगाउने कुरामा लक्षित छ ।
शिक्षामा उदारकक्षा उन्नतिलाई अबलम्बन गरिने छ जसबाट जोडघटाउसम्म गर्न नसक्ने र आफ्नो नाम पनि लेख्न नसक्नेले पनि बाह्र कक्षासम्म पास गर्ने छन् र तिनले स्वदेशमा केही गर्न सक्ने छैनन् । अतः तिनलाई खाडी मुलुकमा भेंडा चराउन पठाएर मनग्गे रेमिट्यान्स झार्ने र त्यसैमा भुरेटाकुरे सबै नेताले तर मार्ने लक्ष्य राखेको छु ।
सभानाक महोदय,
युवाहरू कमाउन विदेश जाने भएपछि गाउँघरमा बुढाखाडा, केटाकेटी र महिला मात्र हुने भएकाले तिनको रेखदेखका लागि टोल टोलमा बृद्धाश्रम, आमाघर र मामाघर बनाउने र त्यसको लागि लाग्ने खर्चका लागि छिमेकी मुलुकसँग ङिच्च दाँत देखाउने लक्ष्य राखेको छु ।
“एकघर, एक जग्गा दलाल” नारालाई आत्मसात् गर्दै जग्गा प्लटिङ गरेर बेच्ने कार्यलाई तिब्रता दिइने छ र त्यसका लागि सस्तो ब्याजदरमा मागे जति ऋण प्रवाह गर्न ब्याङ्कहरूलाई निर्देशन दिने र ऋण असुली नभएर बैंक डुब्ने अवस्था आए तिनलाई मर्जरमा जान दबाब दिने नीति प्रस्ताव गरेको छु ।
स्कुल कलेज पढ्दै गरेका बेरोजगार विद्यार्थीहरूको ध्यान हाम्रा काम कार्वाहीतिर नपरोस्, तिनले देशमा ब्याप्त अझ हाम्रै कारणले सिर्जित बेथिति, बिसङ्गति र भ्रष्टाचारको बिरोध गर्न नसकुन्/नभ्याउन भनेर गाउँ गाउँमा र शहरका ठाउँ ठाउँमा डेटिङ सेन्टर निर्माण गर्ने, त्यसमा वाई फाई फ्रि गर्ने र प्रवेश शुल्क समेत नलिने व्यवस्था बजेटमा मिलाएको छु । त्यसका लागि लाग्ने बजेट तत् तत् ठाउँमा जाने खानेपानी, सडक, विद्युत आदिको अनुदानबाट काटिने व्यवस्था मिलाएको छु ।
कार्यकर्ताहरूको लगानी र त्यागलाई मध्यनजर राखेर स्थानिय स्तरमा रहेका विभिन्न संघ संगठनहरूको नेतृत्व दलिय भागबन्डा मिलाई तिनैलाई दिने र तिनको भरणपोषणका लागि टोल टोलमा हुने विकास निर्माणका आयोजनाहरू जिम्मा दिने र अनुगमन नगर्ने नीति प्रस्ताव गरेको छु ।
बेईमानीहरूलाई आफ्ना सिर्जना मार्फत सिस्नुपानी लगाउने भन्दै नेपालका केही साहित्यिक संघ संस्थाहरू समेतले सिस्नु बोकेर हिंड्न थालेकाले यसको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालको मौलिक पहिचान बोकेको सिस्नुबाली प्रबर्धनका लागि अनुदान दिने गरि बजेटमा व्यवस्था मिलाएको छु ।
“समाचारमा जोड दिउँ घर घरको खबर लिउँ” भन्ने नारालाई सफल पार्न घरघर डुलेर अर्काको कुरा काट्ने र होटेल, चोक चौतारामा बसेर बाह्र सत्ताईस कुरा छाँट्ने बेरोजगार नेपालीहरूका लागि विशेष प्रोत्साहन भत्ताको ब्यवस्था मिलाएको छु ।
उपर्युक्त कार्यलाई प्रभावकारी ढङ्गबाट सम्पादन गर्न बजेट व्यवस्थाका लागि चिहान अर्थात मसानघाट कर उठाउने, मर्निङ वाकमा जानेहरूले निश्चित शुल्क तिरेर अनिवार्य पास लिनुपर्ने व्यवस्था गर्ने, पास्नी, ब्रतबन्ध, विवाह आदिमा भएको खर्चको दशांस राज्यलाई कर तिर्नु पर्ने, जनजातीहरूले ससुराली जाँदा सगुनको रुपमा एउटा कुखुरा र एक बोत्तल रक्सिसम्म लगेकोमा कर नलाग्ने र त्यो भन्दा बढी भए राज्यलाई कर तिर्नुपर्ने, बाहुनहरूले पनि पाएको दक्षिणा भेटीमा आधा राज्यलाई कर तिर्नु पर्ने प्रस्ताव गरेको छु ।
राज्यको ढुकुटी बलियो नभै हामी धनी नहुने भएकाले यसवर्षदेखि “समयमा राज्यलाई कर तिरौं, बेकुफ नागरिकको ट्याग भिरौं” भन्ने नाराका साथ कर सप्ताह मनाइने छ र जसले सबभन्दा बढी कर राज्यलाई बुझाउँछ, त्यसलाई भुटानी शरणार्थी बनाई अमेरिका, बेलायत आदि देशमा पठाउँदा लाग्ने शुल्कमा आधा छुट दिने व्यवस्था मिलाएको छु ।
बजेटमा भएका अन्य व्यवस्थाहरू यथावत् छन् । ठुला व्यापारीहरूबाट हिस्सेदारीको स्पष्ट वचन बद्धताका साथ अनुरोध भै आएमा सदाझैं करका दरहरूमा हुने हेरफेरको सम्भावनालाई कायम राखेको छु । हस् त ।
धन्यवाद, नमस्कार ।
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest








































