देवीप्रसाद मिश्रबुढ्यौली काव्य (शृङ्खला- १९)
उब्जेका दिलभित्र सत्य मनका जेठा बुबाका कथा । देवीले दिनरात सुन्दछ उता राख्दै छ त्यस्तै यता ॥

देवीप्रसाद मिश्र :
(अधिकारका दायरा)
साठी वर्ष कटेर पार गरिए मान्छे बुढ्यौली भयो ।
आफ्नो बाल्य,युवा ,र प्रौढ,पथको अध्याय पूरा भयो ॥
भन्ने तथ्य छ सत्य आउँछ यता हाम्रो बुढ्यौली हक ।
हेर्दाभित्र पसेर यो विषयमा छन् भेद अत्याधिक ॥९१॥
साठी पार गरी अझै शय उता काटेर अग्लो सिँढी ।
चढ्ने व्यक्ति असङ्ख्य छन् समरमा हाम्रा बुढ्यौली पिँडी ॥
पाएको सुविधा न छोड्दछ कुनै त्यो साठी वर्षेजन ।
धाएको शय वर्षकासँग उतै देखिन्छ सेवा लिन ॥९२॥
साठी नै नपुगी अशक्त छ कुनै रोगी बिरामी बनी ।
काट्दै हुन्छ बरा पला कहरमा मिल्दैन सञ्जीवनी ॥
यस्ताका बिचमा अलौकिक बुँदा हून् नीतिले सार्थक ।
होलान् वृद्धसमान प्रौढ वयमै पाऊन् जियालो हक ॥९३॥
अर्पेको सरकारबाट सुविधा झन् पारदर्शी बनोस् ।
घोटाला हुनुहुन्न यो विषयमा नेतृत्व सङ्लो बनोस् ॥
वृद्धावृद्ध अशक्तनिम्ति गरिने सद्भावनाको हक ।
यो आस्वादित हुन्छ गाउँ तहमा राख्दा स्वयंसेवक ॥९४॥
होस् राम्रो सरकारको नजर झन् आऊन् नयाँ चेतना ।
टड्काला जति छन् अशक्त जनका भागून् सबै वेदना ॥
उब्जेका दिलभित्र सत्य मनका जेठा बुबाका कथा ।
देवीले दिनरात सुन्दछ उता राख्दै छ त्यस्तै यता ॥५!!
(क्रमशः)
०००
२०८०/२/१४
ताप्लेजुङ, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































