सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फिलिमरोग

‘तिम्रो फिल्म अरूको भन्दा भिन्न किन छैन, भिन्नै छ नि ! तिम्रो गाउँको सिनेमा हलमा नै हेर न । हलमालिक गेटमा बोरा लिएर बस्छ । दर्शकहरू ढक्कीका ढक्की धान दिएर तिम्रो फिलिम हेर्छन् ।’ म हाँस्छु ।

Nepal Telecom ad

विवश पोखरेल :

‘हेलो, कलाकार मित्र । कता ?’ मेरो कलाकार मित्र टुई- टुई हुईकिंदै थियो । मैले उसको रफ्तारमा ठ्याक्क ब्रेक लगाएँ ।

‘स्टुडियो पुगेर आएको यार । डबिङ थियो ।’ ऊ टक्क अडियो र हात मिलाउँदै जवाफ दियो ।

‘अनि पैदल ?’ मैले सोधे ।

‘हैन- गाडी थियो, आज डाइरेक्टरले लग्यो । ट्याक्सी पाइएन ।’ उसले गफ दियो । मलाई थाहा थियो, उसले गफ दिन्छ, त्यसैले मैले सोधेको थिएँ उसलाई । म उसको गफाडी स्वभावसँग पूणर् परिचित थिए । कलाकार मेरो मित्र मात्र नभएर गाउँले पनि हो । गाउँमा उसको सिनेमाहल छ । पहिले ऊ गाउँमा नै सिनेमा हल चलाउँथ्यो । सिनेमाहलमा सिनेमा हेर्दाहेर्दै उसलाई हिरो हुने भूत सवार भयो र जिम्दार बाबुलाई आकाशपाताल देखाएर आफ्नै लगानीमा सिनेमा बनाएर हलमालिकबाट हिरो भयो । हिरो हुने हुँदा बाबुको जिम्दारीसँगै जग्गाजमिन पनि स्वाहा भयो । अचेल उसले बनाएको फिलिमको पोस्टरभन्दा लामो बैंक कर्जा र ब्याजको सूची उसको सिनेमाहलमा टाँसिएको छ र पनि गफ उसैको ठूलो छ ।

‘अनि अहिले के गरिँदैछ ? के छ नयाँ फिलिम ?’ म सोध्छु । ऊसँग गफ गर्न बढो रमाइलो लाग्छ । इन्डियाबाट छे महिने छुट्टीमा आएको लाहुरेको जस्तै हुन्छ उसको गफ- ‘के गर्ने काका । मुसाफिर आदमी- पन्ध्र वर्ष केलकेटा, सत्र वर्ष शिमला, तेइस वर्ष कश्मिर बसियो’ भन्ने गफ दिँदादिँदै ऊ बसेको अवधि उसको उमेरभन्दा पन्ध्र-बीस वर्ष नाघिसकेको पनि थाहा नहुने ।

‘मेरो एउटा फिलिम ‘डबिङ’ हुँदै छ । अर्को फिलिम एक हप्तापछि गाउँको आफ्नै हलमा चल्दै छ । अर्को फिलिमको बैशाखको तेस्रो हप्तादेखि पोखरामा सुटिङ छ ।’ ऊ आफ्नौ फिल्मीयात्राको लामो फेहरिस्त सुनाउँछ । खै ! तिम्रो एउटै फिलिम पनि हिट भएन यार । कमसे कम फिलिम बनाइसकेपछि खर्च त उठाऊ । तिम्रो बुबा ‘छोरोले फिलिम बनाउने भएर डुबायो’ भनेर सधै गन-गन गर्नुहुन्छ ।’ म थप्छु ।

‘ल तिमीहरू नेपाली फिलिम भनेपछि हेर्दै हेर्दैनौ । खालि कमेन्टमात्र गर्छौ । अहिलेसम्म मैले बनाएको फिलिम राम्रै चलेको छ नि । मेरो फिलिम ठूल्ठूला सहरमा कम.गाउँमा ज्यादा चल्छ । पिताश्री कुरै बुझ्नुहुन्न । धान बेचेकोजस्तो सिनेमाको पैसा हवात्तै एकैचोटि कहाँ आउँछ ? बिस्तारै-बिस्तारै आउँछ नि, कछुवाको गतिमा ।’ ऊ प्रतिवाद गर्छ । मेरो मित्रको जवाफले मलाई एकैचोटि गाउँको उसको सिनेमाहलमा पुर्‍याउँछ ।

बीच खेतमा ठड्याएको सिनेमा हल । उसका पिता श्री विचरा छोराको फिलिम चलाउन सिनेमा हलको गेटमा बोरा लिएर बस्छन् । विशेष सुविधा दिएको छ सिनेमाहलले सिनेमाप्रेमी गाउँलेहरूलाई । सिनेमा हेर्न पैसा चाहिँदैन । विचरा गाउँलेहरूसँग कहाँ हुनु सिनेमा हेर्ने पैसा । थर्डक्लासमा बसेर सिनेमा हेर्ने भए एक ढक्की (डालो) धान दिए पुग्छ । सेकेन्ड क्लासलाई दुई ढक्की, फस्टक्लासलाई तीन ढक्की । टन्टै खलास । न त टिकट काट्नुपर्ने झन्झट, न त टिकट च्यात्ने । गेटमा खुसुक्क धान दिनुस्, लुसुक्क छिर्नुस् । र पनि गाउँमा चल्छ मेरो फिलिम उसकै गफ माथि छ । हलमा काम गर्ने विचराहरू तलब नपाएर पलायन भएका छन् । कोही रिक्सा चलाउँछन्, कोही ठेला । कर कार्यालय र बैकले हल र घर ताला लगाउने पीरले विचरा बुढावा रातभरि सुत्दैनन् ।

साँच्चै नै नमीठो लाग्छ गाउँ सम्झँदा । गाउँमा मेरो एकजना डाक्टर मित्र छ । गाउँ नछोडी मियो भएर बसेको । कहिलेकाहीँ भेट्छु म उसलाई । विचरा जो प्रसव वेदनाले पीडित महिलालाई प्रसब गराएवापतको डाक्टरी फिस रक्सी खाएर सघाउँछ र पनि गाउँ प्रिय छ उसका लागि । सरकारी हेल्थपोस्ट त छ नि गाउँमा ! तर, डाक्टहरू सहरमा क्लिनिक चलाएर बस्छन् । कहाँ भेट्नु डाक्टर कम्पाउन्डर । सिङ्गो हेल्पोस्ट पिउनले चलाउँछन्, चलाउँछन् पनि के भन्नु रुड्छन् । कहिले बाघचाल खेलेर, कहिले लुँडो खेलेर र दराजमा दुईचार थान ढाल र गुलाफबाहेक औषधि नास्ति । बस्दा बस्दा अल्छी लागेर कहिले त ती ढाल पनि उनीहरू नै फुकेर उडाउँछन् । र पनि सरकार, नेता, कलाकार, व्यापारी, एनजीओ र आइएनजीओ सबैको लक्षित क्षेत्र गाउँ नै छ । गाउँ सधै आफू ओरालो झर्छ र अरूलाई उकालो चढाउँछ ।

‘के गर्नु, तिमीहरूको फिलिम- चोलीको पिछे क्या है गीतमा लाखे नाचेजस्तो छ । सत्रवटा हिन्दी फिलिम घोलाघाल पारेर एउटा फिल्म बनाउँछौ । फिलिमले ताने पो हेर्नु ।’ म फेरि ठुङ््छु उसलाई ।

‘यसपालिको मेरो फिलिमचाहिँ हेर न, तिमीलाई चित्त बुझ्छ । अरूको भन्दा बेग्लै छ । मैले यसपल्टको फिलिममा नयाँपन दिन खोजेको छु ।’ ऊ फुर्ती हाँक्छ । सधैं दिने गरेको रेडिमेड फुर्ती । जुन प्रायशः सबै सिनेमा बनाउनेहरूले दिन्छन् ।

‘अनि तिम्रो यसपालि रिलिज हुने फिलिममा हिरोचाहिँ को छ नि ?’ म पुनः कोट्याउँछु उसलाई ।

’अलिकति लजाउँछ ऊ र जवाफ दिन्छ को हुनु, आफै त हो नि ! के गर्ने यार ! मेरो फिलिमको स्टोरीले नै चकलेटी हिरोको माग गरेको छ । अहिले फिल्म इन्डस्ट्रीजमा मबाहेक अरू चकलेटी हिरो नै को छ र ! सबै बूढा छन् ।’ ऊ हाँस्छ ।

’अनि स्टोरी कसको ?’ म जिज्ञासा राख्छु ।

‘स्टोरी मेरी मिसेजको हो । सोलिड छ यार ! जे होस् ऊ राम्रो स्टोरीराइटर । नेपाली फिलिममा आजसम्म यस्तो स्टोरी लेखिएको छैन ।’ ऊ आफ्नो फाँइफुट्टी अझ बढाउँछ ।

‘अनि गीत सालाको संगीत जेठानको पटकथा सम्वाद ससुराको होला हैन ।’ म ब्यङ्ग्य कस्छु । ‘नजिस्काऊ न यार ! तिम्रो यो व्यङ्ग्य हान्ने स्वभाव अझै गएको छैन ?’ ऊ अप्ठ्यारो मान्छ ।

‘वास्तवमा तिम्रो फिल्म अरूको भन्दा भिन्न हुन्छ ।’ म अलिक नरम हुन्छु । ’मेरो फिलिम अरूको भन्दा भिन्न किन छ भन त ?’ मेरो नरमपनले अलिक उत्साहित हुन्छ ऊ ।

‘तिम्रो फिल्म अरूको भन्दा भिन्न किन छैन, भिन्नै छ नि ! तिम्रो गाउँको सिनेमा हलमा नै हेर न । हलमालिक गेटमा बोरा लिएर बस्छ । दर्शकहरू ढक्कीका ढक्की धान दिएर तिम्रो फिलिम हेर्छन् ।’ म हाँस्छु ।

‘रमाइलो कुरो गर्‍यौ यार ! के गर्छौ अहिले सबै व्ययसाय यस्तै छ ओ के फेरि भेटौंला ।’ मेरो कुराले घत लागेछ क्यार ऊ पनि जोडले हाँस्छ र बाटो लाग्छ ।

०००
‘साँढेको दाइँ’ (२०६२)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल