सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुसे उत्पात

आदरणीय पाठकहरू ! अहिले मुलुकमा जे-जति हुने नहुने कुरा र उपद्रोह भइरहेका छन्, ती सम्पूणर् उपद्रोहरू वल्लो दूलाबाट पल्लो दूलो, वल्लो पार्टीबाट पल्लो पार्टी छिर्ने हामीले छाडेका तिनै मुसा र तिनका सन्तानका करामत हुन् । अहिले प्रजातन्त्रमा समेत यिनैको रजाईँ छ। हामी छिमेकीद्वय आत्मालोचना गर्छौँ।

Nepal Telecom ad

विवश पोखरेल :

‘खै तपाईले ल्याएको बिरालोले पनि काम गरेन । तरकारी जति सबै पूजाकोठामा पो पुर्‍याएछ मुसाले ।’ घन्टी बजाउँदै भगवानको आरती गर्न साटो मुसा आरती सुरु गरिन् पत्नी महोदयाले ।

‘हैन, हेर्दा बिरालो त दह्रै थियो त यसले टुङ्गो लाउनुपर्ने हो मुसालाई ।’ मैले नवआगन्तुक बिरालोको दहोपनको प्रशंसा गरे ।

‘दह्रो, साह्रै दहो- हजुरले ल्याउनु भएको बिरालो । मुसाले खित्रिक्क गर्‍यो भने कुना पस्छ, त्यहाँ भन्दा दह्रो के हुनु ।’ उनले मेरो बहादुर बिरालोको खोइरो खनिन् ।

‘हैन, कतै यी दुईको भित्री साँठगाँठ त छैन ?’ मैले शङ्का व्यक्त गरे ।

‘के बेर यही देशका हुन् । देशको राजनीतिक प्रभाव यिनीहरूमा पनि पर्न सक्छ नि । भत्ताका कुरामा मुखमिलान, सत्ताका कुरामा ङ्यारङुर । उनले पनि साँठगाँठको सम्भावना हुन सक्ने आशय व्यक्त गरिन् ।

हुन पनि हो, मुसो उत्पातले ग्रस्त छ घर । फेरि बाठा मुसाहरू, राम्रा राम्रा कुरा मात्र काट्दा रहेछन्, अरू त भयो भयो किताबहरू पनि छानेर काट्दा रहेछन् । अर्थशास्त्रको ठेली हुँदै नछुने, कोकशास्त्रको ठेली स्वाहा । भित्री कुटुकुटु अध्ययनले नै यति धूर्त भएका हुन् त- यी मुसाहरू ? अब हेर्नुस् – कन्तुरमा बाको फोटो, हजुरआमाको फोटो, हजुरबाको फोटो र छोराछोरीले राखेको मिस नेपाल, मिस वल्र्डलगायत सुन्दरीहरूको फोटो थियो । दौरा- सुरूवाल, गुन्यू- चोलो लाएको बूढापाकाको फोटोलाई छाडेर बुच्चे लुगा लाका सुन्दरीहरूको फोटोलाई मात्र पो काट्छ बा ! शङ्का लाग्छ, कतै यी भियाग्रा खाएका मुसाहरू त हैनन् ?

जसरी मैले दुःखजिलो गरेर किनेका किताबहरू खाँदा घरमा बम्किएको थिएँ, सुन्दरीका फोटोहरू मुसाले खाँदा छोरो बम्कन्छ ‘क्या हो ड्याड ! यी मुसाहरूलाई टुङ्गो लाउनुस् नत्र रडिज हुन्छ । हजुरबा हजुरआमाको फोटो डल्लै छ, च्वाँक च्वाँक फोटो मात्रै काट्छ ।’

‘बाबा ! यी हाम्रा घरका मुसाहरू पनि गुन्डा रैछन् ।’ छोरी हाँस्छे ।
‘म केही जान्दिनँ- भरे आउँदा यसलाई टुङ्गो लाउने साँचो लिएर आउनुस् ।’ पत्नी आदेश जारी गर्छिन् ।
‘वाहियात, केको साँचो चाहिन्छ । दुईचार रूपियाँको औषधि ल्याएर पिठोको मट्याङ्ग्रा बनाएर लडाइदिने, मुसाहरू चिलिम हुन्छन् । म मितव्ययिता अपनाउने कुरा गर्छु ।

‘तपाईंजस्तै लाटा छन् नि मुसा । साथीहरूले रक्सी भनेर गिलासमा पानी हालेर ख्वाउँदा पनि सुइँको नपाउने ।’ ऊ जङ्गिन्छे ।’ मातेको बेलाको कुरा गर्छे । मातेको बेला त के-के हुन्छ- हुन्छ !’ म पनि बम्कन्छु ।

‘सयौँपल्ट मट्याङ्ग्रा बनाएर लडाइयो । तपाईका घरका मुसा त्यस्ता मट्याङ्ग्रालाई क्रिकेटको बल बनाएर खेल्छन् । बेलुका मुसेनिवास, यातायातमार्ग, जलपानगृहमा लडाएको मट्याङ्ग्रा बिहान ओछ्यानमा, भान्साघरमा पूजाकोठामा सोफामा छक्का हानिरहेका हुन्छन्, मुसाले । ऊ थप्छे ।

‘दबाईको गन्ध थाहा नपाउन त्यो पिठोको मट्याङ्ग्रामा बाहिरबाट घ्यू दल्नुपथ्र्यो, तैँले दलिनस् होला अनि खाएन । म उनको मटेङ्ग्राप्रक्रियाबारे थप परामर्श दिन्छु । ‘किन नदल्नु नि दले नि, तैपनि खाएन । उनी अझै स्पष्ट गर्छिन् । ‘शुद्ध घ्यू दल्नुपर्छ, वनस्पति घ्यू दलिस् होला अनि कहाँबाट खान्छन् त !’ म पुनः थप्छु ।

कहाँ पाउनु शुद्ध घ्यू अचेल । तपाईंका पितृले त डेरीको दूधको पिण्ड, वनस्पति घ्यूको हलुवा, चिनीको मह खान्छन्, जाबो मुसालाई शुद्ध घ्यू ।’ उनी ओठ लेप्रयाउँछिन् ।

के गर्ने, मान्नै पर्‍यो गृहलक्ष्मीको आदेश । फेरि रिसाइन् भने चुल्हो जाम, डाडू बन्द पनिउ बन्द होला भन्ने डरले बेलुका बोकेर ल्याएँ मुसेएम्बुस । प्रफुल्ल भएर राखिन् उनले एम्बुसलाई मुसाको अत्यधिक आवतजावतस्थलमा ।

खित्रिक्क… मध्यरातमा निद्रा खलबल्याउने गरी आवाज आयो । पर्‍यो, पर्‍यो धरापमा कुनै मृग- बँदेल परेजस्तो घरमा हल्लीखल्ली मच्चियो । उठेर हेरेको त नभन्दै अजको मुसेराजा पर्नुभएछ एम्बुसमा । पिलिकपिलिक जिब्रो हल्लाइ रहनुभएको ।

‘ल यसलाई मार्नुपर्छ एउटा सुइरो ल्या । म बहादुरी देखाउन तम्सिन्छु ।
हैन कहाँ मार्ने ! त्यस्तो पाप बोक्न हुँदैन, यसलाई मिल्काउनुपर्छ ।’ पत्नीमहोदया मेरो प्रस्तावको विरोधमा उत्रिन्छिन् ।

‘खै हेरुँ बाबा । भाले हो कि पोथी हो ?’ छोरो अनुसन्धानमा लाग्छ र केही बेरपछि बुरुक्क उफ्रिन्छ भाले रैछ बाबा भाले । अब यसको हिरोइन पोथीलाई भरै राति एम्बुसमा पार्ने र आज भालेलाई र भोलि पोथीलाई हाम्रो प्रगतिमा आरिस गर्ने छिमेकीको घरमा छाडिदिने ।’ छोरोले आइडिया फुराउँछ । ‘गुड आइडिया । अनि यी भालेपोथीले जन्माएका सन्तानले छिमेकी हैरान । छोराको आइडियाले आमाचैँ बुरुक्क उफ्रिन्छे ।

मध्यरात सबैतिर चकमन्न छ । आफ्ना निकट प्रतिद्वन्द्वीका रूपमा रहेको छिमेकीको घरमा आज भाले, भोलि पोथी मुसो मिल्काउने योजना लिएर म खुसुक्क छिमेकीको घरनजिक के पुगेको मात्र हुन्छु ‘कता मित्र ! यस्तो मध्यरातमा । कोही बिरामी परे कि कसो ?’ उनै छिमेकी त बाटोमा ङिच्च हाँस्दै ठिङ्ग उभिएका । सिरिङ्ग हुन्छु म कतै यिनले त थाहा पाएनन् हाम्रो योजना ।’ म पनि सम्हालिएर जवाफ दिन्छु- हेर्नुस् न ! मुसाले दिनु दुःख दियो र यसो मिल्काउन हिँडेको । अनि तपाई ?’

‘यी उही रोग त हो म पनि तपाईंजस्तै…।’ उनी पनि आफ्नो हातको मुसेएम्बुस् देखाउँछन् । जहाँ मुसो फुत्रुक फुत्रुक उफ्रिरहेको हुन्छ । सके उनी पनि यो मुसो मेरे घरतर्फ मिल्काउन हिँडेका थिए कि ?

’तपाईंको यो मुसो भाले हो कि पोथी हो ?’ अप्ठ्यारोपन हटाउन म फेरि प्रश्न तेर्स्याउन्छु ।

‘भाले हो कि पोथी ? किन चाहियो, मुसो भनेको मुसो हो, भाले न पोथी ।’ मेरो प्रश्नको जवाफ दिन उनी उपयुक्त सम्झँदैनन् ।

‘होइन, थाहा पाइयो भने एउटा फाइदा छ । भाले र पोथी दुवैलाई आफूलाई दुःख दिने र आफूसँग रिस उठेको मान्छेको घरमा छाडिदियो भने यी दुई भालेपोथी मुसा सन्तानले तिनीहरूको काण्ड पुर्‍याउँछन् त्यसैले भनेको क्या ! म अथ्र्याउँछु ।

‘गुड आइडिया !’ गम्भीर भएर उनी फेरि थप्छन् । ‘कसरी पत्ता लाउने यो भाले हो कि पोथी ।’

‘मेरो छोरो मुसोविशेषज्ञ छ । जौ उसैलाई सोधौ ! मेरो मुसोचाहिँ भाले हो- अर्थात् बेहुला पक्ष, तपाईको पोथी भयो भने टन्टा खलास् ।’ म हाँस्छु ।

अन्ततः अनुसन्धानबाट उनको मुसो पोथी नै निस्कन्छ । अब यी जोडी मुसालाई कहाँ छाड्ने ? हामी दुईबीच गम्भीर छलफल हुन्छ । हामीलाई सबैभन्दा बढी दुःख दिने यो टोलमा को छ ? अनुसन्धान गर्छौ । लामो छलफल र अनुसन्धानपछि उपयुक्त निष्कर्ष निस्कन्छ । टोलमा होइन देशमा नै छन् । यी दुवै मुसालाई पार्टीकार्यालयमा छाड्ने । हा अर्थात् जनता जसलाई दिनु दुःख दिएका छन्, हाम्रा नेताहरूले । र, हामी निस्पट मध्यरातमा खुसुक्क छाडिदिन्छौ ती दुई मुसालाई हामीले भोट दिएका पार्टीकार्यालयमा ।

आदरणीय पाठकहरू ! अहिले मुलुकमा जे-जति हुने नहुने कुरा र उपद्रोह भइरहेका छन्, ती सम्पूणर् उपद्रोहरू वल्लो दूलाबाट पल्लो दूलो, वल्लो पार्टीबाट पल्लो पार्टी छिर्ने हामीले छाडेका तिनै मुसा र तिनका सन्तानका करामत हुन् । अहिले प्रजातन्त्रमा समेत यिनैको रजाईँ छ। हामी छिमेकीद्वय आत्मालोचना गर्छौँ। पार्टीकार्यालयमा यी भाले-पोथी मुसा छाडेर हामीले एउटा अक्षम्य गल्ती गरेछौ, क्षमा पाऊँ । जसले गर्दा अहिले हामी सम्पूणर् जनताहरुले भोग्नु सास्ती भोगिरहेका छौ ।

०००
साँढेको दाइँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल