साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइकल र भुँडी

झुक्किएर झिस्मिसेमैं पत्नीको झुम्कावाला टिसर्ट लाएर मर्निङवाक जाँदा बाटाका मान्छेहरू मलाई हेर्दै हाँस्दै गरेको दृश्य सम्झन्छु । म त्यस्तै हुने भयले साइकल सम्झेर झनै रातोपिरो हुन्छु ।

Nepal Telecom ad

संप्रस पौडेल :

अहिले मसँग साइकल छैन । धेरै पहिले जीवनमै एउटा साइकल किनेथेँ । त्यही चढेँ, थोत्रो पारेँ । सिध्याएँ । एउटा बाइक चढेँ, थोत्रो पारेँ, चढिरहेछु । यही हिसाबले मैले एउटा गाडी किन्छु होला । थोत्रै हुञ्ज्याल चढ्छु होला । घर, टोल छरछिमेक र विद्यार्थीहरू म आएको एक किलोमिटर परैबाट थाहा पाउँदा हुन् ।

आफूले नचढ्दैमा कसैका लागि गाडी चढ्नु कुनै रहरको कुरा पनि रहेन । तर साइकल चढ्नु अनिवार्य भैसकेको छ । ‘मर्निङ वाक’ जाँदा साइकल चढ्नेहरूले ज्यादै पसिना निकालेको देख्छु । त्यति हतार गरेर साइकल चढ्ने हो भने गाडी चढे भैगयो जस्तो पनि लाग्छ । पसिना नै निकाल्ने हो भने गर्मी महिनामा सिरक ओढे पनि निस्कन्छ भन्ने पनि थाहा छ । तर साइकल चलाएर पसिना निकाल्नुको मज्जै बेग्लै हुँदो हो । मेरो छिमेकी चार लाखको साइकल चलाएर पसिना निकाल्छन् । शायद बास्ना पनि आउँदो हो । तर चार लाख लगानी गरेपछि प्याडल पनि आफैंले पेल्नुपर्ने देखेर चकित भने भैरहन्छु ।

सोच्दासोच्दै भर्खरै एक्कासी एउटा बडेमानको भुँडी साइकल चढेर गयो । भुँडीको तौलले टायर लचक्क थियो । हुन त त्यहाँ भुँडी मात्रै थिएन । त्यसका ज्यान पनि थिए । तर साइकल नै भुँडीका लागि किनेकाले नाक, कान, टाउका, गिदीका के कुरा ? कोही गिदी घटाउनलाई साइकल किन्दो हो र ? जो किन्छन् भुँडीका लागि मात्रै किन्छन् ।

यसरी हेर्दा वर्तमान समयमा भुँडी रूस र युक्रेन, अमेरिका र उत्तर कोरियाजत्तिकै नजिकको शत्रु हो । यो खान्दानीको पहिचान र आम्दानीको स्रोत नभएर गन्धकीको भण्डार मात्रै हो ।

अँ, कुरा साइकलकै । पहाडी गाउँमा मिलबाट चामल बोक्ने साइकल शहरमा भुँडी बोक्छ । अर्काको भुँडी बोक्दैमा यसलाई गर्भवती चाहिँ भनिँदैन । किनभने यसको आफ्नै भुँडी हुँदैन । पति वा पत्नी जोसुकै होउन्, अर्काको दोब्बर भुँडी बोक्दा पनि साइकललाई ‘दुई जिउ’ को भन्न पनि त सकिन्न नि । तथापि ‘दुई जिउ’ की पत्नीको भुँडी बढ्दा पति खुशी नहुने कुरै भएन । खुशी हुनुको एकै कारण छ- यस्ता भुँडीमा बोसो नबढेर भ्रण बढ्दै गएको हुन्छ ।

तराईमा किसानका दाउरा र विद्यार्थीका किताब बोक्ने साइकल आजकाल राजनीतिक नारा बनेका छन् । यसरी पढाउने र बचाउने मात्र नभई लडाउने कुरामा पनि साइकल सदैव अगाडि छ । यही मुद्दाले प्रदेश सरकार मात्रै पटक पटक लडाइसक्यो । उता संघीय सरकारका मन्त्रीलाई पनि साइकलले पेट्रोल खाएर लडाएर अहिलेसम्म उठ्न सकेको होइन ।

आफ्नै टोलमा निदाइरहेका बालबच्चा च्याँठिनेगरी बुलेट बाइक कराउँछ । आजकाल डिजिटल्ली हेराहेर गरेर फिजिकल्ली भित्र्याइएकी दुलही गुनासो गर्छिन् । नयाँ भाइरल ट्रेण्डअनुसार बुलेटमैं चढाएर भित्र्याए । पहिले फोटो भिडियो खिच्नका लागि, अहिले चामलको बोरा र ग्यासको सिलिण्डर बोकाउनका लागि । बाइक चढ्नेका पनि साइकलभन्दा चर्का कथा होलान् ।

साइकलभन्दा झण्डै ६० वर्ष कान्छो रेडियो बेपत्ता हुन लागिसक्दा पनि साइकल नयाँ नयाँ ढाँचामा बजारमा आइरहेकै छ । श्रीपेच लाउन नपाएको युवराजले चढ्ने बाइकदेखि मैले चढ्ने एक्ससिडीसम्म आइपुग्दा पनि मोटरसाइकलजस्तै साइकलको भाउ भने बढेका बढ्यै छ ।

पहिले गाउँमा मोटरसाइकल मोह बढेर रहर गरेकोमा अहिले शहरमा हुँदा साइकलको अभाव खड्किरहन्छ । बरू आफ्ना दुख यसरी पोखेपछि तपाईँका पनि सम्बोधन हुन्छन् कि ?

केही सार्वजनिक दुख छन् । जस्तो हेलमेट भए साइकल चलाउँन हुन्थ्यो, साइकलै छैन । आफ्नै गाडी चढेर भुँडी बढेपछि साइकल चलाउनुपर्दो रैछ, गाडी नै छैन । थोत्रो मोटरसाइकल बेचेर केही लाख थप्न पाए साइकल किन्न सकिन्थ्यो ।

बोसो घटाउन नै साइकल चढ्ने अनुभवीसँग सोध्न मन छ, फोनिक्सको ‘बुढो’ साइकलले भुँडीको बोसो घटाउला कि नघटाउला ? योग गर्न नजानेमा उल्टो असर हुने भनेझैं भुँडीबाट बोसो गिदीतिर सर्‍यो ा भने कम्पनीले क्षतिपूर्ति दिन्छ कि दिँदैन ?

कुप्रिएर बस्दा ढाड दुख्छ, कुप्रिएरै साइकल चलाउँदा ढाड दुख्ला कि नदुख्ला ? महिनामा २५ दिन साइकल चलाएर ५ दिन थेरापी गर्नुपर्छ कि पर्दैन ? नजानेको विषयले म रनभुल्ल हुन्छु ।

मलाई पत्यार लाग्छ- सरकार पुलिसलाई साइकलमा हिडाउँछ, चोरहरू बाइकमा भागिरहेछन् । विद्वानहरू विकास र समृद्धि साइकलमै छन् भन्छन् ।

जेहोस्, विद्वानकै कुरा सुनेर साइकल किन्ने सोच गरियो । तर साइकलको रङ हेर्नु पर्ला कि नपर्ला ? अनुहार, जिउडालमा ख्याल गर्नु पर्ला कि नपर्ला ? ट्युसन कक्षा लिएर पनि साइकल चढ्नैपर्ने भएको छ ।

तर साइकल मात्रै चलाएर हुन्न रैछ । साइकल चलाउँदा बोक्ने झोला पनि बेग्लै हुँदोरैछ । बिहान र बेलुका बोक्ने झोला फरक-फरक त होला नि ? झोला भए साइकल किन्न हुन्थ्यो, साइकल छैन ।

तपाईँ शिक्षक, निजामति वा कुनै संस्थाको कर्मचारी हुनुहुन्छ र तोकिएको पोशाक कहिलेकाहिँ त लगाउनु हुन्न होला । तर ख्याल गर्नोस् नि, साइकल चलाउँदा चाहिने ड्रेसकोडको ज्यादा भ्यालु छ । त्यो नलगाए तपाईंको साइकल र टोकरीमा आँप कोचेर धकेल्ने साइकलको मूल्य उत्तिकै हुन्छ ।

अझ वातावरण दिवसमा गाडीमा साइकल बोकेर पनि दिवस मनाउन पुग्नुपर्छ । तपाईँ प्रमुख अतिथि हो भने आयोजकहरू तपाईंभन्दा पहिल्यै गाडीमैं पुगिसकेका हुन्छन् । साइकल चलाउन थालेपछि गाडी चलाउनका लागि अतिरिक्त चालक पनि चाहिँदो रहेछ । साइकल पाल्न पनि कमाउनु पर्दोरहेछ ।

जीममा फलामका डल्ला उचालेर प्रोटिन खाए जस्तै साइकल चढेपछि दानापानीमा ख्याल गर्नुपर्ला कि नपर्ला ? साइकल नै चलाउनका लागि खानपान, भेषभुषा, जुत्तादेखि टोपीसम्म फरक फरक हुनुपर्छ भन्ने बुझेर भाउन्न हुन्छु । अँ साँच्ची साइकलमा स्लाइनको व्यवस्था पनि हुनपर्छ ।

यति बग्रेल्ती प्रश्न गर्न जानेपछि म ढुक्कले साइकल चढ्न सक्छु । तर अझै एउटा प्रश्न निस्कन्छ- ‘के भुँडी घटाउने साइकलमा पनि मेल र फिमेल भन्ने विभेद छ ?’ यो प्रश्न मनमा आएपछि झुक्किएर झिस्मिसेमैं पत्नीको झुम्कावाला टिसर्ट लाएर मर्निङवाक जाँदा बाटाका मान्छेहरू मलाई हेर्दै हाँस्दै गरेको दृश्य सम्झन्छु । म त्यस्तै हुने भयले साइकल सम्झेर झनै रातोपिरो हुन्छु । जदौ ।

०००
हेटौंडा- ५, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x