साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उड्किरीको चर्तिकला

यस्तैउस्तै धेरै माग राखेर आजभोलि लामा सुँढ र खुट्टा भएका उड्किरीहरू चर्का नारा लगाउँदै रातदिन नभनी चौबिसै घण्टा धर्ना बस्दै जुलुस निकाल्न व्यस्त भै मस्त छन् ।

Nepal Telecom ad

सुमी लोहनी :

तपैँलाई था छ कि छैन कुन्नि ? उहिले—उहिले भानुभक्त जिबाको पालामा अमरावतीसरि कान्तिपुरी नगरीका लामो सूँड र खुट्टा भएका उड्किरीहरू गीत गाउन र भरत नाट्यम्मा पारङ्गत थिए रे ! त्यही अद्भुत नाचगान देखेसुनेपछि हाम्रा आदरणीय आदिकविको हृदयमा भावनाको ज्वारभाटा उत्पन्न भएछ । अनि त के चाहियो र कविज्यूलाई ! आफ्नोे खुसी समेट्न नसकी हर्ष विभोर भै उनले जे पर्लापर्ला लौ जा त नि भनेर तिनै उड्किरीहरूको गायन र नृत्यको वणर्न गर्दै कलमको घोडा दौडाएर कविता रचना गरिदिएछन् ।

आदिकविको प्रशंसाले मैमत्त भएर भुइँमा बस्न छोडी हावामा उड्न थालेका तिनै जति रगत चुसे पनि कहिल्यै नअधाउने लामखुट्टेका वंशजले अहिले हैरानपरेसान गरेकाले आफ्नो त हालै बेहाल भएको छ । ती उड्किरीले के गरेर हाल बेहाल हुन गयो भन्ठान्नुभयो होला हैन ? अरू त के गर्नु नि, मान्छेको रगत खाँदाखाँदा मान्छेकै असर परेर होला उही सभ्य मान्छेकै देखासिकी पो गर्न थालेका छन् त ए तिनीहरू पनि ! के भन्नु र नानाथरीका माग राखी आन्दोलनमा उत्रिएका छन् । साँझदेखि बिहानसम्म र बिहानदेखि साँझसम्म उनीहरूको ननस्टप कार्यक्रम चालु छ । विभिन्न प्रकारका कयौँ बुँदे माग पेस गरेका छन् । आफ्नो सबै माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन यथावत् रहने जानकारी गराएका छन् । उनीहरूका केही मागका बारेमा तपैँलाई पनि थाहा होस् भनेर भन्दैछु । लौ, एक कानले सुनी अर्को कानबाट फुस्स निकाल्नका लागि भए पनि ध्यान दिएर सुन्नुहोस् है त !

सर्वप्रथम त मान्छेले आफ्नोे घरका झ्यालढोकामा जाली राखेर उनीहरूको सवारीमा बाधा पुर्‍याउनु भएन रे ! उनीहरूको आवागमन नेपाल र दक्षिणतिरको छिमेकीको बोर्डरजस्तै बिना रोकटोक खुल्लमखुल्ला हुनु पर्‍यो रे ! अर्को छ, दुईखुट्टेले लामाखुट्टेहरूलाई कुनै प्रतिकार नगरी टन्न हुने गरी सधैं आफ्नोे रगत चुस्न दिनुपर्छ रे ! रगत चुस्न पाउने प्रकृतिप्रद्धत्त नैसर्गिक अधिकारमा हस्तक्षेप गरी मान्छेले उनीहरूको मौलिक हकको हनन् गर्न पाउँदैनन् रे ! यदि उनीहरूले मान्छेको रगतको ब्रेकफास्ट, लन्च र डिनर गर्दा कसैले डिस्टर्भ गरेमा कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

त्यसैगरी अर्को जोड्दार मागका बारेमा पनि सुन्नुस्— झूलसूल, मच्छर भगाओ मलम, विभिन्न प्रकारका म्याटस्याट् पनि प्रयोग गर्न नपाउने रे ! यदि यी प्रतिबन्धित् चीजको प्रयोग गरिएको पाइएमा सलहजस्तै जुलुस निकाल्ने अघोषित कार्यक्रम तय भएको छ रे ! अनि फोहोरलाई त कुनै पनि हालतमा फाल्न र सफा गर्न पाइँदैपाइँदैन भनेका छन् । त्यसैगरी अनेक प्रकारका कीटनाशक औषधिको प्रयोग गर्न अनि जिउ पूरै ढाकिने गरी लुगा लगाउन पनि कडा प्रतिबन्ध लगाएका छन् । यदि कुनै मनुवाले अटेर गरी नमानेमा कहिले कालाज्वरको कहालीलाग्दो रुप लिई क्वाप्पै पार्ने, कहिले डेंगीको डरमर्दो डन्डीले डाङडुङ गर्दै डडाल्नु खुस्काएर डङ्ग्रङै पार्ने, कहिले मलेरियाको मजेत्रो ओढाउने… यस्तै अनेकौं प्रकारका रोगब्याधिको महामारी फैलाउने फैसला लामखुट्टेको उच्चस्तरीय बैठकबाट निर्विरोध पारित भएर लालमोहोर लागेको छ भन्ने सुन्नमा आएको छ ।

यस्तैउस्तै धेरै माग राखेर आजभोलि लामा सुँढ र खुट्टा भएका उड्किरीहरू चर्का नारा लगाउँदै रातदिन नभनी चौबिसै घण्टा धर्ना बस्दै जुलुस निकाल्न व्यस्त भै मस्त छन् र बिचरा निमुखा मनुवा बबुराबबुरीलाई चैँ उनीहरूको क्रियाकलापले गर्दा चनाखो भई जाग्राम बस्नुपर्ने अवस्था सिर्जना भएको छ । हैन त मित्र ?

०००
भाटभटेनी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x