साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डोकामा पठाइएको माया

पोटिलीको यो तरिका बुझ्दा सात समुन्द्र पारी बसेको भरिलोसँगको मायालाई खोलामा बगाएर आनन्दले नयाँ नयाँ माल धनीहरूसँग महंगो महंगो सशुल्कका साथ जीवनका आवश्यकताहरू पुरा गर्दै जाने र यसरी नै बाँकी समय व्यथित गर्ने योजना बुनेकी रहिछ ।

Nepal Telecom ad

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :

पोटिली र भरिलोको चिनजान अनुहार किताबबाट हुन्छ । अनुहार किताबमा चिनजान भएदेखि दुवैको सामान्य गफगाफ हुँदाहुँदै माया बस्यो । दुवैले अनुहार किताबमा एकअर्काको फोटो साटासाट गर्थे । पोटिलीले हरेक तरिकाले आकर्षक फोटो खिचेर पठाउँथी । भरिलोले पनि आफूले जानेसम्मको जुक्ती र बुद्धि लगाएर पोटिलीलाई आफूतिर आकर्षित गर्ने प्रयास जारी राख्यो ।

नभन्दै दुवै एकापसमा गाँसिने अवस्थासम्ममा पुगे । उनीहरू दुवैको एउटै कुरा थियो अनुहार किताबबाट गाँसिएको मायाले अनुहार हेर्दै टाँसिन पाउनु पर्छ । केही महिनासम्म यी दुवैको अनुहार पुस्तिकामा तनमनसँगै गनगन चलिरह्यो र दुवैको मन पनि जलिरह्यो । पोटिली र भरिलो दुवै झरिलो थिए । दुवै प्रेमका प्यासी सधैँका बासी मायाका दासी थिए । अनुहार किताबमा दुवै दैनिक नयाँ नयाँ रूपरङमा देखिन्थे । तर एकदिन भरिलोले पोटिलीलाई अनुहार किताबमा देखेन । कति प्रयास गर्‍यो तर भेट्न सकेन । भौतिक रूपमा भेट गर्न पनि भरिलो खाडीमा र पोटिली नेपालमा थिई । टाढा पनि सात समुन्द्र पारी नै भएकोले भरिलो छट्पटियो । उता पोटिली पनि आफ्नो मोबाइल नै बिग्रेका कारण छट्पटाउन थाली । दुवैको मन स्थिर थिएन । छट्पटीले दुवैलाई के गरौँ कसो गरौँ भएको थियो । दुवैको कुराकानी नभएको सातादिन जस्तो भयो । यसैबिचमा भरिलोले मन थाम्न सकेन र पत्र लेखेर पठाउने निणर्यमा पुग्यो र लेख्न थाल्यो ।

प्रिय पोटिली, म भरिलोको तर्फबाट डोकाका डोका माया । अनुहार किताबले जुराएर भेटेको मायाको छाँयाले मात्र पनि मनमा चाँया पर्न थालेको छ । अनुहार किताबको भित्तो कालो देखिन्छ । तिमी जस्ती पोटिलीलाई भेटेर हिमाल जस्तो चिसो मन तातेर तातो तेल जस्तो भएको छ । तिमीलाई यो दिलको आँगनमा बास बस्न दिएपछि सास फेर्न पनि सहज भएको छ । भनौँ, मेरो मन मुटु तिमीले खेल्ने मैदान भएको छ, ग्यारेज भएको छ र मायाको पार्क भएको छ । हेर पोटिली ! मेरो दिल र तिम्रो दिल मिलेर बनेको मायाको चुली कुनै सुलीले पनि चोर्न सक्दैनन् भन्ने लागेको छ । मैले तिमीलाई डोकाका डोका माया गरेको छु । सोलीमाभन्दा डोकामा धेरै माया अटाउने भएकोले तिमीलाई खाँदी खाँदी माया पठाएको छु । मैले पठाएको माया पाउने बित्तिकै सङ्गालेर राख्ने छौ भन्ने अविश्वास गरेको छु । किनकि मैले सोलीमा माया पठाएको भए तिमीले सम्हालेर राख्न सक्दिन थियौँ ।

मेरो माया बीस छ भने तिम्रो माया उन्नाइस मात्र छ भन्ने कुराले गाउँमा हल्ला खल्ला छ । दुवैको माया बीस बीस हुनु पर्नेमा तिम्रो माया उन्नाइस मात्र भएकोले मलाई गर्न बाँकी रहेको एक माया कता कस्लाई दिएकी छौ त्यो पनि पत्रमा लेखेर पठाउनु । मायाले संसार थाम्दैन भन्थे कुरा हो रहेछ जस्तो लागेको छ । मैले तिमीलाई डोकामा पठाएको माया मध्ये कति बाटोमा चुहियो , कति गाउँघरमा चुहियो, कति घाँस, दाउरा, गोठालो, मेलापात जाँदा चुहियो सबै रेकर्ड राख्नु ।

अरु कुरा के भने गाउँबाट सहर बजार जाँदा होस् वा अन्यत्र कतै जाँदा होस्, तिमीले माया चुहाउँदै हिड्ने गरेको खबर पाएको छु । तिमीले माया चुहाउँछौ भन्ने सोचेर नै मैले डोकामा माया हालेर कुरिएर गरेर पठाएको हूँ । तिम्रो मायाको वास्नाले सबैको मन छोएको छ भन्ने खबर पनि पाएँ । डोका माया पठाएकोले डोकाको प्वालबाट मायाको वास्ना चुहिएर सबैतिर हररर वास्ना चलेको हुन सक्छ । तिम्रो र मेरो माया अजम्बरी अवश्य होइन र नम्बरी पनि होइन त्यसैले पनि मैले सोली थुन्से वा भकारीमा माया नहाली डोकामा हालेर पठाएको हुँ । डोकाको माया बोकाले पनि खान्छ भन्ने उखान चलेको तिमीलाई सुनाउनु नै पर्दैन । डोका राखेको घाँस खाने बोकाले माया भेट्टाउँदा के बाँकी राख्थ्यो र ! डोकाको माया बोकाले भेट्टाएको त्यो पनि पोटिलीको ! माया बाँड्न साह्रै सिपालु मायालु पोटिली तिमीभन्दा भरिलीहरूलाई माया गर्न मन थियो तर अनुहारकिताबले तिमीलाई जुराएकोले डोकोमा माया पठाएको हूँ । मेरो मायामा मिसिएर चिसिएकी हौली छिटै तातेर बाफ बन्दै आकाशमा उड्नु । अरु कुरा के भनौ आखिरी डोकाको माया बोकाले बाँकी राख्दैन भन्ने कुरा पुरा ज्ञान तिमीलाई छ । त्यही ज्ञान भएर नै तिमीले डोकामा पठाएको माया पनि स्वीकार गरेकी हौ ।

अर्को कुरा के भने बर्को ओढेर चिनी खाँदै लाएको तिम्रो डोके मायाले धोकेबाजको पगरी गुँथ्यो भने बोकाहरू बक्बकाउन थाल्नेछन् । यो अवस्था आउन नदिन तिमीले डोकाको माया बाटोमै बोकालाई दिँदा पनि हुन्छ । तर डोकाको पिँधमा बाँकी रहेको माया भने मेरो निम्ति सुरक्षित राखिदिनु । किनभने म विदेशबाट आउँदा बाँकी रहेको पिँधको निखार मायाले स्नान गर्न मन छ । निखार मायामा चिनी घोलेको हुन्छ रे ! तितेपातीसँग उखुले माया लाए जस्तै होस् हाम्रो माया । यस्तो राम्रो र मीठो माया फेरी पनि डोकाका डोका पठाउँछु । बोकालाई नदेखाई राख्नु,
आजलाई विदा !

भरिलोले विदेशबाट पठाएको डोकाको माया पोटिलीले पाई । तर माया चुहिएर थोरै मात्र हात पारिछ । डोकोभरि पठाउनु पर्ने हो तर थोर पठाएछन् भन्दै पोटिली चौतारोमा बसेर कराउन थाली । अनुहार किताबमा सम्पर्क विच्छेद भएकोले पत्र लेख्ने सुर गरेर लेख्न थाली, मेरो मनको मह घ्यू चिनी सख्खर तिमीलाई खोज्दै छु लखर लखर सधैंको बासी भएपनि प्रेमको प्यासी जीवनभरिका लागि तिमीलाई ल्हासो । मनको बह कसैलाई नकह भन्थे बूढापाकाहरू तर मैले पोको पारेर राखेको माया तिमीले मुखमा कुभिण्डो जसरी हाल्यौ । मेरो मनमा पानीमा माछा पौडिए झैँ तिमी पौडिएका छौ । तर तिमीले बोकाले खाने गरी डोकामा माया पठाएर धोका दियौ । मैले त तिमीले डोकामा पठाएको मायालाई चाल्नामा हालेर राखेको छु । तिमी भित्रको मायामा भुस कनिका बियाँ पनि होला भन्ठानेर नाङ्लोमा निफनेर, चाल्नामा चालेर स्वच्छ माया संगाल्ने विचारले घाममा सुकाएकी छु । के गर्नु आफ्नो भन्ने तिमी नै थियौँ तर तिमी सबै कुराले भरिलो हुँदा हुँदै पनि विदेशको तिहुन चाख्न गयौ । एकपटक मलाई यसो भेटेर गएको भए पनि हुन्थ्यो । अनुहार किताबले जुराउको माया अनुहार नै नदेखिई बेपत्ता भयौँ । तिम्रो मायाले दिनरात पीडाले घुँडाबाट आँसु बगेर बसेको ठाउँ समुन्द्र बन्छ । आँसु झर्दा हाँसु हाँसु लाग्छ । अरुभन्दा पनि मलाई जुका,उडुस र मच्छरले धेरै माया गर्न थालेका छन् । तिमीलाई किन ढाँट्नु, मैले उडुसले शरीरमा चिमोटर माया गर्छन भने मच्छरले मीठो धुन सहितको गीत गाउँदै मिस नगरी गालामा किस खान्छन् । मलाई यहाँ गाउँका उडुस, मच्छर, र जुकाहरूका कारण आनन्द छ । जुकाले मेरो शरीरको बिकार युक्त रस चुसेर मलाई स्वच्छ बनाएको छ । गाउँका उडुस, जुका र मच्छरले मेरो भावना बुझेर मनमा चायाँ पर्ने गरी माया गरेका छन् । तिमीले पठाएको माया डोकोबाट चुहिएकोले कसले भेट्टायो थाहा छैन् ।

अब म तिमीलाई प्लाष्टिकको झोलामा माया पोको पारेर समुन्द्रमा बगाएर पठाउँछु । तिमी बसेको ठाउँको समुन्द्रतिरै आउँछ होला । हेर विचार गर्दै गर्नु फेला पारेपछि सम्हालेर राख्नु घर आउँदा सँगै लिएर आउनु । मेरो धोको पनि बोकोलाई पठाएको फोको जस्तो पोकोको माया डोकोको भन्दा कम छैन । मेरो माया पानीको फोको जस्तो छ, फुटेपछि सबै बग्ने नदी जस्तै सललल । तिमीले खोजेको माया पनि यस्तै नै होला भन्ठानेर पठाएकी छु सम्हालेर राख । घर आउँदा मलाई देखाउन लिएर आउनु । तिमीले जसरी डोकोमा हालेर माया चुहाउँदै पठायौँ म त्यसरी पठाउन सक्दिनँ ।

मैले तिमीलाई गर्ने माया तिम्रो जस्तो छेपारे र चेपारे होइन । चेपारे र छेपारे मायामा शुल्क तिर्नु पर्छ । मैले छेपारे माया गरेको भए आज तिमीलाई यतिको लेख्ने प्रयास गर्ने थिइनँ होला । तर गाउँका उडुस मच्छर र जुकाहरूसँग त शुल्क लिएर चेपारे र छेपारे मायामा गाँसिने सुर गरेकी छु । समय कटाउन पनि गाह्रो छ यहाँ, त्यसैले मौकामा चौका दाउ हान्दै खाई खर्च निस्कने भएकोले उडुस, मच्छर र जुकाहरूसँग जिस्किने प्रयासमा लागेको छु । अब धेरै कुरा के लेखौँ । यो मायाको पोको आफ्नै बोकोलाई पठाउँदै छु । मनभरि फोको बनेको मायाको पोको कतिखेर तिम्रो थाप्लोमा बिसाउँ झैं भएको छ । एकातिर तिम्रो पिर र चिन्ता अर्कोतिर गाउँका जुका, मच्छर र उडुसले शरीर थिलथिलो बनाएका छन् । उपियाँहरू पनि उफ्रदै आउँछन र शरीरमा स्पर्श गरेर जान्छन । त्यसैले पनि मेले सबैलाई माया चुहाउँदै हिँड्नु पर्ने भएको छ । यस्ता कुरा अरुलाई सुनाउँ भने आफैलाई निसाफ चाहिएकोले हिसाब दिँदैनन् । हिसाब दिने भनेको तिमी नै भएकोले तिमीलाई नै सुनाएकी हूँ । अरु कुरा आफैँ बुझ मेरो बासतिर झट्टै कुद ।
उही तिम्रो मनको रानी मायाकी प्यासी सधैँकी बासी थुसी माया पोटिली ।

चिठ्ठी लेखेर पोटिलीले प्लाष्टिकमा पोको पारी र खोलामा बगाई दिई । उसले खोलामा बगाएपछि समुन्द्रमा पुग्छ र भरिलो समुन्द्र किनारमै बस्ने भएकोले फेला पार्छ भन्ने विश्वासले पठाएकी थिई । तर खोलामा बगाएको मायाको पोको पोटिलीको बोकोले कसरी पाउनु । पोटिलीको यो तरिका बुझ्दा सात समुन्द्र पारी बसेको भरिलोसँगको मायालाई खोलामा बगाएर आनन्दले नयाँ नयाँ माल धनीहरूसँग महंगो महंगो सशुल्कका साथ जीवनका आवश्यकताहरू पुरा गर्दै जाने र यसरी नै बाँकी समय व्यथित गर्ने योजना बुनेकी रहिछ ।

भरिलोसँग खोलामा बगाउने माया लगाएकी रहिछ पोटिलीले अनुहार किताबमा । अनुहार किताबले जुराएको मायामा कदम कदममा शुल्कका झरिला झिल्काहरू आँखा वरिपरि घुमिरहेको देख्ने पोटिलीको जीवन गरम मसलामा मिसिएर जाँतोमा पिसिएको पिठो झैँ भएर हाँसिरहेको छ ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x