शिवप्रसाद जैशीह्वाइटमेल
निर्धनलाई धन र निर्बललाई बल दिएका होलान् । धनदान र मनदान गररेका होलान् । थुप्रै मानिसको कल्याण गरेका होलान् । परोपकारी भएर पुण्य कमाएका होलान् ।

शिवप्रसाद जैसी :
शब्दकोशको अनौठो शब्द ब्ल्याकमेल । अल्टो अर्थ दिने नकारात्मक शब्द । आफ्नो इच्छा पुरा गर्न अरुको इच्छाको सिकार गर्न प्रयोग गरिने हतियार, मतियार, शब्द, सिद्धान्त र व्यवहार । कुनै एक व्यक्ति वा थोरै वा केही गलत प्रवृतिका नकारात्मक सोच भएका मानिसहरूको संलग्नतामा गरिने अपराधिक क्रियाकलाप । वर्तमानमा थोरै प्राप्त गर्न भविष्यमा धेरै गुमाउनु पर्ने अनुचित कार्यको न्वारन गरिएको नाम अर्थात ब्ल्याकमेल । सुन्दा पनि अकणर् । अप्रिय ! असल जीवन जीउन चाहनेहरुका लागि असुहाउँदो । कानूनका लागि बर्जित । सामाजिक रूपले अस्वीकृत । सामान्य परिवेशको लागि गलत । गर्न नहुने कर्म । हिजो आज सामान्य जस्तो । राजनीति, पेशा व्यवसाय, शिक्षा स्वास्थ्य र वैधानिक निकायदेखि प्रशासनिक क्षेत्र सबैतिर ब्ल्याकमेल । यो ब्ल्याकमेल यति पपुलर छ कि सबैतिर सबैको जिब्रोको स्वाद बनेको छ । सबैलाई खाउँ खाउँ जस्तो । सबैलाई गरौँ जस्तो । सबैलाई अँगालौँ जस्तो । बच्चादेखि वृद्धसम्म ।
प्रेमि र प्रेमिकाबीच समेत ब्ल्याकमेल । स्वास्नी र लोग्नेको ओछ्यानमा पनि पुगिसक्यो यो कालोमेल । छोराले बाउलाई बाउले छोरालाई समेत छुन खोजे जस्तो छ यो कालोमेलको क्रोधित रूपले । चैतको हुरीमा आगोको झिल्काले खरानी बनाए जस्तै गर्यो भने खरानीको टिको लगाउनु सिवाय अरु के पो बाँकी रहला र ? भनेको आक्रान्त छ है ब्ल्याकमेलले समाज । लौ, आउनु होस् बुद्धि फिराएर ह्वाइटमेलतिर पाइला चाल्न सुरु गरौँ । यो ह्वाइटमेल काखमा राखिने कम्यपुटरमा औला चलाउने म बबुरोले आफ्नो शनिवारे गोजीबाट फुत्त निकालेर बाँडन खोजेको हो भन्ने बुझेमा सोह्र जोड अरु धेरै आना गलत हुने छ । यो पनि शब्दकोशमै देखेर, झिकेर, तानेर, सापटी लिएर हातका औँलाले थिचेर राखिएको हो भन्ने कुरा नबिर्सिकन कालोमेल जस्तै बाज्येबज्यै,बाबाआमा, जोईपोइ, छोराछोरी, नातिनातिनी, साथीसंगी, दौंतरी, वरिष्ठ, कनिष्ठ, वरपर तलमाथिका सबैलाई ह्वाइटमेल पढाउन खोजेको चाहिँ पक्कै हो ।
जिब्रोको चुइङ्गम, कानको संगीत, आँखाको आधुनिक मोबाइल बनाउन सक्नु पर्यो । पुस्तकमा, मुहार पुस्तिका अर्थात फेसबुकमा । प्रयोगका रुपमा इन्स्टाग्राम, टिकटक, फेसबुक, ह्वट्स्याप, इमो, भाइवर अरु के के जाति छन् जसले जेजे जानेका छन् ती ती सबैमा घुसाई दिउँ न यो ह्वाइटमेल अर्थात सेतो हुलाक । सेतो हुलाकमार्फत् समाचार सम्प्रेषण मानिसका गिदीमा गर्यो भने कसो नसकिएला ब्ल्याकमेल अर्थात कालो हुलाकको विस्थापन गर्न । प्रयास त गरौं- यो ब्ल्याकमेललाई फाल्नै नसके पनि नियन्त्रण गर्न र घटाउन त सकिएला नि ! यो घटाउनु भनेको- पिडित कम गर्नु हो, पिडा कम गर्नु । पिडितको सङ्ख्या कम गर्नु र पिडा कम गर्नु पनि त धार्मिक रुपले धर्म कमाउनु, मार्मिक रुपले कलम चलाउनु, वैज्ञानिक रुपले विचार बानाउनु, सामाजिक रूपले विशुद्ध समाजको निर्माण गर्नु, मनोवैज्ञानिक रूपले मानसिक तनाव कम गराएर उचार गर्नु होइन र ? ब्ल्याकमेलका शाखा, उप-शाखा, नातापाता, छरछिमेक, माथिका, तलका, माझका सबै निमिट्यान्न पार्न सके त पिडामा बाँचिरहेका मानिसहरूका बथानमा आशाको लालिमा पठाउनु सरह हुन्थ्यो होला ।
नसा नसामा रगतसँगै खुशीको ओखति पठाउनु सरह हुन्थ्यो । आशाका किरणहरूले आँखाहरूका नजर तिखारिन्थे । विश्वासका मन्दिरहरूले आत्मबल बढाउथे होला । आस्थाका देउताहरू जुरुक्क उठेर कति नाच्थे होलान् ? अनि हुन्थ्यो नि है मजा ! मजा ल्याउन त ब्ल्याकमेल ध्वस्त बनाएर ह्वाइटमेल उमार्नु पर्छ । ह्वाइटमेलको एक्सरे मेशिनले मन भित्रका दागहरू देखाई आस्थाको अस्पतालमा विश्वासका डाक्टरहरूद्वारा सर्जरी गरेमा कसो नसकिएला यो ब्ल्याकमेलको दाह संस्कार गर्न । ब्ल्याकमेलको दाहसंस्कारका मलामीहरूले अन्तिम कोइला बगाई नुहाइधुवाई शुद्ध आगोले शरीर सेकाएर मनभित्र ह्वाइटमेलको स्थापना गरी मसान भगाउन सके पछि कसो नसकिएला । गाईभंैसीका घाँटीमा झुण्ड्याईएका घाडाहरूले पनि सेतो हुलाकको सम्प्रेषण गर्छन् त ! कति टाढा गयो ? कता पस्यो ? बर्खाको कुहिरोमा कहाँनेर होला आँधि । मानिसले पनि त विगुल पुग्थे ।
आजभोलि गोजी फोन प्रयोग नगर्ने को छ र ! यी गोजी फोन मार्फत चलाइने सल्लाह र हल्ला दुवै थरीमा कालो हुलाक भन्दा सेतो हुलाकको प्रयोग हुने हो भने कति जाति हुन्थ्यो होला । ह्वाइटमेल सर्वस्वीकृत । सर्वमान्य । खुला रुपमा सार्वजनिक ठाउँमा देखाएर फुर्ती लगाएर गर्न पाइन्छ । निर्धक्क छाती फुलाएर, आँखा जुधाएर, अग्लो ठाउँमा उभिएर जताबाट जसरी सम्प्रेषण गरेपनि हुने । लुक्नु नपर्ने, लुकाउन नपर्ने । कानूनद्वारा अबर्जित । समाजद्वारा स्वीकृत । सेन्सरको झण्झट नभएको । एन्जाइटी नहुने । डिप्रेशन नहुने । चिन्ता र तनावको अस्पताल, ओखति र उपचार । अपराधको निदान । सम्मान जनक जिउने कला । प्रतिष्ठा कमाउने अवसर प्रदान गर्ने माध्यम । सामाजिक प्रतिष्ठाको अर्को नाम अर्थात ह्वाइटमेल । पुस्तान्तरणमा पनि सहयोगी । ह्वाइटमेलको सन्तान ! आहा ! सुन्दा पनि कति सुन्दर । ब्ल्याकमेलेको सन्तान । सुन्दापनि कति घृणा । पुस्तालाई हीनता बोध, अपराध बोध गराउने लुकेर गरिने कुकर्म अर्थात अपराध ।
भूमिगतमा हीनताबोध, मानसिक तनाव डर र त्रासमा गरिने भविष्यका सन्ततिको टाउको निहुराउने कुकर्म । ह्वाइटमेलेका सन्तान! गौरव बोध सहितको सुकर्म । फुक्काफाल डर, त्रास, चिन्ता रहित । छोप्नु त पर्दै परेन । ढाँट्नु त क्षितिज पारिको कुरा । सुन्दा कणर्प्रिय । आत्म बोध र आत्म सम्मानको बलियो खम्बा । कुनै परिवेशमा अमरत्व प्राप्त गर्न सक्ने यस्तो सुन्दर शब्द आजसम्म लुकेर किन बस्यो । अँह, अब लुक्न हुँदैन । भरपुर गुणी र परोपकारीशब्द हो यो ह्वाइटमेल । उपकार बाहेको यसको अर्को कुन अर्थ छ र ? शब्दकोषको पानाबाट झट्ट बाहिर निस्कनु पर्छ । ह्वाइटमेलमा ब्ल्याकमेलमा जस्तो आफ्ना इच्छा पूरा गर्न निर्दोष मानिस वा चिजवस्तुको सपनाको शिकार गर्नु पर्दैन । ह्वाइटमेलमा अरु मानिस वा चिजवस्तुको इच्छाको शिकार गर्नुको सट्टा उद्दार गर्न पाइन्छ । सपना शाकार गर्न सहयोग गर्छ । चाहनालाईवास्तविकतामा परिणत गर्न सहयोग गर्छ। अरुको भलो चिताउन गरिने सुकर्मलाई ह्वाइटमेल भनिन्छ ।
अनि कति होलान् सङ्ख्यामा ह्वाइटमेलरहरू ? संसारभरि कति धेरै कति धेरै । ब्ल्याकमेलरहरूको तुलनामा करोडौँ गुणा बढी तर किन यिनको प्रचार छैन । ब्ल्याकमेलहरू करौडमा एकमात्र छन् भने किन यिनको बिगबिगी ! आखिर जसको मत बढी त्यहि ठूलो होइन र…! आधुनिक प्रजातन्त्र अनि गणतन्त्रमा । थोरै ब्ल्याकमेलरहरुले अत्याधिक बहुमतमा रहेका ह्वाइटमेलरहरु माथि किन रजाई ?ह्वाइमेलरहरुले स्वआर्जनबाट कसैको भलो गरेका होलान् । भलो हुने काममा आकर्षित र उत्प्रेरित गरेका होलान् । कुभलो हुने कामबाट बचाएका होलान् । अघि बढ्न हौसला दिएका होलान् । निर्धनलाई धन र निर्बललाई बल दिएका होलान् । धनदान र मनदान गरेका होलान् । थुप्रै मानिसको कल्याण गरेका होलान् । परोपकारी भएर पुण्य कमाएका होलान् । तर किन यो ह्वाइटमेल मानिसलाई थाहै छैन । किन शब्दकोषमा लुकेको छ ? किन प्रयोगमा छैन ? किन जिब्रोमा झुण्डिदैन ? किन कानमा गुन्जिँदैन ? किन आँखाहरूले देख्दैनन् । अँह, यसो हुन सक्दैन । जिब्रोमा झुण्डिनु पर्छ । स्वादमा मिसिनु पर्छ । आँखामा टल्किनु पर्छ । कानमा गुन्जिनु पर्छ । जताततै ह्वाइटमेल हुनु पर्छ । अबको आधुनिक र सभ्य जमाना ह्वाइटमेलको । ब्ल्याकमेल मुर्दावाद ! ह्वाइटमेल जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!
०००
कैलाली
हाल – थानकोट, कामाडाैं ।
Subscribe
Login
0 Comments
Oldest







































