डा. सुकराज राईजुकरवर्ग, हेर न भ्याइ नभ्याइ छ
ओढनी ओढेर अँध्यारोमा मोबाइल चलाउने सन्तानको बारेमा लेख्ने हो भने त वेदभन्दा ठूलो ग्रन्थ नै बन्ला । एक जना अभिभावकले ‘स्टाटस’मा लेखेका थिए “मोबाइल बिग्रे भने त बनाउने पसल जताततै पाइन्छ । मोबाइलबाट बिग्रेका छोराछोरी कहाँ कसरी सपार्ने हो कुन्नि !!”

गायत्री खरेल :
समय त उत्ति नै त हो । रातदिन गर्दा चौबीस घण्टा । काम पनि बढेको होइन । तैपनि समय सँधै अपुग । भनेको समयमा कार्यालय पुग्न आच्छु आच्छु हुन्छ । ढिलो भएकामा केही न केही बहाना बनाउन् परेकै हुन्छ, एकआध दिन बिराएर । यसो बाहिरतिर घुम्न वा आफन्तका जाँदा जहिले पनि हतारो मात्र ।
ऊ, आवाज आयो । कसैले ‘स्टाटस’ अपडेट गर्यो जस्तो छ । साथीको रहेछ । नयाँ फोटो राखिछ । हिजो कि अस्ती हो, नयाँ पोजमा फोटो राखेकी थिई । पञ्जाबी कुर्ता लगाएर । आज फेरि नयाँ साडीमा सजिएकी रहेछ । नयाँ साडी देखाउन खोजेकी होली नि । कहाँ साडी मात्र, आम्मै नयाँ नेकलेस पनि पो रहेछ । त्यो पनि हिरा जडेको । भङ्गिमा पनि छाँट छाँटको पार्न आउँछ यसलाई । गाला चाउरिन थालिसक्यो, तैपनि सिनेमाकी हिरोइन जस्तो ठाँटिनु पर्छ ।
लौ हेर, फोटो राख्न पाएको छैन ‘लाइक’ गर्नेको ताँती । उसको सुन्दरताको तारिफ पनि थरीथरी शब्दको प्रयोग गरेर हुन थाल्यो । आम्मै नि ! एउटीले त हो ‘लुक लाइक स्वीट सिक्सटीन’ पनि भन्न भ्याइछ । अठार को त छोरा नै होला, बीबीएसमा पढ्छ । त्यस्तालाई पनि सिक्सटीन देख्नेको त आँखा कस्तो होला कुन्नि !
उसले पनि जबाफ फर्काई “तिमी पनि त कम्ताकी राम्री छैनौ नि ।”
हरे शिव ! के विधि चिप्लाउन जानेकी नि तब । त्यसलाई पनि राम्री अरे । न गोलगाल मिलेको छ, न त निखार नै छ । तै पनि कम्ता कि राम्री अरे । फटाही कहाँकी ! कमेन्ट पनि अचम्मका देख्न पाइन्छ । हजुरबा नातिलाई पटी गराएको सेल्फी पोस्ट गर्छन् । कमेन्ट आउँछ -सो स्वीट !
लौ ! अर्कीको आँखा त उसको अनुहार भन्दा लुगा र गहनामा पुगेछ । सोधी पनि हाली “साडी त सिल्कको हो जस्तो छ । नेकलेसको डिजाइन हेर्दा नयाँ सडक ढोकाछेउको जस्तो छ नि !”
जबाफ पाई “होइन । ल, ‘गेस’ हानी हेर न ।”
अडकलबाजी शुरु भयो ।
“यो भगवतीबहालको जस्तो छ ।”
“नो ।”
“अँ, त्यो दरबारमार्गमा छ नि । कस्तो नाम बिर्सेको ।”
“होइन बा होइन ।”
“पिपलबोटैनिर न्यूरोडको ।”
“ओह नो ।”
“त्यो विशालबजारभित्र छ नि । के नाम अरे । मैले त्यहीँबाट रानीहार किनेकी थिइँ ।” मौकामा आफ्नो बखान पनि गरी हाली ।
हा हा हा । कलङ्कीदेखि कोटेश्वर, उता बालाजुदेखि पाटनसम्मका नाम चलेका गहना पसलको नामसमेत मिलेन । कहाँ किनेकी रहिछ त ?
ओ हो ! उसको बुढाले सिंगापुरबाट ल्याइदिएको रे ! मौकामा फूर्ति लाउन के छाड्थी “नेपालमा यस्तो मोडल त आएकै छैन नि । अझ एकआध वर्षतिर बल्ल आउला ।” धन्न आफूले ‘गेस’ गरिनछु । सरकारी हाकिमको मोज छ । अराबौँको विदेश भ्रमण भनेर समाचार पनि त आएको थियो नि । त्यसमाथि अख्तियारले ठूलालाई छुनु त परै जाओस् हेर्दा पनि हेर्दैन भन्छन् ।
गहनापछि बल्ल साडीको पालो आएछ । साडी हेर्दा नै महङ्गो खालको जस्तो छ । कस्ता कस्ता मान्छे हुन्छन् नि तब । एउटीले साडीको मोलसमेत सोध्न भ्याइहाली । समाजिक सञ्जालमा पनि यसरी सोध्नु त असभ्य तरिका पो मानिन्छ । फेरि अडकलबाजी शुरु भयो । काम नपाएकाहरू ।
यो फेसबुक हेर्न थाल्यो भने समय बितेको मात्र होइन, काम पनि बिग्रन्छ । एक दिन भान्साको पकाउने जिम्मा बुढाको थियो । बुढाको ताल सम्झेर अहिले पनि हाँस उठ्छ । चुनावको परिणाम धमाधम आउँदै थियो । पत्रिका भन्दा पहिले यतै ‘अपडेट’ हुन्थ्यो । बुढाले खाना तयार गरेर पस्कने बेलामा त कुकरमा भात नै छैन । समाचार हेरेको शुरमा चामल नै हाल्न बिर्सेछन् ।
एक जना आफन्तले उनको कार्यालयको गजब कुरा सुनाए । हाकिम साहेब अफिसमा भएको नभएको फेसबुकबाट नै पत्ता लाग्छ रे । मन्त्रीजीको छोरा दिनमा दशौँ पटक हाइकू लेखेर राख्दा रहेछन् । हाकिम साहेब सबैभन्दा पहिले ‘लाइक’ र ‘कमेन्ट’ गर्न चुक्दा रहेनछन् । मन्त्रालयमा हाकिमको उपस्थितिको जानकारी उनीहरूले यसैबाट प्राप्त गर्दा रहेछन् ।
एक जना अर्का हाकिमलाई त कार्यालय सहयोगीले हपारेको कुुरा पनि त कम रोचक छैन । परिचरलाई बोलाउन हाकिम साहेब घण्टी बजाउँदा रहेछन् । परिचर मोबाइल चलाउँदैमा व्यस्त । त्यसमाथि कर्मचारी सङ्गठनको ओहदावाल पनि । धेरै पटक घण्टी बजाएको सुनेर हाकिमसँग झर्किएछ “हात्ति भन्दा महङ्गो बोकाको समाचार हेर्दै थिएँ । सरको घण्टीले ‘डिस्टर्ब’ गर्यो । ‘म्यासेन्जरमा म्यासेज’ पठाए भैहाल्थ्यो नि ।
अर्का हाकिमको त झन विजोक भएछ । सहयोगीलाई घण्टी बाजाएर बोलाउनु त परै जाओस्, मोबाइलमा फोन गरेर बोलाउँदा रहेछन् । कार्यालयमा आएका आगन्तुकलाई चिया ल्याइदिन आग्रह गर्नका लागि कोठामा बोलाउँदा खप्की खानु परेछ- “तपाइँको कोठामा पो पंखा छ । म त गर्मी भएर बाहिर रुखमुनि बसेको थिएँ । चिया नै चाहिएको भए पनि त म ‘अनलाइन’ नै थिएँ । ‘म्यासेन्जरमा म्यासेज’ पठाए भैहाल्थ्यो । यहाँ किन बोलाइराख्नु परेको ।”
कार्यालय समयमा इन्टनेट र सामाजिक सञ्जालमा व्यस्त समयको तलब कट्टी गर्यो भने कयौँले त आधा तलब पनि पाउन्नथे होला ।
जुकरवर्ग, तिमीले यो के बनाएको हो यस्तो ? फेसबुक एडिक्सन डिसअर्डर भन्ने नयाँ रोग नै मानिसलाई लाग्न थालिसक्यो रे । तिम्रो मात्र के दोष नि! वाइफाइ बनाउने ती पाँच पाण्डवको भूमिका पनि त कम छैन ।
मेरा एक जना आफन्तलाई एफएडी रोग लागिसको जस्तो छ । घरका अरुले केही भन्लान् भनेर उनी बाथरुमतिर पस्ने गर्छन् । घरी घरी उनलाई पेट काट्ने गर्छ । दिनमा पाँच दश पटक पेट नकाटे उनको दिन नै उदास हुन्छ । फेसबुकबाट पाएको जानकारी कसैलाई नसुनाउने शर्तमा अन्यलाई बताउन उनले मध्य रात कुर्नु पर्दछ ।
राति नसुतेर ओढनी ओढेर अँध्यारोमा मोबाइल चलाउने सन्तानको बारेमा लेख्ने हो भने त वेदभन्दा ठूलो ग्रन्थ नै बन्ला । एक जना अभिभावकले ‘स्टाटस’मा लेखेका थिए “मोबाइल बिग्रे भने त बनाउने पसल जताततै पाइन्छ । मोबाइलबाट बिग्रेका छोराछोरी कहाँ कसरी सपार्ने हो कुन्नि !!”
ल हेर, हेर । अब म्यासेज पनि आउन थाल्यो । साथीहरूले गहना र साडीको बखान गरे कि भनेर यस्ती उस्ती भनेर कुरा काट्न थालिसके । मानिस पनि कति दोहोरो चरित्रको प्राणी हो नि तब ।
के के सोच्न पुगेछु । उता साडीको विवरण जान्न दशौँ जनाले सोधिसके छन् । तैपनि जबाफ दिएकी रहिनछ । हे, के यसको पछि लागिराख्नु । कार्यालय जान आज पनि ढिलो हुन थालिसकेछ । जुकरवर्ग, हेर न, भ्याइ नभ्याइ छ ।
०००
काठमाडौं
‘नेपाल इ-खबर’ ७ मार्च २०१८ बाट जस्ताको तस्तै
Subscribe
Login
0 Comments
Oldest






































