साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुकरवर्ग, हेर न भ्याइ नभ्याइ छ

ओढनी ओढेर अँध्यारोमा मोबाइल चलाउने सन्तानको बारेमा लेख्ने हो भने त वेदभन्दा ठूलो ग्रन्थ नै बन्ला । एक जना अभिभावकले ‘स्टाटस’मा लेखेका थिए “मोबाइल बिग्रे भने त बनाउने पसल जताततै पाइन्छ । मोबाइलबाट बिग्रेका छोराछोरी कहाँ कसरी सपार्ने हो कुन्नि !!”

Nepal Telecom ad

गायत्री खरेल :

समय त उत्ति नै त हो । रातदिन गर्दा चौबीस घण्टा । काम पनि बढेको होइन । तैपनि समय सँधै अपुग । भनेको समयमा कार्यालय पुग्न आच्छु आच्छु हुन्छ । ढिलो भएकामा केही न केही बहाना बनाउन् परेकै हुन्छ, एकआध दिन बिराएर । यसो बाहिरतिर घुम्न वा आफन्तका जाँदा जहिले पनि हतारो मात्र ।

ऊ, आवाज आयो । कसैले ‘स्टाटस’ अपडेट गर्‍यो जस्तो छ । साथीको रहेछ । नयाँ फोटो राखिछ । हिजो कि अस्ती हो, नयाँ पोजमा फोटो राखेकी थिई । पञ्जाबी कुर्ता लगाएर । आज फेरि नयाँ साडीमा सजिएकी रहेछ । नयाँ साडी देखाउन खोजेकी होली नि । कहाँ साडी मात्र, आम्मै नयाँ नेकलेस पनि पो रहेछ । त्यो पनि हिरा जडेको । भङ्गिमा पनि छाँट छाँटको पार्न आउँछ यसलाई । गाला चाउरिन थालिसक्यो, तैपनि सिनेमाकी हिरोइन जस्तो ठाँटिनु पर्छ ।

लौ हेर, फोटो राख्न पाएको छैन ‘लाइक’ गर्नेको ताँती । उसको सुन्दरताको तारिफ पनि थरीथरी शब्दको प्रयोग गरेर हुन थाल्यो । आम्मै नि ! एउटीले त हो ‘लुक लाइक स्वीट सिक्सटीन’ पनि भन्न भ्याइछ । अठार को त छोरा नै होला, बीबीएसमा पढ्छ । त्यस्तालाई पनि सिक्सटीन देख्नेको त आँखा कस्तो होला कुन्नि !

उसले पनि जबाफ फर्काई “तिमी पनि त कम्ताकी राम्री छैनौ नि ।”

हरे शिव ! के विधि चिप्लाउन जानेकी नि तब । त्यसलाई पनि राम्री अरे । न गोलगाल मिलेको छ, न त निखार नै छ । तै पनि कम्ता कि राम्री अरे । फटाही कहाँकी ! कमेन्ट पनि अचम्मका देख्न पाइन्छ । हजुरबा नातिलाई पटी गराएको सेल्फी पोस्ट गर्छन् । कमेन्ट आउँछ -सो स्वीट !

लौ ! अर्कीको आँखा त उसको अनुहार भन्दा लुगा र गहनामा पुगेछ । सोधी पनि हाली “साडी त सिल्कको हो जस्तो छ । नेकलेसको डिजाइन हेर्दा नयाँ सडक ढोकाछेउको जस्तो छ नि !”

जबाफ पाई “होइन । ल, ‘गेस’ हानी हेर न ।”

अडकलबाजी शुरु भयो ।

“यो भगवतीबहालको जस्तो छ ।”

“नो ।”

“अँ, त्यो दरबारमार्गमा छ नि । कस्तो नाम बिर्सेको ।”

“होइन बा होइन ।”

“पिपलबोटैनिर न्यूरोडको ।”

“ओह नो ।”

“त्यो विशालबजारभित्र छ नि । के नाम अरे । मैले त्यहीँबाट रानीहार किनेकी थिइँ ।” मौकामा आफ्नो बखान पनि गरी हाली ।

हा हा हा । कलङ्कीदेखि कोटेश्वर, उता बालाजुदेखि पाटनसम्मका नाम चलेका गहना पसलको नामसमेत मिलेन । कहाँ किनेकी रहिछ त ?

ओ हो ! उसको बुढाले सिंगापुरबाट ल्याइदिएको रे ! मौकामा फूर्ति लाउन के छाड्थी “नेपालमा यस्तो मोडल त आएकै छैन नि । अझ एकआध वर्षतिर बल्ल आउला ।” धन्न आफूले ‘गेस’ गरिनछु । सरकारी हाकिमको मोज छ । अराबौँको विदेश भ्रमण भनेर समाचार पनि त आएको थियो नि । त्यसमाथि अख्तियारले ठूलालाई छुनु त परै जाओस् हेर्दा पनि हेर्दैन भन्छन् ।

गहनापछि बल्ल साडीको पालो आएछ । साडी हेर्दा नै महङ्गो खालको जस्तो छ । कस्ता कस्ता मान्छे हुन्छन् नि तब । एउटीले साडीको मोलसमेत सोध्न भ्याइहाली । समाजिक सञ्जालमा पनि यसरी सोध्नु त असभ्य तरिका पो मानिन्छ । फेरि अडकलबाजी शुरु भयो । काम नपाएकाहरू ।

यो फेसबुक हेर्न थाल्यो भने समय बितेको मात्र होइन, काम पनि बिग्रन्छ । एक दिन भान्साको पकाउने जिम्मा बुढाको थियो । बुढाको ताल सम्झेर अहिले पनि हाँस उठ्छ । चुनावको परिणाम धमाधम आउँदै थियो । पत्रिका भन्दा पहिले यतै ‘अपडेट’ हुन्थ्यो । बुढाले खाना तयार गरेर पस्कने बेलामा त कुकरमा भात नै छैन । समाचार हेरेको शुरमा चामल नै हाल्न बिर्सेछन् ।

एक जना आफन्तले उनको कार्यालयको गजब कुरा सुनाए । हाकिम साहेब अफिसमा भएको नभएको फेसबुकबाट नै पत्ता लाग्छ रे । मन्त्रीजीको छोरा दिनमा दशौँ पटक हाइकू लेखेर राख्दा रहेछन् । हाकिम साहेब सबैभन्दा पहिले ‘लाइक’ र ‘कमेन्ट’ गर्न चुक्दा रहेनछन् । मन्त्रालयमा हाकिमको उपस्थितिको जानकारी उनीहरूले यसैबाट प्राप्त गर्दा रहेछन् ।

एक जना अर्का हाकिमलाई त कार्यालय सहयोगीले हपारेको कुुरा पनि त कम रोचक छैन । परिचरलाई बोलाउन हाकिम साहेब घण्टी बजाउँदा रहेछन् । परिचर मोबाइल चलाउँदैमा व्यस्त । त्यसमाथि कर्मचारी सङ्गठनको ओहदावाल पनि । धेरै पटक घण्टी बजाएको सुनेर हाकिमसँग झर्किएछ “हात्ति भन्दा महङ्गो बोकाको समाचार हेर्दै थिएँ । सरको घण्टीले ‘डिस्टर्ब’ गर्‍यो । ‘म्यासेन्जरमा म्यासेज’ पठाए भैहाल्थ्यो नि ।

अर्का हाकिमको त झन विजोक भएछ । सहयोगीलाई घण्टी बाजाएर बोलाउनु त परै जाओस्, मोबाइलमा फोन गरेर बोलाउँदा रहेछन् । कार्यालयमा आएका आगन्तुकलाई चिया ल्याइदिन आग्रह गर्नका लागि कोठामा बोलाउँदा खप्की खानु परेछ- “तपाइँको कोठामा पो पंखा छ । म त गर्मी भएर बाहिर रुखमुनि बसेको थिएँ । चिया नै चाहिएको भए पनि त म ‘अनलाइन’ नै थिएँ । ‘म्यासेन्जरमा म्यासेज’ पठाए भैहाल्थ्यो । यहाँ किन बोलाइराख्नु परेको ।”

कार्यालय समयमा इन्टनेट र सामाजिक सञ्जालमा व्यस्त समयको तलब कट्टी गर्‍यो भने कयौँले त आधा तलब पनि पाउन्नथे होला ।

जुकरवर्ग, तिमीले यो के बनाएको हो यस्तो ? फेसबुक एडिक्सन डिसअर्डर भन्ने नयाँ रोग नै मानिसलाई लाग्न थालिसक्यो रे । तिम्रो मात्र के दोष नि! वाइफाइ बनाउने ती पाँच पाण्डवको भूमिका पनि त कम छैन ।

मेरा एक जना आफन्तलाई एफएडी रोग लागिसको जस्तो छ । घरका अरुले केही भन्लान् भनेर उनी बाथरुमतिर पस्ने गर्छन् । घरी घरी उनलाई पेट काट्ने गर्छ । दिनमा पाँच दश पटक पेट नकाटे उनको दिन नै उदास हुन्छ । फेसबुकबाट पाएको जानकारी कसैलाई नसुनाउने शर्तमा अन्यलाई बताउन उनले मध्य रात कुर्नु पर्दछ ।

राति नसुतेर ओढनी ओढेर अँध्यारोमा मोबाइल चलाउने सन्तानको बारेमा लेख्ने हो भने त वेदभन्दा ठूलो ग्रन्थ नै बन्ला । एक जना अभिभावकले ‘स्टाटस’मा लेखेका थिए “मोबाइल बिग्रे भने त बनाउने पसल जताततै पाइन्छ । मोबाइलबाट बिग्रेका छोराछोरी कहाँ कसरी सपार्ने हो कुन्नि !!”

ल हेर, हेर । अब म्यासेज पनि आउन थाल्यो । साथीहरूले गहना र साडीको बखान गरे कि भनेर यस्ती उस्ती भनेर कुरा काट्न थालिसके । मानिस पनि कति दोहोरो चरित्रको प्राणी हो नि तब ।

के के सोच्न पुगेछु । उता साडीको विवरण जान्न दशौँ जनाले सोधिसके छन् । तैपनि जबाफ दिएकी रहिनछ । हे, के यसको पछि लागिराख्नु । कार्यालय जान आज पनि ढिलो हुन थालिसकेछ । जुकरवर्ग, हेर न, भ्याइ नभ्याइ छ ।

०००
काठमाडौं
‘नेपाल इ-खबर’ ७ मार्च २०१८ बाट  जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x