साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार

खल्ती छामेँ, सिटामोल किन्ने ढेवा छैन, हरे शिव । जहानबच्चामा कुनै टेवा छैन । केटोकटीहरू खाना नखाइ प्याकल्याक्क पल्टिसकेका रहेछन् । म एकपटक ऐनाको सामुन्नेमा उभिएँ । मैले गलाको माला छिनाएँ, खाली खामलाई कच्याककुचुक पारेँ । पुरस्कृत कृतिलाई अँगेनामा हालेँ र आगो सल्काएँ ।

Nepal Telecom ad

हरि खनाल :

“थाहा पाउनुभयो ? मैले पनि पुरस्कार पाएँ नि ।“ पुरस्कार पाउने भएपछि मेरा खुट्टा पनि हावामा कावा खान लालयित भएका थिए । यो पुरस्कार पाउन मैले धेरै साधना गरेको थिएँ र त्यो साधनामा सबैभन्दा बढी आराधना गरेको थिएँ । मेरी बास्सै । कम्ता मेहनत परेको थिएन । पुरस्कार पाउनुको रहस्य भन्न त नहुने हो, तर तपाईंलाईचाहिँ सुटुक्क भनिदिन्छु, अरूलाई नभनिदिनुहोला है ।

धेरैले मलाई सोध्न थाले ‘अहिलेसम्म कतिको पुरस्कार पायौ ?’ छैन भन्दा सबैले ओठ लेब्र्याउने । जति मेहनत गरेर रचना पठाए पनि पत्रिकाले नपत्याउने । साहित्य मण्डलीहरूले कहिल्यै गनेनन्, पुरानाहरूले कहिले कवि भनेनन् । पुरस्कार नपाएसम्म धुरन्धर बन्ने योग्यता नहुने रहेछ । यस्तै कुरा मनमा खेलिरहँदा दिमागमा भगवान् गणेशजी फुत्त आउनुभयो । उहाँ र कुमारको सुमेरुयात्राको स्मरण भयो । म पनि आफ्नो एउटा कृति बोकेर एकजना पुरस्कारदाताकहाँ पुगेँ । उनको शिरदेखि पाउसम्मको प्रशंसा गरेँ । सुरुमा त उनले ओठ लेब्र्याए । ‘माग्नेका हजार दाऊ, केही दिन्न भुत्रो खाऊ’ भनेर लोप्पा खुवाए । मैले उनको लोप्पाको पनि प्रशंसा गरेँ ।

“हैन, यतिका गाली गर्दा पनि पछि लाग्न छोड्नुहुन्न, दिमाग त ठीक छ तपाईंको ?” उनी झोक्किए ।

“भगवानले भक्तलाई कहाँ सजिलै वर दिन्छन् र हजुर ? कति कठोर साधना र संयमको परीक्षा लिन्छन् । त्यतिकी रूपवती पार्वतीले बुढा महादेवलाई स्वामी पाऊँ भन्दा पनि बुढाले नाटक गरेर हतपती स्वीकारेनन् । उल्टै व्रत बसाएर निराहार बनाए । आफ्नै साथी सुदामालाई दरिद्र जीवनबाट मुक्त गराउन श्रीकृष्णले सुदामाको कम परीक्षा गरे ? राजा हरिशचन्द्रको परीक्षा कति लिए भगवानले ? ए हजुर । म तपाईंसँग किन रिसाउने ? मलाई पुरस्कार दिएर चर्चित बनाउने शक्ति हजुरमा छ भन्ने थाहा हुँदाहुँदै म किन भक्ति नगरूँ ?” मैले हात मोल्दै भनेँ । मेरो कुरा सुनेपछि उनी मुसुमुसु हाँसे । उनले मेरो ढाडमा हात राख्दै भने, “साँच्चै, मैले दिने पुरस्कारका लागि तिमी नै लायक रहेछौ तर तिमीलाई यो पुरस्कारले के फाइदा दिन्छ भन त” उनले सोधे ।

“ए हजुर । मलाई कुनै पत्रपत्रिकाले गनेनन् । दर्जनौँ लेखिसकेँ कसैले लेखक मानेनन् । कसैको ग्याङमा र्‍याङ्क बनाउन सकिएन । मलाई पुरस्कार लिएर नाम चलेको लेखक बन्नु छ” मैले प्रष्टयाएँ ।

“तिमीले एउटा सानो कृति लेखेर हजारौ रूपैयाँ खर्च गरेर विमोचन गरेनौ ? तिम्रो नाममा प्रशस्ती गाउने लेखकहरूको नाममा दाम राखेनौ ? कुनै मिडियामा पनि लगानी गरेनौ ? तिमी त ग्वाँच रहेछो भाइ । ठीक छ तिम्रो कुरा सुनेर मलाई दया लाग्यो । लौ भन तिमीलाई नाम, खाम र दाममध्ये के चाहिएको हो ?” उनले सोधे ।

“हजुर । मलाई नाम चाहिएको हो, नामका लागि खाम पनि त चाहियो नि । अनि खामभित्र दाम पनि त हुन्छ होला नि होइन र ?”

“ठीक छ, तिमीले नाम पनि पाउँछौ, खाम पनि पाउँछौ तर यसका लागि सबैभन्दा पहिले आफ्नै खल्ती छामछुम पार भाइ” उनले आदेशात्मक स्वरमा भने ।

“कुरो बुझिनँ नि हजुर ?”

“कुरो बुझ्ने भएको भए त पहिल्यै पुरस्कार पाइहाल्थ्यौ नि ” उनले राताराता आँखाले हेर्दै भने । मेरो घुचुकको बुद्धिको बिर्को पछिमात्रै खुल्यो । पुरस्कारको रहस्य बल्ल थाहा पाएँ तर आफैँले दाम जोर्नुपर्ने ? अहो ? कसरी ?” म केहीबेर रन्थनाएँ ।

“के छ विचार, रु पचास हजार नगद पुरस्कारसहितको सम्मानको घोषणा गर्ने बेला भयो । यस्ता प्रार्थीहरू धेरै छन् मेरा सम्पर्कमा । धेरै दिनदेखि अनुनय गरिरहेका छौ, पहिलो प्राथमिकता तिमीलाई” उनले झस्काए ।

“अब परेन फसाद ! छोडौ यत्रो दिनदेखिको आराधना र साधना, नछोडूँ, त्यतिका धनराशि कहाँबाट खोजूँ ? त्यति रुपैयाँ भए त एउटा महाकाव्य नै प्रकाशित हुन्थ्यो” म एक्लै गुनगुनाएँ ।

“तिम्रो खल्तीको दाम, हाम्रो खाम, चिटिक्क परेको प्रमाणपत्रमा तिम्रो नाम । तर कविज्यू ! खाम घरमा जान्छ दामचाहिँ धाममा जान्छ नि” उनले हाँस्दै भने । म अझै चकित भएँ उनको कुरा सुनेर । आफूले हालेको दाम आफ्नो खामसँग पनि जान नपाउने ? कस्तो धाममा जाने होला ? म अनकनाएँ ।

“बुझेनौ कविजी ! हाम्रो पुरस्कार गुठी नै तिम्रो धाम हो । यस्तै गरी हाम्रो धामले तिमीजस्ताको नाम राख्दछ । मन भए छिटो निणर्य गर ।”

लागु पदार्थको दुर्व्यसनीलाई लाग्ने लागु पदार्थको तलतलभन्दा मलाई पुरस्कारको तलतल ज्यादा थियो । सपना र जपना नै पुरस्कार भएपछि कसरी नाइँ भन्ने । घरमुनिको पाटोलाई पुरस्कारको साटो बनाउने विचार गरेँ र बन्धकी राखेर रु पचासहजार दातालाई टक्याएँ ।

एकदिन ठूला भँगेरेटाउके अक्षरमा मैले पुरस्कार पाउने कुराको घोषणा भयो । पुरस्कार पाउने भएपछि फोनबाट बधाईको ओइरो लाग्यो । पुरस्कार थाप्ने दिन पनि नजिकियो । ठूला मानिसहरू भेला भए । सबैको मुख मीठा गर्ने रकम मेरै थियो । प्रमुख अतिथिले प्रमाणपत्र दिए जुन प्रमाणपत्र म आफैले तयार पारेको थिएँ । रु. पचास हजारसहित भनेर उद्घोषकले उद्घोषण गरे । हातमा खाम पनि आयो । साँच्चै ठूलो साहित्यकार तथा लेखक भएँ म । अरू बेला कसैले नगन्ने मलाई सबैले राम्रो लेखक भनेर प्रशंसाको सुसेली हाले । टेलिभिजन र क्यामरामा तस्बिर खिचिए । खाम पाएको पन्ध्र मिनेट पनि नबित्दै दाताले भित्र बोलाए र खाम खोलाए । दाम आफ्नै कोटको खल्तीमा राखेर मलाई रित्तो खाम फर्काए । सिर्फ अविर र खाली खाम लिएर म पुलकित हुँदै घरतिर लागेँ । घरमा जहान हन्हन्ती जरो आएर ओछ्यान परेकी रहिछिन् । खल्ती छामेँ, सिटामोल किन्ने ढेवा छैन, हरे शिव । जहानबच्चामा कुनै टेवा छैन । केटोकटीहरू खाना नखाइ प्याकल्याक्क पल्टिसकेका रहेछन् । म एकपटक ऐनाको सामुन्नेमा उभिएँ । मैले गलाको माला छिनाएँ, खाली खामलाई कच्याककुचुक पारेँ । पुरस्कृत कृतिलाई अँगेनामा हालेँ र आगो सल्काएँ । त्यस साँझको एक छाक खाना त्यसैबाट पकाएँ तर खै किन किन कलम भाँचेर आगोमा हाल्न भने सकिनँ ।

०००
२०६८ चैत्र १३
भोकासुर (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x