साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुभो यस बस्तीमा ?

हजुर, म मात्र जिउँदो इतिहास हुँ बस्तीको ! ए हजुर पख्नुस् त फोटा खिच्दै हुनुहुन्छ ? पुछ्न दिनुस् आँसु स्याहार्न दिनुस् लगौँटी बाँध्न दिनुस् कछाड भिर्न दिनुस् भोटो । यो लाज खिचेर के गर्नुहुन्छ र, हजुर !

Nepal Telecom ad

भावकेशर बराल :

हो, हजुर नै
देउता झैँ आउनुभो यस बस्तीमा !
१०९ डिग्री फरेनाइट ज्वरो नाघेपछि
शरीरमा कम्प छुटे झैँ
धर्ती हल्लाउँदै आएको भुइँचालोले
बस्ती सखाप बनायो हजुर !
एक बोतल पानी हजुर !
हाम्रा पँधेरा पुरिए
घल्चा र लोहोटा पुरिए ।

एक पोका चाउचाउ हजुर !
हाम्रा धान र मकै पुरिए
बटुका र डेक्ची पुरिए ।
एउटा पाल दिनुस् न हजुर !
हाम्रा गुन्द्री र लम्पटा पुरिए
हामीमाथिको आकाश थेग्ने
आँधी र बर्खा छेक्ने
परालका छाना पुरिए ।

उः त्यहाँ थियो हाम्रो बस्ती
त्यहीँनेर थियो खेतबारी
त्यहाँ थियो खर्क
त्यहाँ थियो देवीथान
जहाँ दिनहुँ बल्थे आस्थाका दीप
र, फुल्थे विश्वासका फूल ।
हो,
उः त्यहाँ पढ्थे हाम्रा नानीहरु
अनि त्यहीँ खेल्थे डन्डीबियो र गट्टा
त्यहीँ तल बस्थ्यो गाउँसभा
त्यहाँ नाच्थे डाँफे र मुजुर हजुर !
हजुर एक बोतल पानी
ए हजुर, हेर्नुस् त
उः त्यहाँ थियो मेरो घर
त्यहीँ पुरिएको छ मेरो कोदाली र खुर्पा
त्यहीँ पुरिएको छ अन्नको बिउ
त्यहीँ पुरिएकी छे सानी छोरी र दोजिया स्वास्नी
त्यहीँ पुरिएका छन् बाउआमा
अनि पुरिएका छन्
बस्तीका सारा आफन्तहरू ।

हजुर, म मात्र जिउँदो इतिहास हुँ बस्तीको !
ए हजुर पख्नुस् त
फोटा खिच्दै हुनुहुन्छ ?
पुछ्न दिनुस् आँसु
स्याहार्न दिनुस् लगौँटी
बाँध्न दिनुस् कछाड
भिर्न दिनुस् भोटो ।
यो लाज खिचेर के गर्नुहुन्छ र, हजुर !
सुनेको त छु
आजभोलि हजार हजारमा
लाज पनि बिक्छन् रे बजारमा ।

लाज बेचेर छाक टारेको छैन हजुर
बरू फिर्ता लानुस्
यी राता पाल, पानीका बोतल र चाउचाउका पोका
मलाई त चाहिएको थियो
कोदाली र खुर्पा
अनि चाहिएको थियो
अलिकति अन्नको बिउ ।
बरू, आफैँ खोस्रनेछु माटो
झिक्नेछु आफन्तका लास
गर्नेछु दाहसंस्कार
सिँचेर पसिनाले धर्ती
भर्नेछु सृष्टि र फुलाउनेछु फूल ।

अनि आउनुहोला मेरो बस्तीमा
खिच्नुहोला फोटा
र, छाप्नुहोला
अखबारका पानाभरि बस्तीकै संस्कृति
एउटा स्वर्गीय बस्तीको कथा ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
नेताजी

नेताजी

भावकेशर बराल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x