आउनुभो यस बस्तीमा ?
हजुर, म मात्र जिउँदो इतिहास हुँ बस्तीको ! ए हजुर पख्नुस् त फोटा खिच्दै हुनुहुन्छ ? पुछ्न दिनुस् आँसु स्याहार्न दिनुस् लगौँटी बाँध्न दिनुस् कछाड भिर्न दिनुस् भोटो । यो लाज खिचेर के गर्नुहुन्छ र, हजुर !
भावकेशर बराल :
हो, हजुर नै
देउता झैँ आउनुभो यस बस्तीमा !
१०९ डिग्री फरेनाइट ज्वरो नाघेपछि
शरीरमा कम्प छुटे झैँ
धर्ती हल्लाउँदै आएको भुइँचालोले
बस्ती सखाप बनायो हजुर !
एक बोतल पानी हजुर !
हाम्रा पँधेरा पुरिए
घल्चा र लोहोटा पुरिए ।
एक पोका चाउचाउ हजुर !
हाम्रा धान र मकै पुरिए
बटुका र डेक्ची पुरिए ।
एउटा पाल दिनुस् न हजुर !
हाम्रा गुन्द्री र लम्पटा पुरिए
हामीमाथिको आकाश थेग्ने
आँधी र बर्खा छेक्ने
परालका छाना पुरिए ।
उः त्यहाँ थियो हाम्रो बस्ती
त्यहीँनेर थियो खेतबारी
त्यहाँ थियो खर्क
त्यहाँ थियो देवीथान
जहाँ दिनहुँ बल्थे आस्थाका दीप
र, फुल्थे विश्वासका फूल ।
हो,
उः त्यहाँ पढ्थे हाम्रा नानीहरु
अनि त्यहीँ खेल्थे डन्डीबियो र गट्टा
त्यहीँ तल बस्थ्यो गाउँसभा
त्यहाँ नाच्थे डाँफे र मुजुर हजुर !
हजुर एक बोतल पानी
ए हजुर, हेर्नुस् त
उः त्यहाँ थियो मेरो घर
त्यहीँ पुरिएको छ मेरो कोदाली र खुर्पा
त्यहीँ पुरिएको छ अन्नको बिउ
त्यहीँ पुरिएकी छे सानी छोरी र दोजिया स्वास्नी
त्यहीँ पुरिएका छन् बाउआमा
अनि पुरिएका छन्
बस्तीका सारा आफन्तहरू ।
हजुर, म मात्र जिउँदो इतिहास हुँ बस्तीको !
ए हजुर पख्नुस् त
फोटा खिच्दै हुनुहुन्छ ?
पुछ्न दिनुस् आँसु
स्याहार्न दिनुस् लगौँटी
बाँध्न दिनुस् कछाड
भिर्न दिनुस् भोटो ।
यो लाज खिचेर के गर्नुहुन्छ र, हजुर !
सुनेको त छु
आजभोलि हजार हजारमा
लाज पनि बिक्छन् रे बजारमा ।
लाज बेचेर छाक टारेको छैन हजुर
बरू फिर्ता लानुस्
यी राता पाल, पानीका बोतल र चाउचाउका पोका
मलाई त चाहिएको थियो
कोदाली र खुर्पा
अनि चाहिएको थियो
अलिकति अन्नको बिउ ।
बरू, आफैँ खोस्रनेछु माटो
झिक्नेछु आफन्तका लास
गर्नेछु दाहसंस्कार
सिँचेर पसिनाले धर्ती
भर्नेछु सृष्टि र फुलाउनेछु फूल ।
अनि आउनुहोला मेरो बस्तीमा
खिच्नुहोला फोटा
र, छाप्नुहोला
अखबारका पानाभरि बस्तीकै संस्कृति
एउटा स्वर्गीय बस्तीको कथा ।
०००
काठमाडौं